सोमबार, जेठ ३१ २०७८ | Mon, June 14, 2021
नेपालको समय: ०८:३८ | UK Time: 03:53

कोरोनाविरुद्धको लडाइँमा नेपाललाई सघाउन बेलायत किन उदासिन ?

समाचार टिप्पणी

नरेश खपाङ्गीमगर
२०७८ जेठ ७ गते १२:२३

लण्डन । कोरोना भाइरसको दोस्रो लहरका कारण नेपाल अहिले आक्रान्त छ । यी पंक्तिहरु लेखिरहँदासम्मा नेपालमा कोरोना संक्रमणको दर घट्न शुरु गरेको छैन । संक्रमण र मृत्यु दर दुवै बढिरहेका छन् । जोन हप्किन्स युनिभर्सिटीको शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार नेपालमा ४ लाख ८८ हजार मानिस कोरोना संक्रमित भइसकेका छन् भने ५ हजार ८४७ जनाको ज्यान गइसकेको छ । यद्यपि यो संख्या अझै ठूलो हुनसक्छ । किनकि धेरै ठूलो संख्यामा कोरोना टेष्ट हुन सकेको छैन ।
ब्रिटेन नेपाल प्रज्ञा प्रतिष्ठानले गत साता आयोजना गरेको राउण्ड टेबलमा नेपालका जनस्वास्थ्यविद् प्रा. शरद वन्तले नेपालमा संक्रमण दर करिब ४५ प्रतिशत रहेको बताएका थिए । त्यो संख्या अहिले बढेको पनि हुन सक्छ तथापि स्वास्थ्य मन्त्रालयले दैनिक जारी गर्ने गरेको बुलेटिनमा संक्रमित र मृत्यु हुनेहरुको संख्यामा त्यसयता खासै अन्तर आएको देखिँदैन ।
विश्वले स्वीकारेको तथ्य हो हाल नेपालमा फैलिएको कोरोना भाइरसको प्रजाति इण्डियन भेरियण्ट हो । यो कोरोना भाइरसका यसअघिका प्रजातिभन्दा धेरै छिटो फैलिने र घातक छ । सोही भाइरसका कारण भारतमा अहिले पनि जनजीवन अस्तव्यस्त छ र यसलाई नियन्त्रणमा ल्याउन सकिएको छैन । यद्यपि वर्तमानमा विश्वको उदाउँदो शक्ति भारतसित आर्थिक हिसाबले, पूर्वाधारका हिसाबले, स्वास्थ्य सेवामा दक्ष जनशक्तिका हिसाबले मनग्ये क्षमता छ । दुनियाँका चर्चित स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरु भारतमै छन् । भारत कोरोनाविरुद्ध खोप उत्पादक राष्ट्र पनि हो । तर यो अहिलेको भाइरसबाट त्यहाँको स्वास्थ्यसेवा धराशायी हुन नदिन भारतलाई अन्तर्राष्ट्रिय सहयोग गुहार्नु पर्ने अवस्था आयो । भारतको तुलनामा सबै हिसाबले कमजोर नेपालले त आफैँ यो अवस्थाबाट पार पाउने विकल्प नै रहेन ।
शुरुमा कोरोना भाइरसका बारेमा हल्काफुल्का अभिव्यक्ति दिएर रेला गर्ने नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतबाट प्रकाशन हुने द गार्डियनमा एक लेख लेख्दै अन्तर्राष्ट्रिय समुदायसित सहयोगको लागि याचना गरे । सरकारले आफ्ना कुटनीतिक संयन्त्रलाई पनि सो कार्यका लागि चलायमान बनाउन शुरु गर्यो । फलस्वरुप हालसम्म अमेरिका, न्यूजिल्याण्ड, अष्ट्रेलिया, चीन, स्पेन लगायतका मुलुकहरुले अत्यावश्यक सामग्री नेपाल पठाइसकेका छन् । अमेरिका लगायतका अन्य मुलुकहरुले विगतमा पनि नेपाललाई सहयोग गर्ने गरेका थिए । जुन अहिलेको महामारीमा पनि स्वाभाविक लाग्नसक्छ तर पछिल्लो केही वर्षयता मात्र नेपालको दुताबास स्थापना भएको र वर्तमानमा आर्थिक रुपले त्यति शक्तिशाली नमानिएको स्पेनले यसरी सहयोग गरेको देख्दा धेरै नेपालीहरुमा स्पेनप्रति सकारात्मक छाप परेको छ । तर सबैभन्दा आश्चर्य चाहिँ नेपालसित शताब्दीयौँ लामो कुटनीतिक सम्बन्ध स्थापित बेलायत हालसम्म मौन बस्नुले पारेको छ ।
नेपालमा कोभिड १९ को दोस्रो लहरको प्रभाव देखिन शुरु गर्नासाथ बेलायतमा रहेका नेपालीहरुले बेलायत सरकारसमक्ष नेपाललाई स्वास्थ्यसामग्री तत्काल सहयोग गर्न अनुरोध गरेका थिए । बेलायत नेपाल प्रज्ञा परिषदले १२ मे २०२१ मा नै बेलायती विदेश मन्त्री डोमिनिक राबलाई एक पत्र पठाई नेपालमा तत्काल स्वास्थ्य सहयोग पठाउन अपील गरेको थियो । यसका साथसाथै बेलायतस्थित नेपाली दुताबास, बेलायतका स्थानीय नेपाली संघसंस्थाहरुले पनि बेलायती सांसदहरु, बेलायत सरकारका विभिन्न निकायहरुसित हारगुहार गरिरहेका छन् । बेलायतमा रहेका नेपालीमूलका नेपालीहरुले आफू बसेको क्षेत्रका दर्जनौँ सांसदहरुलाई पत्राचार गरिरहेका छन् । यति मात्र होइन विभिन्न क्षेत्रमा प्रसिद्धि कमाएका बेलायती नागरिकहरुले समेत बेलायत सरकारलाई नेपालमा तत्काल स्वास्थ्य सहयोगका लागि माग गरेका छन् । उनीहरुले आफू मात्र नभई जनताबाट पनि यस मागमा समर्थन र ऐक्यवद्धता जुटाउन साथै बेलायत सरकारलाई दबाबका लागि हस्ताक्षर संकलन गरिरहेका छन् ।
यसबाहेक नेपालमा पनि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि बेलायती राजदुत निकोला पोलिटसित भेटी सहयोग मागिसकेका छन् । बेलायती विदेश मन्त्रालयका कनिष्ठ मन्त्री लर्ड अहमद र मन्त्री ज्ञवालीबीच पनि भर्चुअल वार्ता भइसकेको छ । उनै अहमद र बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीबीच पनि भेट भइसकेको छ । यो पंक्ति लेख्दासम्ममा बेलायती संसदमा समेत सांसदहरुले नेपाललाई तत्काल सहयोग गर्न आवाज उठाइसकेका छन् । यति धेरै अनुरोध, दबाब, अपील, भेट हुँदा समेत अहिलेसम्म बेलायतले नेपालका लागि केही सहयोग घोषणा गर्न सकेको छैन । भारतमा स्वास्थ्य सामग्री पठाउने पहिलो विदेशी मुलुक भएको सगर्व दाबी गर्ने बेलायतले त्यति लामो मित्रता भएको र भारतभन्दा धेरै सहयोगको जरुरत परेको नेपाललाई सहयोग गर्न किन अबेर गरेको बुझ्न सकिएको छैन ।
कुनै पनि राष्ट्रलाई महामारी वा विपत्ति आइपरेको अवस्थामा अर्को राष्ट्रले सहयोग गर्नु मानवीय कार्य हो । शायद त्यो प्रतिस्पर्धी राष्ट्र नै किन नहोस् । जस्तो भारत र चीन बीच कतिपय सवालमा प्रतिस्पर्धा भए पनि विपतमा सहयोग आदानप्रदान हुन्छ । तर बेलायतले नेपाललाई सहयोग गर्नुपर्ने धेरै जायज कारणहरु छन् । पहिलो, नेपालबाट अहिले पनि बेलायतले युवाहरुलाई बेलायतमा भर्ती गरिरहेको छ र बेलायती राजमुकुटका लागि उनीहरु ज्यानको परवाह नगरी लडिरहेका छन् । केही वर्ष अघिसम्म इराक, अफगानिस्तानमा उनीहरु बेलायतका लागि बलिबेदीमा चढिरहेकै थिए । बेलायती सेनामा कार्यरत हजारौँ गोरखा सैनिकहरुका परिवारहरु अहिले अहिले कोरोना भाइरसको दोस्रो लहरको चपेटामा परेका छन् । उनीहरुको जीवन रक्षाका लागि सहयोग गर्नु बेलायत सरकारको पनि दायित्व होइन र ? दोस्रो, अहिले करिब एक लाखको हाराहारीमा नेपाली मूलका बेलायतीहरु बेलायतमा छन् । उनीहरुको परिवारका सदस्यहरु अहिले नेपालमा छन् । के आफ्ना नागरिकहरुको परिवारलाई परेको विपत्तिमा सहयोग गर्नु बेलायत सरकारको पनि कर्तव्यभित्र पर्दैन र ?
भनिरहनु परोइन बेलायत नेपालको पुरानो र सदाबहार मित्र हो । नेपाल र बेलायतका बीचमा सदैव हार्दिकतापूर्ण सम्बन्ध रहिआएको छ र दुवैले विपत्तिमा एकले अर्कालाई सकेको सघाउँदै आएका छन् । नेपालीहरुमा बेलायतप्रति अत्यन्तै सकारात्मक धारणा रहेको छ र उनीहरु बेलायतलाई नजिकको मित्र ठान्छन् । त्यसैगरी बेलायतमा पनि बेलायतीहरुले नेपालीलाई अति माया गर्दछन् । जनस्तरमा रहेको यस्तो किसिमको सम्बन्धकै कारणले नेपाल र बेलायतबीचको सम्बन्धलाई मजबुत बनाएको छ । यस कुरालाई बेलायत सरकारले महसुस गर्नुपर्छ र मावनीय सहयोग, अन्तर्राष्ट्रिय विकास सहयोगमा हरेक वर्ष उल्लेख्य बजेट बिनियोजन गर्ने बेलायतले तत्काल नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्न पनि सक्छ । बेलायतले नेपालसितको मित्रतालाई कागज र भाषणमा मात्र होइन अभर परेका बेला सहयोगी हात पनि हो भन्ने व्यवहारमा उतार्नुपर्छ । कोरोना भाइरसविरुद्धको खोप निर्माण र खोप अभियानमा बेलायतले उल्लेख्य सफलता हासिल गरेको छ । कोरोना भाइरसबाट मुक्ति पाउने एक मात्र उपाय खोप भएकाले बेलायतले नेपाललाई खोप उपलब्ध गराउन र खोप अभियानमा सहयोग गर्नुपर्छ । कोभाक्समार्फत बल्कमा गरिएको सहयोगलाई देखाएर मात्र बेलायतले उम्कन पाउँदैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक