नेपालले पठायो अफगानिस्तानमा मानवीय सहायता सामग्री

परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेपालका तर्फबाट करिब १४ टन मानवीय सहायता सामग्री सहयोग अफगायिनस्तानमा रहेको युएन विशेष इकाइका नायब प्रमुख डा रमिस अलअकवरोवलाई हस्तान्तरण गर्दै । तस्वीर / भीष्मराज ओझा, रासस

काठमाडौँ। नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाएको छ ।

परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित एक टोली आज त्यसतर्फ पठाइएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री डा नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाउन लागेको जानकारी दिनुभयो । आज सहयोग सामग्री अफगानिस्तानको राजधानी काबुलमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फतलाई हस्तान्तरण गर्नुभयो ।

राष्ट्र सङ्घको समन्वयमा आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा नेपाली जनताका तर्फबाट अफगान जनतालाई पठाउन लागिएको हो । नेपालको इतिहासमा पहिलो पटक यसरी हवाईजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाइएको मन्त्री खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी ठूला प्राकृतिक तथा दैविक विपद्मा विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौँ नै तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ ।”

अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट यो एक महत्वपूर्ण मिसन र अभियान भएको बताउँदै उहाँले यस अभियानमा संयुक्त राष्ट्र सङ्घ, नेपालका उद्योगी, व्यापारी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको ठूलो सहयोग रहेको उल्लेख गर्नुभयो ।

मन्त्री खड्काले अफनानिस्तानको पछिल्लोे समस्याका बारेमा मिडियामा देखे सुनेपछि नै सुरुदेखि नै आफ्नो मनमा यो ‘आइडिया’ आएको र त्यसका लागि विभिन्न कूटनीतिक माध्यमबाट पहल गरी नेपाल सरकार, मन्त्रिपरिषद्मार्फत यो अभियान अघि बढेको जानकारी गराउनुभयो ।

यस कार्यलाई अघि बढाउने सन्दर्भमा नेपालमा रहेका सम्बन्धित विभिन्न देशमा राजदूतसँग परामर्श र छलफल गरी अन्तिम रुप दिएको उहाँले बताउनुभयो ।

सहयोग सामग्री पठाउँदा विमान प्रस्थानका क्रममा बाटोमा पर्ने मुलुक पाकिस्तान र भारतको ‘एयर स्पेस’ पनि स्वीकृति प्राप्त भइसकेको छ । टोलीमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, उद्योगी व्यापार संस्थाका प्रतिनिधि, सञ्चारकर्मी थिए ।

मानवीय सहायता सामग्री लिएर नेपाली टोली काबुल प्रस्थान गर्नुअगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री डा नारायण खडका । तस्वीर ः प्रदीपराज वन्त रासस

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री