कांग्रेस महाधिवेशन भदौको पहिलो साता गर्ने प्रस्ताव

काठमाडौँ।नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौको पहिलो साता गर्ने प्रस्ताव गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

यसैगरी गाउँ÷नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते गर्ने प्रस्ताव गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते र प्रदेश अधिवेशन आगामी साउन ६ गते गर्ने प्रस्ताव गरिएको छ । कांग्रेसले यसअघि महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरे पनि कोभिड–१९ सङ्क्रमणका कारण कार्यतालिका प्रभावित भएको थियो ।

कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी र सदस्यको पदावधि चार वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्था छ । बैठकले नेपालको संविधानबमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने प्रावधान पार्टीको विधानमा समेत व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।

उक्त निर्णय पार्टीको आगामी चौधौँ महाधिवेशनमा राखिनेछ । काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो । विधानको हालको व्यवस्थाअनुसार वर्तमान केन्द्रीय समितिको समयावधि यही फागुन १९ गतेसम्म छ ।

बैठकमा महामन्त्री खड्काले पार्टीका विभिन्न पदमा उम्मेदवार हुन निरन्तर क्रियाशील सदस्य भएको अवधि तोकिएकामा उक्त क्रियाशील सदस्यको ‘अवधिसम्बन्धी व्यवस्था’ निलम्वन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । तर पार्टीको केन्द्रीय सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य, प्रदेश सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, महानगरपालिकाको सभापति र उपमहानगरपालिकाको सभापतिका लागि यो व्यवस्था निलम्वन भएको नमानिने पार्टीको विज्ञप्तिमा उल्लेख छ ।

अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिको हकमा क्रियाशील सदस्यताको अवधि गणना गर्दा कांग्रेसको जुन पदमा हाल समायोजन भएका छन्, उक्त पदका लागि आवश्यक अवधि पुगेको मानिने छ । उक्त अवधि आवश्यकपर्ने अन्य पदमा समेत उम्मेदवार हुन योग्य मानिने छन् । तर पार्टीको केन्द्रीय सदस्यमा पदासिन व्यक्ति न्यूनतम १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनुपर्ने पदमा उम्मेदवार हुन पाउनेबाहेक अन्य व्यक्ति जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति, महानगरपालिका र उपमहानगरपालिकाको सभापतिमा उम्मेदवार हुन पाउने छैन ।

बैठकले म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजिल्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरल्याण्ड, स्वीडेन, स्वीटजरलैण्ड, साउदी अरब, बेल्जियम, जापान र अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराईन, ओमन, फ्रान्स र लग्जम्वर्गस्थित नेपाली जनसम्पर्क समितिको छ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णय गरेको छ ।

बैठकमा केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि आगामी असार ७ गते प्रस्ताव गरिएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा प्रस्तुत प्रस्ताव उपर आज वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य बीरबहादुर बलायरले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले बैतडीको दोगडाकेदारमा भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाका बारेमा स्थलगत अध्ययन गरी केन्द्रीय प्रतिनिधिका रुपमा ल्याउनुभएको प्रतिवेदन पेश गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक बिहीबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री