बुइपामा १४ करोडको लागतमा यलम्बरको शालिक निर्माण सुरु

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराँती राजा यलम्बरको पूर्णकदको प्रतिमा (शालिक)सहितको पार्क (उद्यान) निर्माणको काम सुरु गरिएको छ । तीस रोपनीभन्दा बढी सरकारी जग्गामा १०० फिट अग्लो किराँती प्रथम राजा यलम्बरको पूर्णकदको शालिक राख्ने गरी व्यवस्थित तथा आधुनिक पार्क निर्माण गर्न लागिएको हो ।

माझ किराँत भनेर चिनिने बुइपामा निर्माण थालिएको शालिकसहितको पार्क बुधबार नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले किराँती परम्पराअनुसार शिलान्यास गर्नुभयो । प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी रहने उक्त यलम्बर पार्क निर्माणका लागि करिब रु १४ करोड लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । गत वर्ष नगरपालिकाले रु ७२ लाख उपलब्ध गराए पछि पार्क निर्माणको निर्माण सुरु गरिएको थियो ।
उक्त पार्क रु १० करोडको १० लाखमा निर्माण गर्ने गरी उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का पाएको थियो । अठार महिनाभित्र पार्क निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएकामा आवश्यक निर्माण सामग्री तथा दक्ष जनशक्ति झिकाएर निर्माणको काम थालिएको निर्माण कम्पनीका प्रबन्ध निर्देशक सुनिल राईले बताउनुभयो ।

किराँत समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा शालिकसहितको पार्क निर्माण सुरु गरिएको नगरप्रमुख रिजालले बताउनुभयो । “यलम्बर पार्क निर्माण गर्ने योजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको थियो”, उहाँले भन्नुभयो, “बुइपामा निर्माणाधीन यलम्बर पार्कले नगरपालिकाको मात्र नभई प्रदेश नं १ कै पर्यटन प्रवर्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ ।”

आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिइने गरी निर्माण सुरु गरिएको पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाइ सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “यलम्बर पार्कमा अन्य ठाउँमा निर्माण गरिएका आधुनिक पार्कमा हुने सबै सुविधा हुनेछ”, उहाँले भन्नुभयो, “चारैतिर घेराबारले घेरिएको पार्कको बीचमा यलम्बरको विशाल शालिक राख्ने तयारी गरेका छौँ, त्यो धलौटको हुनेछ ।”

गत वर्ष नगरपालिकाबाट विनियोजन भएको बजेटबाट प्रवेशद्धार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ र रेष्टुरेन्ट तथा पसल घर निमाण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मिलन राईले बताउनुभयो । किराँती ऐतिहासिकस्थल बुइपामा बन्ने यलम्बरको शालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने जिकिर गरिएको छ ।

आफ्नो क्षेत्रमा किराँती समुदायका पहिलो राजा यलम्बरको शालिकसहितको पार्क निर्माण हुने भएपछि स्थानीयवासीसमेत हर्षित छन् । विश्वकै अग्लो र ठूलो शालिकसहितको पार्क निर्माण सुरु भएपछि पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीले बताएका छन् । चोभारको मञ्जुश्री पार्क शैलीमा निर्माण सुरु गरिएको यलम्बरको शालिकसहितको पार्कको आम्दानी ६० प्रतिशत नगरपालिकामा र ४० प्रतिशत प्रदेश नं १ मा जम्मा हुने निर्माण उपभोक्ता समितिले जनाएको छ । निर्माणाधीन पार्कलाई नगरपालिकाले गौरवको आयोजनाअन्तर्गत लिएको छ ।

सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने बुइपामा निर्माणाधीन पार्क पर्यटकलाई आवतजावत गर्न समेत सहज हुने जनाइएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण सुरु गरिएको पार्कमा हलेसी आउने पर्यटकलाई समेत आकर्षण गर्न सकिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

यलम्बर पार्कदेखि किराँती सभ्यताको उद्गमथलो मानिने हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजुमसम्म पदमार्ग निर्माण गरिने योजना छ । नेपाल सरकारले निर्धारण गरेको १०० पदमार्गमध्ये ‘मुन्धुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले यस पार्कलाई महत्व दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री