पञ्चायत अन्त्यको वैचारिक एकताको आधारभूमि


स-साना घटनाहरु जो राष्ट्रिय राजनीतिक इतिहासमा समेटिएका छैनन् । त्यस्ता विषयहरु समेट्ने प्रयत्न भैरहेको छ । तर त्यस्ता केही स-साना भनिने महत्वपूर्ण घटनाहरु र पात्रहरु स्मृतिपटलबाट हराइरहेका छन् । केही महत्वपूर्ण योगदान गर्ने घटना र मानिसहरुको नाम नियतवश नभए पनि छुटेको आभास भइरहेको छ । तर क्रमश यस्ता नामहरु घटना सँगसँगै उद्घाटित हुँदै जानेछन् । जसरी २०३७ साल संगठनको हिसाबले महत्वपूर्ण वर्ष मानिन्छ, राजनैतिक दिशानिर्देश गर्न र २०४६ को आन्दोलनमा पुग्न २०३८ को राजनैतिक पृष्ठभूमि निक्कै महत्वपूर्ण छ । इतिहासमा ठूला घटनाको पछाडी साना लाग्ने घटना त्यसैले महत्वपूर्ण हुन्छ भन्ने मेरो तर्क निरन्तर रहिरहेको छ । यसको चर्चा लेखको पछिल्लो भागमा हुनेछ । त्यो भन्दा पहिले २०३८ कै शुरुवात तिरको एउटा घटना जसमा पंचायतका महत्वपूर्ण पात्रहरुका संलग्नता रह्यो र यसको विरुद्ध अनाकर्षण र विरोधले व्यापकता लियो ।
जनमत संग्रहपछि संविधानको तेश्रो संशोधन १ पौष २०३७ मा गरियो र तदनुसार व्यक्तिगत तवरले उम्मेद्वारी दिएर राष्ट्रिय पंचायतको लागि गरिएको चुनाव २७ वैशाख २०३८ मा सम्पन्न भयो । यसको बारेमा मैले थोरै पहिले नै वर्णन गरेको छु । यो पंचायतबाट सुधारिएको पंचायत तिरको पहिलो औपचारिक यात्रा थियो । यसको महिना दिन पनि नबित्दै देशै हल्लाउने घटना घट्यो । यस घटना ‘नमिता-सुनिता काण्ड’को नामले चिनिन्छ । यस घटनाका बारेमा थुप्रै खोजमूलक लेख प्रकाशित छन् । त्यसैले यो स्तम्भमा ती खोजहरुको बारेमा नभई त्यसको राजनैतिक पक्षको विवेचना गर्न खोजिएको छ ।
यो घटना २०३८ को जेठ महिनाको हो । जेठको १८ गते दुई जना घरानियाँ नवयुवतीहरु नमिता, सुनिता र नीरा नामकी एक युवतीसित पोखरा घुम्न जान्छन् र त्यहाँ उनीहरुको रहस्यमय हत्या हुन्छ । अहिलेसम्म प्रकाशित विभिन्न लेखले त्यो हत्याकाण्डमा अति उच्च तहका मानिसहरु संलग्न भएकाले उनीहरुसहित अरु पनि सम्भावित साक्षीहरुको पनि इहलीला समाप्त पारिएको प्रस्ट्याइएको छ । हामी विद्यार्थीहरु बीच यो अति उच्च तहको बारेमा विभिन्न अड्कलबाजी थियो । तर जे भए पनि प्रहरी र सेनाले न्याय दिन सक्दैन भन्ने थियो । त्यसैले यो घटना सत्तासँग सम्बन्धित थियो । यो घटनाले छोरी चेलीको सुरक्षाको प्रश्न पनि उठाएको थियो । घरानियाँ युवतीहरु त सुरक्षित छैनन् भने अरु को सुरक्षित हुन सक्छ भन्ने त्रास बढेको थियो । जनमानसमा असुरक्षाको अनुभूति बढेको थियो, आक्रोश बढ्दो थियो । यसैबीच काठमाण्डौ आन्दोलित हुन थाल्यो । पोखरामा पनि माले निकट महिला संगठनले आन्दोलन गर्‍यो र महिला सुरक्षाको माग गर्‍यो । क्रमशः यो देशव्यापी भयो र पंचायतको नकारात्मक पक्ष उजागर गर्ने एउटा
आन्दोलन बन्यो । सत्ताधारीहरु आत्तिएर यस्तो आन्दोलनको सम्बोधन गर्न थाले । देशका प्रमुख शहरहरुमा धरपकड तीव्र बनाइयो ।

अनाहकमा समातिएका यस्तै एकजना, अच्युत गौतम, भन्छन् :

‘त्यतिखेर म भद्रगोल जेलमा थिएँ । के कारणले लगेको थियो बिर्सें । त्यतिखेर पटक-पटक पुलिसले गिरफ्तार गर्थ्यो र केही दिन जेलमा राख्दै छाड्दै गर्ने गरेको थियो । यसरी पटक-पटक पक्राउ पर्नेमा चुडामणि धमला, महेश नेपाल, म र सुरेन्द्र भण्डारी थियौं । हामी जेलमा हुँदै ‘नमिता सुनिता काण्ड’ भएको थियो । त्यो समाचार हामीले जेलमै हुँदै पढेका थियौं । त्यसपछि हामी छुटेर आयौं । म त्यतिबेला त्रिचन्द्र क्याम्पसको स्ववियुको सचिव थिएँ । एक दिन पद्मरत्न तुलाधरहरुले त्रिचन्द्र क्याम्पसमा एउटा विरोध सभा राख्नुभएको रहेछ । त्यसमा म र बलराम समाल दुई जनालाई बोल्न राखिएको रहेछ । हामी दुवै जनाले बोल्यौं । त्यो त्यतिकै सकियो । पर्सिपल्ट म घरमा चिट्ठी पठाउन एयरपोर्टमा गएको थिएँ। जिल्ला जाने कुनै मान्छेमार्फत म जेलबाट छुटेको खबर बा आमालाई दिन चिठ्ठी हातमा दिइ मात्रै सकेको थिएँ, सादा पोसाक लगाएका पुलिसले फेरि मलाई समाते ।  त्यतिखेर मैले चिठ्ठी लाने मान्छेलाई ‘म छुटेको कुरा भन्दिनू घरमा तर फेरि समातेको कुरा नभन्नु है’ भनेँ । त्यसपछि मलाई हनुमानढोका पुलिस कार्यालयमा लगियो । बलराम समाललाई पनि त्यहीँ ल्यायो । दुई दिनपछि मलाई साथीहरुले पठाइदिएको सानो बेड बेर्न लगायो र मलाई ट्याक्सीमा हाल्यो । उपत्यका बाहिर निकाल्दै मलाई पोखरा जाने बाटाका हरेक चौकी सार्दै चारदिन हिँडाएरै पोखरा पुर्याइयो ।
मुग्लिनमा एउटा अनौठो घटना घट्यो । हत्कडी लगाएर बन्दुक बोकेका पुलिस छेउमा देखेर स-साना विद्यार्थीहरुले ‘चोर-चोर’ भनेको सुनेँ ।  विद्यार्थीहरु स्कुल गइरहेका थिए । मलाई त्यतिखेर मनमा के आएर हो मैले हिँड्दै गरेको एकजना विद्यार्थीलाई ‘तिम्रो परिचय पत्र छ’ भनेर सोधेँ । साना विद्यार्थीहरुको रहेनछ । आठकक्षा पढ्ने एकजनासंग रहेछ । त्यसपछि मैले आफ्नो हत्कडी देखाउँदै अलिक ठूलो स्वरमा ‘अचेल विद्यार्थीहरुको परिचय पत्र यस्तो हत्कडी पनि हुन्छ’ भन्दै मेरो हतकडी देखाएँ ।
त्यसपछि विद्यार्थीलाई समातेर ल्याएको रहेछ भनेर मानिसहरु वरिपरि भेला भए । खान नदिई विद्यार्थीलाइ यसरी हिँडाउँदै लगेको भनेर मानिसहरु रिसाए र मुग्लिनको रेस्टुराँ अगाडिको त्यो घटनामा एकजना ट्रक मालिक पनि रहेछन् । ‘विद्यार्थीलाई खान नदिई यति धेरै दुःख दिनु हुन्छ ?’ भन्दै उनी पनि कराए । त्यसपछि उनले मलाई खान आग्रह गर्दै खाना खुवाए र मेरो भाषण त्रिचन्द्रमा सुनेको कुरा बताए । म छुटेर आएपछि ती मानिसलाई भेट्न पाए हुन्थ्यो जस्तो लागेको थियो । तर कसरी भेट्न सम्भव हुन्थ्यो र ? त्यसपछि मलाई पोखरा लगियो, मलाई पोखरा जेलमा ४३ दिन राखियो र पोखरामा पनि आन्दोलन शुरु भैसकेको रहेछ । मलाई सरकारी वकिल आएर अनेक कागजमा सही गर्न भन्थे । मैले गरिनँ । मेरो तर्क थियो, ‘मेरो भाषण छापिएको छ त्यही पढ्नु होला’ । पोखरामा घटना हुँदा म भद्रगोल जेलमा थिएँ । त्यसपछि उनीहरुले त्यस्तो प्रयत्न त गरेनन् तर पार्टी र अखिलभित्र विश्वासको संकट ल्याउन प्रयत्न गरे । उनीहरुले मलाई सबै ठूलाबडाको उपस्थिति भएको ठाउँमा लिएर गए । त्यहाँ वृक्षारोपण कार्यक्रम रहेछ । त्यो फोटो उनीहरुले गोरखापत्रमा छपाएछन् । त्यसको कारणले संगठन र पार्टीका साथीहरुलाई कुरा बुझाउन निकै मेहनत गर्नु पर्‍यो ।
उता, बलराम समाल कैयौं दिनसम्म हनुमानढोका भित्र यातना खपिरहे । उनी प्रखर वक्ता थिए, उनको भाषण शैली काव्यिक थियो । उनको भाषणका बारेमा पछिसम्म चर्चाको विषय बनिरह्यो । उनी जेलबाट बाहिर आउँदा मानसिक रुपले विक्षिप्त बने र अहिलेसम्म पनि उनी त्यही अवस्थामा छन् ।
अच्युत गौतम भन्छन्, ”उनी (बलराम समाल) पूरै विक्षिप्त भए । बागबजारमा सिरक ओडेर कुद्दै उनले अनेक रहस्यमय कुरा गर्दै हिँड्थे। ‘कोमलजी (कोमल भट्टराई) मैले घण्टाकर्णे घोडा समाएँ । मलाई पुलिसले खोज्दै छ’ भन्दै भेष लुकाउन टोप र मफलरले अनुहार ढाक्दै हिँड्थे रे । कोमलजीले मलाई पछि सुनाउनु भएको तिनै बलराम समालको उपचार गर्नको निम्ति काठमाडौं र विदेशमा रहेका साथीहरुबाट सहयोग जुटाउने काम भएको थियो । पूर्व राजदुत तथा त्यसबेलाका विद्यार्थी नेता टंक कार्कीलगायत त्यसबेलाका समकालीनहरुले उनको उपचारको लागि प्रयत्न गरिरहे २०१७ सम्म ।”

बलराम समाल

सो घटनाको चालिस वर्ष बित्दा पनि बेलायतबाट विद्यावारिधि गरेका गौतम अहिले पनि सम्झन्छन्– काठमाडौंदेखि पोखरा जेलसम्मको पदयात्रा र जेलभित्रै लेखिएको यो कवितामा उनको आक्रोश र अनुभव पोखिएको छ :
आज चौथो दिन अर्धहोशमा,
यो दिन हो या रात थाहा छैन।
एक कठोर मानसिक परीक्षाको पात्र ,
निर्भिक निडर एक पात्र
एक ब्वाँसाको हुलमा घेरिएको छ,
जो दाह्रा नङ्ग्रासहित बन्दुक बोकेर मासु लु्छ्न तयार छन्
उमाथि झम्टन उद्यत छन्।

उ हिँड्दै छ, पाइला गन्दैछ,
हत्कडीको खिचाइ छ, तर भगिरथ प्रयत्न जारी छ हिड्न र
घाइते बाघ हो उ,
तर, बन्दुक, कुन्दा र बुटको चोटले,
उसको ज्यान र मन नै मर्माहित भइसकेको छ,
तथापि उ निस्फिक्री छ ।

गोली ठोकेर मार्ने अबिरल धम्की कता कता सुन्छ
ठेस लाग्दा उ ब्युँझिन्छ,
यसबेला अझै ज्यूँदो छु भन्दै आफ्नो छाती देखाउँछ
यातनाका असह्य पीडामा उ कराउँछ,
‘सक्छौ भने गोली हान, ता कि गण्डकी रातो बगोस्’।

यस्तै घटनाको बिचमा सूर्यबहादुर थापा फेरि नेपालको प्रधानमन्त्री नियुक्त भए । पंचायतका यी चतुर र सर्वशक्तिमान प्रधानमन्त्रीको समय निकै उथलपुथलयुक्त रह्यो ।
२०३७ सालमा विद्यार्थीहरुले नेपाल बन्दमार्फत शक्ति प्रदर्शन गरेपछि पंचायती शासन शान्ति-सुरक्षाको प्रावधानको प्रयोग गर्दै विद्यार्थीहरुलाई कुनै घटना हुनुभन्दा अगावै गिरफ्तार गर्ने गर्दथ्यो । केही नेताहरु सतर्कतापूर्वक हिँड्नु पर्दथ्यो । पुलिसलाई सक्रिय विद्यार्थीहरुको बारेमा पूर्ण जानकारी हुन्थ्यो । टंक कार्की, लीलामणि पोखरेल, लक्ष्मी मानन्धर, गौरी प्रधान, हिमालधन राई, कोमल भट्टराईलगायत अस्कलका चन्द्र लक्सम्बा, लोक सुब्बा, केदार बस्नेत, ल क्याम्पसका हरि उप्रेती, प्रखर वक्ता बलराम समाल, शम्भु थापा, त्रिभुवन विश्वविद्यालय (टियु)का भीम नेउपाने, जनार्दन आचार्य, सानोठिमी भक्तपुरका श्याम तमोट, भीष्म उप्रेती इन्जिनियरिङ्गका ठाकुरचन्द्र श्रेष्ठ, ध्यानबहादुर राई, पम्फा भुसाल सबै २०३७ का इतिहास हुन् जसमाथि पुलिस निगरानी गरिरहन्थ्यो । आन्दोलनमा सक्रिय भएका र अग्रभागमा रहने केही कार्यकर्ताहरु जस्तै इञ्जिनियरिङ्ग क्याम्पसका नन्द बन्जाडे, विष्णु पोखरेल, सुरेन्द्र ढकाल, चन्द्र चापागाईं (पूर्व केन्द्रीय सदस्य एकताको पाचौं सम्मेलन तयारी समिति), रमेश बस्नेत, भीम आचार्य, योगेश आचार्य, र द्रोण घिमिरे आदि त २०३७ इतिहासमा नै भए। इन्जिनिरिङ्गबाट निस्केको गुण्डा विरोधी (अमिर घर्ती) आन्दोलनमा उनीहरुको महत्वपूर्ण योगदान थियो ।

यस आन्दोलनताका गोली चलेको थियो। यो आन्दोलनको चर्चा गर्दै इ. चन्द्र चापागाईं भन्नुहुन्छ, “पम्फा भुसाललाई अमिरहरुले जिस्क्याएपछि सुरु भएको थियो। आन्दोलनपछि पाटनमा ‘मण्डले भनिने पंचायती गुण्डाहरुको प्रभाव र दबदबा कम भएको थियो । २०३७ को यही आन्दोलनको सिलसिलामा पाटनमा भएको जुलुसमा विद्यार्थीको प्रहारले डिएसपीको टाउको फुटेको थियो। यहीक्रममा माथि उल्लेखित इञ्जिनियरिङ्ग क्याम्पसका मध्ये धेरैजसो गिरफ्तारीमा पर्नु भएको थियो । पछि पाटनका किसानहरुले वहाँहरुलाई प्रहरीको फन्दाबाट छुटाएर लुकाएका थिए। तिनै किसानहरुले ७ दिनसम्म इन्जिनियरिङ्ग होस्टलमा सुरक्षा समेत दिएका थिए।” त्यसैले आन्दोलनको अर्को पाटो भनेको किसान र विद्यार्थीबीच सहयोग र सम्पर्कको थालनी पनि थियो । त्यसबेलाको आन्दोलनको कुरा सम्झिँदै इ.नन्द बन्जाडे भन्नुहुन्छ, ‘सबै त्यतिक्कै सक्रिय थिएनन् है । अहिले सत्ताको केन्द्रमा रहेका एक जना साथी पेटीमा बसेर हाम्रो आन्दोलन हेर्थे ।’

केहीलाई छोडेर २०३८ सालको विद्यार्थी युनियनको दोश्रो निर्वाचन हुँदा समेत यिनीहरु धेरै नेतृत्वदायी भूमिकामै थिए । देश भरमा भएका चुनावमा अखिल र नेवि संघको तीव्र प्रतिष्पर्धा रह्यो । त्यस वर्षको चुनाव पनि पाँचौ र छैँठौले संयुक्त रुपमा नै लडेका थिए । पाँच र छ को सहमतिमा । सभापति लिनेको पाँच पदाधिकारी हुन्थे, सचिवसहित अर्को अखिलले छ पदाधिकारी लिने गर्दथ्यो । केही-केही ठाउँमा उनीहरु एक्लै पनि लड्थे । यस्ता ठाउँमा कुनै एउटाको मात्र बर्चस्व हुन्थ्यो । देशका केही मुख्य क्याम्पस नेवि संघको नेतृत्व कायम भएको थियो भने बहुमत क्याम्पस अखिलको नेतृत्वको रहेको हुन्थ्यो। त्यसै क्याम्पसमा चुनावको दिन मंसिर ९, २०३८ मा नेवि संघ र अखिलको झडपमा फणिन्द्र तिमिल्सिनाको हत्या भएको थियो र विजय कुमार गच्छेदारलाई हत्याको जिम्मेदार ठहर्याएको थियो । झडपमा गच्छेदारको एउटा आँखा पनि क्षतविक्षत भयो । त्यसैले महेन्द्र मोरंगको चुनाव स्थगन गरिएको थियो । त्यहीबेला वर्तमान रास्ट्रपति विद्यादेवी भण्डारी अखिलको तर्फबाट महेन्द्र मोरंग क्याम्पस विराटनगरबाट कोषाध्यक्षमा चुनिनु भएको थियो । केही समयअघि असोज ११ मा देशभर स्ववियु चुनाव सम्पन्न भएको थियो ।

त्यसवर्षको चुनावमा सबैभन्दा धेरै मत संख्या पाटन संयुक्त क्याम्पसको थियो जहाँ छैँठौको तर्फबाट हरिभक्त कंडेल सभापतिमा चुनिएका थिए । म कोषाध्यक्ष थिएँ। उनीसँगै काम गरेको आधारमा कंडेल मेरो नजरमा एक जना सरल र इमान्दार राजनैतिक प्राणी लाग्दथ्यो । जनयुद्धताका उनी माओवादीको पोलिटब्युरो सदस्य थिए र हाल वैद्यको नेतृत्वको पार्टीमा पोलिटब्युरो सदस्य नै छन् । त्यसबेलाका सचिव मीठाराम शर्मा बजगाइँ सांसद बने। पछि रातो पासपोर्ट काण्डमा फसाइए जस्तो लाग्छ र छायाँमा परे । यतिखेर उनी मिर्गौला रोगी बनेका छन्। पत्रकार देवप्रकाश त्रिपाठी पनि त्यतिखेर छैँठौको तर्फबाट त्यही युनियनमै थिए । विद्यार्थीहरुबीच सारै भिजेका खम्ब खत्री उपसभापति थिए र हाल उनी नेकपामा सक्रिय छन् । अच्युत गौतम र गौरी प्रधान क्रमश: त्रिचन्द्र र कीर्तिपुर क्याम्पसका सभापति चुनिएका थिए । उनीहरुको प्यानल भने आएको थिएन । त्रिचन्द्रमा नेवि संघका नविन्द्रराज जोशी पनि निर्वाचित भएका थिए । गौतम र प्रधानको जीतको कारण उनीहरुको लोकप्रियता त छँदै थियो, त्यसमाथि पनि उनीहरुको आकर्षक व्यक्तित्व र सुन्दर भेषभूषा हो भन्ने चर्चा थियो । शंकरदेव क्याम्पस प्राय नेवि संघको पोल्टामा जान्थ्यो र यो नेवि संघको वर्चश्व जस्तै थियो । महिलाहरुको नेतृत्वमा पनि अलिकति ठाउँ र वर्ग प्रभाव देखिन्थ्यो । पद्म कन्याजस्ता काठमाडौंका कुलीनहरु पढ्ने ठाउँमा नेविसंघको बर्चस्व थियो तर नर्सिङ्ग क्याम्पस जस्ता क्याम्पसहरुमा प्राय: अखिलकाले जित्ने गर्दथे । अहिले नेकपाको राजनीतिबाट विरक्त डा. मीना पौडेल जस्ता महिला र विकासको क्षेत्रमा सक्रिय नेत्रृहरु त्यसबेलाको युनियनमा चुनिनु भएको थियो । यहाँ सबै क्याम्पसको रिपोर्ट दिने उद्देश्य होइन, मात्र चुनावको वातावरण र यसको परिदृश्यको झलक दिनु हो ।

मैले यो चुनावलाई नेपालकै राजनीतिको निम्ति र विशेषगरी २०४६ सालको संयुक्त आन्दोलनको निम्ति विविध राजनैतिक मतहरुबीच एकताको पृष्ठभूमि तयार गर्ने परिघटनाको रुपमा लिन्छु । कारण थियो त्यस वर्षको युनियनको चुनावको नारा । अखिल पाँचौले चुनावी नारामा पार्टी स्वतन्त्रताको कुरा उठाएको थियो । नेवि संघ र अखिल चुनावमा भिड्दै थिए तर यो नाराले उनीहरु बीच एकता र सम्वादको अवस्था तयार गर्दै थियो । यही नाराको कारणले २०३९ सालमा नेकपा (माले भित्र) विवाद ल्यायो तर त्यसको कारण अन्त कतै छ जस्तो लाग्छ । यसको बारेमा पछि छलफल गरिनेछ । नेपाली कम्युनिस्ट आन्दोलनका अध्येता र कीर्तिपुर इतिहास विभागका प्राध्यापक डा. राजकुमार पोखरेलका अनुसार नेकपा (माले)का तर्फबाट पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यो नाराको लागि पार्टीको तर्फबाट स्वीकृति दिनु भएको थियो । चुनावको कारणले पार्टी स्वतन्त्रताको विषय देशब्यापी रुपमा प्रचारित र स्वीकृत भयो । कारण नेवि संघले जित्नु स्वत: पार्टी खुल्ला गर्ने मागको समर्थन हुन्थ्यो । उसले नजितेको ठाउँमा अखिलले त्यो नारासहित अखिलले जितेको थियो । यसको अर्थ हुन्थ्यो सबै क्याम्पसमा पार्टी स्वतन्त्रताको पक्षमा विद्यार्थीहरुले मत दिएका थिए ।
प्राध्यापक पोखरेल भन्नुहुन्छ, ‘यो चुनावपछि कांग्रेसीहरुबीच पनि बामहरु लोकतान्त्रिक आन्दोलनमा सरिक हुने आशा ब्यूँताएको थियो ।’ प्राध्यापक पोखरेलकै अनुसार, उता बामहरुमा तुलनात्मक रुपमा व्यवहारिक राजनीति गरिरहेको मनमोहन अधिकारीको पार्टी नेकपा (मार्क्सवादी)का नेता भरतमोहन अधिकारीले अखिलको यो नाराको स्वागत गर्नुभएको थियो । जे भए पनि लोकतन्त्र (प्रजातन्त्र) विद्यार्थीहरुको बिचमा एउटा एजेन्डाको रुपमा स्थापित भयो र, राजनैतिक वृत्तमा यो माउ पार्टीहरुको विचार हो भन्ने प्रस्टै थियो । त्यस बेलासम्म नेपालका अधिकतर साना ठूला बाम पार्टीहरु यसलाई मिल्नसक्ने न्यूनतम आधारको रुपमा लिन्थे । यसले संयुक्त बाम आन्दोलन र कांग्रेस बीच सहकार्य गर्ने आधारभूमि तयार गर्यो भन्ने विश्वास गर्न सकिन्छ । लोकतान्त्रिककरणको लागि जनस्तरबाट दबाब यसरी क्रमसः बढ्दै थियो ।

पार्टी स्वतन्त्रताको नारा विद्यार्थीहरु बीचमा कसरी आयो भन्ने कुरा थुप्रै कोणबाट कुरा आएका छन् । पार्टीको स्वीकृति प्राप्त त थियो, प्रस्ताव त्यो बेलाका अध्यक्ष टंक कार्कीले नै लानु भएको हो तर त्यो विद्यार्थीहरु बीचको लोकप्रिय अभिव्यक्ति थियो । कोमल भट्टराई यस्ता लोकप्रिय विचारहरुलाई समेट्न सिपालु थिए । उनी त्यसबेला अखिलका प्रचार तथा अतिरिक्त कृयाकलाप विभागका प्रमुख थिए। त्यसैबेला विद्यार्थी संगठनहरुको २०३८ मा भएको सम्मेलनपछि पंचायती सरकार राजनैतिक क्रियाकलापमा कडा रुपले दमनमा उत्रियो। त्यसपछि उनले विद्यार्थी र अखिलको सम्बन्धलाई निरन्तरता दिइरहनका लागि कविता गोष्ठी, खेलकुद र सरसफाईजस्ता क्रियाकलाप गर्दै विद्यार्थीहरु बीच जानुपर्छ भन्ने प्रस्ताव केन्द्रीय संगठनमा ल्याएका थिए ।

‘पार्टी खुल्ला गर’ भन्ने माग नन्द कन्दङ्वाले हल्का रुपमा भनेका थिए भन्ने एउटा भनाइ पनि छ । नन्द कन्दङ्वा, जो पछि गएर जनजाति आन्दोलनको अभियन्ता बन्नु भयो, पनि अखिलमा व्यवहारवादी राजनीति गर्ने विद्यार्थी नेता हुनुहुन्थ्यो । वहाँ जिम्मेवारीको काम भित्तो भएर गर्नु हुन्थ्यो । वहाँको बारेमा सम्झिने वहाँको सरलता र साहसका कारण त छँदै थिए, तर एउटा धर्के पहेंलो कोट पनि थियो । (वास्तवमा त्यो कोट अरु कुनै साथीको थियो भन्ने मैले सुनेको थिएँ) त्यसबेला अखिल र मालेभित्र कपडा साटासाट गरेर लगाउने प्रचलन व्यापक थियो । चैत्र १४ को नेपाल बन्दमा भक्तपुर बन्द गराउने जिम्मेवारी नन्द र कोमलले पाएका रहेछन् । भक्तपुरमा पाचौं र छैँठौ दुवै अखिलको प्रभाव कम थियो । दुवाकोटतिर कांग्रेसको पकड थियो । त्यसैले त्यो काम त्यति सहज थिएन । संयोग के छ भने हाल चर्चित संगीतकार बुलु मुकारुङ्ग त्यसबेला सानोठिमी क्याम्पसमा पढ्थे। उनी पनि अखिलमा थिए। उनले नेपाल बन्दमा ट्रली बस बन्द गर्न नजिकै थुपारेका हजारौँ इँटा डोकोमा बोकेर बाटोमा राखेछन्। ठिमीतिर त्यसबेला बाहिरका मानिस कम हुने हुनाले स्थानीयहरुले तामाङ जस्ता नन्द र बुलु मुकारुङ्ग ‘दुई जना’ को त्यो काम नियालिरहेका रहेछन् र बन्दको लागि सहयोग पनि गरेछन् । पछि प्रहरीले नन्द कन्दङ्वालाई भने खेदाउन थालेछ । वहाँलाइ भक्तपुरदेखि पुलिसले खेदाउँदै लग्यो, पहेलो कोट लगाएकाले उहाँलाई परैबाट चिन्न सकिन्थ्यो। वहाँ दौडिरहनु भयो, प्रहरी पछाडीबाट खेद्दै हिँड्यो । लामो खेदाइपछि मनहरा पुल नाघेपछि भक्तपुर पुलिसले खेद्न छोड्यो । इँटा ओसार्ने, बन्द गर्ने अनि लामो हिँडाइ र दौडाइपछि पनि वहाँ पुलिसको फन्दामा पर्नु भएन ।

त्यो बेला विद्यार्थीहरुले नेताहरुलाई पनि खुल्ला भेट्न सक्ने भएका थिए। उनीहरु घरि-घरि जेल परि रहेका हुनाले र बाहिरका परिदृश्यको बारेमा नेताहरुलाई अवगत गराउन सक्दथे । २०३७ सालसम्म आइपुग्दा विभिन्न आन्दोलनमा विद्यार्थीहरु गिरफ्तार हुदा नख्खु जेलमा राखिन्थ्यो । त्यतिखेर झापा आन्दोलनका राधाकृष्ण मैनाली, वर्तमान प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली, नारद वाग्लेलगायत धेरै जसो त्यही जेलमा हुनुहुन्थ्यो । वहाँहरुलाई बेला-बेला अन्यत्र पनि सारिन्थ्यो । पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई पनि त्यहि जेलमा हुनुहुन्थ्यो । त्यसैले विद्यार्थीहरु जेल परेर आएपछि राजनैतिक रुपमा अझ दृढ भएर फर्किन्थे र जेल पर्नु एक प्रकारको सम्मान आर्जन गर्नु पनि थियो । जेल परेर फर्किने विद्यार्थीहरुका जेलका कथा हामी पनि बढो चाख मान्दै सुन्थ्यौं । हामी सबै नख्खु जेल राजनीतिक मान्छेहरुसँग बस्न पाउने हुनाले अरु भन्दा राम्रो जेल ठान्थ्यौं । अहिले पनि इञ्जिनियरिङ्ग क्याम्पसका त्यो बेलाका सभापति नन्द बन्जाडे आफ्नो दुई पटकको नख्खु यात्रा बडो रोचकताका साथ सुनाउनु हुन्छ । जेल परेपछि केपी ओली र आरके मैनालीसंगै लुकेर जेलभित्र आधा बोतल भोड्का र एक प्याकेट दालमोठ ८५ रुपैयाँ खर्च गरेर खाएको सुनाउनु हुन्छ । भोड्का भित्र मगाउने प्रबन्ध भने आरकेले मिलाएको सगौरव बताउनु हुन्छ । त्यसपछि राँगाको मासुको ठूला ठूला टुक्रा वा चोक्टाभित्र पार्टीको चिठ्ठी र  अपानि (अन्तर पार्टी निर्देशन) पठाएकॊ कुरा भन्न छुटाउनु हुन्न ।

तर स्थानीय समुदायमा नख्खु जेलको बारेमा फरक धारणा रहेछ । पाटनका एक जना श्रेष्ठ पनि नख्खु जेल परे । उनको परिवार भर्खर-भर्खर मात्र राजनीतिक रुपमा प्रशिक्षित हुँदै थियो । आमा त अलिक राम्रो कार्यकर्ता नै बन्नु भयो । तर वहाँहरुको परिवार इस्टमित्र र स्थानीयहरुले राणाकालमा हाडनाता मुद्दा लाग्नेहरुलाई नख्खु जेलमा लागेको सम्झिनु भयो र आफ्नो छोरो त्यहाँ राखिँदा अपमानबोध गर्नु भयो, विशेषगर स्थानिय आफन्तहरुको सम्भावित नकारात्मक प्रतिक्रियाको कारणले । त्यसैले जेलबाट छुटेर आउँदासम्म पनि वहाँलाई बुबाले गाली गरिरहनु हुन्थ्यो । तर यो राणाकालिन धारणा बिस्तारै परिवर्तन भयो । वहाँहरुको इस्टमित्र र परिवारसंग अन्य विद्यार्थी र राजनैतिक कार्यकर्ताहरुको प्रयत्नले । त्यसपछि वहाँ पनि सबैको मायाको पात्र हुनुभयो । पछि थाहा भयो, राजनीतिमा नभएका आम स्थानियहरुमा यो धारणा अध्यावधी रहेछ, जो विद्यार्थीहरुको कारणले परिवर्तन भएको थियो ।

क्रमश:

डा उपाध्यायको यो स्तम्भ पाक्षिक रुपमा प्रकाशन हुँदै आएको छ ।

डा. कृष्ण उपाध्याय

उपाध्याय राजनीतिक र मानवअधिकारका विषयहरुमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री