मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुन: प्रकाशित

 काठमाण्डौ ।पब्लिकेसन्स नेपालयले आफ्नो क्लासिक्स् शृङ्खला अन्तर्गत् २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्ध सँग्रह कोशीको कथा लाई नयाँ कलेबरमा प्रकाशित गरेको छ । प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले वि सं २०४६ मा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन

किताबका बारेमा दिवंगत लेखक मातृकाप्रसादका छोरा लेखक कमल कोइराला भन्छन्- ‘यो किताब केहि समय देखि बजारमा उपलब्ध थिएन । केही दशकपछि पुस्तकले पाठकसामु आउने बाटो भेटेकोमा मलाई एकदम खुशी लागेको छ । यो पुस्तकले कोइराला परिवारको व्यक्तिगत निर्वासनका बारेमा खुलासा गर्छ; त्योभन्दा पनि महत्वपूर्ण यसले कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका वासिन्दाहरूको कथा भन्नेछ । कोशी उतिबेला बिहारको श्राप थियो तर अब वरदान भएको कुरा उनीहरू नै बताउँछन् । कोशीमा धेरै पानी बगिसक्यो तर यी कथाहरू मानवीय दुःखको चित्रण र आशाको खोजीका निम्ति अझै कालजयी छन् । 

यस सँग्रहका नौवटा निबन्धहरू कोशीको किनार आसपास घुम्छन् र यदाकदा भारतसम्म पुग्छन् जहाँ परिवारसहित राजनैतिक निर्वासनका बखत लेखकको बाल्यकालको महत्वपूर्ण समय गुज्रेको थियो । सात सालका क्रान्तिताका नेपाली कांग्रेसका सुप्रीम कमाण्डर तथा क्रान्तिपछिको गैर राणा सरकारको पहिलो प्रधानमन्त्री मातृकप्रसाद कोईराला सोभन्दा अगाडीदेखी नै साहित्यकारका रूपमा परिचित थिए । प्रस्तुत पुस्तक कोशी वा पौराणिक कौशिकी नदीवरिपरिका विषयवस्तु र जातिउपर लेखिएका निबन्ध तथा प्रबन्धहरुको सँगालो हो । कतै अन्वेषणात्मक त कतै निजात्मक शैलीमा लेखिएका यी कथ्यहरूले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखी लिएर, वि स्ं २०११ सालको कोशी – सन्धी प्रकरणसम्मको विषयलाई समेटेका छन् ।

कोशी – सन्धी कोईरालाको राजनैतिक जीवनको सबैभन्दा विवादस्पद पाटो रह्यो । प्रवासमा होस् या स्वदेशमा, सधैं कोशी सन्निकट रहेका कोईरालाले यसको महत्ता र विभिषिका दुबै देखे । मातृकाप्रसाद कोईरालाद्वारा लिखित कोशीको कथा, समाजशास्त्रीय तथा राजनैतिक हिसाबले पठनीय छदै छन् , भाषा र वाङ्मयका दृष्टिकोणले पनि ओजपूर्ण छन् ।

नेपालय क्लासिक्स् अन्तर्गत् नेपालय पब्लिकेसन्सले प्रसिद्ध नेपाली लेखकहरूको अप्रकाशित वा आउट-अफ-प्रीन्ट साहित्यिक कृतिहरू प्रकाशित गर्दै आएको छ । यही शृङखला अन्तर्गत् हालसम्मनेपालयले ब्रह्म शमशेरको नेपालको महाभुकम्पलेखनाथ पौड्यालको कवि शिरोमणि रचनावली र मंजुलको सम्झनाका पाइलाहरू प्रकाशित गरिसकेको छ ।

कोशीको कथा नेपाली बजारका निम्ति रु. २९५ मा उपलब्ध छ । यो पुस्तक नेपालका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ । पुस्तकलाई ई-बुकका रुपमा थुप्रै डट कम (www.thuprai.com) बाट किन्न सकिने छ साथै अमेजनमार्फत् विश्वभर उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री