
बेनी । सम्पर्कविहीन भएकोे ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर भनिने)को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो ।
विसं २००३ मा जन्मिनुभएका गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुग्नुभएको खबर त्यतिबेला परिवारले पाएका थिए । त्यसपछि पनि उहाँ परिवारको सम्पर्कमा आउनुभएन । हालैमात्र स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्वीर राखेका र उहाँले बागलुङ, बेनी, तातोपानीको नाम लिएको जानकारी गराएका थिए । आफ्नो पुख्र्यौली थलो बेनी भएको र आफू त्यहाँ फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।
रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट वर्षौँदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उहाँका आफन्तबीच टेलिफोनमा संवाद गराइएको थियो । आफन्तले झण्डै ६० वटा प्रश्नमार्फत आफन्तको नाम, तत्कालीन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उहाँले दिनुभएको जवाफले उहाँको यकिन गरेका थिए ।
कैलालीमा स्थानीय प्रतिष्ठित एक व्यक्तिको सहारामा बसोबास गर्दै आउनुभएका गुरुङ थामडाँडाका बलवीर गुरुङका हराएका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उहाँका भाइका परिवारसँग मङ्गलबार पुनःमिलन भएको छ । गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विसु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलाली पुगेर आफ्ना माइला बुबालाई उद्धार गरी ल्याएका हुन् ।
रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनञ्जयकुमार श्रेष्ठसहित रेडक्रसकर्मीको उपस्थितिमा गुरुङको पारिवारिक पुनःमिलन गराइएको थियो । ‘‘पचास वर्षभन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ”, रेडक्रस म्याग्दीका सभापति हमालले भन्नुभयोे ।
साउन अन्तिम साता पूर्णानन्द पाण्डेले सामाजिक सञ्जालमा राखेको सन्देशका आधारमा खोजी गर्दै जाँदा असोज तेस्रो साता पारिवारिक पुनःमिलन भएको रेडक्रसले जनाएको छ । विभिन्न कारणले हराएका व्यक्तिको खोजी गर्ने काम रेडक्रसले गर्दै आए पनि विरलै यस्तो प्रकारको पुनःमिलन सम्भव हुने गरेको रेडक्रस म्याग्दीका शाखा अधिकृत श्रेष्ठले बताउनुभयो ।
घरबाट हराएपछि भाँैतारिएका गुरुङ तत्कालीन समयमा अत्तरियादेखि डडेल्धुराको महेन्द्र राजमार्गमा काम गर्दागर्दै ठेकेदारले पारिश्रमिक नदिएपछि पैदलै हिँडेर कैलालीको मस्यगाउँमा पुगेको गुरुङले बताउनुभयो । त्यहाँ पुगेपछि स्थानीयवासीसँग घुलमिल हुँदै स्थानीय एक जमिनदारको घरमा आश्रय लिएर जीविकोपार्जन गर्दै आउनुभएका उहाँले माछा मार्ने पेशा अँगाल्नुभएको थियो । उहाँलाई लिन पुगेका आफन्तलाई गाउँलेहरुले भव्य सम्मानसहित बिदाइ गरेका थिए ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ