विकाशोन्मुख देशमा कोरोना खोप वितरण: शक्ति र पहुँचमा होइन प्राथमिकताका आधारमा

भारतबाट अनुदानमा आज नेपाल आइपुगेको कोरोना खोप । इन्सेटमा लेखक पुरुषोत्तम पौडेल

विश्व सन् २०२० को वर्षभरि नै कोरोना (COVID 19) को महामारी संक्रमणबाट कसरी बच्ने र बचाउने भन्नेमा तल्लिन रह्यो । हात धुने, शारीरिक दुरी कायम राख्ने, मुख र नाक छोप्ने, बिना आवस्यकता बाहिर ननिस्कने, लक्षण देखिएमा एकान्तमा बस्ने, परीक्षण गराउने र स्वास्थ्य सल्लाह लिने र आवस्यक परे उपचारका लागि आकस्मिक सेवामा सम्पर्क गर्ने उपायहरु सुझाईयो । अति संक्रमण भएका देश र शहरहरुले लकडाउन गरेर  संक्रमण कम गर्ने प्रयास पनि गरिरहेका छन् । यी उपायहरु गर्दागर्दै पनि विश्वमै फैलिइएको मानव संजाल र परनिर्भरताका कारण यो भाईरसले धेरै देशका मानिसहरुलाई संक्रमित गर्दै र धेरैको ज्यान लिएको छ । यसको रोकथामको उपाय अन्तत  खोप नै देखियो । संक्रमण बढ्दै जाँदा विश्व समुदाय यसको खोप विकास गर्न बिना सर्त लागि पर्यो । विकसित मुलुकहरु र विश्व स्वास्थ्य संगठनमा भएका प्रयोगशाला, विज्ञहरु र श्रोत साधनहरु प्रयोग गरेर अनुसन्धानमा जुट्न ढिलो गरेनन् । यो नयाँ रोग भएकोले नयाँ तरिकाका अनुसन्धानहरु र परिक्षणहरु भइरहे । फलस्वरुप अमेरिका र बेलायतका खोप विकासका अनुसन्धानहरुले सफलता प्राप्त गरे । यी सफलताबाट उत्पादित खोपहरुलाई अहिले विश्व स्वास्थ्य संगठन र धेरै पश्चिमी देशहरुले मान्यता दिइरहेका छन् ।

खोप तैयार गर्न करिब एक वर्ष देखि डेढ वर्ष लाग्ने पूर्वानुमान गरिएता पनि विश्व प्रतिस्पर्धा, स्थापित अनुसन्धान पूर्वाधार र आवस्यकताको दबाबका कारण खोप विकास तीव्र गतिमा भए । फाईजर वायोन्टेक, अक्सफोर्ड अस्ट्राजेनिका र मोडेर्नाले १० महिनामा नै खोप विकास गर्ने सफलता प्राप्त गरे । अन्य कम्पनी र विश्वविद्यालयहरुले थप खोपहरुको अनुसन्धान परिक्षण गरिरहेका छन् । यी अहिलेसम्म विकसित खोपहरुले शुरुमा शरीरमा कोभिड विकास गर्दछ त्यसपछि ती भाईरससंग लड्न शरीरमा थप एन्टीबडीहरु प्रशस्त विकास गरेर भाईरसलाई  मार्दछन् । त्यसपछि एन्टीबडी थप मजबुत हुन्छ भनिएको छ । तर शरीरले आफै बनाएको र यो खोपको बिधिवाट बनेको एन्टीबडी कति समयसम्म मजबुत रहन्छ भन्ने यकिन अझै भैसकेको छैन । त्यसैले सबै सतर्कता उपायहरु भने लिइरहन पर्ने विज्ञहरुले सुझाउ दिएका छन् । अहिले फेरि विभिन्न देशहरुमा कोरोना भाईरसको नयाँ प्रकार देखिएको छ । यो नयाँ प्रकारको भाईरसको संक्रमणले बेलायतमा उग्ररुप लिएको थियो । १३ डिसेम्वर बेलायतको केन्टमा ११०८ जना मानिस संक्रमित भएका थिए । यसमा थप अध्ययनहरु भैरहेका छन् । यो नयाँ प्रकारको भाईरस मानिस वा जनावरको जिन र एमिनो एसिडसंग भएको मिसावट र परिवर्तनवाट विकसित हुने र अन्यमा ७०% छिटो प्रकोप हुने गरेको भनिएको छ । बेलायतमा १४ डिसम्वर २०२० भेटिएको प्रकारलाई SARs-CoV-2 VUI 202012/01 नाम दिइएको छ । यो प्रकारको भाईरस साउथ अफ्रिका, अस्ट्रेलिया, डेनमार्क, ईटाली, आईसलैण्ड र नेदरलैण्डसमा केही अघि नै भेटिएको थियो । यो नयाँ प्रकारको भाईरसलाई पनि हालै विकसित भएका खोपहरुले काम गर्ने भनिएको छ ।

अब चर्चा गरौं खोप उत्पादन र ब्यवस्थापन प्राथमिकता बारेमा । यी विकसित खोपले काम गर्ने बिधि एकै किसिमको छ भनिए पनि यिनका भण्डारन बिधि भने फरक रहन पर्ने उत्पादकहरुले बताए । फाईजर वायोन्टेकले अमेरिकामा विकास गरेको खोपलाई प्रभावकारी राख्न माईनस् ७०°-८०° मा राख्नु पर्ने भनियो । यो विषेशरुपमा भण्डारन गर्न पर्ने भएकोले यसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान बढी खर्चिलो र कठिन हुने देखियो । विशेषगरी पूर्वाधार नभएका, विकासशील र तापमान बढी हुने देशहरुमा पारवहन गर्न यो प्राय असम्भव जस्तै छ । विकसित र राम्रा पूर्वाधार भएका देशहरु अमेरिका, बेलायत, युरोपका केही देशहरुमा यो खोप लगाउन डिसेम्वरदेखि नै शुरु भएको छ ।  अक्सफोर्ड अस्ट्राजेनिका र मोडेर्नाले विकास गरेका खोपहरु भने सामान्य फ्रिजको २° देखि ८° सम्म राख्न सकिने भएकाले यी खोप विश्वका सबै देशका सबै तापक्रमहरुमा पारवहन गर्न सकिने भनिए पछि विश्वमै नयाँ आशा जाग्यो ।

खोपहरुको माग अत्यन्त बढी भएकोले विश्वका सबै जनसंख्यालाई पुग्ने गरी यिनको उत्पादन गर्न केही समय भने पक्का लाग्ने छ । यी खोप उत्पादनमा उत्पादकहरुले तीव्रता त दिएकै छन् तर पनि यी खोपहरुको उत्पादन, क्रय क्षमता, पारवहन माध्यम र भण्डारन अवस्थालाई दृष्टिगत गर्दा  वितरण प्राथमिकता तोक्न जरुरी देखिन्छ । विश्व स्वास्थ्य संगठन र वैज्ञानिकहरुले भाईरसलाई नियन्त्रण गर्न सबै देशहरुमा खोप उपलब्ध गराउन पर्ने र त्यसका लागि ठूला अर्थतन्त्रहरुले साना अर्थतन्त्रका मुलुकहरुलाई खोप किन्न र ब्यवस्थापन गर्न सहयोग गर्नु पर्ने बताएका छन् । ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनले संयुक्त राष्ट्र संघमा बोल्दै सहयोगको आव्हान गरेका छन् । बेलायतले साना अर्थतन्त्र भएका मुलुकलाई कोरोना खोपमा सहयोग गर्न ५०० मिलियन पाउण्ड सहयोग गर्ने जनायो । अरु ठूला अर्थतन्त्र भएका मुलुकहरुले पनि कमजोर अर्थतन्त्र भएका मुलुकहरुमा खोप उपलब्ध गराउन समानताको आधारमा आर्थिक सहयोगका हात बढाउन पर्ने आवस्यकता देखिन्छ ।
अब एकातिर कुन देशले प्राथमिकता पाउने भन्ने छ भने अर्कोतिर कुन वर्गका मानिसले प्राथमिकता पाउने भन्ने छ । यो विश्व महामारी भएकोले कुनै देशले बढी प्राथमिकता पाउने र कुनैले कम प्राथमिकता पाउने भन्ने हुँदैन । मानिसको मृत्यु सम्पन्न देशमा होस् वा विकासोन्मुख देशमा फरक हुँदैन । आफ्नो वा आफन्तको ज्यान सबैलाई महत्वपूर्ण हुन्छ । आर्थिक मजबुत भएका देशहरुले यस महामारीमा जनता र कानुनबमोजिम स्थापित ब्यवसायहरुलाई आर्थिक सहायता मात्र प्रदान गरेनन् उनीहरुले जनतालाई समयमा नै खोप दिन उत्पादकहरुसंग खोप खरिदका लागि अग्रिम बुकिङ्ग समेत गरे । तर कमजोर आर्थिक अवस्था भएका मुलुकहरुले न जनता र ब्यवसायहरुलाई आर्थिक सहयोग गर्न सके न त्यसतर्फ कुनै राहत कदम चाले । नेपालमा त सरकारले आर्थिकरुपमा धान्न नसक्ने भनेर संक्रमण परीक्षणमा पनि शुल्क लगाइदियो । अब रह्यो, खोपको अग्रिम बुकिङ्ग, यसमा सरकारले दाताहरुको मुख ताक्नेभन्दा अरु बढी गरेको देखिँदैन । यही अवस्थामा महामारीबाट कसरी बच्ने, बचाउने र मुक्ति पाउने भन्नेमा सबै दलहरु र सरकारी संयन्त्र एक हुन पर्ने र सहयोग गर्न पर्ने अवस्था हो । तर यी दल र नेताहरु बीचका झगडाले महामारीले भन्दा बढी प्राथमिकता पाएको देखिन्छ ।
अहिले नेपालमा हालै नयाँ स्वास्थ्य मन्त्रीले पदभार लिएका छन् । सायद उनी नयाँ मंत्रालयको अवस्था, कानुन, नीति, विधि र प्रकृयाहरुको अध्ययन गर्दै होलान् । उनलाई सबै बुझेर आवस्यक निर्णय गर्न केही समय त अवस्य लाग्नेछ । यस अवस्थामा विदेश मन्त्रीले हालै भारत भ्रमण गरेर आपसी सम्बन्धलाई नविकरण गरेका छन् । अरु दीर्घ महत्व राख्ने विषयमा भारतसंग संझौता नगर्न विज्ञहरुले सुझाएअनुसार उनले विविध पक्षमा नेपाल-भारत छलफल गरेर आपसी हितमा अगाडी बढ्ने प्रतिवद्दता नविकरण गरेको देखिन्छ । उनले गरेको महत्वपूर्ण विषय भारत सरकारसंग नेपाललाई कोरोनाको खोप उपलब्ध गराउन अनुरोध हो । उनी मैत्रीपूर्ण भ्रमणबाट फर्केको हप्ता दिन नहुँदै भारतले नेपाललाई भारतमा उत्पादन अख्तियारी पाएको अक्सफोर्ड/अस्ट्राजेनिकाको “कोभिशिल्ड” नाम दिएको दश लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने जनायो र ती खोप अहिले नेपाल आइसकेको छ ।
नेपालमा पद्दति र विधिले काम गर्ने संस्कृति अझै बसिसकेको छैन । जसको शक्ति र जसको हात उसैले वा रोजेकोले सुविधा लिने गरेको पाइन्छ । अहिले पहिलो लट खोपले जम्मा ५ लाख मानिस लाभान्वित हुन सक्छन् । सरकारले आफैँले किनेर वा विश्व स्वास्थ्य संगठन र अन्य दाताहरुबाट भएको सहयोगबाट नेपालमा अवस्य क्रमश खोप उपलब्ध हुँदै जानेछ । यस अवस्थामा गैर आवासीय संघ (NRNA) अहिले मौन देखिन्छ । यस संस्थाले पनि नेपालमा विपद् अवस्थामा सहयोग गर्दै आएको हो । यसमा संघले सहयोग गर्ने र सहयोगका लागि आर्थिक सहयोग जुटाउन ढिलो गर्न हुँदैन । यसरी क्रमिक रुपमा उपलब्ध हुँदै जाने खोप प्राथमिकताका आधारमा वितरण हुन पर्दछ । भुकम्पमा आएका सहयोग वस्तुहरु शक्तिमा र हात हुनेले लापरवाही गरे जसरी वितरण गर्न दिन हुँदैन । अब पुन: नजिक र पक्षका भनेर सोर्स र फोर्सको आधारमा वितरण गर्न हुँदैन । त्यसका लागि सरकारले प्राथमिकता लिस्ट तैयार गरेर लागु गर्न पर्दछ र त्यो प्राथमिकताको गलत प्रयोग गर्ने, लुकाउने र बेच्नेलाई निरुत्साहित गर्दै कडा कानुनी दायरामा ल्याउन सक्न पर्दछ । त्यसका लागि नागरिक समाज, प्रहरी, मिडिया र सरकारी संयन्त्रहरुले निगरानी गर्न जरुरी हुन्छ ।
बेलायतमा सरकारले संयुक्त समिति बनाएर खोप वितरणको प्राथमिकता तोकेको छ । ती प्राथमिकताहरु परिवर्तन हुने भएकाले समय समयमा बैठक बसेर पुनरावलोकन गर्ने ब्यवस्था गरेको छ । उमेर, पेशा, जोखिम अवस्था, गर्भावस्था, दुध खुवाउने महिला, १६ वर्ष मुनिका केटाकेटी, बच्चा, दीर्घ रोग, अल्पसंख्यक समुदाय, कामको प्रकृतिका आधारमा संक्रमित र मृत्यु भएकाहरुको तथ्यांक विश्लेषण गरेर प्राथमिकता तोकेको छ । पहिलो चरणमा नौ वटा प्राथमिकता रहेका छन् ;
१. केयर होमका बृद्धबृद्धा र केयर कर्मचारी सबै,
२. ८० वर्ष माथिका सबै र अस्पतालमा प्रत्यक्ष बिरामीसंग काम गर्ने स्वास्थ्य तथा सामाजिक केयरका कर्मचारीहरु,
३. ७५ वर्ष भन्दा बढी उमेरका सबै,
४. ७० वर्ष भन्दा माथिका सबै र जोखिम अवस्थाका ब्यक्तिहरु,
५. ६५ वर्ष भन्दा माथिका सबै,
६. १६-६४ वर्षका दीर्घ रोग लागेका सबै,
७. ६० वर्ष माथिका सबै,
८. ५५ वर्ष र माथिका सबै,
९. ५० वर्ष र माथिका सबै
यी उल्लेखित मानिसहरुले क्रमिकरुपमा पहिलो चरणको खोप पाउनेछन् । त्यसपछि बांकी सबैलाई क्रमश पुनरावलोकन गर्दै खोप दिने र आगामी सेप्टेम्बरसम्ममा सबै नागरिकलाई खोप दिने नीति बेलायत सरकारले लिएको छ । यो महामारी विरुद्धको खोपलाई वितरण प्रभावकारी बनाउन छुट्टै मन्त्रालय समेत गठन भएको छ । जनताको सुविधाको लागि देशैभरि खोप शिविरहरु संचालन गरिएका छन् । सरकारले यो खोप सबैलाई निशुल्क उपलब्ध बनाएको छ । नेपालमा यही आधारमा खोप वितरण हुनपर्छ भन्ने हैन । यो महामारी हो । यसमा कुनै ब्यक्ति, समुदाय विशेषको कारण यो संक्रमित भएको र हुने हैन । तर लक्षण देखिएमा सतर्कता राख्नु पर्ने सबैको नैतिक दायित्व हो । त्यसैले यसको परीक्षण, उपचार र खोपमा जनतालाई शुल्क लगाउनु सजाय दिए जस्तै हो । सक्नेले शुल्क तिर्छन् तर नसक्नेले भाईरसका कारण दु:ख पाउने, ऋणमा डुब्ने वा मृत्युको जोखिम बेहोर्न पर्ने हुन हुँदैन । नेपालको सन्दर्भमा संक्रमण र मृत्यु हुनेहरुको तथ्यांक विश्लेषण गरेर प्राथमिकता तोकेर खोप लगाएमा कोभिडबाट मर्नेको संख्या घटाउन सकिन्छ । शहरी क्षेत्रमा बस्ने बृद्धबृद्धा र बढी जोखिमका दीर्घ रोगका बिरामी, अस्पतालमा काम गर्ने कर्मचारीहरु, शिक्षक, प्रहरी, सेना तथा प्रत्यक्ष सेवा दिने कर्मचारीहरु, ग्रामीण क्षेत्रका सत्संगमा जाने वा धार्मिक क्षेत्रमा बस्ने  बृद्धबृद्धा, शहरमा खाना प्रशोधनमा काम गर्ने मानिसहरु, कारखानामा काम गर्ने मजदुरहरु, यातायातमा काम गर्ने मजदुरहरु आदि  बढी जोखिम भएका ब्यक्ति, समूह, उमेर, र पेशा पहिचान गरेर प्राथमिकता लिष्ट तैयार गरेर खोप वितरण गर्दा बढी समानता, प्रभावकारी र भाईरसको कारण मृत्यु हुने संख्या घटाउन सकिन्छ ।
हालै विश्वमा विकसित खोपले बहुसंख्यालाई उत्साहित बनाएको छ । बेलायतमा भने केही युवायुवतीहरु र अल्पसंख्यक समुदायमा भने यसको भावी प्रभाव र असर बारेमा केही चिन्ता रहेको पनि पाईन्छ । हाम्रो नेपालको समुदायमा पनि सबै जात, धर्म परम्परा र संस्कृतिका मान्यताहरु आ-आफ्नै छन् । यी खोपहरुमा सानो मात्रामा अल्कोहलको मिश्रण भएको छ । अहिले विषेशगरी मुस्लिम समुदायहरुमा खोप विकास भए पनि कट्टर धर्मालम्वीहरुमा खोपमा अल्कोहलको मात्रा मिश्रित भएकोले खोप लिने सम्बन्धमा हिचकिचाहट देखिएको छ । उनीहरु पनि समुदायका गुरुहरु र मुस्लिम डाक्टरहरुले निर्णय गर्नुपर्ने बताउँछन् । त्यस्तै समस्या कट्टर हिन्दु समुदायमा पनि हुँदैन भन्न सकिँदैन । सूचनाको हक सबैलाई हुन्छ र खोपमा के रसायन मिश्रित छन् भन्ने जानकारी खोप प्राप्तकर्तालाई दिनु पनि पर्दछ । मुस्लिम र हिन्दु धर्ममा (केही समुदायबहेक) अल्कोहल लिन वा ईन्जेक्ट गर्न वर्जित मानिन्छ । यसको जानकारी भएपछि धर्म गुरु, पंडित र कट्टर धर्मालम्वीहरुमा खोप लिन केही हिचकिचाहट हुन सक्दछ । त्यसकारण धार्मिक समुदाय र संस्थामा यसको बारेमा छलफल हुन र धर्मग्रन्थहरुले के भन्दछन् भन्ने खोज गर्न जरुरी छ । साथै धर्म गुठी, संस्था वा समुदायले खोपलाई जीवन रक्षा कवचको रुपमा लिन पर्दछ भन्ने निर्णय गरेर सर्वसाधारण धर्मालम्वीहरुमा धार्मिकरुपमा आश्वस्त पार्न जरुरी छ ।

एक वर्ष भन्दा बढीको सतर्कता, हिँडडुलमा आएको रोकावट, भाईरस संक्रमण र परिस्थितिले जीवनमा पारेको प्रभावका कारण मानिसहरुमा भौतिक र मानसिक रुपमा असर परेको पाईन्छ । यस्तो अवस्थामा खोपको द्रुत विकासले मानव जीवनमा उत्साह ल्याएको छ । तर उपलब्ध खोपले कति रक्षा गर्न सक्छ र यसका भावी प्रभावहरु केके हुन्छन् भन्ने अझै यकिन छैन । अहिले खोप खरिद, ब्यवस्थापन र वितरण प्रभावकारी हुन जरुरी छ । यसका लागी साना अर्थ ब्यवस्था भएका मुलुकहरुमा अनुभवी र प्रतिवद्ध राजनैतिक नेतृत्व, संस्थागत ब्यवस्था, साधन श्रोतको ब्यवस्था, सहयोगी हातहरु आवस्यक हुन्छन् । यसले खोप खरिद, भण्डारन र वितरणमा प्रभावकारिता आउँछ । एकै किसिमको रसायनिक मिश्रण भएको खोपले धार्मिकरुपमा नकारात्मक चिन्तन निम्त्याउन सक्दछ । त्यसैले समुदायका अगुवाहरुको भूमिका महत्वपूर्ण हुन्छ । खोपलाई जीवन रक्षा कवच मानेर ग्रहण गर्नु सापेक्षित धार्मिक मान्यता बनाएर अगाडी बढ्नु बढाउनु आजको आवस्यकता हो ।

डा.पुरुषोत्तम पौडेल

पुरुषोत्तम पौडेल समसामयिक विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री