बिहीबार, साउन २१ २०७८ | Thu, August 05, 2021
नेपालको समय: ०४:५९ | UK Time: 00:14

युरोकप पराजय पछिको सन्नाटासँगै गर्मागर्मी

जयराम तामाङ्ग
२०७८ असार ३० गते १०:४४

खेलमा हार जित हुनु स्वाभाविक नै हो। तर कसैले सजिलै स्वीकार्न सक्छ भने कसैलाई स्वीकार्न एकदम नै गार्हो भइरहेको हुन्छ। त्यो खेलमा भएको आफ्नो समर्थक टीमले गरेको गल्ति र कमजोरीलाई लुकाएर प्रतिद्वन्द्वी टीम अनि रेफ्रीहरुलाई दोष लगाएर यस्तो भएको भए जित्ने थियो अथवा उस्तो नगरेको भए हुने थियो जस्ता आ-आफ्नै अड्कलबाजीहरु गरिरहेको हुन्छन्।
सेमी फाइनलमा डेनमार्कलाई हराएपछि प्रत्येकलाई अब फाइनलमा कस्तो हुन्छ भन्ने जिज्ञासा हुनु स्वाभाविक नै थियो। मेरो मन पर्ने टीम पोर्चुगल थियो तर पोर्चुगल पराजित भएपछि अर्को मन पर्ने टीम मेरो लागि इंग्ल्याण्ड नै थियो। सबै फुटबल गेमहरु नहेरे पनि मेरो लागि युरो कप, विश्वकप, सारै मन पर्ने फुटबल हो। जुन देशमा बस्यो त्यही देशको माया लाग्ने त भैहाल्यो। हामीले काम गर्ने ठाउँमा पनि सहकर्मीहरु मिलेर कुन देशले जित्छ भनेर एक/एक पौण्ड हालेर गोला प्रथा गरेर रमाइलोको लागि बाजी लगाएको  थियौ।  मेरो भागमा भने टर्की परेको थियो।
मेरो टीमले त जित्दैन भनेर मैले पहिला नै क्रस गरिसकेको थिएँ । प्रत्येक दिन हेर्न भ्याउने जति खेल काम सकेपछि हतारहतार घरमा आएर श्रीमतीले अरु के के हेरेको भए पनि लौ अब म हेर्ने हो भनेर टिभी रिजर्भ गरेर हेर्न बसी हाल्थ्यो । हेर्न नभ्याउने जति काम गर्ने ठाउँमा रेडियोमा भने पनि सुन्ने गरेको थिएँ । फाइनल खेल हुनुभन्दा एक/दुई दिन अगाडीदेखि नै प्रत्येकको मुखमा अनि विभिन्न संचारमाध्यमहरुमा पनि खेलको बारेमै चर्चा परिचर्चाहरु भैरहेको हुन्थ्यो। हुनु पनि किन नहोस् कति वर्षपछि बल्ल भाग्यले फाइनल खेल्न पाएको थियो। मलाई पनि जितोस् भन्ने ठूलो कामना थियो। त्यो दिन विम्वल्डन टेनिसको पनि फाइनल परेकोले दिनभरि किसोर भान्जा, मीना दिदी अनि जेम्स दाइको घरमा पैसट्ठी इन्चको टिभीमा आँखा पनि झिमिक्क नगरी हेरियो। टेनिस चाहिँ इटालीको बेरेतिनीले जितोस् भन्ने लागेको थियो। किनभने जोकोबिचले धेरैपटक जितिसक्यो नयाँले जितोस् भन्ने चाहना थियो। तर के गर्नु खेल्ने त खेलाडीले हो आफू त शुभचिन्तक मात्र पर्यो।
फुटबलमा पनि तेस्तै भयो। अलिकति समय भान्जाको घरमा हेरे पनि बाँकी चाहिँ घरमै आएर आँखा नै झिमिक्कै नगरी हेरियो।  इङ्ग्ल्याण्ड्ले एक गोल हान्यो । अनि चिच्यायो। फेरि केहीबेरमा इटालीले पनि गोल हान्यो अलिकति निराश पनि भयो। पूरा समयमा पनि गोल बराबर भयो अनि आधा घण्टा समय थप्यो पनि गोल भएन। अब पेनाल्टीमा जाने भयो भन्ने थाहा भएपछि मेरो मुटुको धड्कन एकदम बढन थाल्यो।
दुईजना गोराहरुले त गजबले गोल हान्यो तर तीनजना अस्वेत जातिको खेलाडीले हानेको बल कोइ पोलमा ठोक्कियो । कसैको प्रतिद्वन्द्वी गोलकिपरले समात्यो अनि इटालियनहरु उनीहरुको जित भयो भनेर दौडेर रमाउन थाल्यो, उफ्रिन  थाल्यो,  हाँस्न थाल्यो । अनि तेस्तै तेस्तै भयो। त्यो स्वाभाविक नै थियो। देविका प्रधानको गीतको याद आयो (जित्नेको हाँसो हार्नेको आँसु  यस्तै रहेछ यहाँको चलन । मलाई पनि नरमाइलो नै लाग्यो । भोलिपल्ट एकदम सुनसान थियो। काममा जाँदा कसैको मुखमा फूटबलको नाममा ‘फु’ पनि कसैले उच्चारण पनि गरेन। मलाई पनि गर्न मन लागेन। केही ठूलो घटना घटेको जस्तो एकदम सन्नाटा थियो।
 बाटोतिर मानिसहरु हिँडेको पनि नून खाएको कुखुराहरु हिँडेको जस्तो भान भइरहेको थियो । बेलुका पेनाल्टी हार्ने बित्तिकै मैले भनेको थियो अब यो देशमा जातिवादको कुरा निस्कने छ भनेर भनेको थियो। तेस्तै अहिले प्रत्येक संचारमाध्यमहरु त्यही जातिवादको भेदभावको खबरले गर्मागर्मी हुन थालेको छ। प्रधानमन्त्री, राजपरिवारदेखि संसद भवनसम्म सबैले त्यसको घोर भर्त्सना गर्दै आपत्ति जनाएको छ । सामाजिक संजाल अहिले जातिवादको विषयले तात्तिन थालेको छ। मेरो विचारमा त्यो अस्वेत जाति  होस् या स्वेत जाति होस् सबैले आ-आफ्नो ताकतले भ्याएसम्म खेलेको हुनुपर्छ।  हेल्चेक्र्याई गरेको कदापि हुन सक्दैन। संसारलाई खान, बस्न अनि लगाउन सिकाउने देश भित्र पनि रंगभेद अनि जातिवादको भेदभाव गर्ने मानिसहरुको कमी छैन भन्ने ज्वलन्त उदाहरण यही फुटबल खेलको नतिजा पछिको प्रतिक्रियाले देखाएको  छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक