पारिवारिक पीडाले इलाम छोड्दै रसिक

‘रातो भाले क्वायँ क्वायँ, सुत्केरीलाई ख्वाएँ,
सुत्केरीको नाम गरी टाउको मैले खाएँ
…….
हट्ने होइन, डटी लड्ने, नेपालीको बानी हुन्छ
कहिल्यै नझुक्ने शिर उभेको, स्वाभिमानी नेपाली हुन्छ
…….
घर बेटी नानी, आँगनमा देउन मलाइ बास
आँगनमा देउन मलाइ बाँस
…..
गाउँ होस् वा शहर, जुनसुकै क्षेत्रका बासिन्दाको जिब्रोमा आउने गीतका हरफ हुन् यी । चार दशकअघि सिर्जित यी हरफ यसकारण पनि जनजिब्रोमा रहन गयो कि एउटा मन तान्ने शब्द र अर्को सीमित सञ्चारमाध्यम ।

त्यसबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खबरको जानकारी लिने जनताको पहुँचको श्रव्य साधन थियो– रेडियो नेपाल । रहरले होस् वा बाध्यताले खबर सुन्ने अकाट्य माध्यम बन्थ्यो रेडियो नेपाल ।

झट्ट सुन्दा ठट्यौली जस्तो लाग्ने ‘रातो भाले क्वाँय क्वाँय’ गीतले त गाउँको परिवेश समेत बोकेकाले जनताको मनमस्तिष्कमै बस्न पुग्यो भने ‘हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ’ गीतले तत्कालीन राजपरिवारको समेत मन छोयो । कुनै ठट्यौली त कुनै सामाजिक परिवेशसँग मिल्दोजुल्दो गीत लेख्ने र गाउने सर्जक हुनुहुन्छ, गणेश रसिक ।

हुनत गणेश रसिक चिनाउनु पर्ने नाम होइन, तर परिचय नै दिने हो भने यतिले मात्र भने पुग्दैन । अनि साङ्गितिक र साहित्यिक क्षेत्रबाट रसिकको नाम अलग राख्दा यो क्षेत्र नै अधुरो रहन्छ । कथा र उपन्यास लेखेर साहित्यिक फाँटमा रहर लाग्दो नाम बनाउनुभएका रसिकको गीत लेख्ने र गाउने खुवी भएकाले पनि साहित्यिकभन्दा साङ्गीतिक पाटो अलिक गह्रौँ जस्तो देखिन्छ । रसिकको जन्म पूर्वी पहाडी जिल्ला भोजपुरमा भयो । रसिकको जन्म जति बेला भयो त्यतिबेला राणा शासन हटाउन अनेक आन्तरिक तथा बाह्य गृहकार्य भइरहेको थियो । विसं २००४ मा जन्मिनुभएका उहाँको परिवार पनि राजनीतिक चेतनामा अगाडि नै थियो । बाल्यकालमै सामान्य राजनीति बुझेर सामान्य झण्डा बोके पनि रसिकको जीवनमा राजनीतिभन्दा अन्य क्षेत्रको लगाव बढी देखिन्छ ।

आफ्नै हजुरबुबा बडाहाकिम भएकाले धेरै कुरा बुझ्न अर्को ठाउँ जानु परेन । रसिकको बाल्यकाल एकैनासको रहेन । बडाहाकिमको जागिरका लागि हजुरबुबा कहिले ओखलढुङ्गा त कहिले अन्य जिल्लामा जानुपर्ने भयो र रसिक पनि सँगै हिँड्नुपर्ने भयो । त्यतिकैमा रसिक आफ्नै जागिरको सिलसिलामा इलाम आइपुग्नुभयो । रसिकको विद्यालयस्तरको अध्ययन भोजपुरमै बिते पनि त्यसपछिको समय भने धेरै जसो इलाम र काठमाडौँमा बित्यो ।

लाहुरे बन्न जाँदा राजविराजमै जागिर

रसिकका बुबा पल्टनका जागिरे हुनुहुन्थ्यो । त्यसैले पल्टन नै जानुपर्ने सल्लाह परिवारबाट आउन थाल्यो । गाउँमा साथीभाइसहित रसिक भोजपुरबाट पल्टनमा भर्ती हुन हिँड्नुभयो । खासै घरबाहिर काम नगरेका रसिक बाटोमा हिँड्न सक्नुभएन र बिरामी पर्नुभयो । सप्तरीको राजविराज पुगेपछि भने रसिक हिँड्नै नसक्ने गरी थला पर्नुभयो । त्यही एक घरमा साथीभाइले रसिकलाई सुताए र पल्टनतर्फ हिँडे ।

“मेरो कथा देवकोटाको मुनामदन कृतिको मदनको जस्तै छ”, रसिक भन्नुहुन्छ, “तर, मदनलाई हेरचाह गर्ने भोटे थरका व्यक्ति थिए मेरा भने मधेशी थिए ।” रसिक केही दिनमा आराम हुनुभयो तर रसिकका साथीसमेत फर्किएर त्यहीँ आइपुगे । पल्टनमा भर्ती हुन ढिला भएकाले साथीहरु भर्ती नै नभई फर्किएका रहेछन् ।

त्यतिकैमा एक जनाले रसिकलाई राजविराजमै जागिरमा लगाइदिए । “सामान्य टाइप जान्ने भएकाले मैले जागिर पाइहालेँ”, उहाँ भन्नुहुन्छ, “त्यसपछि लाहुरेमा भर्ती हुने कुरै हरायो ।” त्यसपछि पनि रसिकको जीवन स्थिर रहेन । कहिले भोजपुर पुग्नुभयो त कहिले विराटनगर । त्यतिकैमा २०२२ सालतिर इलामे साहित्यकार विष्णु नवीनको सहयोगमा रसिक इलाम आउनुभयो र यहीँ काम गर्न थाल्नुभयो ।

साहित्यकारको प्रभाव पर्न थालेपछि विस्तारै रसिक पनि साहित्यमा रम्न थाल्नुभयो । विसं २०२३ मा काठमाडौँ पसेपछि भने रसिकले ठोस प्रगति नै देखाउनुभयो । ‘क्षितिजलाई छुन खोज्दा–२०२४’ कथासङग्रह निकालेर साहित्यिक क्षेत्रमा प्रवेश गरेको चार वर्ष नबित्दै ‘एउटा सारङ्गीभित्र–२०२८’ ल्याउन रसिक सफल हुनुभयो । यस्तै ‘बिलाउँदै गएको गीत’, ‘दशगजामा उभिएर’, ‘छपक्कै मनमा बसेकाहरु’ लगायतका कृतिसमेत रचना गर्नुभयो ।

राईबाट रसिक बन्दा

साहित्यकार बन्न के के गर्नुपर्छ भन्ने थाहा नभए पनि रसिकलाई आफ्नो नामको पछाडि उपनाम झुण्ड्याउनु पर्छ भन्ने चाहिँ थाहा थियो । विद्यालयस्तरमै यति बुझेपछि रसिकले आफ्नो नामको पछाडि के उपनाम झुण्ड्याउने भन्नेमा अन्योल बनायो । सबै साथीले नाम पछाडि उपनाम झुण्ड्याएकाले रसिकलाई पनि तत्काल उपनाम झुण्ड्याउन बितिसकेको थियो तर के लेख्ने भन्ने पत्तो भने थिएन । रसिकले अच्छाकुमार राई रसिकको पुस्तक पढेर प्रभावित भएपछि आफ्नो नामको पछाडि पनि राई हटाउनुभयो अनि रसिक थप्नुभयो ।

अस्थिर मन

जब काठमाडौँमा राल्फा आन्दोलन चलिरहेको थियो त्यति बेला रसिक पनि त्यही आन्दोलनमा सरिक रहनुभयो तर समयान्तरमा रसिकलाई राल्फामा ‘बस्नु बेकार लाग्न’ थाल्यो । “राल्फाको अर्थ नै मैले बुझिनँ, न त गन्तव्य नै थाहा पाएँ”, रसिक भन्नुहुन्छ, “त्यसैले सँगै रहन सकिनँ ।” त्यसपछि भोजपुरका साहित्यकारको संयोजनमा नयाँ समूह गठन भयो– लेकाली । भोजपुर क्षेत्रका हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, नवीन किशोर, तीर्थ शेरचन र रसिक मिलेर लेकाली समूह खोल्नुभयो र साहित्यमा होम्मिनुभयो । नेपाली जनजीवनका कथालाई लेकाली समूहले आफ्नो विषय बनाएको थियो । लेकाली समूहले क्यानडामा समेत लेकाली सङ्गीत पुर्याएको थियो ।

रसिकको विगत सम्झदा उहाँले अनगिन्ती ठाउँमा काम गरेको देखिन्छ । कहिले रत्न रेकर्डिङ संस्थानको महाप्रबन्धक भएर त कहिले राष्ट्रिय नाचघरको महाप्रबन्धक । त्यतिले मात्र पनि रसिकको मन थामिएन । त्यसै पनि अस्थिर मन भएका रसिकलाई लामो समय एकैठाउँमा काम गर्नसक्ने कुरै भएन । प्रतिष्ठित संस्था साझा प्रकाशनको कार्यकारी अध्यक्ष भएरसमेत रसिकले काम गर्नुभयो तर दिगो भने भएन । त्यतिकैमा रसिकले सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा समेत सदस्य सचिवको रूपमा काम गर्नुभयो । पचासको दशकदेखि भने रसिक काठमाडौँ बस्न रुचाउनुभएन । काठमाडौँमा बस्ने मन नभएपछि रसिक फेरि भोजपुर जाने मनस्थितिमा पनि रहनुभएन । त्यसबेला रसिकले सम्झनुभयो आफूले साङ्गीतिक र साहित्यिक यात्रा शुरु गरेको जिल्ला इलाम ।

उहाँ काठमाडौँबाट इलाम सर्नुभयो । इलाम आएर पनि उहाँ निरन्तर आफ्नो क्षेत्रमा रहँदै आउनुभयो तर अब भने रसिकलाई इलाममा बस्नसमेत मन मर्दै आएको छ । मन मात्रै मरेको छैन आफ्नो जन्मथलो र बालसखाको न्यास्रोले तानेर भोजपुर पुर्याएको छ । अबको केही समयपछि नै रसिक इलाम छाड्दै हुनुहुन्छ । इलाम छाडेर केही समयपछि काठमाडौँ बस्ने उहाँको योजना छ तर समायान्तरमा भोजपुर पुग्ने नै उहाँको उद्देश्य छ । “मैले इलाममा धेरै मित्र कमाएँ । सबैले राम्रै गर्नुभएको छ, दुःख साट्ने मान्छे पाएँ तर सुख साट्ने पाइन”, उहाँ भन्नुहुन्छ । उहाँलाई पुर्ख्यौली घर र त्यहाँका खेतबारीले अन्य ठाउँ बिर्साएको छ ।

अप्रत्याशित राजनीतिक यात्रा

रसिकको जीवन केलाउँदै जाने हो भने राजनीतिक घुम्तीहरु अत्यन्तै धेरै भेटिन्छ । कांग्रेस परिवारमा जन्मिएका उहाँको मन विद्यार्थी कालदेखि नै कम्युनिष्ट आन्दोलनप्रति बढी तानिन पुग्यो । “विसं २०१७ मा राजा महेन्द्रले प्रजातन्त्र खोसेपछि परिवारसमेत राजातर्फ केन्द्रित भएको थियो”, रसिकले भन्नुभयो, “तर म भने बाल्यकालदेखि बामपन्थीसँग नजिक थिएँ ।” जब नेपालमा महेन्द्रपछि वीरेन्द्र राजा भए तब रसिकको राजालाई हेर्ने दृष्टिकोण फरक भयो । “वीरेन्द्रले राज्यारोहण गरेपछि मलाई गीत लेख्न अनुरोध गर्नुभयो । उहाँको आज्ञा पाएपछि राजाको बारेमा गीत लेखेँ”, उहाँले भन्नुभयो ।

रसिक कलाकार सधैँ मध्यम धारको बाटो हिँड्नुपर्ने बुझेर राजाको गीत गाएको बताउनुहुन्छ । त्यसपछि कालान्तरमा राजासँग नजिक रहँदारहँदै इलामबाट राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट उम्मेदवार बन्न अनुरोध गरियो । शुरुमा त रसिकले आफू कलाकार भएको बताउँदै कुनै पार्टीबाट उम्मेदवारी नदिने अडान राख्नुभयो तर पार्टीको माथिल्लोस्तरबाटै अनुरोध गरेपछि रसिकले नउठेर धर नै पाउनुभएन । रसिक २०५१ सालको निर्वाचनमा इलामबाट चुनाव लड्न बाध्य हुनुभयो । त्यतिबेला रसिकले जित्ने सम्भावना त थिएन तर पछि आरोप चाहिँ प्रतिद्वन्द्वी नेकपा एमालेका झलनाथ खनाललाई हराउन उम्मेदवारी दिएको भन्ने लाग्यो ।

चुनावी परिणाम पनि त्यस्तै नै आयो । झलनाथ खनालले चुनाव हार्नुभयो भने कांग्रेसका बेनुपराज प्रसाईंले जित्नुभयो । तर रसिक भने आफू कसैलाई हराउनका लागि चुनावमा नउठेको प्रस्ट्याउनुहुन्छ । “मेरो साहित्य सिर्जना गर्दाको साथी हो उहाँ (झलनाथ खनाल)”, रसिकले थप्नुभयो, “म कसरी त्यस्तो गर्न सक्छु ।” त्यसपछि रसिकले राप्रपासमेत छाड्नुभयो ।

पीडैपीडाको जिन्दगी

धेरैलाई लाग्न सक्छ, रसिकको जिन्दगी साहित्य र सङ्गीतमा उहाँले पारेको छाप जत्तिकै चम्किलो होला तर त्यसको ठीक विपरीत उहाँको व्यक्तिगत जिन्दगी भने पीडैपीडाको भुङ्ग्रोमा फसेको छ । उहाँको जीवनका भोगाइ हेर्दा लाग्छ उहाँले के गुमाउनु भएन र ? सानैमा आमाको माया गुमाउनु पर्यो भने घरै छाडेर हिँड्न बाध्य हुनुपर्यो ।

बुबाले कान्छी आमा ल्याएपछि बुबाको मायाबाट समेत टाडिनु पर्यो भने कान्छा भाइले आत्महत्या गरे । माइलो भाइ माओवादी द्वन्द्वमा मारिए । साइँलो भाइ दुर्घटनामा बिते । एक्लो छोरो पनि बित्यो । श्रीमती पनि अस्वस्थ हुनुहुन्छ । अहिले रसिकको परिवारमा श्रीमती बुहारी र नातिनी मात्र छन् । नातिनीकै पढाइका लागि केही समय काठमाडौँ बसाइपछि भोजपुर पुग्ने योजना छ । “मेरो चञ्चल स्वभाव छ । एक ठाउँ बस्न सक्दिन”, रसिक भन्नुहुन्छ, “भोजपुरमै पनि दीर्घकालीन बसाइ नहुन सक्छ ।” रसिकले साहित्य र गायनबाट नाम मात्र होइन सम्मान पनि पाउनुभयो । उहाँले विसं २०२८ मा कविता महोत्सवमा प्रथम पुरस्कार, विसं २०३४ मा रेडियो नेपाल सङ्गीत प्रतियोगितामा उत्कृष्ट गीतकार, विसं २०२४ मा राष्ट्रिय युवा महोत्सवमा कथामा प्रथम पुरस्कार र २०६३ सालमा पद्मश्री पुरस्कार प्राप्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री