पृष्ठभूमि
मुलुकमा संघीयताले प्रवेश गरिसके पछि हुन लागेको १२औं राष्ट्रिय जनगणना २०७८ अत्यन्त महत्वपूर्ण हुने देखिन्छ । चैत्र २०७७ बाट प्रदेश तथा जिल्लामा र वैशाख २०७८बाट स्थानीय तहमा जनगणना कार्यालयहरू खोलिने भएको छ । वैशाख २ देखि जेष्ठ १४ सम्म घर परिवारको सूचीकरण कार्य र जेष्ठ २५ देखि असार ८ सम्म मूल कार्यक्रम सम्पन्न गरिने भएको छ ।
जनगणना भनेको केवल मानिसहरूको गन्ती वा गणनामात्र होइन । प्रत्येक नागरिकको उमेर, लिङ्ग, सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक, वैवाहिक, पारिवारिक आदि स्थितिको सूचनाहरूको संकलन, संगठन, मुल्यांकन, विश्लेषण तथा प्रतिवेदन प्रकाशनको प्रक्रियालाई जनगणना भनेर व्याख्या गर्ने गरिन्छ । प्रत्येक दश–दश वर्षमा जनगणना लिने काम हुन्छ । मुलुकको जनसंख्या सामाजिक तथा आर्थिक अवस्था पहिले कस्तो थियो र अहिले कस्तो छ, के–के परिवर्तनहरु भए भनेर जनगणना तथ्यांकहरुसँग तुलना गरी हेर्नुपर्ने हुन्छ । यसका लागि प्रश्नहरुमा धेरै परिवर्तन हुँदैन । केही थप प्रश्नहरु नयाँ परिवेशमा समावेश हुन्छ ।
जनगणनाको आवश्यकता
कुनैपनि मुलुक, स्थानीय निकाय, र समुदायलाई आफ्नो राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक, भौतिक, सांस्कृतिक तथा अन्य विकासका नीति, कार्यनीति, रणनीति, योजना आदि तर्जुमा गर्नुपर्यो भने आवश्यक सत्य तथ्य तथ्याङ्क एवं सूचनाहरु आवश्यक पर्दछ । साथै राज्यले जनताको घर दैलोसम्म सेवा सुविधा र सहुलियत पुर्याउन पर्यो भने पनि तथ्याङ्कको आवश्यकता पर्दछ । यसरी जनगणनाको तथ्याङ्क राज्य तथा नागरिक दुवैलाई समान रुपमा अत्यन्त महत्वपूर्ण एंव आवश्यक हुन्छ । अहिले ७५३वटा पालिका ६,७४३ वटै वडामा अध्यावधिक तथ्याङ्कको अभाव छ ।
नेपालमा जनगणना लिने कार्यको औपचारिक सुरुवात सन् १९११ देखि भएको हो । हालसम्म ११ पटक जनगणनाको कार्य नेपालमा सम्पन्न भइसकेको छ । सन् १९११ देखि १९४१ सम्म जनगणना लिने कामको लागि छुट्टै निकाय वा विभाग थिएन । प्रत्येक जिल्ला प्रशासनले आँफ्नो जिल्लामा आफै जनगणना लिने कार्य गर्दथिए । फलस्वरुप अत्यन्त अपत्यारिलो र त्रुटिपूर्ण हुन्थ्यो ।
सन् १९८१ को राष्ट्रिय जनगणना लिने कार्यमा व्यापक सुधार ल्याउने प्रयास गरियो । सन् २००१मा ७५ जिल्लामा जनगणना कार्यालयहरु स्थापना गरियो । “कोही नछुटुन् र कोही नदोहोरिउन्” भन्ने नाराका साथ राष्ट्रिय जनगणनाको काम सम्पन्न भएको थियो । जनगणनाको दोस्रो स्रोत पंजीकरण प्रणालीबाट पनि भरपर्दो तथ्यांकहरु संकलन गरिएको थियो । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सामाजिक संस्थाहरु बाट व्यवस्थापन, प्राविधिक एवं भौतिक सहयोगसमेत लिइएको थियो ।
सन् २०११ (विसं २०६८) को राष्ट्रिय जनगणना लिने कार्यमा अझ व्यापक सुधार गरिएको थियो । अझ बढी बैज्ञानिक प्रविधिहरूको प्रयोगबाट भरपर्दो सत्य तथ्य तथ्याङ्क लिने प्रयास गरिएको थियो । तर पनि झन् त्रुटिपूर्ण तथ्यांक प्रतिबेदन प्रकाशनमा आएको पाइयो ।
राष्ट्रिय जनगणना प्रतिवेदनले नेपालमा ऐतिहासिक पहिचान बोकेका जाति समुदायको सही तथ्यांक दिन सकेको देखिएन । यसको पछाडि केन्द्रीय तथ्यांक विभाग वा राष्ट्रिय जनगणना मात्रै जिम्मेवार नभएर समग्र राज्यव्यवस्थाको त्रुटी हुन् र त्रुटिपूर्ण नीति रहेको निष्कर्ष आदिवासी जनजातिका विज्ञहरूको छ । यहाँ आदिवासी जनजातिको धर्म, भाषा, संस्कृति तथा जातिको सम्बन्धमा सत्यतथ्य सकेसम्म लिनु वा निकाल्नु राज्यव्यवस्थाले चाहँदैन । त्यस सम्बन्धी सम्पूर्ण तथ्याङ्क सार्वजनिक गर्दैनन् । यसबाट जातीय पहिचानको मुद्दालाई बल पुग्ने तथा यसको महत्व बढ्ने हुदाँ राज्य शसंकित भएको देखिन्छ । तसर्थ जनगणाको मूलभुत दार्शनिक पक्ष नै कमजोर रहेको छ । यो एउटा राज्यले जनगणना माथि गरेको राजनीतिको उदाहरण हो ।
त्रुटिपूर्ण प्रतिवेदन
विसं २०६९ मंसिर ११ गते (सन् २०१२ नोभेम्बर २७–२८) तारिखमा केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना विसं २०६८ लाई सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनमा त्रुटिपूर्ण तथ्यांकहरु निम्नअनुसार फेला परेको थियो । (२०६९ मंसिर ११ र १४ गते, कान्तिपूर)
१) मगर भाषा बोल्नेहरूको संख्या तीन प्रतिशत तथा मगरहरूको जनसंख्या ७.१२ प्रतिशतले अपत्यारिलो ढंगले घटेको देखाइयो । समग्रमा नेपालको जनसंख्या बढेको देखाइएको छ ।
२) विभिन्न जनजातिले आ–आफ्नो छुट्टै धर्म लेखायता पनि हिन्दूहरूको संख्या घट्नुपर्नेमा बढी (८१.३ प्रतिशत) र बौद्ध धर्मावलम्बीहरूको संख्या बढ्नु पर्नेमा घटेको (९ प्रतिशत) देखाइयो ।
३) सरकारी जनसंख्या सूचीमा जनजातिहरूको संख्या १५५ वटा सूचीकरण गरिएको छ । तर राष्ट्रिय जनगणना २०६८ ले जम्मा १२५ वटा मात्र जनजाती रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।
४) सरकारले सूचीकृत गरेको १२ जनजातिको नाम राष्ट्रिय जनगणना २०६८ मा छुटेको देखियो । (तीन गाउँले, वार गाउँले, लार्के, सियार, थुदाम, ताङवे, मुगाल, मर्फाली थकाली, सुरेल, फ्री छै रोतन र बनकरिया)
५) कुनै जनजातिमा मातृभाषा बोल्ने वक्ताको संख्या धेरै छ तर जातिको जनसंख्या थोरै छ । वान्तवा जातिको जनसंख्या ४६०४ छ भने भाषा बोलने जनसंख्या १,३२,४८३ देखाइएको थियो । (१४ मंसिर २०६९) शेर्पा जनजातीको जनसंख्या १ लाख १२ हजार ९ सय ४६ रहेको छ । तर शेर्पा भाषको वक्ताको संख्या भने १ लाख १४ हजार ८ सय ३० देखाइएको छ ।
६) वि.सं. २०४८को जनगणनाले कुल जनसंख्याको १६ प्रतिशत र २०५८को जनगणनाले १३ प्रतिशत दलित रहेको देखाइएको थियो । कुल जनसङ्ख्याको ४५ प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गरेका छन् । त्यसमा पनि दलित जम्मा ४१ प्रतिशतले मात्र परिवार नियोजनको साधन प्रयोग गरेको पाइन्छ । दलितको संख्या घटनु र क्षेत्रीको संख्या सोही अवधिमा बढ्नुमा जनगणना प्रति शंका हुनु स्वभाविक देखिन्छ ।
७) अघिल्लो जनगणनाको तथ्यांकमा ३७ प्रतिशत आदिवासी जनजाति थिए भने २०६८ को राष्ट्रिय जनगणनामा घटेर ३५ प्रतिशतमा सीमित रहेको देखाइएको थियो । १० वर्षभित्रमा आदिवासी जनजातिको जनसंख्या दुई प्रतिशतले घट्नु भनेको पत्यारिलो तथ्यांक लागेन । फलस्वरूप आदिवासी जनजाति विशेषज्ञहरुले “तथ्यांक होइन मिथ्याङ्क हो” भनेर २०६८ सालको जनगणना प्रतिवेदनमाथि असहमति जनाएका थिए । त्यसबेला केन्द्रिय तथ्यांक विभागले जनगणनाको तथ्याङ्कलाई पुनरावलोकन गर्ने समेत वाचा गरेको थियो । तैपनि २०६८ सालको जनगणना मा लिइएका सबै तथ्यांकहरू सार्वजनिक गरिएन ।
त्रुटिपूर्ण तथ्याङ्कका केही कारकहरूः
क) राष्ट्रिय जनगणना लिने कार्यमा स्थानीय स्तरमा प्रायः घर परिवार, तथा समुदायबाट गलत सूचना र तथ्याङ्क संकलन प्रक्रियाको प्रथम कारण हुने गरेको पाइन्छ । राज्यले पनि प्रायोजित रुपमा गलत तथ्याङ्क प्रकाशन गरेको पाइन्छ । विगतका वर्षहरूमा राज्यले नियोजित रुपमा हिन्दू धर्मावलम्बी र खस भाषाको तथ्याङ्क बढि देखाएको देखिन्छ । त्यस्तै आदिवासी जनजातिको जनसंख्या घट्दै गएको देखाएको देखिन्छ । यसरी राज्यले सत्य तथ्य तथ्याङ्कलाई लुकाउने प्रयास गरेकोमा शंका लाग्नु स्वभागिकनै हो ।
ख) तथ्याङ्क संकलन गर्न स्थालमा जाने गणक र सुपरवाइजरहरूलाई गुणात्मक प्रशिक्षण र अनुशिक्षण व्यवस्था केही कमी देखिन्छ । अनुमानतः अम्यासत्मक तालिमलाई उति महत्व दिएको पाइँदैन । त्यसकालागि गणकहरुले जनगणना लिने काम गर्दा गलत तथ्यांक संकलन गरेको पाइन्छ ।
ग) अधिकांश गणक र सुपरभाइजरहरुले स्थानीय समुदायको प्रतिनिधित्व गर्दैनन् । जनगणना लिने समुदायको जातीय संरचना, धर्म तथा सामाजिक परम्परा बारे ज्ञान हुँदैन । उदाहरणका लागि मगरहरूको केही थर बाहुन तथा क्षेत्रीसँग मिल्दछ । “थापा” र “बुढाथोकी” थर मगर र क्षेत्री दुवै जाति समूहमा हुन्छ । अतः गणक क्षेत्रि भयो भने आफ्नै पाराले उत्तरदाताको थर वा जात फारममा लेख्ने गरेको देखिन्छ । त्यसका लागि उत्तरदातालाई समयमा सजक र सचेत बनाउनुपर्दछ ।
घ) केही गणक वा सुपरभाइजरहरु घरदैलोमा पुग्न अल्छी मान्दछन् । चौतारी वा गाउँको कुनामा बसेर अनुमानको भरमा जन गणना फारम भरेको प्रायः सुनिन्छ । यसरी सही सुचना संकलन हुँदैन । गाउँ समाजमा पनि जनगणना प्रति गाउँलेहरूको विशेष चासो हुदैन । सुपरिवेक्षण पनि प्रभावकारी देखिँदैन ।
ङ) स्थानीय स्तरमा, विशेषगरी गाउँघरमा राष्ट्रिय जनगणनाको महत्व तथा सत्यतथ्य जानकारी गराउने बारे व्यापक प्रचार प्रसारको अभाव देखिन्छ । जनगणना कार्यमा सक्रिय सहभागिता लिनु पर्दछ भन्ने ज्ञानको कमी गाउँहरूमा पाइन्छ । यसरी स्थानीयस्तरमा त्रुटिपूर्ण तथ्याङ्क संकलन हुदा र केन्द्रिय स्तरमा प्रायोजितरुपमा गलत तथ्यांक प्रशोधनले गर्दा तथ्याङ्क प्रतिवेदन भ्रामक हुने गरेको पाइन्छ ।
जनगणनाले व्यक्ति र समुदायको पहिचान दिन्छ । वर्तमान संविधानले नै सबैको पहिचानको संरक्षण प्रत्याभूति गरेको छ । सबैले आफ्नो समुदायको संख्या सही तथ्यांक थाहा पाउनु पर्दछ । अनि आफ्नो समुदायको अधिकार, सेवा सुविधाका लागि राज्यसँग राजनैतिक बार्गेनिङ गर्न सकिन्छ । अतः आदिवासी जनजातिहरूले जनगणनामा भुमिका खेल्नु आवश्यक छ ।
आदिवासी संघ/संस्थाहरूको भूमिका
यसपालिको राष्ट्रिय जनगणनामा सकेसम्म सही तथ्याङ्क लिने प्रयास गरिनेछ । केही प्रतिशत त्रुटि हुन्छ तर जनगणना लिने कार्यमा यसपाली सकेसम्म कम त्रुटिहरू होस् भन्ने प्रयास गरिनुपर्छ । जबसम्म स्थानीय स्तर तथा घरदैलोमा राष्ट्रिय जनगणना प्रति जागरण एवं आम नागरीकमा अपनत्वको महशुस र सहभागिता हुने वातावरण मिलाइने छैन तब सम्म यो कार्यक्रम सफल हुनेछैन । यस क्रममा निम्नलिखित कार्यक्रमहरु सञ्चालन र कार्यान्वयन गर्नु पर्दछः
“जनगणना २०७८ जागरूकता अभियान”
१) जुन–जुन जिल्ला, गाउँपालिका, नगरपालिका र वडाहरुमा आदिवासी जनजातिको बाक्लो जनसंख्या छ वा घनाबसोबास छ त्यहाँ–त्यहाँ २०७८ राष्ट्रिय जनगणना बारेमा जनतामा जागरण अभियान सञ्चालन एवं कार्यान्वयन गर्नुपर्दछ ।
घुम्ती टोली
२) तीन–तीन वा पाँच–पाँच जना आदिवासी स्वयंसेवकहरूको “जनगणना जागरण वा जागरुकता अभियान” घुम्ती टोली गठन गर्नु पर्दछ । सो टोलीले प्रत्येक गाउँ र वडाहरुमा भ्रमण गर्नुपर्दछ ।
३) घुम्ती टोलीले स्थानीय नागरिकहरूलाई जनगणनाको महत्व, जनगणना किन चाहिन्छ र गणनामा आफ्नो नाम छुट्यो भने के बेफाईदा हुन्छ भन्ने बारेमा जानकारी गराउनु पर्दछ ।
४) आफ्नो जात, थर, भाषा, पुर्ख्यौली भाषा, धर्म आदि बारेमा जनजाति संघ÷संस्थाहरूको नीति अनुसार लेख्ने वा बताउने बारेमा जानकारी गराउनु पर्दछ ।
सहजीकरण वा समन्वयन समितिमा आदिवासी जनजातिको सहभागिता
५) यसपाली सम्भवतः विभिन्न स्तरहरुमा “जनगणना सहजीकरण वा समन्वय समिति” गठन गरेर जनसहभागिता लिने प्रयास गरिने भएको छ । सो समितिको गठन वडा तहसम्म गरिने भएको छ । अतः आदिवासी जनजाति बुद्धिजीवी, समाजसेवी र राजनीतिक अभियन्ता आदिलाई सो समितिहरुमा सदस्य बन्न वा सहभागी हुन प्रोत्साहन गर्नुपर्दछ ।
आदिवासी गणक र सुपरिवेक्षण
६) यसपाली अनलाइनमार्फत ४३ हजार गणक र ९ हजार सुपरिवेक्षकले १५ दिनको अवधिमा ७० लाख परिवार तथा तीन करोड जनसंख्याको गणना कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । म्याग्दी भर्ना गर्ने कार्य अनलाइन पद्धतिबाट हुनेछ । अतः आदिवासी जनजाति संघ÷संस्थाले जनजाति युवाहरूलाई (एस.एल.सी. पास) गणक तथा सुपरभाइजरमा आवेदक दिन लगाउन प्रोत्साहित गर्नु पर्दछ ।
७) छनोटमा परेका आदिवासी गणक र सुपरिवेक्षकहरुलाई जनगणना तथ्यांक संकलनमा आदिवासी जनजातिको जन गणना सम्बन्धी नीतिहरू बारे अवगत गर्नु गराउनु पर्छ ।
केन्द्रीयस्तरमा अवलोकन
८) तथ्यांक संकलन भएपछि केन्द्रित स्तरमा गरिने तथ्याङ्क प्रशोधनको समयमा आदिवासी जनजातिहरूको विज्ञ टोलीले अध्ययन र लेखा जोखा गर्नु पर्दछ । जनगणना तथ्याङ्क प्रशोधन सहि दिशामा छ छैन हेर्नु पर्दछ । अनुगमन गर्नु पर्दछ । पर्यवेक्षण गर्नु पर्दछ ।
निर्क्यौल
विगतको दशौं राष्ट्रिय जनगणना र एघारौं जनगणनाको परिस्थितिमा धेरै परिवर्तन भइसकेको छ । अतः बाह्रौं राष्ट्रिय जनगणनालाई प्रभावकारी र सफल पार्न निम्नलिखित प्रयास गर्न सकिन्छ ।
क) सरकार र तथ्यांक विभागले विगतको जनगणना सम्बन्धि आफ्नो दर्शन एवं नीतिहरुमा अमूल परिवर्तन गर्ने र सच्याउनु पर्ने हुन्छ
ख) सरकारी संयन्त्रले प्रभावकारी व्यवस्थापन, स्थलगत अनुगमन एवं मुल्यांकन पद्धतिलाई प्रभावकारी बनाउनु पर्दछ ।
ग) आदिवासी जनजाति समुदायमा सक्रिय जागरुकता, जनचेतना लाई अझ बढी जगाउनु पर्दछ ।
घ) “आदिवासी जनजातिको गणना र आदिवासी जनजातिको सहभागिता”को नारासाथ आदिवासी समुदाय अघि बढ्नु पर्दछ ।
(लेखक मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् ।

नेपाल सरकारका पूर्व उपसचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई