किभ । बेलारुसका नवनिर्वाचित राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोले बुधबार छैटौं पटक राष्ट्रपति पदको सपथ ग्रहण गर्नु भएको छ ।
विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाएर निरन्तर जुलुस र धर्ना गरिरहेको अवस्थामा राष्ट्रपति लुकाशेन्कोले पूर्व घोषणा नगरी सामान्य कार्यक्रमबीच सपथ लिनु भएको थियो ।
एक जना विपक्षी नेताले राष्ट्रपतिको सपथ ग्रहण समारोह “गोप्य” रुपमा गरिएको र त्यो नौटंकी मात्र रहेको बताउनुभयो । धेरै युरोपेली मुलुकहरुले राष्ट्रपतिको चुनावी नतिजालाई अस्वीकार गर्ने र लुकाशेन्कोलाई वैधानिक राष्ट्रप्रमुखका रुपमा मान्यता नदिने पुनः दोहोर्याएका छन् ।
राष्ट्रपतिको सपथ भइरहँदा राजधानी मिन्स्कमा हजारौं व्यक्ति प्रदर्शनमा उत्रिएका थिए भने सडकमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
मिन्स्कस्थित राष्ट्रपति कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा ठूलो संख्यामा समाजका लब्धप्रतिष्ठित व्यक्ति उपस्थित भएको राज्य संचालित समाचार समिति बेल्टाले जनाएको छ ।
६६ वर्षीय लुकाशेन्कोले दाहिने हातमा संविधान राखेर बेलारुसी भाषामा सपथ लिनु भएको थियो । त्यस अवसरमा केन्द्रीय निर्वाचन आयोगका प्रमुखले बेलारुसको राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र लुकाशेन्कोलाई हस्तान्तरण गर्नु भएको थियो ।
त्यस अवसरमा सम्बोधन गर्दै राष्ट्रपति लुकाशेन्कोले निर्वाचनमा मुलुकको राष्ट्रपतिमा विजयी हुनु ठूलो कुरा होइन भन्दै आफूले राष्ट्रको मूल्यमान्यता, हाम्रो शान्तिपूर्ण जीवन, सार्वभौमसत्ता र स्वतन्त्रता रक्षाको प्रतिरक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
पूर्व सोभियत युननिबाट अलग भएयता २६ वर्षदेखि लुकाशेन्को बेलारुसको राष्ट्रपतिमा हुनुहुन्छ । गत अगष्ट ९ मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा लुकाशेन्कोले ८० प्रतिशत मत प्राप्त गर्नु भएको थियो । उहाँकी कट्टर विरोधी स्भितलाना चिखानोस्कायाले १० प्रतिशत मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ ।
विपक्षी नेत्री स्भितलाना हाल छिमेकी मुलुक लिथुआनियामा निर्वासनमा हुनुहन्छ । उहाँले निर्वाचनमा व्यापक धाँधली भएको जनाउँदै चुनावी परिणाम अस्वीकार गर्ने बताउनुभएको छ ।
उहाँका दशौं हजार समर्थकहरुले छ हप्तादेखि लुकाशेन्कोको राजीनामाको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् ।
उहाँले भन्नुभएको छ, “जनताले लुकाशेन्कोलाई जनादेश दिएका छैनन् । सपथ ग्रहण कार्यक्रम नौटंकी मात्र हो र यो आफूलाई वैधानिक दाबी गर्ने चालबाजी मात्र हो ।”
लिथुआनियाको राजधानी भिल्न्सबाट भिडियो सम्बोधन गर्दै विपक्षी नेत्री स्भितलानाले आफूलाई बेलारुसका जनताले निर्वाचित गरेको दाबी गर्नुभयो । उहाँले सबै मिलेर नयाँ बेलारुस बनाउने समय आएको बताउनुभयो ।
युरोपेली युनियनले समेत लुकाशेन्कोलाई बेलारुसको राष्ट्रपतिका रुपमा मान्यता दिन अस्वीकार गरेको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?