ब्रिटेनको सुटिङ खेलको राष्ट्रिय टोलीमा पूर्व गोरखा सैनिक

photo by Dhan Photography

लण्डन । बेलायतको सुटिङ खेलको राष्ट्रिय टोलीमा भूतपूर्व गोरखा सैनिक परेका छन् ।
ब्रिटिश सुटिङले मंगलबार सार्वजनिक गरेको ४२ सदस्सीय टोलीमा पूर्व गोरखा सैनिक विनोद बुढाथोकी पर्न सफल भएका छन् ।
सो टोलीमा रहेका खेलाडीहरुले अर्को वर्षको ओलम्पिक, पारा ओलम्पिक लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा बेलायतको प्रतिनिधित्व गर्ने छन् ।
टीम जीबी (ग्रेट ब्रिटेन) पर्न सफल बुढाथोकी भन्छन्, “बेलायतको राष्ट्रिय टीममा परेर राष्ट्रिय टीमका प्रशिक्षकबाट प्रशिक्षण पाउनु सौभाग्यको कुरा हो ।”
राष्ट्रिय टीममा समावेश भए पनि उनले टोकियो ओलम्पिक भने खेल्न पाउने टुंगो लागिसकेको छैन । हालसम्म तय भएको टीममा उनी समावेश छैनन् तर यसबीचमा उनले नतिजामा उत्कृष्ट सुधार ल्याउन सके त्यो सम्भावना टरिसकेको पनि छैन ।
“ओलम्पिकका लागि अत्यन्तै कडा प्रतिस्पर्धा हुन्छ । मलाई प्रशिक्षकले अर्को ओलम्पिकका लागि भनेर भन्नुभएको छ तर यसबीचमा मेरो स्कोर राम्रो भयो भने छानिन पनि सक्छु” उनले भने ।
१० मिटरको एयर राइफलका खेलाडी बुढाथोकी आर्मीमा हुँदै सुटिङमा रुचि राख्थे । उनले रिक्रुट कम्पनीमा च्याम्पियन पनि भएका थिए तर बटालियनमा पुगेपछि उनले भनेजस्तो गर्न पाएनन् । “आर्मीमा मनमा लागेको सबै कुरा कहाँ गर्न पाइन्छ र ?” उनी भन्छन् । बटालियनभित्रैको भेदभावले पनि उनलाई प्रोत्साहित गरेन ।
उनी आर्मीभित्रको नियमित कर्ममा तल्लीन हुँदै गए । यस्तैमा सन् २०१० मा अफगानिस्तानमा खटिँदा उनले विष्फोटक पदार्थमा टेकेका कारण दुवै खुट्टा गुमाउनु पर्यो । उपचारपछि उनलाई रिह्यावका लागि विभिन्न खेलमा लगियो । उनले हातले चलाउने साइक्लिङ लगायतको खेल खेले तर उनको मनमा चाहिँ समाजमा पुनर्स्थापनाका लागि होइन प्रतिस्पर्धात्मक खेल खेल्ने धोको थियो ।
सन् २०१५ देखि उनको सुटिङ कलामा असाध्यै सुधार भयो । त्यसैले सन् २०१६ को रियो ओलम्पिकमा उनलाई भविष्यको टीम जीबीको सदस्यका रुपमा प्रतिस्पर्धा कसरी चल्छ, के के प्रक्रिया हुन्छ देखाउन लगिएको थियो । जसको नाम नै ‘पर्सनल इन्सपिरेशनल प्रोग्राम’ दिइएको थियो । उनले नजिकबाट ओलम्पिकमा जाँदाको अनुभव लिएर फर्के ।
साढे ६ करोड जनसंख्या भएको बेलायतमा कुनै पनि खेलको राष्ट्रिय टोलीमा पर्नु तीव्र प्रतिस्पर्धा पार गरे पछि मात्र सम्भव हुन्छ । आप्mनो खेलको प्रतिस्पर्धाका बारेमा बुढाथोकी भन्छन्, “कान्छी औँलाको नङको टुप्पो जत्रो लक्ष्यमा ५० मिनेटमा ६० पटक हान्नुपर्ने हुन्छ । एउटा मात्र यताउता भयो भने छनौट हुने सम्भावना हुँदैन ।”
हुन त सबै खेलको आप्mनै विशेषता छन् । सुटिङमा छोटो समयमा लक्ष्यमा पूराका पूरा निशाना लगाउनु पर्ने हुन्छ । यसकारण शारीरिक र मानसिक रुपमा पनि तन्दुरुस्त रहनु अत्यन्तै जरुरी छ । “सुटिङ खेलको अभ्यास मलाई ध्यान गरे जस्तो लाग्छ । यताउति सोच्नै मिल्दैन” उनी भन्छन् ।
अहिले कोभिड १९ का कारण घरमै जुमबाट उनले तालिम लिइरहेका छन् । महिनामा तीन वटा तालिम शिविरमा उनले रहनुपर्ने हुन्छ । अहिले उनी दैनिक २ घण्टा तालिम गर्ने गर्छन् ।
पुख्र्यौली घर गुल्मी भार्से भएका बुढाथोकी बुटवलमा जन्मे । तीन दाजुभाइमा कान्छा बुढाथोकीले यसअघि पनि सुटिङका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हात पारिसकेका छन् ।
उनी हाल परिवारसहित बेलायतको मेडिस्टोनमा बसोबास गर्दै आएका छन् ।

Photo By Dhan Photography

Photo By Dhan Photography

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री