एनआरएन यूके निर्वाचन : अजेण्डा उही, पात्र मात्र फरक

एनआरएनए युके अध्यक्षका तीन उम्मेदवारहरु रोजिना प्रधान, दीपक श्रेष्ठ र प्रेम गाहामगर

लण्डन । गैर आवासिय नेपाली संघ (एनआरएन यूके) यही जुलाई ३१ मा सम्पन्न हुन गइरहेको निर्वाचनमा अध्यक्षका आकांक्षी तीनै जना उम्मेदवारहरुले आफू अध्यक्ष पदमा निर्वाचित भएमा के गर्ने भन्ने योजनासहति आफ्ना घोषणापत्र सार्वजनिक गरिसकेका छन् । कसैले छ बुँदे, कसैले १० बुँदे घोषणा पत्र बाहिर ल्याए पनि सबैको घोषणा पत्रको सार भने एउटै पाइएको छ ।
तीनै जना उम्मेदवारले खासगरी नेपाली नागरिकताको निरन्तरताका लागि दबाब दिने, गोरखा भूतपूर्व सैनिकहरुको समस्या समाधान गराउनमा ऐक्यवद्धता जनाउने, एनआरएनए युकेलाई आर्थिक रुपमा पारदर्शी बनाउने, एनआरएनए युकेलाई बेलायतमा बसोबास गर्ने सबै नेपालीहरुको साझा संस्था बनाउने अजेण्डा अघि सारेका छन् ।
अध्यक्ष पदका लागि उम्मेद्वार दीपक श्रेष्ठले प्रवासमा बसेका नेपालीको नेपाली नागरिकताको निरन्तरताका लागि सम्झौना नगर्ने बताएका छन् । उता अर्का उम्मेदवार प्रेम गाहामगरले पनि नेपाली नागरिकताको निरन्तरता र सम्पत्तिमाथिको अधिकारका लागि अन्तर्राष्ट्रिय समन्वय समितिसित मिलेर काम गर्ने बताएका छन् । अध्यक्षका अर्का उम्मेदवार रोजिना प्रधान राईले पनि ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल मर्ममा रहेर नेपालको संविधानले दिएको गैरआवासीय नागरिकता दिलाउन लागि पर्ने बताएकी छिन् ।
त्यस्तै, गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा आफैँ पूर्व गोरखा सैनिक रहेका गाहामगरले बेलायत सरकार, नेपाल सरकार र भूपू गोरखाहरुबीच छलफल गरी तयार भएको १३ बुँदे प्राविधिक समितिको प्रतिवेदन कार्यान्वयनका लागि पहल गर्ने बताएका छन् । प्रधान राईले भने गोरखाहरुको समान हक, अधिकारका लागि साथ दिने बताएकी छिन् । अर्का उम्मेदवार श्रेष्ठले भने गोरखा समस्या समाधानका लागि नेपाल तथा बेलायतमा लबिङ गर्ने र बेलायतमा रहेका गोरखाहरुलाई परेका व्यावबहारिक समस्यामा सहयोग गर्ने योजना ल्याएका छन् ।
अध्यक्षका उम्मेदवारहरुले अघि सारेको अर्को अजेण्डा हो एनआरएनए युकेमा आर्थिक पारदर्शिता । श्रेष्ठ र गाहामगरले यस विषयलाई पहिलो मुद्दा बनाएका छन् भने प्रधान राईले आर्थिक पारदर्शितालाई एनआरएन युकेलाई आत्मनिर्भर बनाउने सवालसँग पनि जोडेकी छिन् । यसका साथै एनआरएनए युकेलाई युकेमा रहेका सबै नेपालीहरुले अपनत्व ग्रहण गर्ने संस्थाका रुपमा विकास गर्ने, सदस्यता प्रक्रियालाई सजिलो बनाउने र एनआरएनए युकेको आफ्नै घर ‘नेपाल हाउस’ बनाउने कुरालाई पनि तीनै जना उम्मेदवारले जोड दिएका छन् । गाहामगरले सदस्यता हरेक दुई वर्षमा नयाँ सदस्यता लिने चलन हटाई नविकरण मात्र गरे पुग्ने बनाउने खाका अघि सारेका छन् भने प्रधान राई निशुल्क सदस्यता दिलाउने महत्वाकांक्षी योजना ल्याएकी छिन् । तर नेपाल हाउसजस्तो करिब एक दशकदेखि पूरा हुन नसकेको बृहत योजनाका बारेमा भने तीन वटै उम्मेदवारले विस्तृतमा बताएका छैनन् । जसले यसपटक पनि नेपाल हाउस उम्मेदवारहरुको चुनावी नारा मात्र भएको आशंका गर्न बल पुग्छ ।
यसबाहेक युकेमा रहेका नेपालीहरुले सिकेका ज्ञान, सीप, विज्ञतालाई नेपालमा पुर्याउने, बेलायतको नवपुस्तामा नेपाली भाषा, सँस्कृति, पहिरन प्रसारप्रसार गर्ने, बेलायतमा नेपालको पर्यटन प्रबर्धन गर्ने, बेलायतबाट नेपालमा व्यवसाय गर्न लगानी लैजान प्रोत्साहन दिने लगायतका अजेण्डा तीन वटै उम्मेदवारको घोषणा पत्रमा रहेका छन् ।
तीन वटै उम्मेदवारहरुको घोषणा पत्र विश्लेषण गर्दा के देखिन्छ भने जसले निर्वाचन जिते पनि उनीहरुले गर्ने अजेण्डामा भने केही फरक देखिँदैन । फरक हुन सक्ला मात्र गर्ने तरिकाको । गर्ने पात्रहरुको । यससँगै खट्किएको अर्को पक्ष भने किन तीनवटै उम्मेदवारहरुको घोषणा पत्रमा उस्तै र उही विषयहरु मात्र अटाउन सके ? नयाँ विषय किन कसैले ल्याउन सकेनन् ? के उनीहरुमा सृजनात्मकताको कमी भएको हो वा एनआरएन अभियान भित्रको करिब दुईदशक लामो रटानबाट बाहिर सोच्न नसकेको हो ?

प्रतिक्रिया

सम्बन्धित सामाग्री