लण्डन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।
सो पार्टीको प्रवास समन्वय कमिटीको संयोजन र प्रवासी नेपाली एकता मंचले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले पहिले केपी ओलीले सबैतिर सेटिङ गरेको जस्तो देखिए पनि संसद विघटनदेखि हालसम्म आइपुग्दा त्यस्तो सेटिङ भत्किएको बताए । अस्थिरता कसैको चाहना नभएकाे सन्दर्भ कोट्याउँदै उनले संसद पुनर्स्थापना हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।
निर्वाचन आयोगले पनि चुनाव चिन्ह र आधिकारिकता आफूहरुलाई नै दिने पनि उनले बताए । सर्वोच्च अदालत, निर्वाचन आयोगबाट आफूले चाहेजस्तो निर्णय नआउने संकेत पाएर नै केपी ओलीले विराटनगरको सभामा सर्वोच्च अदालतलाई धम्क्याएको उनको भनाइ थियो ।
नेकपाको एकता विचार, विधि र विधान तय गरेरै भएको बताउँदै उनले केपी ओलीलाई विधिविधान उल्लंघन गर्दा नियन्त्रण गर्न नसक्नुमा आफूहरु पनि जिम्मेवार रहेको उनले स्वीकार गरे । ‘हामी पनि चोखो छौँ भनेर भन्दैनौँ तर पार्टी विभाजनको मुख्य जिम्मेवार हामी हाेइनौँ’ उनले भने ।
प्रवासी नेपालीहरुको नागरिकताका बारेमा बोल्दै उनले संविधानमा उल्लिखित गैरआवासीय नेपालीलाई नागरिकताको प्रबन्धलाई प्रभावकारी कार्यान्वयनमा आफूहरुले जोड दिने वचन दिए ।
गोरखाहरुको समान अधिकारको पक्षमा आफूहरु रहेको उल्लेख गर्दै उनले गोरखाहरुको आन्दोलनमा समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । गोरखाहरुले संसद विघटनको असंवैधानिक कदमका विरुद्ध बोल्ने साहस गरेकोमा आफूलाई खुशी लागेको बताउँदै उनले गोरखाहरुको समस्यालाई टुंगोमा पुर्याउन आफूहरुको निरन्तर सहयोग रहने आश्वासन दिए ।
कार्यक्रमका अर्का वक्ता पार्टीका स्थायी कमिटीका सदस्य घनश्याम भुसाल अहिलेको अवस्था करिब करिब राजा ज्ञानेन्द्रले सत्ता लिएको अवस्था सरह भएको बताए । ओलीको असंवैधानिक कदमका विरुद्ध चाँडै हस्तक्षेप गर्न नसके मुलुक डरलाग्दो द्वन्द्वमा पर्न सक्ने खतरा उनले ओैंल्याए ।
नेकपामा विधि विधान भित्र बसेर निर्णय गरे पनि पार्टीको नेतृत्वकर्ता ओलीले विधि विधान नमान्दा देश दुर्घटनातर्फ अघि बढेको उनको भनाइ थियो । राष्ट्र राम्रो हुन पार्टीहरु राम्रो हुनुपर्नेमा धारणा राख्दै उनले केपीलाई सुधार गर्न नसकिएको स्वीकार गरे । अराजनीतिक भीड जम्मा गरेर ओलीले राजनीतिलाई अस्तव्यस्त ठाउँमा पुर्याएको उनको आरोप थियो ।
संसद पुनर्स्थापना हुनेमा आफूहरु ढुक्क भएको बताउँदै ओलीको कदमलाई अदालतले सदर गरे पनि घोषित मितिमा निर्वाचन हुन नसक्ने उनको विश्लेषण थियो। अदालतले ओलीको कदमलाई साथ दिए जनता आन्दोलित हुने र त्यही आन्दोलनले केपी र विद्यालाई हटाउने उनले संखघोष गरे । यदि ओली पक्षमा भएका दोस्रो पुस्ताले नेतृत्वलाई हस्तक्षेप गरे दुवै पार्टी एक हुनसक्ने संभावना अझै रहेको भूषालको निस्कर्ष थियो ।
नेकपा प्रवास समन्वय कमिटीका संयोजक युवराज चौलागाइँको अध्यक्षतामा भएको कार्यक्रममा कमिटीका सचिव श्रीप्रसाद साहले स्वागत भाषण दिएका थिए । प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले सन्चालन गरेको कार्यक्रममा प्रवास कमिटीका सहइन्चार्ज लक्ष्मण पन्त, ओमानका डिबी क्षेत्री र जापान हर्क थापाले पनि बोलेका थिए ।
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
पोखरा विमानस्थल अनियमितता प्रकरणमा नेपाली कांग्रेस नेतासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित