बुवासँग राजेश हमालको ‘अव्यक्त प्रेम’

काठमाडौँ । अभिनेता राजेश हमाल नेपाली फिल्म हेर्ने दर्शकमाझ परिचित नाम हो । यो नाम पश्चात कुनै परिचय थप्नु पर्दैन, किनकि डेब्यु फिल्म ’युगदेखि युगसम्म’बाट प्रारम्भ भएको उनको अभिनय यात्रा निरन्तर छ । पछिल्लो समय ठूलो पर्दामा केही ’ब्रेक’ लिएका राजेश म्युजिक भिडियोमा भने सक्रिय छन् । यिनै राजेशलाई फिल्ममा आउन भने सहज थिएन ।

उनका बुवा कुटनीतिज्ञ थिए । ‘बुवाले बनारसबाट मास्टर्स गर्नुभएको थियो । ममीले पनि त्यहिँ पढ्नुभएको थियो । बनारसमै उहाँहरुको प्रेम भयो र पछि विवाह भयो’, राजेशले सुनाए । स्कुले जीवन तीन चार देशमा सकेका राजेशले उच्च शिक्षा भने भारतबाटै लिएका थिए । तर, परिवारको चाहनाविपरीत उनी अभिनेता बन्ने लक्ष्य लिएर अगाडि बढे ।

शिक्षित परिवार भएकाले राजेशले पनि राम्रो शिक्षा पाए । साथी र संगत पनि त्यस्तै भयो । त्यसै कारण हुनसक्छ उनले फिल्मनगरी रोजेपछि आफ्नैको साथ पाएनन् । ‘मेरो साथी सर्कल सबै अर्कै पेशामा थिए, त्यसैले यहाँ सपोर्ट पाउने कुरै भएन’, उनले सम्झिए । घरमा बुवा र मुमाले पनि राजेशलाई अन्य काम गर्न सुझाएका थिए । राजेश सम्झिन्छन् ‘परिवार कलाप्रेमी नभएको हैन, तर नेपाली फिल्ममा भविष्य छैन भनेर उहाँहरुले मलाई सपोर्ट गर्नुहुन्न थियो ।’ त्यसपछि उनी केही समय परिवारसँग टाढाझैँ भए । यद्यपि, राजेश आफ्नो सफलताको श्रेय परिवारलाई नै दिन्छन् ।
उनलाई एउटै दुखेसो छ, उनले बुवासँग संवाद गर्न पाएनन् । जब उनी फिल्ममा आए त्यसपछि बुवासँग राम्रोसँग कुरा भएन, त्यसमाथि फिल्ममा व्यस्त । उनको बुवाको पहिलो र अन्तिम पोस्टिङ पाकिस्तान नै भयो । पाकिस्तानमै हुँदा बुवाको असामयिक निधन भयो । तत्कालीन पाकिस्तानी राष्ट्रपतिलाई भेटेर नेपाल दूतावास जाने क्रममा राजेशका पिताको निधन भएको थियो ।

‘काम गरिरहेको छु र एकदिन अवश्य मनाउनेछु भन्ने थियो, तर अचानक उहाँको निधनको खबर आयो’, भावुक हुँदै राजेशले सुनाए ।
उनले बुवालाई ‘गुड बाई’ भन्न पाएका थिएनन् । ‘त्यतिबेला फिल्मको भविष्य यस्तो थिएन, त्यसैले उहाँ केही रुष्ट हुनुहुन्थ्यो त्यसैले अन्तिमपटक पाकिस्तान जाँदा मलाई नभेटी जानुभयो’, राजेशले सुनाए ।

राजेश त्यतिबेला ‘गोपी कृष्ण’को छायाँकनमा थिए । उनले बावु र छोराबीच अव्यक्त प्रेम भएपनि त्यसलाई व्यक्त गर्ने समय नमिलेको संकेत गरे । ‘समय छ भन्ने थियो, तर समय त कहाँ रहेछ र ?’, उनले भने, ‘सफल हुँदै थिएँ र एक दिन त आउला, जब हाम्रो माया व्यक्त होला भन्ने लागेको थियो, तर त्यो सम्भव भएन ।’

राजेशले फिल्म क्षेत्रमा आफ्नो प्रवेशसँगै पछिल्लो समय फिल्मबाट लिइरहेको विश्रामको कारणसम्मका कुरा दर्शकमाझ बाँडेका थिए । ३० वर्षभन्दा बढी समय अभिनयमा बिताएका राजेशलाई जति फिल्म खेलेपनि उत्कृष्ट फिल्म भने नखेलेको आरोप छ । उनले यो आरोपको पनि खण्डन गरे ।

उनको तर्क थियो, ‘इतिहासलाई तपाईंले अहिलेको आँखाबाट हेर्नु भयो भने धेरै कमजोरी देख्नुहुन्छ । मैले ज्यादा फिल्म किन गरेँ भने त्यतिबेला मलाई लाग्यो ज्यादा फिल्म बन्न जरुरी छ । जब तपाईंसँग छनोटको अवसर हुन्छ, तब तपाईंले क्वालिटीको कुरा गर्ने हो । नेपाली फिल्मको अवस्था पनि त्यही थियो । त्यो समय फिल्म बनाउन चाहनेलाई हत्तोत्साही गर्नु सही थिएन ।’

(राजेश हमालद्वारा एक इभेन्टमा सुनाइएको आत्मकथामा आधारित) 

प्रतिक्रिया

सम्बन्धित सामाग्री