मंगलबार, मंसिर ९ २०७७ | Tue, November 24, 2020
नेपालको समय: ०१:३२ | UK Time: 19:47

आजै र राति के देखेँ सपना !

संस्मरण

सुरेन्द्र नेपाल श्रेष्ठ
२०७७ कार्तिक ११ गते १६:५३

आज भोलि सपनामा देखिएका कुराहरू खासै सम्झना हुँदैनन्। सपना देख्दादेख्दै भने ‘ओहो ! यो त कति राम्रो सपना देखें, सम्झिनु पर्छ, लेख्नु पर्छ’ जस्तो  हुन्छ । शायद  सपना देखेपछि व्युझिन्छु होला र यस्तो सोचिन्छ होला । कहिलेकाहीं डरलाग्दो सपना देख्दा व्यूँझिएर यो साँचो हो कि सपना हो भनेर उठेर धेरैपटक आफैँलाई छाम्ने गरेको छु । सपना रहेछ भनेपछि ढुक्कले लामो सास फेरिन्छ तर फेरि निदाउन भने हम्मेहम्मे पर्छ । मैले ‘मेरो आधा शताब्दी’ पुस्तक प्रकाशन हुनुको मुख्य कारण एउटा सपना थियो भनेको छु । त्यो धेरै वर्ष अगाडी देखेको सपना थियो । त्यतिबेला पुस्तक नै छाप्छु जस्तो त लागेको थिएन तर आफूले बिताएका ती दिनहरू सम्झिँदै कापीमा उतार्न शुरू गरेको थिएँ । हुन त मैले धेरै पहिलादेखि दैनिकी लेख्ने गरेको थिएँ । शायद सानैदेखि धेरै कामहरूमा हात हाल्दा विशेष त खर्च गरेको, सापटी लिने दिने गरेको, सहयोग लेवी उठाएको, वकालतको फि लिएको, हिसाब किताब सम्झिन गारो हुने हुँदा लेख्ने बानी बसेको थियो । अहिले ती पुराना डायरी हेर्दा प्राय हिसाबकिताब नै देखिन्छन् । बेलायत आएपछि भने  डायरी लेख्ने आदत मिनुलाई पठाउने पत्र लेख्नमा बदलियो । काम सकेपछि दिन भरिका गतिविधिहरु भोगाइहरु नबिराईकन लेख्थें र प्रत्येक हप्ता नेपाल पठाउँथे । त्यतिबेला हामी साथै नभए पनि चिट्ठी लेख्दा मलाई र पढ्दा मिनुलाई हामी सँगै छौं जस्तो अनुभूति हुन्थ्यो । त्यसो त हाम्रो विवाह हुने पक्का भएपछिका तीन महिनामा पनि यसरी नै चिठ्ठी लेख्ने गरेको  थिएँ । ती पत्रहरु हामीबीच माया प्रेमको संवाहक त थिए नै जीवन र जगतलाई विभिन्न माध्यमबाट बुझ्न पर्ने थुप्रै विषयहरू पनि सविस्तार लेखिएका थिए। ती सबै पत्रहरु घर सफा गर्ने क्रममा कामदारले फालेको कुरा सुन्दा सारै दुखी भएँ । अहिले पनि बेलाबखत मिनुलाई यो विषयमा किन सुरक्षित रूपमा नराखेको भनेर तोक्ने गरेको छु । बेलायतमा एक्लो हुँदा पोखिएका मनका भावहरू पढ्ने रहर थियो । ती दिनका भोगाईहरु हेर्न मन लाग्छ। तर सम्भव भएन ।
आज मैले सपनाको कुरा गर्नुको पछाडी पनि कारण छ । बिहान करिब पाँच बजे उठ्ने बेला भैसकेको थियो । राजेश हमालसँग अरु दुई जना नचिन्ने मान्छे थिए । म केही समय अगाडीदेखि त्यो घरमा गएको रहेछु। त्यहाँ केही अनाथ बालबालिकाहरु पनि बसोबास गर्छन् । यो अभियान शुरुमा हामी मिलेर नै सञ्चालन गरेका थियौं। वरिपरिबाट पालनपोषण हुन नसकेका बालबालिकाहरुलाई जम्मा गरेर हेरचाह गर्ने र उमेर पुगेपछि विद्यालय पठाउने काम हुन्थ्यो । ससाना बच्चाहरूलाई बाल मन्दिर पठाइन्थ्यो। केही समयपछि म त्यहाँबाट खै कता गएर अरु कुनै काम थालिरहेको थिएँ । त्यहाँ मलाई त्यति सन्तुष्टी मिलिरहेको थिएन । फर्केर पुरानो ठाउँ जान मलाई अप्ठ्यारो लागिरहेको थियो । तर एक दिन म फर्केर त्यहाँ गएँ । साना बालबालिकाहरुसंग कुराकानी गरेँ । सबैले राम्रो भएको राजेश बाले  हामी सबैको स्याहारसुसार गरिरहेको छ भनेर सुनाए । तपाईंलाई देख्न नपाएको धेरै भएको थियो कहाँ जानु भएको थियो ? टाढा बसेर पनि हामीलाई  माया गरिरहनु भएकोमा धन्यवाद हामी खुशी छौँ भनेको सुन्दा म छक्क परेँ । हैन म त त्यहाँ छोडेर गएपछि कसैसँग पनि सम्पर्कमा छैन । राजेश दाइलाई कहिलेकाहीं फोन गर्न मन लाग्थ्यो तर खै वहाँलाई सबै अभिभारा छाडेर म भागेको मान्छे कुन मुखले फोन गर्ने, के भन्ने जस्तो लागेर कहिल्यै फोन गरिनँ । मलाई बच्चाहरूको कुराले के भएको रहेछ उनीहरूले कसरी यस्तो कुरा गरे भन्ने कुरा बुझ्न मन लाग्यो । तर कसरी सोध्ने, कसलाई सोध्ने जस्तो लाग्यो ।
त्यतिकैमा एकजना मानिस हातमा पानी तताउने बिजुलीबाट चल्ने कितली लिएर आयो । त्यहाँ भएको पुरानो कितली बिग्रेकोले ग्याँसको चुलोमा नै पानी तताउने गरिएको रहेछ । नयाँ कितली देखेर सबै जना खुशी भए । ल ल सुरेन्द्र सरलाई  चिया खुलाउन पर्छ भन्दै एक जना अलि ठूलो बालिकाले पानी तताउन थाल्यो । कितली लिएर आउने मान्छे मैले चिन्दिनँ थिए उनले हत्तपत्त ए सुरेन्द्र सर तपाईं नै हो नमस्कार आराम हुनुहुन्छ कहिले आउनु भयो, विदेशबाट पो भन्छ । म झन् अचम्ममा परेँ । अघि बच्चाहरूले भनेको कुरा र यो अजनवी मान्छेले पनि  मलाई चिनेको  घटनाले म छक्क परेँ । खै किन हो मैले परिचय पनि मागिनँ। त्यतिकैमा दुवै हातमा प्लास्टिकको झोलामा तरकारी बोकेर अर्को  एकजना युवक आएर सीधै भान्सामा पस्यो । मैले खै त राजेश दाइ कतिखेर आउनु हुन्छ भनेर सोधेँ । खै फर्किने बेला त भयो आज दाइ बिहान बाहिर जानु हुँदा यो सबै कार्पेट फेर्न पर्ने खै कति टालटुल गर्ने भन्दै हुनुहुन्थ्यो शायद त्यसैको जोहो गर्दै हुनुहुन्छ होला आउनु हुन्छ अब भने। गजबको कुरा चाहिँ त्यो घर अहिले हामी बस्ने गरेको शहर स्लाओं को सबैभन्दा बढी चल्ने हामी पनि प्रायजसो जाने पब सन् एन्ड मुन वेदरस्पुनको माथिल्लो तल्ला थियो । म झ्यालबाट हेर्दै थिएँ । केही पत्रिका हातमा खेलाउँदै राजेश हमाल दाइ आफ्नो तालमा लम्किँदै बाटो काट्दै गरेको देखें । म त्यति नै बेला शौचालय छिरेँ । के छ केटा हो सब ठीक छ नि ? भान्टाभुन्टीहरु के गर्दै छन् ? कस्तो भयो स्कूल ? के पाक्दै छ आज ? भन्दै सीधा भान्सामा पसे जस्तो लाग्यो । ल हाम्रो कार्पेटको समस्या पनि समाधान भो । सुरेन्द्र जीले कति लाग्छ खर्च पठाई दिन्छु भन्नु भएको छ । अब एक दुई दिनमा नयाँ कार्पेट आउँछ ।  मलाई चिया खुवाउने बालिका पनि भान्सामा सहयोग गर्दैरहेछन् सुरेन्द्र सर यतै आउनु भएको छ बाबा भन्दाभन्दै म पनि भान्सामा पुगेँ । मलाई देखेर राजेश दाइ छक्क पर्नु भयो माथिदेखि तलसम्म हेरेर एकपटक औंलाले चश्मा चलाएपछि ए सुरेन्द्रजी पनि आउनु भएछ । कता बेपत्ता हो हाई हेल्लो पनि भएन त हाम्रो ? सब ठीक छ नि ?  भनेको सुन्दा सबैजना मुखामुख गर्न थाल्यो । मैले नै मौनता भंग गर्दै म नभए पनि मेरै नाम गरेको अर्को दयालु मान्छे हुनुहुँदो रहेछ बरु वहाँ चाहिँ कता बस्नु हुन्छ भनेर सोधें। वहाँ  मेरो मिल्ने साथी हो लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएको छ तर मेरो  पुन सम्पर्क भएको त्यति लामो भएको छैन ।
यो  हाम्रो काम बारे बताउँदा ए हो र कति राम्रो काम भएको रहेछ केही सहायता आवश्यक भए सम्पर्कमा बसौं भन्ने भयो । त्यसपछि निरन्तर सम्पर्कमा छु । अहिलेसम्म एउटा शर्तमा सहयोग गर्दै आएको छु । सहयोग त्यो पनि शर्तमा ? अनायास मेरो मुखबाट खुस्की हाल्यो । हो धेरै मान्छेहरु बिना शर्त सहयोग गर्छन् तर फोटो खिचेर सबैलाई सुनाउँछन् देखाउँछन् । कोही मान्छेहरु यस्तो पनि हुने रहेछ शर्त राखेर नै आफूले गरेको काम कसैलाई थाहा नहोस् भन्ने गर्छन् । मलाई पनि  हिसाबकिताबको रेकर्ड राख्न सधैं अजनवी किन राख्ने ? बरु यस्तो महान काम गर्न उत्प्रेरणा दिने शुरुको अवस्थामा त्यति धेरै मेहेनत गर्नु भयो . त्यसैले तपाईंकै नाम राखे यी बाल बच्चाहरूले पनि देख्न नपाए पनि सम्झिरहने त छन् नि भन्ने जस्तो लाग्यो । अनि ती साथीले जे जति सहयोग गर्नु भो त्यो सबै तपाईंको नाममा राखेको छु । म निशब्द भएँ । बोल्ने कुनै शब्द बाँकी रहेन । आँखाबाट बलिन्द्र धारा बगिरह्यो । त्यो अग्ल्लो मान्छेको बलिया हातहरूले मलाई अंगालो हालेको अहिलेसम्म पनि तातो महशुस भैरहेको छ । ल अब खाना खानु पर्छ भनेर भान्से भाइले भनेपछि  मात्रै हामी छुट्टियौं । त्यसपछि पनि हामी बीच त्यति धेरै कुरा भएन । म सधैंको लागि त्यही घरमा बस्ने निधोमा पुगेँ ।
कामको लागि राखिएको अलार्मले व्युँझे । उठ्ने मन थिएन तर काममा जान पर्ने बाध्यता थियो । काम सजिलो छ त्यसैले यो सपना पनि बिर्सेला कि भनेर लेख्न बसेँ । एकै बसाईमा सकियो ।
अहिले सम्झिरहेको छु किन राजेश हमाल नै देखें हुँला ? वहाँ लन्डन पटकपटक आउँदा भेट मात्रै हैन पूरा दिन संगै बिताएको त हो तर आजकाल सम्पर्क नभएको धेरै भैसकेको थियो। कतै वहाँले  थुप्रै बालबालिकाहरूलाई थाहै नदिई सहयोग गर्दै आउनु भएको त छैन ? किन यस्तो सपना देखेँ होला ? सम्झिने प्रयास गरेँ ।  हिजो बेलुकी मात्रै श्याम कार्की भाइले दाइ तपाईंको किताबको ५० पाउण्ड हालेको छु अलि ढिला भयो माइन्ड नगर्नुस् है भन्दै अब यो कोरोना हटेपछि एउटा राम्रो कार्यक्रम गरेर लक्ष्मी प्रतिष्ठानको लागि अलि सहयोग गर्नु पर्छ है भन्दै थियो । मैले पनि ए हो नि यसपाली त  सामूहिक दशैं मान्न पनि सहयोग उठाउन पाइएन। धेरै भयो यसबारे त्यति ध्यान दिन नपाएको हो अब केही गर्नु पर्छ भनेँ । शायद ती दूरदराजका चेपाङ बालबालिकाहरुले सम्झिदै गर्दा मैले यस्तो सपना देखेको त हैन ? भन्ने लागेको छ ।
अस्ति भर्खरै विष्णु गौतम जीसँग कुरा हुँदा यो लक डाउनले त कान्दामा सबै ध्वस्त भएछ । हाम्रो छात्रावास विद्यालय त जंगल जस्तो पो भएछ । ओड्ने ओछ्याउने सबै फेर्नपर्ने छ । अब दशैं सकिने बित्तिकै त्यहाँ बसेर सबै मर्मत सम्भार गर्न पर्ने छ । खर्च पनि राम्रै हुने देखियो भन्दै हुनुहुन्थ्यो । यो सपनाले फेरि एकपटक कान्दा रुपान्तरण अभियानलाई सम्झाएको छ । अहिलेसम्म सहयोग गर्दै आउनु भएका सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छौं । अब फेरि हामीले सहयोग गर्ने दिन आएको छ । सहयोग गर्न चाहनुहुनेले निम्न अनुसार वहालाई नै सम्पर्क गर्न सक्नु हुनेछ।
बिष्णु गौतम
Bishnu Gautam
अध्यक्ष लक्ष्मी प्रतिष्ठान
 ईमेल;- [email protected]
 फोन;- 4492439 mo ;- 9851171470
बैंक डिटेल ;-NEPAL INVESTMENTBANK LTD BATTISPUTTALI,KATHMANDU
Ac NO: 01902050250184
 Swift code:NIBLNPKT
Account holder :Laxmi Pratisthan

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक