‘फोनिज युके पत्रकारिता पुरस्कार’ सन्त गाहामगर र टेकराज थामीलाई

गाहामगर (बायाँ) थामी (दायाँ)

लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० युकेले ‘फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार २०२०’ पत्रकार सान्त गाहा मगर र टेकबहादुर थामीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
फोनिज युकेकी अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षतामा यही ४ जुलाई २०२० को दिन भर्चुअल रुपमा बसेको बैठकले यो निर्णय गरेको हो ।
सम्मानको राशी २५/२५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।
फोनिज युकेले संस्थाका प्रमुख सल्लाहकार सोनामछिरिङ शेर्पाको प्रमुख संयोजकत्वमा गठन गरेको पाँच जनाको पत्रकारिता सम्मान छनोट समितिले फोनिज केन्द्र ९नेपाल०ले सिफारिस गरेको ५ जना पत्रकारमध्ये वरिष्ठताका आधारमा सन्त गाहा मगरलाई सम्मान र टेकराज थामीलाई पुरस्कारको निम्ति छनौट गरिएको हो ।
सन्त गाहा मगर नवलपरासी कावासोती नगरपालिका वडा नम्बर १ मा जन्म भै हाल काठमाडौँमा बसोबासरत हुनुहुन्छ । उहाँले त्रिभुवन विश्व विद्यालयबाट मास कम्युनिकेसनमा स्नातकोत्तर गर्नु भएको छ भने हिमाल खबरपत्रिका, हिमाल खबर डटकम, अनलाईन खबर डटकममा समाचारदाता र सेन्टर फर इन्भेष्टिगेटिभ जर्नालिजममा प्रशिक्षकसमेत रहनुभएको छ । त्यस्तैगरी उहाँ गोर्खा एफएम, मेट्रो एफएम र रेडियो लुम्बिनीमा पनि प्रोग्राम प्रोड्युसर र प्रेजेंटरको रुपमा काम गरि सक्नुभएको छ ।
टेकराज थामी दोलखा बाबरे वडा नम्बर ४ घर भै हाल काठमाडौँ बसोबास गर्दै आउनु भएको छ । वहाँले त्रिभुवन विश्व बिद्यालयबाट मास् कम्युनिकेसनमा मास्टर डिग्री गर्नु भएको छ । हालमा नयाँपत्रिका राष्ट्रिय दैनिकमा क्राइम रिपोटर हुनुहुन्छ भने गोरखापत्र दैनिकमा थामी भाषाको संयोजक समेत रहनुभएको छ भने राज्यक्रान्ति साप्ताहिक, सशक्तीकरण न्यूज, संघात्मक मासिकमा समेत समाचारदाताको रुपमा काम गरिसक्नुभएको छ । साथै वहाँ एबीसी टेलिभिजन र सगरमाथा टेलिभिजनमा पनि प्रोग्राम पोड्यूसर र समाचारदाताको रुपमा काम गरिसक्नु भएको छ । वहाँ मातृभाषा पत्रकारितामा पनि एक राम्रो दख्खल राख्नुहुन्छ । थामी भाषा उत्थानको लागि विभिन्न रेडियोहरुमा कार्यक्रमहरु प्रस्तुत गर्नुहुन्छ ।
फोनिज युकेले यसअघि सन् २०१६ को ‘फोनिज युके पत्रकारिता सम्मान’ पत्रकार गोपाल छाङ्छा राई र ‘फोनिज युके पत्रकारिता पुरस्कार’ रामविकास चौधरीलाई प्रदान गरिएको थियो । त्यसैगरी सन् २०१७ को ‘फोनिज युके पत्रकारिता सम्मान’ पत्रकार गणेशमान गुरुङ र ‘फोनिज युके पत्रकारिता पुरस्कार’ मिलन लिम्बुलाई प्रदान गरिएको थियो भने ‘फोनिज युके पत्रकारिता सम्मान–२०१८’ पत्रकार राजेश चाम्लिङ राईलाई र फोनिज युके पत्रकारिता सम्मान सन् २०१९ पत्रकार शान्ति गुरुङलाई गरिसकेको छ । सन् २०२० को पत्रकारिता सम्मान तथा पुरस्कार यही २०७७ असार अन्तिम साता काठमाडौंमा प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री