काठमाडौँ । देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज साँझ बसेको स्थायी समितिको बैठकले आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । यद्यपि सो निर्णयलाई आइतबार बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ ।
स्थायी समितिको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टी पङ्क्तिमा पनि विशेष चासो बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । माओवादीको विधानमा राष्ट्रिय सम्मेलन वा महाधिवेशन दुवै आयोजना गर्न सकिने व्यवस्था छ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएसँगै त्यसलाई आठौँ महाविधेशनको नाम दिइने छ ।
माओवादीले वडा तहदेखि नै सम्मेलन सम्पन्न गरेकाले पनि महाधिवेशनमा परिणत गर्न कुनै कठिनाइ नभएको तर्क गरेको छ । राष्ट्रिय सम्मेलन सम्पन्न गरेको निश्चित समयपछि महाधिवेशन आयोजना गर्नुपर्ने भएकाले यसलाई नै परिणत गर्दा केही फरक नपर्ने सुझाव आएपछि यस्तो निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो ।
महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसम्म विकल्प देखिएको छैन । हाल कायम रहेका स्थायी समिति सदस्यलाई पदाधिकारीमा रुपान्तरण गर्ने गरी १५ सदस्यीय पदाधिकारी बनाउने निर्णय शुक्रबारको स्थायी समिति बैठकले गरिसकेको छ । हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय रहेको छ । आइतबारदेखि सुरु हुने महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ । त्यसमा दलितको प्रतिनिधित्व ४५ जनाको हुनेछ । मुस्लिम १५, महिला ६७, युवा ४८ र अन्य खुला १२४ जना सदस्य रहने व्यवस्था गरिएको छ ।
माओवादीले प्रौढ, वयस्क र युवाको तीन तहको समिश्रणलाई पार्टीको केन्द्रीय समिति निर्माण हुने जनाएको छ । पाकाको अनुभव, युवाको जोशलाई देश निर्माणमा अगाडि बढाउने नीति अख्तियार गरेको छ । माओवादीको विधानले युवालाई २० प्रतिशतको हिस्सा छुट्याएको छ । कूल ४० वर्ष र सोही आसपासको उमेर समूहका नेतालाई विशेष भूमिका दिने तयारी गरिएको छ ।
माओवादीको अन्तरिम विधान २०७८ को धारा १६(४) र धारा ३८(१–८) अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । यसपटक माओवादीले पुनः बहुपदीय प्रणालीको अवलम्बन गर्ने भएको छ । खासगरी नीतिमा नै बहस गर्ने जनाएको माओवादीले नेतृत्व चयनका लागि निर्वाचन आयोगलाई जिम्मा दिएको छ । माओवादीले विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा केन्द्रीय निर्वाचन आयोग बनाएको छ ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट