लण्डन । गोरखाहरुलाई बेलायतमा अधिकार दिलाउन र अन्तरघुलन हुनमा सहयोग गर्ने पूर्व काउन्सिलर ब्रायन स्टालेको निधन भएको छ ।
क्यान्टरबरी काउन्सिलको पूर्व काउन्सिलर समेत रहेका उनको गत आइतबार ८१ वर्षको उमेरमा निधन भएको हो ।
भियतनाम युद्धका बेला सम्वाददातासमेत रहेका उनले गोरखाहरुलाई बेलायतमा समान अधिकार दिलाउनका लागि अभिनेत्री जोअना लुम्लेसित मिलेर अभियान गरेका थिए ।
लिबरल डेमोक्रयाटिक पार्टीका पूर्व राष्ट्रिय सचिव स्टालेले सन् २००४ मा गोरखाहरुमाथिको विभेदका बारेमा थाहा पाएपछि गोरखाहरुको न्याय दिलाउन अभियानमा जोडिएका थिए । उनले यस बारेमा त्यतिबेलाका फोल्कस्टोन क्षेत्रका लिवरल डेमोक्याटिक पार्टीका प्रस्तावित सांसद पिटर क्यारोललाई केन्टमा बसोबास गरिररहेका गोरखाहरुको समस्याका बारेमा जानकारी गराएका थिए ।
क्यारोलले स्टालेलाई स्मरण गर्दै भनेका छन्, ”उन(स्टाले)ले मलाई फोन गरे र केही सेवा निवृत्त गोरखाहरुलाई सहयोग चाहिएको छ । तिमीले उनीहरुलाई भेट्न सक्छौ ? भने । हरेक लामो यात्रा सानो पाइलाबाट शुरु हुन्छ । गोरखाहरुको आवासीय अधिकारका लागि त्यही नै पहिलो पाइला थियो । कसलाई के थाहा यदि त्यो फोन कल नभएको भए गोरखाहरुको यात्रा यहाँसम्म आइपुग्थ्यो ?”
त्यसपछि क्यारोलले गोरखाहरुलाई भेटे र गोरखा जस्टिस क्याम्पेन शुरु गरे । त्यही क्याम्पेनलाई अभिनेत्री जोअना लुम्लेले समर्थन गरिन् र पछि अभूतपूर्व रुपमा अदालत र संसदबाटै गोरखाहरुले बेलायतको आवासीय अधिकार पाए ।
स्टालेले गोरखाहरुको पक्षमा बेलायतको संसदमा, रेडियो र टेलिभिजनमा पनि बोलेका थिए ।
उनी पटकपटक नेपालमा पनि गएका थिए । उनले नेपालमा शिक्षाको अवसरबाट वन्चित बालबालिकाहरुलाई सहयोग गर्नका साथै तत्कालिन परराष्ट्र मन्त्री सुजाता कोइरालासित पनि भेट गरेका थिए ।
गोरखा जस्टिस क्याम्पेनको सफलतापछि उनले गोरखा पिस फाउण्डेसन खोलेर गोरखाहरुलाई बेलायतमा अन्तरघुलन हुनमा सहयोग गरेका थिए । उनी धेरै लामो समय सो संस्थाको अध्यक्ष रहेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनी सो पदबाट राजिनामा दिएका थिए । सो संस्थाले आसफोर्ड र फोल्कस्टोनमा हरेक मंगलबार र विहीबार पूर्व गोरखा सैनिकहरुलाई भेट हुने स्थान उपलब्ध गराई उनीहरुका विभिन्न समस्याका बारेमा सल्लाह प्रदान गर्ने गरेको छ । यसबाहेक अंग्रेजी कक्षा पनि चलाउने गर्दछ ।
स्टालेको निधनमा अभिनेत्री जोअना लुम्लेले गोरखाहरुलाई बेलायतको आवासीय अधिकार दिलाउनमा स्टालेले महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् । गोरखाहरुलाई सहयोग गर्ने स्टालेको प्रतिवद्धताबाट नै गोरखाहरुको ठूलो अभियान शुरु भएको उनले उल्लेख गरेकी छिन् ।
“अभियान पछिका समयमा पनि आफूले व्यक्तिगत रुपमा स्टालेमा आफूले स्थापना गरेको गोरखा पिस फाउण्डेसनप्रति कटिवद्धता, न्यानोपन पाएको छु । उनी महान र प्रिय मानिस थिए । हामी सबैले उनको अभाव महसुस गर्नेछाैँ” उनले भनेकी छिन् ।
क्यान्टरबरीका लिबरल डेमोक्याट्रिक ग्रुपका उपनेता निक इडेन ग्रीनले स्टाले आफूलाई विश्वास लागेको कुरा चाहे राजनीतिमा होस वा गोरखाका बारेमा होस् पूरा गरी छाड्ने छाड्ने मानिस भएको बताएका छन् ।
फाउण्डेसनका अध्यक्ष भीम तुम्बाहाम्फे स्टालेलाई गोरखा भूतपूर्व सैनिकहरुलाई बेलायतको आवासीय अधिकार दिनका लागि राजनीतिक पार्टीहरुसित सम्पर्क गराउने ‘पुल’का रुपमा लिन्छन् । सन् २००४ तिर गैरकानुनी रुपमा बेलायतमा बसिरहेको अवस्थामा सहयोगका लागि भौँतारिँदा स्टालेलाई आफूहरुले भेटेको र उनकै सिफारिसमा पिटर क्यारोललाई भेटेपछि गोरखा भूतपूर्व सैनिकहरुको बेलायतको आवासीय अधिकारको माग पूरा भएको तुम्बाहाम्फेको भनाइ छ । ‘उहाँ गोरखाहरु भनेपछि ज्यान दिने व्यक्ति हुनुहुन्थ्यो’ तुम्बाहाम्फेले भने ।
सन् २००९ मा बेलायतले चार वर्ष नोकरी गरेका सबै गोरखा सैनिक र उनका परिवारलाई बेलायतको आवासीय भिसा दिने निर्णय गरेपछि स्टालेको अगुवाईमा नेपालबाट बेलायत आउने गोरखाहरुलाई सहयोग गर्न सन् २०१० मा गोरखा पिस फाउण्डेसन शुरु भएको थियो । सो संस्था सन २०१३ मा च्यारिटी कमिसनमा दर्ता भई अहिले नेपाल र बेलायतमा काम गरिरहेको छ । स्टाले सो संस्थाको स्थापनाकालदेखि २०१६ सम्म अध्यक्ष थिए । अहिले सो संस्थाले नेपालका १२ वटा विद्यालयहरुलाई सहयोग गरिरहेको अध्यक्ष तुम्बाहाम्फे बताउँछन् ।
गोरखा पिस फाउण्डेसनलाई कसरी चिनाउन सकिन्छ भन्ने बारेमा चिन्तित स्टालेको पहलमा सो संस्था अहिले संयुक्त राष्ट्र संघको परेडमा हरेक वर्ष सहभागी हुँदै आएको छ । त्यस्तै उनको योजना नेपालमा शिक्षाको पहुँच नपाएका बालबालिकालाई कसरी शिक्षाको अवसर कसरी दिलाउने भन्नेमा पनि स्टालेको चिन्ता रहने गरेको तुम्बाहाम्फे बताउँछन् ।
स्टालेलाई गोरखाहरुले कसरी सम्झनुपर्छ भन्ने प्रश्नमा तुम्बाहाम्फेले भने, ‘अहिले बेलायतमा बसिरहेका गोरखाहरुलाई बेलायतको आवासीय अधिकार दिलाउनमा भूमिका खेल्ने मुख्य पात्र उहाँ (स्टाले) हुनुहुन्छ । ‘
गोरखा पिस फाउण्डेसनका ट्रष्टी मेजर रिटायर्ड देवबहादुर पुन स्टालेको अगुवाइमा नेपाल तथा बेलायतमा नेपालीहरुका लागि धेरै सेवामूलक कार्य भएको जानकारी दिन्छन् । उनको पहलमा नेपालका विभिन्न विद्यालयहरुको बेलायतका विद्यालयहरुसित मित लाएर उनले शैक्षिक अनुभव आदानप्रदान गरिएको र धेरै विद्यालयहरुमा इन्टरनेटको सुविधा दिइएको पुन बताउँछन् । ‘गोरखा पिस फाउण्डेसनका लागि मिलियन पाउण्ड कोष जम्मा गर्ने उहाँको चाहना थियो’ पुनले भने ।
आसफोर्डमा गोर्खाहरुलाई सम्बोधन गर्दै स्टाले
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता