शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: ००:४४ | UK Time: 19:59

भारतीय मुलुकमा हामी नेपाली भाषीहरु

यात्रा संस्मरण

मनु ठाडा/ रत्न काम्वाङ
२०७७ असोज २३ गते ८:१६

हामी दुई साथी, दुवै जनाको एउटै रुचि नयाँ ठाउँ घुम्ने र सामान्य फोटोग्राफीमा रमाउने । हामी संगै नबसे पनि प्राय दैनिकजसो विभिन्न माध्यमबाट कुराकानी भइरहन्छ । सिरियस गफ नभए पनि सोसियल मिडियामा आउने मिमहरु पठाउने, एकले अर्कालाई उडाउने, इन्स्ट्याग्राममा भेटिएका सुन्दर ठाउँहरु नभए आफू नपुगेका तर साथीहरुले घुम्न जान सुझाएका ठाउँहरुको फोटोहरु आदानप्रदान गर्ने चलिरहन्छ । यसै क्रममा गतसाल यही भदौतिरको एक साँझ हुँदो हो । हामी यसै कुरा गर्दै थियौं । दुवै जना अफिसको कामले दिक्क भएर कहिँ कतै घुम्न जाने योजना बनाउँदै थियौं । हाम्रो घडीले रातको लगभग १० बजाउँदै थियो । हामी म्यासेन्जरमा विभिन्न ठाउँको फोटाहरु पठाउन मस्त रह्यौं। बेलाबेला हाम्रो यात्राका गन्तब्यहरु फेरि रहन्थे यद्यपि सिक्किम, रारा ताल, मनाङ, मुस्ताङ, छो रोल्पा प्राय हाम्रो घुम्न जाने नामको लिस्टमा परिरहन्थे । यतिकैमा साथीले यो पटक दशैंको विदामा घर जाँदा सिक्किम घुम्न जाउँ भनेपछि दुवैको सहमतिमा हाम्रो सिक्किम यात्राको योजना तय भएको थियो । धेरै पटक योजना बने पनि कहिले कसको, कहिले कसको समयाभावका कारण प्राय सफल हुने सम्भावना कमै हुन्थ्यो । त्यो दिनको घुम्न जाने कुराकानी त्यही सकिएको थियो । यस पछिका केही दिनहरु हामी दुवै आफनो आफनो काममा नै व्यस्त रह्यौं । दशैं लाग्यो । हामी फरक फरक मितिमा घर गयौं । यसपटक दशैंमा घर जानुमा परिवारलाई भेट्न पाउनुको खुशी एकातिर थियो भने अर्कोतिर सिक्किम घुम्न जाने खुशी भने एक कुनामा लुकेर बसेको थियो । जुन बेला बेला टुप्लुक्क निस्किन्थ्यो । तर फेरि अरु बेलाको जस्तै यो पटकको योजना पनि पूरा नहोला कि भन्ने डरले अरुसाथीहरुलाई सुनाएनौं ।

दशैँ नजिकिदै गर्दा एक खालको उल्लास त आउने नै भयो । हामी त्यसैमा रमाउँदै थियौं । अचानक अस्टमीको दिन आफन्तको देहान्तले टीका लगाउन नमिल्ने खबरले एक किसिमको खल्लोपन परिवारमा छायो । सधै झैँ हाम्रो घरबाट जमरा लगेर टीका लगाउने छिमेकी काकीले पनि खल्लो मानिन् । पछि दशमीको दिनको लागि खै कताबाट जुटाइन् थाहा भएन । हामीले भने राखेको जमरा पनि गाईलाई दियौं । टीका नभए पनि वर्ष दिनको चाडपर्व हो । पारिवारिक भेटघाट चाहिँ सबैले गर्ने निधो गर्यौं । त्यहीअनुसार खानपिन र भेटघाट सदा झैँ भयो । हाम्रो परिवार पहिलेदेखि नै ठूलो भएकोले हामीलाई पनि अन्य चाडमा भन्दा दशैँमा ठूलै जमात जम्मा हुने बानी लागेको छ । त्यो भएन भने चाडपर्व नै खल्लो लाग्छ । आफन्तहरुमा, साईनोमा फुपू र बैनी पर्नेहरुको विवाहको पहिलो टीका भएकोले वहाँहरुसंग पनि भेटघाट हुने अवसर मिल्यो । दशैंको चहलपहलमा व्यस्त रहँदा साथीसँग पनि खासै कुराकानी भएको थिएन ।

टीकाको भोलिपल्ट साथीले अचानक फोन गरेर ‘हामी सिक्किम कहिले जाने हौ’ भनेर सोधेपछि अब चाहिँ सिक्किम गइन्छ कि भन्ने मनमा एक खाले आश पलायो । घरमा पाहुनाहरु हुँदाहुँदै आफू घरबाट तुरुन्त निस्कन नमिल्ने भएको कारणले टीकाको चौथो दिनमा जाउँ भन्ने निधो गर्यौं । मैले घर आएर पनि घुम्न जाने योजना सुनाएकै थिइनँ । साथीको निधो भए पछि मात्र सुनाएँ । अब अचानक म सिक्किम जाने कुराले घरमा सबैलाई अवाक् बनायो । दशैंको दिनमा घुम्न जाने कुराले होला आमाले निन्याउरो मुहार लगाउनु भयो । यात्रामा हुने सुरक्षाको कुराहरुमा प्रश्न उठेपनि अध्ययन अनुसन्धानको लागि हामी दुवै जना बाहिर एक्लाएक्लै धेरै ठाउँ हिँडिरहने भएकोले गर्दा नजाऊँ भन्न चाहिँ कसैले सक्नु भएन । तर वहाँहरुको मनमा अशान्ति फैलिएको भने प्रस्ट देखिन्थ्यो । घरमा दुई/चार दिन भित्रमा सिक्किम घुमेर फर्किने बाचासहित साथीसँग काँकडभिट्टामा भेट्ने योजना बनायौं । हामी आफू आफूले आफ्नो आफ्नो तरिकाले भारु पैसाको जोहो पनि गर्यौं । एक जनाले काकीसँग र अरुसँग साट्यौं, एक जनाले धरानबाट साटेर ल्याउने सल्लाह भयो । हामीमध्ये एकजना धनकुटाबाट आउनु थियो भने एक जना झापामै । हामीलाई सिक्किम पुग्न हतार त थियो नै तर त्यो भन्दा पहिला एक जना झापा पुग्नु थियो । अर्कोले धनकुटाको साथीलाई कुर्नु पनि थियो ।

साथी धरानबाट बिहानको पहिलो गाडीबाट नै आए पनि काँकडभिट्टा पुग्दा बिहानको ९ बजेको थियो । त्यो दिनको गन्तब्य सिक्किम नै भएकोले खाना काँकडभिट्टामा नै खाएर जाने निर्णय गर्यौं । बसपार्कको नजिकैको होटल छिरेर खाना खायौं तर खाना खाईन्जेलमा सीधै सिक्किम जाने गाडी छुटेछ । अब हामी हतासिएर यताउता सिक्किम जाने अरु गाडी सोध्न थाल्यौं तर सबै बिहान नै गएको वा भर्खर मात्र हिँडेको थाहा भयो । टिकट काउन्टरमा गएर अनुरोध गर्दा गाडीको स्टाफले अन्तिम गाडी छ तर सीट सबै प्याक भइसक्यो, कुनामा बसेर जाने भए एउटा सिट खाली छ भने । हामी निरास हुदै बिकल्प खोज्नतिर लाग्यौं । अब हामीसँग २ वटा बिकल्पहरु मात्र बाँकी थिए । एक सिक्किमसम्म नै गाडी रिजर्व गर्ने, अर्को सिलगुडीसम्म गएर त्यहाँदेखि सिक्किमको अर्को गाडी खोज्ने । गाडी रिजर्बकाे लागि बुझ्दै गर्दा अचानक एउटा सानो माईक्रो बस ‘सिलगुडी, सिलगुडी’ भन्दै हामी नजिकै आयो । हामीलाई रिजर्वमा जानभन्दा त्यही दोश्रो बिकल्प नै ठिक लाग्यो । अब धेरै नसोचीकन गाडीमा चढ्यौं । गाडी अगाडी बढेपछि माईक्रो ड्राईभरलाई सिक्किम स्टेसनमा ओराली दिनु अनुरोध गर्यौं । कुराकानी गर्दै यात्रा अगाडी बढ्यो । सिलगुडीको सिटी सेन्टर पुग्दा हामी दुवैले विगत सम्झ्यौं । हामी दुवै जना २०१२ को सेप्टेम्बर महिनातिर होला त्रिविविको एउटा अनुसन्धानको क्रम झापा पुग्दा काम सकाएर थोरै फुर्सद निकालेर सिलगुडी जाने मौका मिलेको थियो । तर समयको अभावले गर्दा अरुतिर डुल्न पाएको थिएनौं । हतार हतार सिटी सेन्टरसम्म मात्र पुगेर हेरेर फर्केका थियौं । करिब आठ वर्ष पछी त्यस ठाउँमा पुग्दा विकासले ल्याएका परिवर्तनहरु निल्यादै थियौं । पहिलो पटक हामी जाँदा अलि साना साना गल्ली फोहोर, बाटो छेउछेउमा रहेका साना साना धेरै घरहरु आवाद भएछन् । फराकिला चिल्ला बाटोहरु बनेछन्, छेउछेउको बिरुवाहरु पनि ठूला ठूला, धेरै फूलहरु फूलिरहेका । पहिलाभन्दा अझै सुन्दर र मनमोहक ।

सिलिगुडी बजार पुग्नै लागेका थियौ, बजार पुग्नु भन्दा १० मिनेट अघि हामीसँगै चढेको एक जना दिदीको झर्ने ठाउँ आइपुगेछ । आफ्नो बच्चासँग गाडीबाट ओर्लिई सकेपछि उनिहरुको गाडीभाडामा विवाद भयो । सायद उनी नेपाल–इन्डिया ओहोरदोहोर गरिरहने भएकोले गाडीभाडाको दर पनि राम्ररी नै थाहा भएकोले गर्दा उनले नै जितिन् । उनीहरु बीचको विवादले हामीलाई पनि मनमा चिसो पस्यो । हामीले पनि गाडीभाडा सोध्यौं, उसले एकजना बराबर भारु २ सय बतायो । १० मिनेट अघि गाडीबाट झर्दा उनले १०० रुपैयाँ तिरेकी थिइन् । ती दिदी ओर्लिएकी ठाउँको दुरी र पैसा हिसाब गर्यौं ।  हाम्रो र उसको बिचमा फेरि विवाद सुरु भयो । हामीभन्दा ५ मिनेट अघि झर्नेहरुले पनि भारु १२० रुपैयाँ प्रति व्यक्ति भाडा दिएको हाम्रै आँखाले देखेका थियौं । साथीलाई यो चित्त बुझेकै थिएन तर घुम्न जाँदा धेरै किचकिच नगरौं भन्ने सल्लाह गर्यौं र भारु ५ सयको नोट निकालेर दियौं । खलासीले चानचुन पैसा नभएको भनेर गाडी रोकेर तुफान हिँड्यो र त्यो भीडभाडमा हरायो। हामी एक अर्कालाई हेराहेर गरेर उसको पछिपछि लाग्यौं। केही बेरमा बल्ल उसलाई भीड भित्र देख्यौं तर पैसा साट्न हिंडेको मान्छे, उ त अरु कसैको ब्याग बोकेर हिँड्दै रहेछ । हामीभित्र उप्रति झन् धेरै रिस र शंका उब्जेर आयो । उसको त्यो व्यवहार देखेर साथीले आफ्नो ब्यागको धेरै भित्र पटटी भएको पर्स कोट्याएर एक दुइ रुपैयाँ खोजेर भए पनि उसको भाडा पुर्याइ दियौं र हाम्रो ५ सयको नोट फिर्ता मागेर ऊबाट बल्ल छुटकारा पायौं ।

अब हामीले सिक्किम जाने बस स्ट्यान्ड खोज्नु थियो । हुनत हामीलाई सिक्किमको गाडी लाग्ने ठाउँतिर नै छोडिदिए पनि बसपार्क जस्तो लाग्ने ठाउँमा कुनै पनि बोर्ड नदेखेकोले गर्दा अलमलमा पर्यौं । त्यहाँ नेपाली जस्ता देखिने सिक्किम र दार्जिलिंगतिरका नेपाली भाषीहरु प्रशस्त भेटिन्थे तर सबै आफ्नो हतारमा हिँडिरहेकोले कसैलाई पनि सोधेनौं । सिलगुडी आइरहने आफन्तहरुलाई फोन गरेर सोधौं भनेपनि बोर्डर कटेपछि फोन पनि नचल्ने भएकोले बस स्ट्यान्ड खोज्न एकै ठाउँमा पटकपटक ओहोरदोहोर गर्यौं । बल्ल एक जना गाडीको मान्छेलाई साथीले भेटेर सोध्दा रम्फोकसम्म मात्र पुर्याउने कुरा गरे तर हामी दुवै जनाको पहिलो पटकको यात्रा भएकोले त्यो रम्फोक कहाँ हो भन्ने थाहा भएन । त्यहाँ बस्नको लागि अरु होटेल पाउँछ कि पाउँदैन भन्ने समेत थाहा नभएकोले त्यो गाडीमा जाने हामीलाई आँट नै आएन । हामी मध्येको एकजना झापाको र सानैदेखि सिक्किमबाट आफन्तहरु आउजाउ सजिलै गर्ने भएकोले हामीले मानसपटलमा सिक्किमलाई कति नजिक र सजिलो ठानेका रहेछौं भन्ने कुरा बल्ल थाहा हुँदै थियो । वास्तविकतामा सिक्किम नेपाल होइन भन्ने कुरा थाहा हुँदै थियो । हुनत हामी दुवै जना नेपालका धेरै जिल्लाहरु एक्लै एक्लै घुमेका थियौै । अझ हामीमध्ये एकजना त विदेश पनि एक्लै घुमेर आइसकेको थियो । त्यही आत्माविस्वासले घुम्न हिँडेका थियौं हामी तर सिक्किम जाने गाडीको स्टेसनसम्म पनि पत्ता नलगाउँदा सधैंभन्दा फरक ठाउँमा जाँदै गरेको महसुस हुँदै थियो । एकै ठाउँमा ओहोरदोहोर गर्दा दुवै जना थाकिसकेका थियौं । साथीले फेरि केही गाडीका ड्राईभरहरुसंग कुरा गर्दा बल्ल उनीहरुले सिक्किम जाने गाडी भएको ठाउमा पुर्यायो । त्यतिबेला सम्ममा दिनको २ बजिसकेको थियो । बल्ल बल्ल सिक्किम जाने गाडी पाएपछि त्यहाँ पुगेर होटेल पाइहालिन्छ राति नै भए पनि भन्ने कुराले हामीलाई थोरै राहत मिलेको थियो । तर जिपभित्र पस्न मात्र लाग्दा यो गाडी त जाने हैन अर्कामा चढ्नुस् भन्दै अर्को गाडीमा चढाए । सधैं गाडीमा यात्रा गर्दा दिक्दारी लाग्ने शब्द नै “यो अहिले जाँदैन झर्नुहोस्, अर्कोमा बस्नुहोस, त्यसमा हैन यसमा जानु होस्” थियो। जबकी उनीहरुलाई निश्चित रुपमा थाहा हुन्छ कुन गाडी कति बजे कहाँ जान्छ भनेर । गाडीमा काम गर्ने मान्छेहरुको बानी होला रमाईलो गर्ने, तर हामी चढ्नेलाई दिक्दारी ।

पहिलो गाडीमा २ मिनेट बसाएर फेरि यसमा केही समस्या आयो । ‘यो भन्दा अगाडी जाने गाडी अर्कै हो त्यसमा बस्नुहोस’ भन्दै दोस्रो गाडीमा लगे । हामीलाई अगाडीको सिटमा बस्न लगाए । पछाडीको ८ वटा सिट कलकत्ताबाट आएको एकै परिवारले भरिएको रहेछ । गाडी चढेर आधा घण्टा बसिसक्दा पनि गाडी गुड्ने छाँटकाँट थिएन । ड्राईभरको कागजपत्र उसले घरमा छोडेको रहेछ र उक्त कागजात लिएर आउने मानिसलाई कुरिरहेको रहेछ । सिलिगुडीबाट ग्यान्टोक सम्मको गाडीभाडा भारु ४०० प्रति व्यक्ति तिरेर बसेका थियौं । हामीले अन्यत्र बुझ्ने मौका पनि पाएनौं । त्यसैले सस्तो वा महंगो हामीलाई केही थाहा भएन । बल्ल बल्ल गान्टोकको गाडी पाएकोले पनि हामीले चुपचाप तिरेका थियौं । गाडीमा एति धेरै मानिस आउँथे । ड्राईभरको सिटमा बस्थे, गाडी चेक गर्थे, गाना बजाउँथे, एकछिन हल्ला गर्थे फेरि निस्केर जान्थे । गाडी स्टार्ट नहुन्जेल को ड्राईभर हो, को खलासी, को एजेन्ट केही थाहा पाएनौं । ड्राईभरजस्ता लाग्ने चार/पाँच जना त्यही बसेर उनिहरुले नै सिक्किम लैजाने जस्तै गफ दिन्थे र निस्केर जान्थे । जति पटक उनीहरुले गाडीको इन्जिन स्टार्ट गर्थे, हामीलाई यात्रा सुरु हुने आशा पलाएर आउँथ्यो । तर एकै छिनमा उनीहरु झरे संगै हाम्रो आशा पनि पत्झड झैं झर्थे । गाडीको सिटमा बसेर कुर्दा कुर्दा पट्यार लागेर होला साथीले उनीहरुसंग कुरा गर्न थाले । गाडीमा काम गर्ने न परे, उनिहरुलाई कोही केटीहरुले बोलाइ दिदा संसार जितेको महशुस गर्दै झ्यालमा आएर कुरा गर्न थाले । राम्रोसँग सोधेको कुरामा पनि जिस्किन्दै उरन्ठेउलो जवाफ दिन्थ्यो । हामीमध्ये एक जना चुपचाप बसेको देखेर चस्माको निहु गर्दै जिस्काउने, लुगाको निहु गरेर जिस्काउने गरे । त्यो व्यवहारले झन् दिक्दारी बढाएको थियो । यस्तो व्यवहारले जहिले पूरै ठाउँको बारेमा सोच्न बाध्य गराउने रहेछ । उनीहरुको व्यवहारले हामी नेपाली भाषी एकै ठाउँको नभइ विदेशी बाहिरियाको संकेत गराइरहेको थियो । उनिहरु नेपालीमा त कुरा गरिरहेका थिए, उनिहरुको पुर्खा नेपाली नै भए पनि अहिले उनीहरुको व्यवहारले हामीलाई विदेशी नागरिकमाथी गर्ने व्यवहार दर्शाए झैं लाग्दै थियो । धेरै हदसम्म नेपालीहरुले विदेशीलाई राम्रै व्यवहार नै गर्दछन् तर त्यो व्यवहार अलि अपाच्य नै लाग्यो । सायद सिलिगुडीबासी नेपाली भाषी युवाहरु त्यस्तै हुन्छन् की ? सायद उनीहरुले आफ्नो सिक्किमको महिलाहरुसँग पनि त्यसरी नै कुरा गर्छन् कि थाहा भएन । वा उनिहरुको व्यवहारमा उनिहरुको पेशाको दोष थियो कि वा रास्ट्रिय विभेदीकरण । जे भए पनि अन्तिम कारणलाई नै मुख्य मान्दा ठिक होला जस्तो लाग्यो । उनीहरुको यो व्यवहारले नेपालबाट आएका हामी र नेपलाीभाषी भारतीय नागरिक उनिहरुको पहिचान देखिएको थियो ।  त्यो कुराको बारेमा हामी साथी साथी बीच कुरा भएन ।

करिब डेढ घण्टाको पर्खाईमा बल्ल बल्ल ड्राईभरको कागजपत्र आयो । गाडी स्टार्ट भयो बल्ल थाहा पायौं अघि देखि रक्सि ठ्वास्ठ्वास्ती गन्ध आउने व्यक्ति नै हामीलाई सिक्किम पुर्याउने ड्राईभर रहेछ । गाडी स्टार्ट हुनासाथ हामीले एक आपसमा हेराहेर गर्याैं तर केही बोलेनौं । हामी दुवै जना ड्राईभरसंगको अघिल्लो सीटमा बसेका थियौं । सिक्किम जाने बाटो हामीले युटूवमा हेरिसकेका थियौं । यता ड्राईभरले मदिरापान गरेर गाडी चलाइरहेको थियो । हामीसँग बोल्ने शब्दहरु थिएनन् त्यसैले मनलाई मनमनै सम्झायौँ “उसैको गाउँ हो, सधैँ यसरी नै चलाउँदो हो । त्यसैले हामीलाई कसो नपुर्याउला” । गाडी अगाडी बढिसकेको थियो । राति नै भए पनि कहिँ त पुगिन्छ भन्ने लाग्यो ।  हामी दुई जनाको फरक-फरक बानी थियो, एक जनालाई बोल्दै यात्रा गर्नु पर्ने एकजना कसैसँग विशेषगरी अपरिचित ब्यक्तिसँग नबोली बाहिरी सुन्दरतासँग हराउने । यात्रा सुरु भएपछि हामीभन्दा पछाडीको सिटमा बस्ने यात्रुहरु एकै परिवारको भएकोले उनीहरु एक आपसमा कुरा गरिरहेका थिए । यात्राको क्रममा आउने ठाउँहरुको बारेमा ड्राईभरले बताउँथे । केही केही साना शहरहरुको नाम अनौठो थियो । बाँदरहाट । ओहो, छिमेकी दिदी र फुपूहरु विवाह गरेर आएको ठाउँ रहेछ साथीलाई खुसुक्क सुनाउँथे ।

यात्राको क्रममा कुराकानीमा ड्राईभरले हामी पहिलोपटक आएको हो भनेर पुन कन्फर्म गर्न चाहेको थियो । किनकि यो कुरा उनीहरुले सुरुमा हामी गाडी चढ्ने बेला नै पत्ता लगाएका थिए । उसले हामी नेपालबाट आएको थाहा पाएपछि उसले घुमेका नेपालका केही शहरहरु र कामको अनुभवको बारेमा पनि बतायो । कुराकानीको क्रममा उसले किन यताबाट चढेको, किन काँकडभिट्टाबाट नै गाडी नचढेको जान्न चाह्यो । यति धेरैबेरदेखि कुराकानी भएकोले हामीले काँकडभिट्टामा भएको घटना सजिलै सुनाइ दियौं । अबको यात्रामा हामी नेपाली भएकोले रम्फोक औपचारिक रुपमा सिक्किम प्रवेशको अनुमतिपत्र लिनु पर्छ भन्ने कुरा निस्कियो । फोटो र नागरिकताको फोटोकपी छ कि छैन भनि उसले सोध्यो। हामी दुवैले झोला खोतल्यौं । हामी खासै नागरिकता बोकेर नहिँड्ने भएकोले शंका लाग्यो । फोटो होला तर फोटोकपी नहोला भन्ने बित्तिकै उसले कुरालाई अर्काे मोडमा मोड्यो । पास लिने समय लाग्ने भएकोले हामीलाई नकुर्ने कुरा निकाल्यो । उसको गाडीमा अन्य भारतीय नागरिक भएकोले उनिहरुलाई त्यो प्रवेश अनुमति लिन नपर्ने र उनिहरुलाई प्राथमिकतामा राखी हामी दुईलाई रम्फोकसम्म मात्र लैजाने अडान राख्न थाल्यो । त्यहाँदेखि अर्को गाडीहरु जति पनि पाइने भएकोले अर्काे गाडीमा चढेर माथि आउन आग्रह गर्यो । हामीले गान्टोक सम्मको पूरा भाडा तिरिसकेको हुनाले एक छिन कुर्न अनुरोध गर्याैं। तर त्यो पास लिन समय लाग्ने हुँदा हामीलाई कुर्न नसक्ने बताए । उसको यस्तो कुराले हामीलाई पनि रिस उठ्यो र हाम्रो भाडा घटाउन माग गर्यौं । तर भाडा फर्काउने कुरामा जवाफ नदिने र आफू कुर्न नसक्ने कुरामा जोड दियो । त्यतिबेला सम्ममा सिक्किमको हाम्रो यात्रा आधा मात्र भएको थियो ।

केहीबेरको मौनता पछि फेरि कुराकानीको क्रममा उसले पुर्ख्यौली घर इलाम भएको समेत बतायो । बेला –बेला रिजर्वमा काठमाडौँ र पोखरासम्म पुगेको बताउँदै थियो । उसले आफू नेपालको भन्दाभन्दै पनि उसलाई केही ‘फेभर’ नै माग्छौ झैँ गरी उसको कुरामा सचेत भइरहन्थें । उसले एक ठाउँमा पुगेर बागडोगराको एयरपोर्ट पनि देखायो तर उसको रम्फोको विषयले उसको कुराहरु खासै चाखलाग्दो हुन छोडिसकेको थियो । उसको त्यो गैह्रजिम्मेवार र उत्तरदायित्वविहीन कुराले खुब चित्त दुख्यो । जब कोही यात्रु उसको गाडीमा पूरा भाडा तिरेर बसिसकेपछि उनीहरुलाई निश्चित गन्तब्यसम्म पुर्याउने जिम्मा उसको हुन्छ । तर यहाँ त उसले न त गाडी भाडा घटाउने कुरामा सहमति जनायो न त त्यो प्रवेश अनुमति लिउन्जेल कुर्ने नै । जबकी उसलाई हाम्रो सिक्किमको यात्रा पहिलो हो भन्ने स्पस्ट थाहा थियो। उसले माथि गएर हेरौँ, त्यहाँ कस्तो हुन्छ भन्दा मनमा झिनो आशा चाहिँ पलाएको थियो । यो यात्रानुभवले अन्य यात्राको क्रम पनि पुर्नजीवित बनाएर ल्याउँदै थियो । एकपटक अनुसन्धानको क्रममा प्युठान जाँदा नारिकोट भन्ने ठाउँ थाहा नभएर हराइ गुल्मीको सिमाना पुग्दा खानेकुराको सामान बोक्ने गाडीको दाइले एक घन्टा तलसम्म फ्रीमा ल्याई दिएर खानाको लागि घरको दिदीलाई भनेर हामीलाई छोडेर गएको थियो । उनै गाडी लाइनमा काम गर्ने केही ब्यक्तिले त्यसरी मानवता देखाएको थियो भने यहाँ त मानवता नै हराएको थियो । हामीले उसले भनेको जति भाडा तिरेर जाँदा पनि हामीलाई अलपत्रै छोडेर जाने कुरा हुँदै थियो ।

हामी रम्फोक पुग्दा लगभग साढे ४ बजेको हुँदो हो । पुल कट्ने बितिकै रम्फोक यही हो अब झर्नु होस् भन्दा हामी झसंग भयौं । त्यहाँ पास लिने मानिसहरुको पर्खाइमा अन्य गाडी नदेखेकोले हामीले फेरि पनि एक छिन पर्खिन अनुरोध गर्यौं । तर उसले पर्खिन नसक्ने कुरा गर्यो । ‘त्यसोभए हाम्रो पैसा दिनु’ भन्दा साथीले ‘छोडे दे’ भन्यो । रिसले सिक्किम आउने निर्णय नै किन गरे भन्ने मनमा लाग्दै गयो । सित्तैमा केही मागेका थिएनौं । उसले भने अनुसार नै पास बनाउन समय लाग्ला भनेर झटपट पास बनाउन गयौं । हामी नेपाली हौं भनिसके पछि त्यहाँको कर्मचारीले कति पनि ढिला नगरी सबै काम गरिदिए। हामी दुई जना भएकोले अझ उनिहरुले नै एक जनाले फोटोकपी गरेर लेराउनु एक जनाले फर्म भर्न सुझाए । मानौं १० मिनेट भित्रमा सबैकाम फटाफट सकियो । हामी आफैं पनि आश्चर्य चकित भयौं कि दश मिनेटमा सकिने रहेछ काम त्यो मानिसले किन हामीलाई यस्तो ठग्यो ।

अब हामीलाई दोस्रो गाडी कहाँबाट पाउछ भन्ने पनि थाहा थिएन। त्यहाँ अफिसमा सोध्दा ‘यहीँ माथी बजार छ त्यहाँ गाडीहरु पाइन्छ’ भनेका थिए ।  हिँडेर निकै माथि गएपछि मात्र वेलकम टु सिक्किम भन्ने गेट देख्यौं । अनि मात्र हामीले गाडीहरुको लाईन देख्यौं । मनमा थोरै खुशी पलायो । यतिबेला सम्ममा धेरै कुराको अनिश्चितताले गर्दा हामीले अनलाईन होटेल बुकिंग नगरेकोमा पछुतो लाग्न थालिसकेको थियो । भारतीय भूमिमा भेटिने नेपाली भाषीमाथि विश्वास हराउँदै गइरहेको थियो । सिलिगुडीदेखि त्यहाँसम्म पुग्दा यताका सबै मानिसहरुको व्यवहार यस्तै हो कि भन्ने शंकाहरु जताततै छरिन थालेका थिए । साँझ पनि पर्न लागेको, त्यहाँदेखि हाम्रो अन्तिम गन्तब्य कति टाढा छ भन्ने पनि थाहा नभएकाले हामी एक प्रकारको तनावमा थियौं । रम्फोकको गाडी स्टेसनमा गाडीको लाम देखेर एक मन हर्षित हुँदै थियो । हामी ग्यान्टोक जाने गाडी खोज्न थाल्यौं । फेरि जति जनालाई सोध्छौं ‘भर्खर गईसक्यो’, ‘यो त सबै अरु ठाउँ जाने मात्र हो’ भन्ने उत्तरले हामी दुवैलाई डब्बल पीडा थपिदिएको थियो । जुन गाडीलाई सोधे पनि ‘ऊ परको गाडीलाई एक पटक सोध्नुस् न’ भनेर एक अर्कालाई देखाउने ड्राईभरहरु पनि कम थिएनन् त्यहाँ। हामी फेरि उही सिलिगुडीकै तरिकाले ग्यान्टोकको गाडीको खोजीमा यता उता भौतारियौं । यतिकैमा हामी धेरै भौतारिएको देखेर ‘रिजर्वमा जानुहोस्’ भनेर सुझाउन थाले । केहीबेर पछी हामी जस्तै ग्यान्टोकको गाडीको खोजीमा रहेका ४/५ जना भेला भयौं । तर ड्राईभरले सधैंको भन्दा डब्बल भाडा लिने सर्तमा मात्र गाडीको ढोका खोल्न तयार भयो । ग्यान्टोक जाने अन्य यात्रुहरु पनि रहेछन् । ढोका खोलिसक्दा सिटको लागि तँछाडमछाड भयो र सिट भरियो।  साथी र म गाडी खोज्न छुट्टिएकाले ग्यान्टोक जाने गाडी भेटिँदा पनि एकले अर्कालाई खोजि हिँड्दा संगैको सिट पाएनौं। एक जना अलिक राम्रो सिटमा बस्न पायौं । एक जना भने पछाडीको कुनाको सिटमा गोडा खुम्चाएर बस्न पर्यो । तर सजिलो भनिएको सिटमा पनि मोटो मोटो ज्यानको अन्य यात्रुहरु बसेकाले फेरि पछाडीको सिटमा सँगै बस्यौं । डब्बल भाडा भनेर चढे पनि गाडी हिँड्दा सम्ममा सिट फुल भयो । सानो गाडी, कोचाकोच मानिस, त्यसबेलाको अप्ठयारोको त कुरै नगरौं झन्डै ढाड नै कुप्रो परेको थियो । त्यति हुंदाहुदै पनि भाडा तिर्ने बेला सधैंको नर्मल भाडा दर भारु ८० रहेछ तर हामीले फेरि पनि १२० प्रति व्यक्ति तिर्न बाध्य भयौं । भाडा र बस्ने अप्ठेरो भन्दा पनि अब भने गन्तब्यमा पुगिने भयो भन्ने मात्र मनमा आयो । जहिले पनि घरबाट हिँडिसकेपछि किन यस्तै सकसको यात्रा मात्र सधैं गर्छाैं भनेर प्रश्न पनि मनमा आइरह्यो । गाडीमा सबै जना अपरिचित भएकोले निकैबेर चुपचाप रह्यो । त्यसपछि एक अर्कामा अरु प्यासेन्जरहरुसंग पनि कुरा हुन थाल्यो। हामीले अहिलेसम्म भोगेका सबै पीडाहरु उनिहरुसँग छरपस्ट पारिदियौँ । उनीहरुले हामीलाई त्यसरी गाडीभाडा ठगेको र ड्राईभरले त्यसरी छोडेको बारे पुलिसमा कम्प्लेन गर्नसम्म सुझाए । उनिहरुको सिक्किम सरकार राम्रो र प्रभावकारी भएकोले कम्प्लेनको आधारमा उनिहरुले सजायँ पाउने कुरामा विश्वास थियो । त्यतिबेला हाम्रो लागि उनीहरुले दिएको जानकारी हाम्रो शान्त्वनाको लागि मात्र काम लाग्यो । दशैँ नै छोडेर साथी साथी रहरले घुम्न आएको यात्राको सुरुवातदेखि नै झन्झट र झमेलाले दुवैमा घुम्ने उत्साह नै सेलाउँदै गएको थियो।

यात्रा अगाडी बढ्दै थियो । पारी पारी पाखामा ग्यान्टोक शहरको बत्तीहरु झिलिमिली देखिन थालेको थियो । हामी बल्ल बल्ल ग्यान्टोक त पुग्यौं । तर  त्यतिबेलासम्म होटलको व्यवस्था भइसकेको थिएन । अब सुरुवात कहाँबाट गर्ने इन्टरनेट पनि चल्दैन थियो । हाम्रो अन्तिम बिकल्प भनेको प्रत्येक होटेलको ढोका ढोकामा पुग्नु नै थियो । गाडीबाट उत्रे पछि त्यहाँ वरिपरि तीन चार वटा होटेलहरु हेर्याैं तर हामीलाई होटलको रुमहरु नै चित्त बुझेन । त्यसपछि त्यहाँभन्दा करिब ५०० मिटर ओरालो झरेपछि एउटा होटेल भेटियो । कुरा गर्याैं होटेलको दर रेट भारु ३००० देखि सुरु हुने रहेछ । हामीले अलिक सस्तो खोजेको भनेपछि उनिहरुको चेन होटलको बारेमा बताए । त्यो चाहिँ मुख्य बजारभन्दा करिब १० देखि १५ मिनेट टाढा पर्ने रहेछ । रातको १८०० विद आउट फुड रहेछ । एक त हामी बिहान देखिको यात्राले थाकिसकेका थियौं । अर्काे हामी आफैंले चिनेको कुनै होटल पनि थिएन त्यसैले पनि उनिहरुले दिएको ‘अप्सन’का होटलहरुको ‘क्याटलग’ हेरेपछि हामीले पनि हुन्छ भन्यौं र उनिहरुकै गाडीले होटलसम्म पुराइ दियो ।

हामीलाई मुख्यतया ग्यान्टोक त घुम्नु थियो । हामीले भोलिपल्ट त्यही ग्यान्टोक बजार वरिपरि घुम्ने निधो गर्यौँ । अनि अर्का दिन छंगु लेक घुम्न जाने योजना बनायौं । त्यहाँ हामी घुम्नको लागी नेपालबाट पुगेको थाहा पाएपछि त्यहाँ वरिपरि घुमाउने व्यवस्था पनि त्यही होटलकै मान्छेले गर्ने भयो । हामी नेपाली भाषामै कुरा गरिरहेका थियौं । यद्यपि सिक्किममा घुम्न जाने हामी नेपालीहरुको लागी डकुमेन्टको प्रक्रियाहरु सुनेर अलिक अनौठो लाग्यो । त्यहाँको स्थानीयको सहयोग बिना हामी आफैंले कहीँ पनि घुम्न जान नपाइने । जेमा पनि होटलसँग समन्वय गर्नै पर्ने अनौठो चलन रहेछ । हुनत सिक्किम सरकारको पर्यटन व्यवसायीलाई प्रोत्साहन दिएर त्यहाँको लोकल व्यवसायीहरुलाई सहयोग होला भन्ने कुराले हामीसँग भएका सबै डकुमेन्टको फोटोकपी होटेललाई बुझायौं । भोलिपल्ट अन्यत्र नजाने यहिँ बजार वरिपरि आफैंले खोजेर घुम्ने धुनले हामी दुई निस्कियौं ।

अघिल्लो दिनमा जति दुख पाए पनि दोस्रो दिन सम्ममा हामीले पनि त्यहाँको मानिसहरुलाई बुझ्न थालेका थियौं । मानौं उनिहरुको व्यवहार बुझ्यौं र परनिर्भरतामा बाँच्न थाल्यौं । ट्याक्सी स्ट्यान्ड गएर त्यहाँको बोर्डमा रेट हेरेर त्यहीअनुसार बार्गेनिङ गर्न जानेका थियौं । यति भए पछि हामी आफैंमा पनि कन्फिडेन्स बढेको थियो कि अब भने कसैले हामीलाई पाइलै पिच्छे ठग्दैन । बिस्तारै घुम्दै अलिक सस्तो र राम्रो होटल खोजेर सर्ने सल्लाह भयो । साँच्चै हामी जुन पैसाले बसेको थियो त्यो भन्दा सस्तोमा राम्रै रिर्जाेट पनि पायौं । उही भाषा बोल्ने, नेपाली गीतमा नाच्ने र नेपाली फिल्मको प्रशंसा गरेर कुरा गरे पनि हामी भौगोलिक रुपमा अलग देशका रहेछौं । उही भाषा बोले पनि, उही खाने कुरा खाए पनि हाम्रो पहिचान र व्यवहार बिल्कुल अलग रहेछ भन्ने कुरा बुझ्न हामीलाई दुई दिनमात्र लाग्यो । देश गुणाको भेष पहिरिए पछि वातावरणमा आफैं सहज हुने रहेछ भन्ने कुरा पनि बुझ्यौं । सिक्किमका विभिन्न जग्गामा घुम्दै गर्दा त्यहाँको मानिसहरुसंग भेटेर कुरा गर्दै गर्दा विभिन्न काल खण्डको विभिन्न ठाउँहरुको याद ताजा भएर आइरह्यो । यसैमा २०७२ सालको भूकम्पबाट पीडित रसुवावासीहरुसंगको कुरा पनि दिमागमा आइरहेको थियो । परिवार, आफन्त, घरबास, सम्पत्ति सबै गुमाएर आफू एक्लो मात्र बाँच्न सफल भएका मान्छेहरुसँग कुराकानी गर्नु थियो हामीले । सबैलाई गुमाउँदा रुँदा रुँदा थाकेको मलिन अनुहार  देखेर हामीलाई अन्तर्वार्ता लिन गाह्रो भएको थियो । तर हामीसँगै गएका हाम्रै टीमका एक सहकर्मीको  (जसको घर दार्जिलिंग थियो) त्यस्तो बिपत्तिबाट बाँचेका मानिसहरुको घाउमा नुन चुक छर्किने गरी ख्यालै नगरी “यहाँ रसुवा आएको मान्छेहरुको धेरै सुन पुरिएको छ भन्छ खन्न सघाएर आधा आधा गर्न जानु पर्छ कि के हो भन्ने” जस्ता उरन्ठेउलो कुराले सिमाना एउटै भएतापनि आत्मीयता नहुने रहेछ । पराइ देश भनेको पराइ देश नै हुने रहेछ । सोच अलग काम गर्ने लय अलग हुनेरहेछ भन्ने कुरा राम्ररी बुझाएको थियो । यदि उसको गाउँमा पनि त्यस्तै घटना घटेको भए उसको परिवारका सदस्यहरुले पनि यही पीडा भोगेको भए यस्तो बच्चाको जस्तो कच्चा व्यवहार पक्का पनि आउँदैनथ्यो होला भन्ने कुरा सम्झाएको थियो ।

हामी दुवै जना नेपालको करिब करिब आधाभन्दा धेरै भागहरु डुलिसकेको हुँदा सिक्किमका स-साना पहाड, सानो सानो खोला र झरना, गुम्बा तथा पहाडी डाँडाहरुमा बनाएका मानेहरु हाम्रो लागि समान्य थियो । हामी ग्यान्टोक आउनुको मुख्य कारण नै छंगु लेक थियो । त्यसैले हामी सिक्किम पुगेको पर्सिपल्ट नै त्यहाँ जाने निधो गरेका थियौँ । तर त्यस ठाउँसम्म पुग्न टुरिस्ट गाईड लानै पर्ने नियम रहेछ । यसबाहेक विभिन्न काजगपत्र बनाउनको लागि लोकल ट्राभल एजेन्सीमार्फत नै जानु पर्ने नियम रहेछ । त्यसमा हामीले दुखमनाउ पनि गरेनौँ, त्यो त्यहाँको सरकारको नियम थियो जुन हामीले चाहेर नचाहेर अगाल्नै पर्ने थियो । तर हामीलाई अनौठो लागेको कुरा अर्कै थियो। सरकारले नियम बनाएको थियो त केवल विदेशीहरुको लागी। हामीले सामान्य भाषामा बुझ्दा गाइड भनेको त्यो ब्यक्ति हो जसले घुमाउन लैजाने ठाउँको बारेमा सबै थाहा हुन्छ । उनिहरुले हामी जस्ता नयाँ मानिसलाई त्यहाँको पत्थर माटो, झारपात सबैको परिचय गराउँछ र त्यसैको लागि हामीले उनलाई भारु ५०० रुपैया शुल्क तिरेर लगेका हुन्छौँ । तर त्यहाँ त ठीक उल्टो थियो । हामीसँग जो गाइड बनेर जाने बहिनी थिइन् उनी नै त्यस ठाउँमा हामीसँग पहिलोपटक जाँदै थिइन् । हामीले आफ्नो कर्तव्य पूरा गर्याैं । हामीले तिर्न पर्ने पैसा तिर्याैं तर केही भनेनौं पनि । पछी यात्रामा आधाबाटो पुगे पछि बल्ल थाहा भयो हाम्रो टुरिस्ट गाईड बहिनी त हाम्रो गाडी ड्राईभर भाइको गर्लफ्रेन्ड रहेछ । उनिहरुको व्यवहार नराम्रो नभएकोले हामीलाई पनि भन्नु केही थिएन । ड्राईभर भाइ पनि रमाइला र फरासिला थिए । ठाउँ ठाउँमा रोकाएर फोटो खिचिदिन्थे ।  बिचमा केही सागुँरा गल्ली र उकाला थिए जहाँ गाडीहरु चढ्न नसकेर चिप्लेटी खेल्दा काठमाण्डौंको जामलाई याद दिलाउने गाडीको लर्काे लाग्ने गर्थ्यो । बाँगोटिगों बाटो गर्दै, कहिले दुई अग्ला पहाडी जंगलको बिच बिचको बाटो गर्दै करिब ४ घण्टामा छँगु पुग्यौं । पहाडको टुप्पोमा सफा पानीको ताल । वरिपरि अग्लाअग्ला बेग्लै प्रकारको चट्टानी पहाड । ताल वरिपरि घुमाउनको लागि सजाएर राखिएको चौरीगाई । करिब  १ किलोमिटरको सीधा उकालोमा एउटा केबलकार सानो सानो १०/ १२ वटा बाक्लै गरि बनाएका घर। टुरिस्टलाई टार्गेट गरी बेच्न राखिएका विभिन्न सामानहरुको पसल । त्यो सुनसान पहाडी टुप्पोमा पुग्दाको स्वर्गीय आनन्द । चिसो सिरेटो । बल्ल छंगु लेकमा पुग्दा मात्र हामीलाई सिक्किम घुम्नु आएको र हाम्रो खर्चले महत्व पाएजस्तो लाग्यो ।

दुई दिनको बसाई पछी हामी फर्किने निधो गरेका थियौं । अब फेरि फर्किँदा पहिलाको झैँ झन्झट हामीलाई ब्यहोर्नु थिएन । यसैले हामी फर्किने अघिल्लो दिन नै गाडी कहाँ कतिखेर लाग्छ सबै बुझ्यौँ । गाडी हरेक दिन बिहान ७ बजे देखि छुटने रहेछ । एउटा लोकल बस नन एसी (एयर कण्डिश्नर) , अर्काे एसी र माइक्रो गरी तीन थरिका गाडीहरु सिलिगुडी तथा काँकडभिट्टासम्म आउने जाने रहेछ । जानकारी मुताविक नै हामी बिहानको ७.१५ मा नै बसपार्क पुग्ने गरी होटलबाट निस्क्यौं । हामीमध्य् एक जनालाई अब फर्किंदा सजिलो गरी राम्रो बसमा फर्किने निर्णय गरेको थियौं तर हामीलाई त्यही दिन धरानसम्म पुग्नु थियो । त्यसैले हामीले जतिसक्दो चाँडो फर्किनु पर्ने भयो। एसी बस ८.१५ बजे मात्र त्यहाँबाट चल्ने हुनाले हामीले पहिलो बसमा नै जाने निधो गरि बस चढ्यौं तर जब टिकटको बारे थाहा पायौं फेरि हामी दँगदास भयौं । बल्ल थाहा पायौं पहिलो दिन हामी कति धेरै ठगिएछौं भनेर पछुतो पनि लाग्यो । सिक्किमदेखि सिलिगुडीसम्मको गाडीको भाडा जम्मा भारु १२० प्रति व्यक्ति रहेछ । तर सिन्डिकेटले जथाभावी भाडा उठाउने गर्दाेरहेछ । हामीले सिक्किमसम्मको भाडा  प्रति व्यक्ति ५२० बुझाएका थियौं । सरकार जति गतिलो भए पनि नीति नियम जति नै प्रभावकारी भए पनि व्यक्तिहरु गतिलो भएन भने नियम सबैको लागि उत्तिकै प्रभावकारी हुन सक्दैन भन्ने छर्लङ्ग भयो । हामी गाडीमा रम्फोकबाट ग्यान्टोक जाँदा यात्रुहरुले पुलिसलाई रिपोर्ट गरेमा सजाय हुनसक्ने कुरा सुनाएकोले झीनो आशासहित गएको दोस्रो दिनमा नै साथीले त्यहाँको पुलिस बिटमा त्यो गाडीको बारेमा सबै विस्तृत जानकारी दिँदा पनि उनीहरुले खासै चासो देखाएका थिएनन् । यसबाट पनि पराइको देशमा अरुमाथि भर पर्नु र अरुको सहयोगको अपेक्षा गर्नु जायज हैन भन्ने गतिलो सिकाई भएको थियो ।

फर्किने क्रममा सिलगुडी आइपुग्ने बेलामा नागढुंगाको जामलाई बिर्साउने जाम थियो । यद्यपि हामी आज घर फर्किदै छौं, आफ्नै भूमिमा जाँदैछौं भन्ने मनोबलले होला कुनै कुराले पनि हामीलाई खासै फरक पारेन । करिब दुई घण्टा जतिको जाम पछी बल्ल सिलगुडीको गर्मीमा ओर्लियौं । नेपाल जाने गाडी कता पाउँछ भन्ने थाहा नपाए पनि नेपाल कता पर्छ भन्ने हामीलाई थाहा थियो । त्यसैले हामी आफ्नै तालमा लम्किरह्यौं । करिब दश मिनेटको हिँडाइ पछि बसहरुको लाईन देखेर खुशी भयौं । फेरि हामी नेपाल जान लागेको हो, गाडी खाली छ यता आउनुस् दिदी भन्दै अचानक ब्याग नै खोस्न खोज्दै तान्दै एउटा सानो भाइ आयो । काँकडभिट्टासम्म एकजनाको भारु १०० भन्दा विस्वास त लागेन तर पनि उनीहरुको गाडी खाली जाने भएकोले होला भनेर विश्वस्त भयौँ । उसले पनि हिँडिहाल्ने भनेर गाडीमा बसाएको आधाघण्टा भइसक्दासम्म हामी जहाँको तहीँ भयौं । ऊ हामीलाई गाडीमा थुनी राखेर गएको फर्किएन । अब हाम्रो धैर्यताको बाँध फुट्दै थियो । दुवै जनामा रिसले सीमा नाघ्दै गयो । हामी गाडीबाट ओर्लिने निधो गर्याै तर हामी ५ मिनेटमा जान्छौं बस्दै गर्नुस् भनेर एक जोडी अन्य यात्रु ल्याएर फेरि मान्छे खोज्न लापत्ता भए । हामीलाई जाँदादेखि उठेको रिस सबै उर्लेर आइसकेको थियो । निकै बेरमा ऊ फेरि गाडीमा आइपुग्यो । सबैको रिस उही ड्राईभरमाथी खनियो । हामी बिच दोहोरो चर्काचर्की पर्याे । यद्यपि हामीलाई ओर्लिन नै दिएन । त्यसपछि भने उसले बल्ल गाडीलाई स्टार्ट गर्यो । गाडी अघि बढेसंगै हामी दुवै शान्त भयौँ । लगभग १ घण्टा पछि हामीले नेपाल टेक्यौँ र खुशीको सास फेर्याैं । काँकडभिट्टामा झर्ने बेलामा पैसा थाप्दै नरिसाउनु है दिदी भन्दै हाँस्यो त्यो पुन्टेभाइ । केही भनिरहन आवश्यक थिएन । हामी चुपचाप बस्यौं ।

यो ठगिने ठाउँको यात्रा सकिएकोले मनमनै खुसी भयौं । अब आउने दिनहरुमा भने यतिको खर्चले आफ्नै देशका विभिन्न ठाउँहरु घुम्ने मनमनै बाचा गर्याैं । सिक्किम र दार्जिलिंगको यात्राअघि  हामीलाई सिमानाले मात्र अलग गरेको छ । हामी एकै भाषी हौं, हामी एकै हौं जस्तो लागेको थियो तर यी विभिन्न पटकको यात्रा पछि भाषाले मात्र जोडेको साइनो रहेछ उनीहरु र हामीलाई भन्ने लाग्यो । उनिहरुले हामी नेपालीहरुलाई गर्ने ब्यवहार त उनिहरु भारतीय भएर हामी नेपालीलाई गरिने व्यबहार नै रहेछ भन्ने राम्रो ज्ञान पायौं । हुन त त्यो कुरा पहिला गोर्खाल्याण्डको द्वन्द्वमा धेरै नेपालीहरुले आत्मियताको साथ  समर्थन गर्दा दार्जिलिंगका केही अगुवाहरुले “तिमीहरुको साथ हामीलाई चाहिँदैन, तिमीहरु र हामी फरक हौँ ” भन्ने भनाइबाट नै प्रस्ट थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक