शनिबार, असोज ३० २०७८ | Sat, October 16, 2021
नेपालको समय: ०७:३४ | UK Time: 02:49

उद्गमथलोमै सुनिन छाड्यो कौराहा

विनोद ढुंगाना
२०७८ असोज ४ गते ११:३५

तनहुँ । ल्वाङ, सुकमेल, चुरोटसहितको चिठ्ठी पछ्यौरीमा बेरेर मगर समुदायका युवतीले अर्को गाउँका तन्नेरीलाई निम्तो पठाउँछन् । निम्तो स्वीकारेका तन्नेरीहरू कमिज, भांग्रा, कछाड र टोपीमा ठाटिएर आइपुग्छन् । यता युवतीहरू भने मखमलको चोली, छिटको गुन्यु, कम्मरमा पहेँलो-नीलो रंगको पटुका, गलामा कण्ठी, शिरमा शिरफूल र शिरबन्दीमा सजिएर चिटिक्क परेर बस्थे ।

तन्नेरी र युवतीको भेटपछि खैँजेडीको तालमा स्वर मिलाउँदै कौराहा गाउँछन् । युवतीहरूसँग कम्मर मर्काउँदै खुट्टाको ताल मिलाउँदै नाच्छन् । साँझपख सुरु भएको कौराहाले रात छर्लङ्ग पार्छ । बिहानपख सुरु भए साँझसम्मै कौराहा तन्किन्छ । छुट्टिने बेलामा निम्तो गर्ने गाउँमा खानपान हुन्छ । खानपानको खर्चलाई आकलन गर्दै तन्नेरीहरूले पैसा उठाएर दिन्छन् । र आफ्नै गाउँ फर्कन्छन् ।

कौराहाको यो दृश्य अचेल उद्गमस्थल तनहुँको ऋषिङमै देखिन छाडेको छ । अघिल्लो पुस्ताले जेनतेन यहाँसम्म ल्याइ पुर्याए पनि अब कौराहा कसरी जोगिएला भन्ने स्थानीय प्राैढहरूको चिन्ता छ । उनीहरूले कौराहालाई राज्यको मूलधारसम्मै पुर्याए तर अचेल उद्गमथलोमै नसुनिँदा उनीहरू चिन्तित छन् । पछिल्लो समय गाउँघरमा नाचगान विरलै हुन्छ । पहिलापहिला जस्तो दिनरात गाल्ने गरेर कोही पनि नाच्न मान्दैनन् । मूल विषय त गाउँमा युवायुवती पनि छैनन् । गाउँबस्ती रित्तो हुनु पनि संस्कार, संस्कृति र मौलिकता लोपोन्मुख हुनुको एक प्रमुख कारण हो ।

ऋषिङ दुकुडाँडाकाका दानबहादुर आले अहिलेको पुस्तामा कौराहा कसरी नाच्ने, गाउने, ताल मिलाउनेबारे ज्ञान नभएको बताउँछन् । आदिवासी मगर समुदायमा प्रचलित रोधी र कौराहा पुस्तकका लेखक आले भन्छन्, ‘युवामा यसको मौलिकता कसरी हस्तान्तरण गर्ने भन्ने चिन्ता बढेको छ । गाउँका युवायुवती कोही पढ्न बजार गए, कोही परदेशमा छन् । कसले सिक्ने ? बुढापाका रहिन्जेल मात्रै कौराहा रहला जस्तो छ ।’

उनका अनुसार पहिला गाउँगाउँमा रोधी घर थिए । दसैँदेखि सुरुवात गरेर जेठको दसहरासम्म धुमधामले कौराहा नाचगान हुन्थ्यो । वैशाख पूर्णिमाको बेला त कौराहाको रौनक उधुमै हुन्थ्यो । गाउँगाउँमा कौराहा गुन्जिन्थ्यो । अहिले रोधीघर नै हरायो । अब त विशेष कार्यक्रममा मात्रै कौराहा नाचगान हुने गरेको आलेले बताए ।

के हो कौराहा ? 
कौराहा सामूहिक नृत्य र गायन हो । एक्लै गाउन र नाच्न सम्भव छैन । कौराहा सुरुमा देवीदेवता सम्झिएको अन्तराबाट सुरु हुन्छ ।

यो गाउँको देवीदेउता चण्डी र भुयाँरी
हामरो शिर रक्षे गरन…

यस्तै शब्दलाई लामो भाकामा चारपटकसम्म दोहोर्याइन्छ । दुईपटक बिसाउने र फेरि दुईपटक उठाउने त्यसपछि बल्ल अन्तरा पूरा गरिन्छ ।

घुम्दै फिर्दै आको हामी पर्छौ तिम्रै शरण
हामरो शिर रक्षे गरन…

देवीदेवतालाई सम्झिएपछि विस्तारै गीतबाटै चिनजानका कुरा हुन्छन् । जिस्कने, ख्याल ठट्टा, माया पिरती लाउने कुरा हुँदै जीवनका भोगाइ पनि गीतमा समेटिन्छ । अन्तमा बिछोडको गीत गाएर युवायुवती छुट्टिन्छन् ।

हे निष्ठुरी मायालु छोडी गयो नभन
छुट्टनी बेलैमा के दिन्छौँ नानी सम्झना…

कौराहाको एक अन्तरा पूरा गर्न झन्डै आधा घन्टा लाग्छ । कौराहा लामो भाका हालेर गाइन्छ । मेला, महोत्सव, सांस्कृतिक कार्यक्रममा पनि कौराहा गाउने नाच्ने गरिन्छ ।

बजारिया कौराहाले मौलिकता धान्दैन’

बजारमा लोकगीतअन्तर्गत रेकर्ड गरिएका कौराहा गीत छ्यापछ्याप्ती छन् । ती गीतले कौराहालाई चिनाए पनि मौलिकता भने प्रस्तुत गर्न नसक्ने बताउँछन् ऋषिङ्गे कौराहा गायक पदम थापा मगर । ‘रेकर्ड गरिएको कौराहा ५-७ मिनेटमै सकिन्छ । मौलिक कौराहाको एउटै टुक्का गाउन करिब आधा घन्टा लाग्छ । त्यसैले रेकर्ड गरिएका कौराहाले मौलिकता धान्दैन’, उनले भने ।

तनहुँसँगै आसपासका जिल्ला कास्की, स्याङजा, लमजुङ, गोरखा, नवलपुर, चितवनमा पनि कौराहा गाउने चलन थियो । ऋषिङको कोटदरबारमा भने करिब अढाई सय वर्ष अगाडि नै कौराहा सुरुवात भएको जानकारहरू बताउँछन् ।

कौराहा संरक्षणका लागि मौलिक कौराहा संरक्षण समिति नेपालले तीन वर्षअघि ऋषिङकै माँझकोट र आर्थथोकमा पुगेर डकुमेन्ट्री निर्माण गरेको थियो । समितिले विदेशमा समेत पुगेर डकुमेन्ट्री प्रदर्शन गरेको थियो । समितिका अध्यक्ष हर्क आलेका अनुसार समितिले पाँच वर्षअघि विज्ञहरूको भेलासमेत गराएर दमौलीमा राष्ट्रिय कौराहा सम्मेलन गरेको थियो ।

कौराहाको मौलिकता जोगाउन उद्गमथलो ऋषिङ गाउँपालिकाले पनि चासो लिएको उपाध्यक्ष गिनुमाया थापाको दाबी छ । युवा पुस्ताको आकर्षण बढाउन गाउँपालिकाले वडास्तरीय कौराहा प्रतियोगिता समेत आयोजना गरेको उपाध्यक्ष थापाले बताइन् । युवा क्लबसँग पनि सहकार्य गरेको थापाले उल्लेख गरिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक