मस्को — रुसी वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले मानिसको शरीरमा भाइरससँग लड्ने क्षमता विकसित गरेको जनाएका छन् । खोपको परीक्षणबारे पहिलोपटक प्रतिवेदन सार्वजनिक गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन् ।
मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको उल्लेख गरिएको छ ।
खोपबारे वैज्ञानिक नतिजा प्रकाशित हुनुअघि नै गत अगस्ट महिनामा रुसले खोप प्रयोग गर्न अनुमति दिएको थियो । विज्ञहरूले खोपको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्न उक्त परीक्षण निकै न्यून भएको बताएका छन् । तर मस्कोले आलोचकहरूलाई जवाफ दिँदै परिणामको प्रशंसा गरेको छ । केही पश्चिमा देशका विज्ञहरूले रुसले तीव्र गतिमा खोप निर्माण गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । अनुसन्धानकर्ताहरूले खोप निर्माण कार्यमा पहिलो हुन रुसले कतिपय प्रक्रिया पूरा नगरेको आशंका व्यक्त गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोप निर्माणका लागि आवश्यक सबै परीक्षण मापदण्ड पूरा गरिएको जनाएका थिए । उनले आफ्नी एक छोरीलाई पनि भाइरसविरुद्धको खोप दिइएको बताएका थिए । ‘स्पुतनिक–५’ नाम दिइएको खोपको दुइटा परीक्षण गत जुन र जुलाई महिनाबीचमा गरिएको जर्नलमा उल्लेख छ । प्रत्येक परीक्षणमा सहभागी ३८ जना स्वास्थ्य स्वयंसेवकलाई पहिलो खोप लगाइएको थियो र तीन सातापछि उनीहरूलाई बुस्टर डोज दिइएको थियो ।
खोप परीक्षणमा १८ देखि ६० वर्षसम्मका स्वयंसेवक सहभागी थिए । उनीहरूलाई ६ सातासम्म प्रत्यक्ष निगरानीमा राखिएको र तीन साताभित्र सबैमा एन्टिबडीको विकास भएको थियो । खोपले उनीहरूमा सामान्यतः टाउको र जोर्नी दुख्ने खालका साइड इफेक्ट देखिएको जनाइएको छ ।
‘कोभिड–१९ को संक्रमण रोक्न तथा दीर्घकालीन सुरक्षा र प्रभावकारिताका लागि थप परीक्षण र निगरानी आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ । जर्नलका अनुसार तेस्रो चरणको परीक्षणमा विभिन्न उमेर र जोखिम समूहका ४० हजार स्वयंसेवकलाई सहभागी गराइने रुसी अधिकारीले जनाएका छन् ।
खोप निर्माणमा संलग्न एक रुसी अधिकारीले उक्त परीक्षणका लागि ३ हजारभन्दा बढी स्वयंसेवक तयार भइसकेका जनाए । रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आगामी नोभेम्बरदेखि डिसेम्बरभित्र सर्वसाधारणलाई खोप दिन सुरु गरिने बताएका छन् । तर खोप बजारमा उपलब्ध गराउनुअघि थप प्रक्रिया पूरा गर्न बाँकी रहेको विज्ञहरूको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हाल १ सय ७६ वटा सम्भावित खोप विकासबारे अनुसन्धान तथा परीक्षण जारी छ । संगठनका अनुसार ३४ वटा खोपबारे मानिसमा परीक्षण भइरहेको छ । तीमध्ये ८ वटा तेस्रो चरणको परीक्षणमा रहेका जनाइएको छ । एजेन्सी
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल