माधव नेपालले दर्ता गरे नयाँ पार्टी

काठमाडौं । माधवकुमार नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ ।

साविक एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना सांसदको समर्थन दाबीमा पार्टी दर्ता भएको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।  उनका अनुसार नेपालको अध्यक्षतामा गठित पार्टीमा झलनाथ खनाललाई वरिष्ठ नेता तोकिएको छ । पार्टी दर्ताको प्रमाणपत्र पाएपछि राष्ट्रिय सम्मेलन गरेर देशव्यापी संगठन निर्माणमा लाग्ने पाण्डेले बताए ।

संसदलाई पटक पटक भंग गर्ने र त्यसलाई गलत नढान्ने प्रवृत्तिविरुद्ध पार्टी दर्ता गरेको उनको भनाई छ । ‘संसद् र संविधानको रक्षाका निम्ति पार्टी एकताको प्रयास गरे पनि नभएपछि दल दर्ता गरेका हौं,’ पाण्डेले भने ।

नेपाल समूहले चुनाव चिन्ह भने पछि टुंगो लगाउने जनाएको छ । केन्द्रीय कमिटी पनि पछि टुंग्याउने पाण्डेले जानकारी दिए । उनले एमालेमा अलमलमा रहेकाहरुलाई समावेश हुन आह्वान पनि गरे ।

ओलीको पार्टीबाट कम्युनिस्ट आन्दोलन अघि बढ्ने सम्भवना नरहेको उनको भनाइ छ ।

२० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले दल विभाजन गर्नसक्ने अध्यादेश आएसँगै नेपाल समूहले नयाँ दल दर्ता गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताका लागि नेपाल समूहको निवेदन दर्ता भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री