इङल्याण्ड र वेल्सको जनगणनामा नेपाली सहभागिताबारे छलफल

लण्डन । इङल्याण्ड र वेल्समा मार्च २१ मा सम्पन्न हुन गइरहेको जनगणनामा नेपाली समुदायलाई बढीभन्दा बढी सहभागी गराउन नेपाली समुदायमा छलफल भइरहेको छ ।
यसै सन्दर्भमा विहीबार सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले नेपाली राजदुताबास, गैरआवासीय नेपाली संघ बेलायत र अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनस) का नेपाली समुदायका लागि सल्लाहकारहरुसित छलफलको आयोजना गर्यो ।
छलफलको शुरुवातमा सिएनएस युकेका डा. कृष्ण अधिकारीले सिएनएस युकेको परिचय गराउँदै सिएनएस युकेले सन् २००८ मा बेलायतमा जनस्तरबाट गरेको नेपालीहरुको गणनाका साथै सन् २०११ को जनगणनामा अभियान गर्दाको अनुभव सुनाएका थिए । उनले नेपालीहरुको बसोबास रहेको हरेक क्षेत्रमा जनगणनाका बारेमा सूचना पुर्याउनुपर्ने र त्यसका लागि आवश्यक संयन्त्र बनाउन पर्ने खाँचो औँल्याए ।
नेपाली दुताबासका उपनियोग प्रमुख रोशन खनालले जनगणनामा बेलायतमा रहेका धेरैभन्दा धेरै नेपालीहरुलाई सहभागी गराउनु सराहनीय कार्य भएको र त्यसमा नेपाली दुताबासले सक्दो सहयोग गर्ने वचन दिइन् ।
गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष श्रीमती पूनम गुरुङले जनगणनाका बारेमा बेलायतमा रहेका सबै तह र तप्काका नेपालीहरुमाझ सन्देश पुर्याउनुपर्ने चुनौती रहेको बताइन् । कोरोनाको महामारीका कारण पहिलेजस्तो घरघरमा पुग्न सम्भव नरहेकाले सामाजिक सञ्जाल र मिडियाहरुको प्रयोग गर्न उनले सुझाव दिइन् । जनगणनामा नेपालीको सहभागिता बेलायतमा नेपाली पहिचान स्थापना गर्ने कडी भएकाले सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य रामशरण सिंखडाले सरल नेपाली भाषामा जनगणनाको महत्व र प्रक्रियाका बारेमा भिडियो बनाउन सके प्रभावकारी हुने  सुझाव दिए ।
गैरआवासीय नेपाली संघ युकेका महासचिव फडिन्द्र भट्टराईले बेलायतमा रहेका नेपाली समुदायमा सूचना पुर्याउनु नै चुनौती रहेको बताए । त्यसका लागि संयन्त्र बनाउन पर्ने आवयश्कता औँल्याउँदै उनले जनगणनाका लागि मूल समिति र उपसमितिहरु बनाउन सके प्रभावकारी हुने धारणा व्यक्त गरे । उनले जनगणनामा संकलन हुने तथ्यांकको गोपनियताका बारेमा समुदायको विश्वास जित्न जरुरी रहेको बताए ।
गैरआवासीय नेपाली संघ इङल्याण्ड राज्य समितिका अध्यक्ष दीपक श्रेष्ठले आफ्नो समितिले जनगणनामा नेपाली समुदायलाई सहभागी गराउन हालसम्म गरेका र भविष्यमा गर्न खोजिएका कार्यहरुको बारेमा जानकारी दिए । उनले आफ्नो समिति विभिन्न व्यक्ति तथा संस्थाहरुसित समन्वय गर्दै अगाडि बढ्न तयार रहेको र सबै मिलेर बेलायतको जातीय अल्पसंख्यक समुदायभित्र नेपालीको महल खडा गर्ने दिशामा केन्द्रित हुनु पर्नेमा जोड दिए ।
गैरआवासीय नेपाली संघ वेल्स राज्य समितिका अध्यक्ष कृष्ण भण्डारीले वेल्सका चार स्थानमा नेपालीहरुको बसोबास उल्लेख्य रहेको र उनीहरुसित समन्वय गरी वेल्समा जनगणनाका बारेमा जनचेतना फैलाउने कार्यक्रम गर्ने जानकारी दिए ।
ओएनएसका नेपाली समुदायका लागि सल्लाहकारद्वय समिर गुरुङ र मिया डङ्गोल केसीले आफूहरुले आफूलाई तोकिएको क्षेत्रमा मात्र सीमित नरही इङल्याण्डका अन्य क्षेत्रमा पनि जनगणनाका बारेमा नेपाली समुदायलाई जानकारी दिइरहेको जानकारी दिए । जनगणनामा स्थानीय समस्यालाई समाधान गर्न स्थानीय सम्बन्ध प्रबन्धकहरु खटाइए पनि भाषिक लगायतका समस्याका कारण ओएनएसले पनि समुदायकै सहयोगको भर परेको बताए । नेपाली भाषामा फाराम कसरी भर्ने, जनगणनामा किन सामेल हुने, स्वयंसेवकहरुलाई कसरी तालिम दिने लगायतका सामग्री तयार भइरहेको र केही सातामै उपलब्ध हुने पनि उनीहरुले जानकारी दिए । नेपाली समुदायलाई आवश्यक कुराहरु ओएनएससित पुर्याउन आफूहरुले सहयोग गर्ने पनि उनीहरुले वचन दिए ।
सिएनएस युकेका कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले जनगणनामा सिएनएस युकेको विगतको ज्ञान र अनुभव साट्न तयार रहेको बताए ।
छलफलले जनगणनामा नेपाली समुदायको प्रभावकारी सहभागिताका लागि योजनावद्ध कार्य गर्न विभिन्न समिति गठन गर्न, स्थानीय तहमा जनगणना सहयोग समूह गठन गरी सक्दो धेरै स्वयंसेवक परिचालन गर्न, स्थानीय नेपाली समुदाय र ओएनएसका प्रबन्धकबीच सम्पर्क स्थापना गर्न, स्थानीय तहमा जनगणनाको फाराम कसरी भर्ने बारेमा तालिम सञ्चालन गर्न सके जनगणनामा नेपालीहरुको अधिक सहभागितामा सहयोग पुग्ने निस्कर्ष निकालेको थियो ।
कार्यक्रमको सञ्चालन सिएनएस युकेका रिसर्च एसोसिएट नरेश खपाङ्गीमगरले गरेका थिए
भूतपूर्व गोरखा संघसंस्थासित छलफल
यसैगरी गैरआवासीय नेपाली संघ इङल्याण्ड राज्य समितिको आयोजनामा बुधबार विभिन्न गोरखा भूतपूर्व सैनिक संस्थाहरुबीच राष्ट्रिय जनगणनामा नेपालीहरुको सहभागिता बारे छलफल भयो ।
राज्य समितिका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा भएको सो छलफलमा ब्रिटिश गोरखा नेपाल भूतपूर्व सैनिक संघ (बिजीनेसा)का अध्यक्ष केशबहादुर गुरुङ, गोरखा सत्याग्रहका अभियान निर्देशक ज्ञानराज राई, गोरखा वेलफेयर ट्रष्टका क्याप्टेन रिटायर्ड महेन्द्र लिम्बु, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका गोरखा कार्यदलका संयोजक लेफ्टिनेण्ट रिटायर्ड चन्द्रबहादुर गुरुङ, तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष मेजर रिटायर्ड खुशीमान गुरुङ, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष श्रीमती पूनम गुरुङ, सेन्टर फर नेपाल स्टडिज युकेका डा. कृष्ण अधिकारी र नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर लगायत सहभागी थिए ।
समितिका सचिव गोविन्द खरेलले सञ्चालन गरेको सो छलफलमा समितिका सहसचिव कृष्ण वैद्य लगायतका सहभागीहरुले जनगणनाका विविध पक्षहरुका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । ती जिज्ञासाहरुको जवाफ सिएनएस युकेका डा. कृष्ण अधिकारी लगायतले दिएका थिए । कार्यक्रममा सहभागीहरुबीच मार्च २१ मा हुन गइरहेको जनगणनामा गोरखाहरुलाई कसरी सहभागी गराउने भन्ने बारेमा विमर्श भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री