अमेरिकाद्वारा काबुल विमानस्थलमा रहेका आफ्ना नागरिकलाई सचेत रहन निर्देशन

A US military helicopter is pictured flying above of US embassy in Kabul on August 15, 2021. (Photo by Wakil KOHSAR / AFP)

काबुल । अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल छाड्न सचेत गरेको छ ।

अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आईएस) ले कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई यस्तो सचेत गराएको हो । विमानस्थल गेटबाहिर आइएसले जुनसुकै बेला अमेरिकी नागरिकमाथि हमला गर्न सक्ने वासिंगटनको अनुमान छ । विमानस्थलमा बढिरहेको भिडभाडबारे अनुगमन गरेको र वैकल्पिक मार्गबारे खोजी भइरहेको अमेरिकी रक्षा मन्त्रायलयका अधिकारीले बताएका छन् ।

आइएसको सम्भावित हमलाको जोखिमबारे थप विवरण सार्वजनिक गरिएको छैन । त्यस्तै, सो समूहले पनि काबुलमा हमला गर्ने चेतावनी अहिलेसम्म सार्वजनिक रुपमा दिएको छैन् ।

विमानस्थल टर्मिनलबाहिर हिंसात्मक झडप भइरहेका बेला अमेरिकी सरकारले आफ्ना नागरिकलाई सचेत गराएको हो । केही दिनअघि मात्र हजारौ मानिस देश छाडेर जाने क्रममा विमानस्थलमा भागदौड हुँदा केहीको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । बेलायतको रक्षा मन्त्रालयका अनुसार सो भागदौडमा सातजनाको मृत्यु भएको थियो ।

अमेरिकी सेनासँगै देश छोडेर जान चाहने अफगान नागरिकहरुको बढ्दो चापका कारण काबुल विमानस्थलमा भिड बढेको छ । अमेरिकी सेनासँग काम गरेका तथा अफगानिस्तानमा मानवअधिकारको पक्षमा वकालत गरेका कतिपय अफगानीहरु आफूहरुमाथि तालिावनले बदला लिन सक्ने आशंकामा देश छोड्न आत्तुर छन् ।

तालिवानले सत्ता कब्जा गरेपछि २५ सय अमेरिकी नागरिकसहित १७ हजार मानिस स्वदेश फर्किएका छन् । हजारौं मानिस स्वदेश फर्किन विमानस्थलमा बसिरहेका छन् । आफूसँगै अमेरिका जान चाहने अमेरिकीमाथि दुव्र्यबहार भएको अमेरिकी अधिकारीले बताएका छन् । विमानस्थल जाने क्रममा उनीहरुमाथि कुटपिट भएको छ ।

हिंसाका घटना बढ्न थालेपछि अमेरिकी विदेश मन्त्रालयले भिड नगर्न अनुरोध गरेको छ । काबुलबाट कसरी सुरक्षित यात्रा गर्ने बारेमा मन्त्रालयल आफ्ना नागरिकलाई निर्देशन जारी गरेको मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

त्यस्तै, अन्य देशले पनि आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ । काबुल विमानस्थल जोखिममा रहेको र विमानस्थलको पहुँचमा कडाइ गरिएको स्विट्जरल्यान्डको विदेश मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा विमानस्थलको सुरक्षा अवस्था दयनीय रहेको पनि मन्त्रालयले जनाएको छ । असुरक्षा दर्शाउँदै स्विट्जरल्यान्डले काबुलका चार्टड उडान स्थगित गरेको छ ।

हाल अमेरिकी फौजले अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको छ । अमेरिकाले आफ्ना र अन्य देशका नागरिकलाई स्वदेश फर्काउन सहयोग गरिरहेको छ । अमेरिकाले ३१ अगस्टसम्म आफ्ना सबै नागरिक स्वदेश फिर्ता गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री