मंगलबार, असोज ५ २०७८ | Tue, September 21, 2021
नेपालको समय: ०७:२३ | UK Time: 02:38

‘म २१ वर्षे ठिटो’

सुरेन्द्र नेपाल श्रेष्ठ
२०७८ भदौ २९ गते २२:५५

मानिस स्वभावैले आफूसँग भएको धनदौलत, मानपदवी, शान शौकत अरुलाई देखाउन रुचि राख्दछ । भएकाहरुको त स्वभाविकै हो नहुनेले पनि छ भनेर देखाउने होडबाजी नै चल्दछ । उठबस, स्वभाव पनि मानिसको औकात नाप्ने एउटा माध्यम हो । आफूले गरेको गल्ती वा कमी कमजोरीलाई भने सकेसम्म ढाकछोप गर्ने प्रचलन छ । एउटा गजबको यथार्थता के छ भने मानिस आफूले जिएको जीवनको गन्ती गर्न कन्जुस्याइँ गर्छ । जन्मदिनको दिन आफ्नो उमेर भन्यो भने आयु घट्छ भन्ने चलनले पनि आफ्नो उमेर लुकाउन अभ्यस्त भएको हुनुपर्छ । अझ नारीहरुको तउमेर सोध्न समेत नहुने भनिन्छ । त्यसलाई थप बल पुर्याउन होला केटाको कमाइ र केटीको उमेर सोध्न हुँदैन भनिन्छ ।

केही समय अगाडि ‘मेरो एउटा साथी छ’ कार्यक्रममा नायिका रेखा थापा आमासँग टेलिभिजनमा देखा परिन् । नरेश भट्टराईद्वारा संचालित यो कार्यक्रम मैले नबिराईकन हेर्दै आएको पनि छु । साथीहरु बीचको सम्बन्धलाई टेलिभिजनको औपचारिकताले समेत बाँध्न नसकिने यो कार्यक्रम शायद धेरैलाई मन पर्छ होला । रेखा थापाले आफ्नो नजिकको साथीको रूपमा आमालाई नै ल्याउनुबाट पनि आमा छोरी बीचको सम्बन्ध राम्ररी बुझ्न सकिन्छ । कुराकै क्रममा रेखा थापाले आफ्नो उमेर लुकाउन हुँदैन भन्ने जिकिर गरेर दिएका आधारहरु मलाई पनि निकै चित्त बुझेको थियो । वास्तवमा हाम्रो ठूलो कमाई नै अनुभव र उमेर हो । आफूसँग भएको सबैभन्दा महत्वपूर्ण उपलब्धिलाई हामीले किन कम देखाउने उनको तर्कमा दाम थियो। यसरी अरूले जिकिर गरेको मैले खासै सुनेको छैन ।

कपाल सेतो भएको कारण घरमा सधै कालो रंग लगाउने कुरा हुन्छ । म भने यो रहरले पाउने कुरा हो र ? उमेर बढेपछि अनुभवी जस्तो देखिन पनि सेतो कपालको महत्व छ । संसारका धेरै न्यायालयहरुमा न्यायाधीश र वकीलहरु कलिलो उमेरको भए पनि अनुभवी देखाउन सेतो कपालको विग्स लगाउने चलन छ । म किन कालो लगाउने भनेर धेरैपटक बचेको पनि छु ।

केही वर्षदेखि ममा उमेर सम्बन्धी एउटा नयाँ सोच आएको छ । १४ वर्ष अगाडि हुनपर्छ जब म ४० मा टेकेँ अब जीवनको आधा भाग भोग गरियो जस्तो लागेको थियो । त्यतिबेला अनायास मैले अबदेखि कति वर्ष भयो भनेर कसैले सोध्यो भने ३५ वर्ष भन्छु भनेर छोटो कुरा पनि गरेको थिएँ। अरूको उमेर बढ्दै जान्छ अब मेरो भने घट्दै जान्छ भनेको याद छ । त्यतिबेला नै मैले भनेको थिएँ – म अर्को वर्ष ३४ वर्षको हुन्छु । त्यसपछि अर्को १४ वर्ष बितेको पत्तो पनि भएन।

दुई दिन अगाडि मित्र निर्मल थापा र कुमार नगरकोटीसंग फोनमा कुरा हुँदा ‘मेरो जन्मदिन पर्सी हो २१ वर्ष हुन्छु’ भनेँ । कुमार जीले ठट्यौलीमा ‘हो नि उमेर जति भए पनि स्वामीजीको मन २१ वर्ष नै रहन्छ नी’ भन्नुभयो। मैले अलि व्याख्या गर्न थालेँ । ‘स्वामीजी अब यति वर्ष बाँचे भन्नुभन्दा यति वर्ष बाँचिएला की भनेर सम्झिने हो कि ? कमसे कम त्यति समयभित्र रहर लागेको तर पूरा गर्न नसकिएको इच्छा पूरा गर्न घच्घच्याई त रहन्छ नि’ भनेँ । मैले ‘यस्तो विचार तपाईंले कोही कसैले भनेको वा लेखेको सुन्नु पढ्नु भएको छ’ भनेर सोधेँ । जवाफमा ‘छैन’ भन्ने आयो । ‘के यसबारे केही लेखौँ त’ भनेको ‘हुन्छ हुन्छ आगे जानुस् लेख्नुस्’ भन्नुभयो । कुराकानीकै क्रममा ‘के कस्तो छ आजकाल जिन्दगी’ भन्ने प्रश्न गर्नुभो । मैले पनि ‘अहिले काममा अली बढी लागेको छु, व्यस्त छु’ भनेँ । ‘पहिला खै के के गरियो अस्तव्यस्त थिएँ । अहिले काममा व्यस्त छु काममा र काम सकिएर सकेसम्म मस्तीमा पनि हुन्छु’ भनेँ । वहाँले ‘हो हो व्यस्तमा नै मस्त हुन्छ, एकदिन अस्ताउनु त छँदैछ नि’ भन्नु भयो । अस्तव्यस्त, व्यस्त, मस्त अनि अस्त निकै मिलेका शब्दहरू मेरो मानसपटलमा केही दिनदेखि घुमिरहेको छ ।

आज म ५४ वर्ष पूरा गर्दैछु । ‘मेरो आधा शताब्दी’ पुस्तकमार्फत ५२ वर्षसम्म भोगे/ गरेका कामहरू सार्वजनिक गरिसकेकै छु । यसकारण पनि म आफूलाई निकै हलुका महशुस गरेको छु । मनको कुरा कसैलाई कहे पछि आनन्द हुन्छ भन्ने भनाइको सत्यता मैले राम्रोसँग महशुस गरेको छु । हिजो गरेका कामहरू मात्रै सम्झिरहने हो भने भोलिलाई त्यति रसिलो बनाउन सकिंदैन होला । त्यसैले अब के गर्ने भन्ने सोच्दै जाँदा समयको पावन्दी पनि हुने गर्दछ । हुन त मृत्यु कहिले कसरी हुन्छ भन्ने कसैलाई थाहा हुँदैन । तर एकदिन नभई छाड्दैन भन्ने कुरा पनि कहिलेकाहीँ हामी बिर्सन पुग्छौं । बीचमा त्यस्तो कुनै त्यस्तो घटना घटेन भने मैले आफूलाई ७५ वर्षको वरिपरिसम्म सक्रिय जीवन बिताउन सक्छु जस्तो लागेको छ। नेपालीहरूको सरदर उमेर ७१.१७ वर्ष मानिन्छ। यति धेरै समय बेलायत बसेको र अझै केही वर्ष बसिने हुँदा यहाँको सरदर आयु ८१.५२ भएबाट र आमा ६९ वर्षमा र बुबा ९२ वर्षमा देह त्याग गरेको हुँदा म कसो ७५ वर्ष नबाँचुला त जस्तो लाग्नु स्वाभाविक नै हो। त्यसैले अब आफ्नो सक्रिय जीवन अर्को २१ वर्ष हुन्छ होला भनेको हुँ । अब प्रत्येक वर्षको जन्म दिनमा यो वर्ष घट्दै जाने छ र गर्न बाँकी काम वा पूरा गर्ने रहरहरु त्यति समयभित्र गर्नुपर्छ भन्ने टाइमलाइन कोर्न सकिने छ । त्यति मात्र होइन कुनै पनि दिन जान तयार हुने मानसिकता पनि विकास गर्दै लान सकिने छ। यसलाई उमेर लुकाउन खोजिएको भनेर नबुझीकन सम्भावित उमेर कति हो भन्ने होश पुर्याउन खोजिएको रूपमा बुझ्न सक्नु पर्दछ।

आज दिउँसो यस बारेमा गूगलमा केही पाइन्छ कि भनेर विभिन्न शीर्षकमा खोजी गरेँ । नभन्दै एउटा लेख आयो । ‘फाइनान्सियल टाइम’मा जेमिमा केलीले सन् २०२० को अगस्त ६ मा एउटा लेख लेखेकी रहिछन् । लेखको शीर्षक नै ‘लेट्स काउन्ट एज ब्याकवार्डस एज वी गेट वल्डर’ रहेछ । यो ठ्याक्कै मैले जे सोचेको थिएँ त्यस्तै थियो । यस लेखमा उनले आफ्ना ७३ वर्ष उमेरकी आमाले जीवनको उत्तरार्धमा कस्तो प्रकारको जीवनसाथी रोज्न सके राम्रो हुन्छ भन्ने बारे राम्ररी उल्लेख गरेकी छिन् । त्यसको साथसाथै सेवानिवृत्ती पछिको जीवन, एक्लो जीवन, जीवन शैलीबारे पनि छोटकरीमा उल्लेख गरेको छिन् । अन्तमा आफ्नो आमाले अर्को बीस वर्षसँगै जीवन बिताउन सक्ने एक भरपर्दो मानिससँग सम्बन्ध जोड्न सक्छिन् भनेर उल्लेख गरेकी छिन् । उनले इन्स्टिच्युट अफ फिस्कल स्टडिजको उल्लेख गर्दै ५०/६० वर्ष उमेर पुगेका मध्ये २० प्रतिशत मानिसले आफू ७५ वर्षसम्म बाँच्न सकिँदैन होला भन्ठान्छन् । त्यसैले बाँकी कमसेकम ७५ वर्षसम्म बाँच्न सकिन्छ भनेर मानसिक रूपमा तयार पार्न र स्वस्थ जीवनशैली अपनाउन यो बाँच्न सकिने बाँकी उमेर सम्झाउन सकियो भने धेरै बाँच्ने सम्भावना पनि हुन्छ भनिएको जानकारी दिएको छ । त्यस्तै आईपीएस मोरीका रिसर्च डाइरेक्टर सुजन हलको हवाला दिँदै सकारात्मक सोच राख्नेभन्दा नकारात्मक सोच राख्नेहरु करिब साढे सात वर्ष कम उमेर बाँच्छन् भनिएको छ। यो थोरै बाँच्न बाँकी उमेर सम्झाउँदा मानिसमा सकारात्मक सोंच आउन सक्ने र बढी ज्यून सक्ने सम्भावना बढ्न सक्ने हुन्छ पनि भनेकी छन् ।

यही प्रसंगलाई बल पुर्याउन मानिसले आफू कति वर्षसम्म बाँच्न सकिन्छ वा बाँच्न पर्छ भन्ने हिसाब गर्न मात्रै नभई मानिसमा एउटा नयाँ आशा जगाउन काम नगरीकनै बाँच्न सकिने जीवनको मीठो कल्पनाले पनि मानिसको उमेर लम्बिन सक्छ होला भन्ने अड्कल पनि काटिएको छ । सन् १८८० मा जर्मनका शासक विश्मार्कले आफ्ना नागरिकहरुलाई ७० वर्ष कटेपछि पेन्सन पाउने व्यवस्था गरेका थिए जबकि त्यतिबेला जर्मनहरुको सरदार आयु नै ३८.६९ वर्ष मात्रै थियो । अहिले बेलायतीहरु ६६ वर्षमा सेवानिवृत्त हुन सक्छन् र त्यसपछिका केही वर्ष सक्रिय जीवन बिताउन आतुर पनि देखिन्छन् ।

संसारमा आउने विविध समस्याका कारण थुप्रै मानिसहरू अकालमै ज्यान गुमाउन परिरहेको छ । विगत दुई वर्षमा कोभिडको कारणले पनि बुढापाकाहरु मात्रै हैन जवानहरुले पनि धेरै संख्यामा ज्यान गुमाउन पर्यो । यो भर नभएको काल जहिले आए पनि आफूलाई थप यति वर्ष बाँच्ने रहर छ भन्न त पाइयो नै । त्यति वर्ष बाँच्नका लागि अन्य कारकहरुमा आफ्नो पकड नभए पनि स्वस्थ्य र तन्दुरुस्ती जीवनशैली अपनाउन भने सधैँ प्रेरित गर्ने नै छ । आफ्नो जन्मदिनमा आफैँलाई शुभकामना ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक