बेलायतमा ओमिक्रोन संक्रमित अस्पताल भर्ना, खतरा स्तर बढाइयो

काठमाडौं । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बिरामी परेकाहरु अस्पताल आउन सुरु भएका जनाइएको छ ।

बेलायती शिक्षा मन्त्री नदिम जहावीले लण्डनमा कोरोना संक्रमणका केसहरुमध्ये एक तिहाई नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित भएको बताए ।

उनका अनुसार डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन कयौं गुणा बढी संक्रामक छ । उनले मानिसहरुलाई कोरोना खोपको दुई डोज पर्याप्त नभएको भन्दै बुस्टर डोज लिन सक्नेका लागि लिन अपिल गरेका छन् ।

जहावीले एक अन्तर्वार्ताका क्रममा बीबीसीसँग महामारीपछि स्थिति सामान्य हुने दिशा तर्फ गइरहेको भए पनि नयाँ भेरियन्टले रुकावटको अवस्था बनेको बताए ।

उनले जनवरीमा स्कुल खोल्नका लागि पूरै कोशिश गरिएको भए पनि सुरक्षा पहिलो प्राथिमकतामा भएको बताए ।
बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीका प्रमुख मेडिकल सलाहकार डा सुजैन हपकिन्सले अस्पतालमा ओमिक्रोन संक्रमितको संख्या बढिरहेको आशंका गरे ।

अहिलेसम्म अस्पतालमा जो पुगिरहेका छन् उनीहरु ओमिक्रोनका कारण संक्रमित भएर पुगे वा अन्य कारणले भन्ने पूर्ण रुपमा स्पष्ट नभएको उनको भनाइ छ ।

उनका अनुसार बेलायतमा अहिलेसम्म ओमिक्रोनका कारण कसैको मृत्यु भने भएको छैन ।

यसैबीच बेलायतले कोभिडको खतरा स्तर बढाएको छ । युके हेल्थ सेक्युरिटी एजेन्सीको सल्लाहमुताबिक सरकारले कोभिडको खतरास्तर चारमा पुर्याएको छ । जसको अर्थ हुन्छ ओमिक्रोनको संक्रमण दर तीव्र भएको र स्वास्थ्य सेवा प्रदायकहरु दबाबमा रहेको छ ।

स्वास्थ्य अधिकारीहरुले ओमीक्रोनको संक्रमण डेल्ट भेरियन्टभन्दा तीव्र फैलिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री