नेपाललाई कोरोना खोप दिनेबारे बेलायती संसदमा बहस

लण्डन । बेलायतको तल्लो सदन हाउस अफ कमन्समा नेपाललाई कोरोना भाइरसविरुद्ध खोप सहयोग गर्ने बारेमा मंगलबार बहस भएको छ ।

बहसको शुरुमा बेलायती स‌ंसदमा नेपाल सम्बन्धी सर्वदलीय संसदीय समितिका संयोजक सांसद वीरेन्द्र शर्माले नेपाल साझेदार र मित्र नेपाली डायस्पोरा र गोरखाहरुले बेलायतको सुरक्षा, अर्थतन्त्र र सँस्कृतिमा योगदान दिएको बताए । सन् २०१९ मा नेपाली प्रधानमन्त्रीको भ्रमणका क्रममा संसदलाई बलियो बनाउने, विकास, व्यापार र जलवायु परिवर्तनका बारेमा कुरा भएको र बेलायतले सहयोग गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरे । उनले भने- त्यतिबेला कोरोना आउला भन्ने थाहै थिएन ।

अहिले नेपालमा कोरोनाविरुद्ध खोपको जरुरत रहेको तर हामी (बेलायती)हरु खोपका बारेमा भएका अन्तर्राष्ट्रिय पहल र विश्वव्यापी योजनाका पछाडि लुकिरहेको आरोप उनले लगाए । नेपालमा ९ हजार बढी मानिसहरु कोभिडबाट मरेको जसमध्ये ५० प्रतिशत ६० वर्षमाथिका रहेको शर्माले बताए । नेपालमा कोरोनाको तेस्रो वेभले झनै असर पार्ने विज्ञहरुको भनाइ उद्धृत गर्दै उनले हालसम्ममा नेपालको ३ प्रतिशतभन्दा कम्तीले पूरा मात्रा खोप पाएको र ६.३ प्रतिशतले एक मात्रा मात्र खोप पाएको जानकारी दिए । नेपालमा जोखिममा रहेका १४ लाख मानिसहरु खोपको आशामा रहेको र आंशिक मात्रामा दिइएको खोपले भाइरस म्यूटेसन बढाएको उनको भनाइ थियो । म्यूटेसन अहिले नेपालमा मात्र नभई संसारभर फैलिएको र त्यो नेपालको मात्र नभई विश्वकै समस्या रहेको उनले बताए ।

गत मार्चमा अक्सफोर्ड आष्ट्राजेनिका खोप लाएकाहरुले अहिलेसम्म अर्को डोज नपाएको बताउँदै उनले कोभ्याक्सबाट नेपालले मार्च र मेबीचमा २० लाख खोप पाउनु पर्नेमा ३ लाख ४८ हजार डोज मात्र पाएको विवरण पेश गरे । उनले बेलायत सरकारका मन्त्रीसमक्ष तीन प्रश्न राखे । जसमा जोखिममा रहेका १४ लाख नेपालीलाई बेलायतले खोप दिन सक्छ ? बेलायती प्रधानमन्त्रीले हालै ५० लाख डोज खोप डोनेसन दिने भनेका छन् के त्यसमा नेपाल पर्छ र पर्छ भने खोप कहिले पाउँछ ? कोभ्याक्समा खोप दिने प्रतिवद्धता जनाएका मुलुकहरुले खोप नदिँदा कोभ्याक्सले समयमै खोप दिन सकेको छैन । के बेलायतले कोभ्याक्सलाई खोप दिने समयसीमा तोक्न सक्छ ? भन्ने थियो ।

डेमोक्रयाटिक युनिनिष्ट पार्टीका तर्फबाट स्ट्राङफोर्ड निर्वाचन क्षेत्रका सांसद जोन सानोनले हालै बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीसित कुरा गरेको र नेपालमा महामारीका कारण गम्भीर अवस्था थाहा पाएको बताउँदै नेपालका क्रिस्चियन, मुस्लिम र अरु धार्मिक अल्पसंख्यकका लागि खोप पुर्याउन सरकारले के गर्न सक्छ भन्ने प्रश्न गरेका थिए ।

यस्तै लेबोर पार्टीबाट फेल्थम र हेस्टोन निर्वाचन क्षेत्रकी सांसद सीमा मल्होत्राले बेलायतले नेपाललाई काँधमा काँध साथ दिने वचन दिने गरेको तर आफ्ना निर्वाचन क्षेत्रका पहिलो गोरखा मेयर विष्णुबहादुर गुरुङलगायतका नेपालीहरुले बेलायतले नेपाललाई कोरोनाबाट बच्नका लागि पर्याप्त पहल नगरेको र समयमा सहयोग नगरेको बताएको प्रष्ट पारिन् । उनले कोरोनाका कारण नेपालमा ६३ जना पूर्व गोरखाहरु बितिसकेको पनि जानकारी दिइन् । उनले बेलायत सरकारले नेपाललाई खोप दिनका लागि सरकारले पर्याप्त गरेको छ भनेर निर्वाचन क्षेत्रका जनतालाई कसरी आश्वस्त पार्नुहुन्छ भन्ने प्रश्न गरिन् ।

लेबोर पार्टीबाट स्टकपोर्ट निर्वाचन क्षेत्रका सांसद नभेन्दु मिश्रले बेलायतमा रहेका नेपालीहरुले बेलायतका लागि महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । कोरोना भाइरसका विरुद्ध विकसित खोपका बारेमा व्यापार प्रतिलिपि अधिकार हटाइएमा नेपाल जस्ता मुलुकहरुले फाइदा लिनसक्ने बताउँदै के बेलायत सरकार यस्तो अधिकार हटाउन सहमत छ भन्ने प्रश्न गरेका थिए ।

प्रश्नहरुको जवाफ दिँदै कमनवेल्थ तथा फरिन अफिसका मन्त्री नाइजल आडम्स बेलायत र नेपालबीच गहिरो सम्बन्ध रहेको र नेपालका लागि बेलायतको दिलमा विशेष स्थान रहेको बताए । गोरखा र शेर्पाहरुका कारण पनि सम्बन्ध विशेष रहेको उनको भनाइ थियो । कोरोना महामारी विरुद्धको लडाइँमा जति गरे पनि पर्याप्त नहुने उनले बताए । कोरोना महामारीविरुद्ध लड्न बेलायतले शुरुदेखि नै नेपाललाई सहयोग गर्दै आएको उनले बताए । नेपाललाई २६९ भेन्टिलेटर पठाइएको, पोखरा र काठमाडौँमा अक्सिजन प्लान्ट स्थापना गरिएको, गोरखा वेलफेयर ट्रष्टमार्फत गोरखाहरुलाई मद्दत गरिएको, काठमाडौँस्थित बेलायती दुताबासमार्फत ४० मिलियन पाउण्ड सहयोग पुनर्प्राथमिकीकरण गरिएको पनि उनले बताए ।

उनले कोभ्याक्समार्फत १०० मिलियन खोप दिने बेलायतले प्रतिवद्धता जनाएको र त्यसले नेपाललगायत निम्न र मध्यम आय भएका मुलुकलाई सहयोग पुग्ने आशा गरे । कोभ्याक्स स्थापना गर्न बेलायतले ५४८ मिलियन पाउण्ड सहयोग गरेको र केही सातामै नेपालमा कोभ्याक्सको अरु खोप जाने बताए । उनले बेलायतले विश्व बैँक र एसियाली विकास बैँकलाई नेपालमा आर्थिक सहयोग गर्न भनेको र सोमुताबिक कोरोनाविरुद्धको लडाइँका लागि विश्व बैँकले ७५ मिलियन युएस डलर र एसियाली विकास बैँकले १६५ मिलियन युएस डलर नेपाललाई सहयोग गरेको उनले जानकारी दिए । सो सहयोगबाट नेपालमा हरेक १० जनामध्ये ७ जनालाई खोप दिन पुग्ने उनले बताए ।

‘एडजोर्नमेण्ट डिवेट’ अन्तरगत सो बहस भएको थियो । यस्तो बहस संसद चलेको दिनको अन्तिम आधा घण्टामा हुने गर्दछ । जसमा सांसदहरुले त्यति धेरै प्रतिप्रश्न गर्न पाउँदैनन् । गरिहाले पनि त्यसको जवाफ दिने नदिने अधिकार सम्बन्धित मन्त्रीमा निहित हुन्छ ।

बेलायतमा रहेका नेपालीमूलका र अन्य शुभचिन्तकहरुले यसअघि बेलायतलाई नेपाललाई खोप दिन दबाबका लागि हस्ताक्षर अभियान चलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री