बुधबार, वैशाख १ २०७८ | Wed, April 14, 2021
नेपालको समय: १७:३१ | UK Time: 12:46

लण्डनमा लकडाउनको एक वर्ष र विश्व महामारी

सुरेन्द्र नेपाल श्रेष्ठ
२०७७ चैत ३ गते १०:३६

एक वर्ष भैसकेछ कोरोनाको कारण बेलायतमा लक्डाउन भएको पनि । एकदिन कुनै कार्यक्रम छुट्दा समाजसँग साइनो नै टुट्ने हो कि जस्तोगरी भ्याई नभ्याई बिहान दिउँसो बेलुकीको सबै कार्यक्रममा हाजिर हुनै पर्थ्यो । अबेला घर पुग्दा सबै सुती सकेका हुन्थे, बिहान झिसमिसमै आँखा मिचेर काममा जानु त छँदै थियो । साना बालबच्चा हुनेको त स्कूल छोड्न जाने अर्को काम पनि हुन्थ्यो ।
घर परिवार छिमेकीको विवाह, व्रतबन्ध, पास्नी, जन्मदिन, वर्षगाठ आदि इत्यादिमा सहभागी हुनु पनि कम्ता भ्याई नभ्याई हुन्नथ्यो । अलि खुशी वा दुःखमा निहुँ पारेर पबतिर जानु पनि नियमित हुने नै भयो । हाम्रा त यस्तो भयो यहाँका रैथानेहरुको पीडा पनि कम्ता छैन । हप्ताको प्राय धेरै छाक बाहिर खाने, दिनै पिच्छे पब पस्ने, नियमित रुपमा होलिडे जाने योजनाहरु सबै ठप्प भएका छन् । बाबुआमासँग बसेका बच्चाहरु बाजेबजै भेट्न नपाईने, नर्सिङ होम बसेका उमेर पुगेका बावुआमा भेट्नै नपाई कतिले संसारबाटै बिदा लिए । यो एकवर्ष कसरी बित्यो होला अहिले सम्झिँदा पनि कहाली लागेर आउँछ । अझै के हुने हो त्यति निश्चिन्त हुन सकिएको छैन ।

युकेको लकडाउन
करिब एक शताब्दी पछि संसारले खेप्नु परेको यति ठूलो महामारीको प्रभाव बढ्दै गएपछि बेलायतले गत वर्ष मार्च २३ गतेबाट सम्पूर्ण रूपमा देशलाई बन्द गर्ने निर्णय गर्यो । हुन त स्वास्थ्य मन्त्री म्याट ह्यानककले मार्च १६ मा संसदमार्फत सम्पूर्ण नागरिकलाई अति आवश्यक काममा बाहेक सामाजिक सम्पर्कका सबै कामहरू बन्द गर्न आह्वान गरेका थिए । २०२० जनवरी ३१ का दिन पहिलोपल्ट दुई जनामा कोभिड भएको प्रमाणित भएको थियो । मार्च १६ सम्म आउँदा संसारभरी छ हजार पाँच सयभन्दा बढीले ज्यान गुमाइसकेका थिए भने एकलाख सत्तरी हजार भन्दा बढी संक्रमित भैसकेका थिए । बेलायतमा पहिलो बन्दाबन्दीको घोषणा हुँदा ७६ जनाले ज्यान गुमाएका थिए ।
पहिलो लकडाउनको घोषणा २०२० मार्च २३ मा गरेपछि सदनबाट २६ गते उक्त प्रस्ताव पास गरी कानुनी रुपमा नै लागू भयो । अति आवश्यकीय सेवासंग सम्बन्धित काम बाहेक अरु सबै ठप्प भयो । पारिवारिक सामाजिक भेटघाट पनि बन्द भयो । व्यायाम र हिँडडुलको लागि पार्कसम्म जान पाइने तर अरुसंग सम्पर्क गर्न नपाउने भयो । अहिलेसम्म हामी कसैले बेलायतमा भोग्न नपरेको अवस्था अनिश्चित कालको लागि डर र भयका साथ दिन गुजार्न पर्यो । संक्रमणको प्रभाव र क्षतिलाई मध्यनजर राख्दै सरकारले पटकपटक विभिन्न प्रकारका उपायहरु अवलम्बन गर्यो । १६ अप्रिलमा पुन कम्तीमा तीन हप्ताको थप लकडाउन घोषणा भयो । मे १० मा बन्दाबन्दीलाई अलि खुकुलो बनायो । घरबाट काम गर्न सम्भव नहुनेहरुलाई काममा जान पाइने बनायो । जुन १ देखि प्राथमिक विद्यालयका विद्यार्थीहरुको लागि मात्रै कक्षा सञ्चालन गर्यो । जुन १५ बाट सबै पसलहरु खोल्ने अनुमति पायो । जुन २३ देखि सामान्य रूपमा आएको तर दुई मिटर नियम र अनिवार्य मास्क लगाउनु पर्ने चाहिँ कायम नै रह्यो । तर जुन २९ मा फेरि स्वास्थ्यमन्त्री म्याट ह्यानककले लेस्टर र वरिपरिको क्षेत्रमा बन्द गर्ने घोषणा गरे । जुलाई १८ बाट बढी प्रभाव भएको काउन्सिलमा स्थानीय रूपमा थप कडाइ गर्न सकिने अधिकार दिइयो । अगस्ट ३ बाट ‘इट आउट टु हेल्प आउट’ योजना घोषणा गरियो । लामो समय बन्द रहेका रेस्टुरेन्टहरुको आम्दानीमा अलि टेवा पुर्याउन र जनजीवनलाई सामान्यकरण गराउन सोमबारदेखि बुधबारसम्म आधा मूल्यमा खाना खान पाइने व्यवस्था मिलाइयो । आधा मूल्य ग्राहकले तिर्ने र बाँकी पैसा सरकारले तिर्ने भयो । करिब पचास हजार रेष्टुरेन्टहरु सहभागी भएको यो अभियानमा झण्डै ८४९ मिलियन पाउण्ड सरकारको तर्फबाट भुक्तानी गरेको देखिन्छ ।
अगस्ट १४ देखि इन्डोर भेन्यूहरु पनि खुल्ला भए । तर सेप्टेम्बर १४ देखि फेरि रुल अफ सिक्स भनेर घर भित्र वा बाहिर छ जनासम्म मात्र जम्मा हुने नियम ल्यायो । सेप्टेम्बर ३० मा प्रधानमन्त्रीले गम्भीर स्थिति आएकोले पुन लकडाउन गर्न पर्ने अवस्थाको पूर्व जानकारी दिए । १४ अक्टोबरमा नयाँ तीन तहको निषेधको योजना लागू भयो । नभन्दै नोभेम्बर ५ देखि दोश्रो राष्ट्रिय लकडाउन घोषणा भयो । क्रिसमसको लागि भने डिसेम्बर २३–२७ सम्म तीन परिवार बीच भेटघाट गर्न सकिने भनियो । तर डिसेम्बर २१ मा लन्डन र साउथ इष्टमा टियर फोर नियम लागू भयो । जनवरी ६ देखि फेरि तेश्रो चरणको लकडाउन लागू भई मार्च ८ देखि विद्यालयहरू खोलिएको अवस्था हो । यस बीचमा बेलायतमा ८६ नेपालीहरु सहित आजसम्म एक लाख पच्चीस हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । मार्च २९देखि फेरि दुई परिबारको बढीमा छ जनासम्म घरबाहिर भेट्न पाउने छन् । अप्रिल १२ देखि सबै पसल, सैलुन, लाईब्रेरी, बियर गार्डेन खोलिने छन् । मे १७ देखि दुई परिवारका बढीमा छ जनासम्म घरभित्रै भेट्न पाइने छ । यसपटकको बन्दाबन्दी आउँदो जुन २१ बाट पूर्ण रूपमा अन्त्य हुने घोषणा गरिएकोछ । त्यसपछि नाइटक्लब र ठूला बाह्य कार्यक्रमहरू पनि खुला हुनेछ ।

सुरेन्द्र नेपाल श्रेष्ठ

महामारीको इतिहास
मानव सभ्यताको इतिहासमा यस प्रकारको महामारी धेरै अगाडीदेखि हुँदै आएको देखिन्छ । अहिले हरेक क्षेत्रमा प्रविधिको द्रुत विकास भएको छ । पृथ्वीको एक कुनाको खबर अर्को कुनामा क्षणभरमै पुग्छ । त्यसैले यो महामारीले पारेको असर पनि हामीलाई क्षणभरमा जानकारी हुने नै भयो । औषधि विज्ञानले यत्रो फड्को मार्दै गर्दा यस्तो महामारीलाई कम क्षतिमा नियन्त्रणमा लिन नसक्नु भने अर्को छलफलको विषय बन्न सक्छ । यसपछि मैले विश्वमा अहिलेसम्म धेरै मानव क्षति भएका केही मुख्य महामारी बारे छोटो जानकारी दिने प्रयास गरेको छु ।
सन् १६५ मा रोममा मेसोपोटामिया पुगेका सैनिकहरुबाट सारेको विश्वास गरिएको इन्टनाइन् प्लेग जसलाईप्लेग अफ ग्यालेन पनि भनिन्छ, यसको कारण के थियो अहिलेसम्म पनि पत्ता लागेको छैन । त्यतिबेला करिब पाँच मिलियन (पचास लाख) मानिस मरेको अनुमान गरिएको छ । यो संख्या त्यतिबेलाको संसारको जनसंख्याको करिब २.५ प्रतिशत हुन सक्ने अनुमान छ । सन् ५४१–४२ मा बुबोनिक प्लेगले २५ मिलियन (दुई करोड पचास लाख) मानिस मरेका थिए । प्लेग अफ जस्टिनियनको नामले चिनिने यो महामारीले युरोपको झण्डै आधा जनसंख्या गुमाउनु परेको थियो । त्यतिबेला विश्वको लगभग जनसंख्या २० करोड भएको अनुमान छ । त्यसपछि करिब आठसय वर्ष पछाडी फेरि पृथ्वीले ठूलो महामारीको सामना गर्न पर्यो । सन् १३४६–१३५३ सम्म चलेको त्यो महामारीलाई द ब्ल्याक डेथ भनेर चिनिन्छ । एशियामा शुरू भएको यो रोग पानीजहाजमा भएको मुसामा हुने जुम्राको माध्यमबाट युरोप अफ्रिकासम्म पुगेको थियो । जसको कारणले ७५–२००मिलियन (झण्डै बीस करोड) मानिसले ज्यान गुमाउन परेको थियो । त्यसपछि सन् १८५२ देखि ६० सम्म थर्ड कोलेरा प्याण्डेमिकले करिब दशलाख मानिसले ज्यान गुमाउन परेको थियो । भारतबाट शुरू भएको र गंगासागरको पानीसँगै यो रोग युरोप अमेरिका अफ्रिकासम्म पुगेको थियो । सन् १८५४ मा अहिलेको लन्डनको सोहो क्षेत्र बोंण्ड स्ट्रीटको एक पानी ट्युवेलको पानीमा पनि यो रोगको किटाणु देखियो र त्यहा बसोबास गर्ने ६१६ जनाले ज्यान गुमाएका थिए । तुर्कीस्तानमा देखिएको इन्फ्लुइञ्जा फ्लुले सन् १८८९–९० ताका सारा संसारलाई प्रभाव पार्यो । यसलाई “एशियाटिक फ्लु “ वा “ रसियन फ्लु“ को नामले पनि जानिन्छ । करिब दशलाख मानिसले यो रोगको कारण ज्यान गुमाउन पुगे । सन् १९१०–११ मा फेरि कोलेराको कारण आठ लाखभन्दा बढी मानिस मरे । यस अगाडी पाँचपटक संसारले यस किसिमको महामारीको सामना गर्न परेको थियो । त्यसैले यसलाई सिक्थ कोलेरा भनेर चिनिन्छ । यसको बढी प्रभाव मध्य पूर्व, उत्तरी अमेरिका, पूर्वी युरोप र रसियामा परेको थियो । त्यसको सात वर्ष पछाडि फेरि संसारले निकै ठूलो महामारी भोग्न बाध्य भयो । पहिलो विश्वयुद्धको मारसंगै विश्वले यति ठूलो संकट झेल्न पर्यो । सन् १९१८ देखि सन् १९२० सम्म करिब पचास मिलियन (पाँच करोड) मानिसको देह त्याग भयो । फ्लु प्याण्डेमिक वा स्पेनिस फ्लुको नामले चिनिएको यो महामारीले पाँच सय मिलियन (पचास करोड) मानिसलाई संक्रमण गर्यो । पहिलो २५ हप्तामा मात्रै २५ मिलियन मानिसले ज्यान गुमाए । यस अगाडि इन्फ्लुइञ्जाले धेरैजसो कमजोर र बालक वृद्धाहरुलाई मात्रै असर गरेको थियो तर यसपटक भने धेरै नै युवायुवतीहरुले ज्यान गुमाए । झण्डै २० मिलियन मारिएको र २१ मिलियन घाइते भएको विश्व युद्ध लगत्तै महामारीले यति धेरै मानिस गुमाउन पर्दा संसारले धेरै नै ठूलो मानवीय क्षति भोग्नु परेको थियो । सन् १९५६–५८ को एशियन फ्लुको कारण बीस लाख मानिसले ज्यान गुमाए । चाइनाको गोन्जोऊ प्रदेशबाट शुरू भएको यो रोग सिंगापुर हंगकंग हुँदै अमेरिकासम्म पुगेको थियो । अमेरिकामा मात्रै करिब सत्तरी हजार मानिसले ज्यान गुमाएका थिए ।
यी बाहेक सन् १९६८–६९ को हंगकंग फ्लुबाट एक मिलियन, १९९७ को वर्ड फ्लुबाट ३५२ जना, २००९ को स्वाइन फ्लुको कारण १८ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । त्यस्तै सन् १७८० देखि शुरू भएको डेङ्गु संक्रमणबाट अहिलेसम्म पनि छुटकारा पाउन सकिएको छैन । संसारका प्राय देशहरूमा वर्षेनी यो रोगले आफ्नो नागरिकहरु गुमाउन परिरहेको छ । सन् १९८० बाट देखिन थालेको एचआईभी एड्स संक्रमणले पनि निरन्तर रूपमा धेरै नै मानिसहरु गुमाई रहेका छौं । यसलाइ निमिट्यान्न पार्ने उपचारको लागि खासै निश्चित औषधि पत्ता नलागे पनि हालैको समयमा आएर केही उपलब्धिहरू हासिल भएको कारण यो रोगलाई लाग्न नदिन नसके पनि लागि सकेपछि रोक्न सक्ने चाहिँ भएको छ । यो रोगले सन् २००४ मा सबैभन्दा बढी प्रभाव पारेको देखिन्छ । त्यतिबेलासम्म करिब ४४ (चार करोड चालिस लाख) मिलियन मानिसमा यो रोग देखिएकोमा करिब ३.५ मिलियन (पैतिस लाख) मानिसले ज्यान गुमाएका थिए । यो संख्यामा अहिले कमी आएर सन् २०१९ मा ३८ मिलियन (अठ्तीस लाख) लाई रोग लागेको र १.७ (सत्र लाख) मिलियनले ज्यान गुमाएको देखिन्छ ।
संसारमा सरुवा रोगबाट मात्रै वर्षमा पच्चीस लाखभन्दा बढी मानिसले ज्यान गुमाउने गर्दछन् । पोलियो, विफर, टीवी, कुष्ठरोग, रेबिज, झाडापखाला, मलेरिया, निमोनिया, इबोला, मारवर्ग, मेर्स, एलो फेबर, एन्थ्राक्स, एम आर एस ए, मेनिन्ज्याईटिस्ट, सार्स, जिका लगायत विभिन्न प्रकारका रोगको कारण संसारले समयसमयमा ठूलो क्षति बेहोर्न परिरहेको छ ।

अन्त्यमा

मानव सभ्यताको इतिहासमा विकास र प्रगति सँगसँगै धेरै प्रकारका रोग र महामारीले पनि त्यतिकै चुनौती दिँदै आएका छन् । औषधि विज्ञानले मानिसको उमेरलाई लम्ब्याउने र स्वस्थ्य राख्ने हरदम प्रयास गरिरहेकै छ । तेश्रो विश्वयुद्धको धेरैपटक अड्कल काटिए पनि लामो समयसम्म यसलाई रोक्न सफल भएको छ । तर विभिन्न प्राकृतिक प्रकोप र महामारीले भने संसारको जनसंख्या कम पार्न छाडेको छैन ।
आजसम्म कोरोनाले करिब १२ करोडभन्दा बढी मानिसमा संक्रमण गरेको र करिब २७ लाख  मानिसले ज्यान गुमाएको देखिन्छ । अहिले भ्याक्सिन आइसकेको कारण मानसिक रूपमा अलि कम डर बोकेर बसेका हामी मानव जातिलाई केही राहत प्राप्त भएको त छ तर दिन आए पछि कुनै पनि बेला कुनै पनि कारणले यो संसारबाट बिदा हुन पर्ने वास्तविकतालाई भने स्वीकार गर्नै पर्छ ।
यस बिचमा हामीले जे जति अनुभव गरेका छौं शायद त्यस्तो अनुभव अब फेरि हामीले मात्रै हैन हामी पछाडीकाले पनि धेरै लामो समयसम्म गर्न नपर्ला भन्ने अनुमान र कामना गर्न सकिन्छ । प्रकृतिको सही प्रयोग गर्न सकियो भने मानव मात्रले घरिघरि यसप्रकारको समस्या भोग्न नपर्ने हुन्थ्यो कि हुँदैन थियो होला यो अहम विषय हो । नगरेर पनि हुने, त्यति धेरै गर्न नपर्ने, कम गर्दा पनि हुने बिबिध क्षेत्रको हाम्रो दैनिक क्रियाकलापलाई एकपटक पुनर्विचार गर्न सकियो भने पनि यो महामारीको कारण हामीले केही सकारात्मक शिक्षा प्राप्त गर्न सकेको चरीतार्थ हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक