पर्वतारोहण क्षेत्रमा बितेको केही वर्षमै निर्मल पुर्जाले अलग पहिचान बनाइसकेका छन् । खासगरी गतवर्ष छ महिना छ दिनको छोटो अवधिभित्रै विश्वका आठहजार मिटर अग्ला सबै हिमाल आरोहण गरेर । हुन त यसअघि नै स्वर्गीय आङरिता शेर्पालाई धेरैपटक सगरमाथा आरोहण गरेका कारण ‘हिमचितुवा’को पदवी दिइसकिएको थियो तर वास्तविक हिमचितुवा चाहिँ निर्मल पुर्जा रहेछन् । किनकि चितुवा सबैभन्दा छिटो दौड्ने प्राणीमध्ये एक हो र पुर्जाले पनि हिमाल आरोहणमा चितुवाजस्तै द्रुत गतिमा दौडेर करिब आधा दर्जन विश्व कीर्तिमान राखिसकेका छन् ।
उनै पुर्जा आफ्नो हिमाल आरोहणको कथाब्यथा बोकेर पुस्तकका माध्यमबाट पाठकसामू आएका छन् – ‘बियोण्ड द पोसिबल’ मार्फत । बियोण्ड द पोसिबलमा उनले २१ वटा शीर्षकमा आफ्नो बाल्यकालदेखि गोरखा सैनिक, स्पेशल बोट सर्भिसको सदस्य हुँदै १४ वटा आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्दाका कथा बुनेका छन् ।
पुर्जा करिब १७ वर्षदेखि बेलायतमा बस्दै आए पनि दुई/तीन वर्षयता मात्र नेपाली समाजमा धेरै चिनिएका हुन् । यस पंक्तिकारको करिब एक दशकको बेलायत बसाइको अनुभवमा जब उनले छोटो समयमा सगरमाथा, ल्होत्से र मकालुको आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राखे तत्पश्चात उनको पर्वतारोही व्यक्तित्व सार्वजनिक भएको हो । त्यहीबेला प्रश्न उब्जिएको थियो – यस्तो विश्व कीर्तिमानी आरोहीको कथा किन उनी सगरमाथाबाट ओर्लनासाथ नेपाली मिडियामा नआएको होला ? करिब आठवर्ष नेपालको मूलधारको ब्रोडसिट दैनिकमा पर्वतारोहण बिटमा काम गरेको यस पंक्तिकारको पूर्वानुभवमा आधारित जिज्ञासा थियो त्यो । पुस्तकमा उनले सो प्रश्नको जवाफ दिएका छन् ।
यसबाहेक उनले आफू पर्वतारोहणमा लाग्नुको कारण, सबैभन्दा छोटो समयमा विश्वका आठ हजार मिटर माथिका सबै हिमाल आरोहण गर्ने अठोट लिनुका कारण र सो अठोटलाई पूरा गर्न खेप्नुपरेका सास्तीहरु, खर्च जुटाउन भोग्नु परेको हण्डरहरु, हिमाल आरोहणमा खेप्नुपरेको शारीरिक र मानसिक जोखिमहरु, हिमाल चढ्दाका राजनीति, हिमालको पर्यावरणीय अवस्था लगायतका विषयमा आफ्नो अनुभव पुस्तकमा पोखेका छन् ।
एकातिर आफ्नो दृढप्रतिज्ञा अर्कोतिर पारिवारिक चिन्ता । वृद्धावस्थाका आमाबुबाको जिम्मेवारी । श्रीमतीको माया । आफूलाई बाटो देखाउने दाजुहरुको स्नेह । यी सबैलाई सन्तुलनमा राखेर पाइला पाइलामा ज्यान जानसक्ने जोखिम उठाउँदै आफ्नो प्रतिज्ञा पूरा गर्नु उनलाई पक्कै सजिलो थिएन । त्यसैले उनको यो विश्व कीर्तिमानले उनलाई व्यक्तिगत रुपमा त चिनायो नै यससँगै विश्वका धेरै युवायुवतीहरुलाई दृढइच्छा भयो भने कुनै पनि काम असम्भव छैन भन्ने महत्वपूर्ण पाठ पनि सिकाएको छ । त्यसैले उनको यो कथा उनको मात्र होइन समग्र पाठकहरुका लागि प्रेरणाको स्रोत हो । उनको कथा पढेर हिमाल नै चढ्न पर्छ भन्ने होइन तर आफूलाई जुन विषय र क्षेत्रमा रुचि छ त्यसमै प्रतिवद्ध भएर सफलताको शिखर आरोहण गर्ने आत्मविश्वास हासिल गरे पुग्छ ।
धेरै मानिसले जीवनमा यस्ता अद्वितीय कार्यहरु गरे । तर त्यस्ता सार्वजनिक कार्य थोरै समय मात्र स्मरण गरिने सर्वव्यापी मान्यता नै हो । तर त्यसलाई अभिलेखीकरण गर्दा पुस्तौँपुस्ताले सम्झिरहन र उत्प्रेरित भइरहन सक्छ । तसर्थ आफ्ना अनुभवलाई पुस्ताकाकार दिएकोमा निर्मल पुर्जालाई धन्यवाद ज्ञापन गर्नैपर्छ ।
पुस्तक पढ्दा कहिले कुन कुन हिमालको टाकुरामा आफैँ उभिए जस्तो लाग्छ । कहिले चिप्लेर तलतल पुग्दा मरिन्छ कि बाँचिन्छ जस्तो लाग्छ । हिमालमा अलपत्र परेका यात्रीलाई उद्धार गरिएको पंक्तिमा पुग्दा मानिस जति जोखिममा रहे पनि बाँच र बचाउ भन्ने मानवता रहिरहने रहेछ जस्तो लाग्छ । सेकेण्ड सेकेण्डको महत्व रहने हिमालमा निजी स्वार्थ सिद्ध गर्न खोज्नेहरु र सामूहिकतामा अर्घेलो हुनेहरु देख्दा कुटुँ कुटुँ लाग्छ । पुस्तक पढिरहँदा समग्रतामा कतै निर्मल पुर्जाले आफूलाई अलि साहसी नै देखाउन पो खोजेका हुन् कि जस्तो पनि नलाग्ने होइन ।
पुर्जाले आफ्नो मिसन पूरा गर्नका लागि छँदाखाँदाको जागिर त्यागे । करिब ७ लाख ५० हजार पाउण्ड बजेट अनुमान गरिएको अभियान पूरा गरेरै छाडे । उनले पुस्तकमा आफ्नो अभियानलाई विश्वास नगर्नेहरु प्रशस्त थिए भनेर उल्लेख गरेका छन् । तर अहिले उनको अभियान पूरा भएपछि उनी प्रतिको दृष्टिकोणमा के कस्तो बदलाब आयो ? अहिले उनको जीवनमा कस्तो परिवर्तन आयो ? अहिले उनको दिनचर्या कसरी बितिरहेको छ भन्ने बारेमा भने पुस्तक मौन छ । शायद उनले यी कुरा अर्को पुस्तकका लागि साँचेका हुन् कि ?
पुस्तक : बियोण्ड द पोसिबल
लेखक : निम्सदाइ पुर्जा
प्रकाशक : होडर एण्ड स्टोटन
मूल्य : १४.७१ पाउण्ड (पेपरब्याक)
-खपाङ्गी
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी