चीनसितको सीमा अध्ययन गर्न हुम्लाको लाप्चा पुग्यो टोली

सुर्खेत । सरकारले नेपालको सीमा चीनले मिचेको भन्दै सीमास्तभ अध्ययन टोली हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चामा पुगेको छ । शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार लाप्चातर्फ गएको हो ।

नेपाल–चीन सीमा विवादका विषयमा अध्ययन गर्न जयनारायण आचार्यको नेतृत्वमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेको नेपाल–चीन सीमा विवाद अध्यायन टोली गठन गरिएको थियो ।

लाप्चाबाट पैदल हिँडेर टोलीले पाँच हजार मिटर अग्लो स्थानमा रहेका सीमा स्तम्भहरूको स्थलगत अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । चीनले हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चासँगै रहेको लोलुङ जोङमा भौतिक संरचना बनाएको र ती संरचना नेपाली भूमिको रहेको भन्दै नेपाल सरकारले सीमा अध्ययन टोली गठन गरेको थियो ।

लाप्चामै चीनले एकतर्फी रुपमा १२ नम्बर पिलर पुनर्निर्माण गरेको र टोलीले सम्भव भएसम्म हुम्ला खण्डमा पर्ने १५ वटै सीमा स्तम्भहरु पुग्ने जनाएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका– ६ को टाकुलेमा रहेको ११ नम्बर र लाप्चा क्षेत्रमा सीमास्तम्भ नम्बर १२ पर्छन् । सीमास्तम्भ नम्बर ५ (१) र (२), ६ (१) र (२), ७ (१) र (२), ८ (१) र (२), ९ (१) र (२), नाम्खा– ५ को हिल्सा र किट क्षेत्रमा पर्छन् ।

त्यस्तै, नाम्खा– ५ कै यारीभित्रको ह्याङ्सी क्षेत्रको याङ्जो भज्याङमा ३ नम्बर सीमास्तम्म ठाउँको नुमुच्चैमा ४ नम्बर सीमास्तम्भ रहेको छ ।

तर, नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा भने चीनले सीमा नमिचेको भन्दै आएका छन् । राजनीतीककरण गरेर सीमा मिचिएको भन्दै अध्यक्ष लामाले त्यसलाई अस्वीकार गरे ।  ‘नाम्खा गाउँपालिका–५ र ६ वडाका १२ नम्बर पिलर र त्योभन्दा २७ किमी पर रहेको ११ नम्बर पिल्लरकाबारेमा विवाद गरिएको छ ’, उनले भने, ‘पानी ढलोलाई सीमा मानिएको छ, १९६२ को नक्सा र अहिलेको स्थान हेर्दा पनि कुनै फरक छैन, चीनले आफ्नै भूमिमा संरचना बनाएको छ ।’

यसभन्दा पहिला पनि धेरैपटक अध्ययन भएको अहिले किन फेरि सीमा मिचियो भनेर परराष्ट्र मन्त्रालयले समिति गठन गर्‍याे, यस विषयामा आफू जानकार नभएको अध्यक्ष लामाले बताए । ‘सरसर्ती हेर्दा र नक्सासँग जुधाउँदा कुनै विवाद गर्नुपर्ने देख्दिन, तर सरकारको काम हो, गरेर केही प्रतिवेदन त देला’, उनले भने, ‘यो मुद्दा अलि बढी नै राजनीतीककरण गर्न खोजिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री