घटनाहरुको वर्णन गरिरहँदा मैले फेरि सम्झिरहने कुरो के हो भने यो मेरो आफ्नो कथा होइन । मैले यस अघिका अंकहरुमै यो कुरो प्रस्ट्याइ सकेको छु । मेरो होइन भने त मैले भन्ने कथा ग्रीष्म बहादुर देवकोटाको ‘नेपाली राजनैतिक दर्पण’ भाग ३ अथवा ऋषिकेश शाहको ‘पोलिटिक्स इन नेपाल’ पढ्दा पुग्छ। मैले किन लेखिरहनु पर्यो ? त्यसैले मैले प्रारम्भ देखिनै भनिरहेको छु, म साना साना पक्ष उजागर गर्दै छु । केही उदाहरणसहित जसले आफ्नै खाले राजनीति र राजनैतिक संस्कारको विकास गर्यो । म सिंगो नेपालको कथाहरु बीच केही प्रतिनिधिमूलक घटना र थोरै ठाउँहरुको मात्र वर्णन गर्दैछु । मेरो तर्क के हो भने रास्ट्रिय परिदृश्य सृजना गर्नमा यी साना घटना र संस्कार-संस्कृति कारक थिए।
यी साना घटनालाई नजिकबाट देखिरहेको थिएँ यसकारण म वर्णन गर्न सक्षम छु । अनुसन्धानका आँखाले हेर्दा यो अलिकता सहभागीमूलक पर्यवेक्षण (participant observation ) पनि हो । तर कतिपय घटनाहरुको बारेमा म त्यो बेलाका महत्त्वपूर्ण पात्रहरुसंग कुराकानी (interview) पनि गरिरहेको छु । त्यसैले मैले अनुसन्धानको धर्म पनि छोडेको छैन । मसंग कुरा गर्ने केहीको नाम लिनेछु । केहीको नाम वहाँहरुको अनुमति नभएकोले लिएको छैन । केही विवादित घटनाको बारेमा सबैका विचारहरु पनि समेटिने छन् । यस्ता विषयहरुको सत्य निरुपण गर्ने जिम्मा म तपाइँ पाठकहरुलाई नै छोड्ने छु।
आज र यस पछिका घटनामा म आफैं पात्र पनि हो र दर्शक पनि । त्यसैले कोही बेलामा ‘म’ आउँदा कथा मेरो आफ्नो हो भन्ने नठानियोस् भन्ने आग्रह छ । त्यस बेलाका एक जना महत्त्वपूर्ण पात्र दामोदर उपाध्यायले पर्यबेक्षकको रुपमा मात्र होइन पात्रको रुपमा पनि विवरण दिन सुझाउनु भएको छ । जर्मनीमा रहनु हुने मित्र लिलाराज कार्की, प्राज्ञ नरनाथ लुइटेल र कवि तथा लेखक वि. कडिन्यले पनि घटनाहरु स्मरण गराउने काम गरिरहनु भएको छ । त्यस बेलाका अखिल पाँचौं, छैठौं तथा नेवि संघमा सक्रिय मित्रहरु पनि यस लेखन प्रकृयामा महत्त्वपूर्ण श्रोतको रुपमा हुनुहुन्छ ।
फेरि २०३७ सालको सन्दर्भतिर लागौं । सन्दर्भ नेपाल बन्द ।आज-भोलि गरिने नेपाल बन्द र त्यसबेला भएका नेपाल बन्दमा तात्त्विक फरक छ । २०३७ सालको चैत १४ गते अखिल पाँचौं र २४ गते अखिल छैठौंले गरेको नेपाल बन्द इतिहासकै पहिलो देशब्यापी रुपमा भएको बन्द हो । यो दमनकारी व्यवस्थाअन्तर्गत विद्यार्थी संगठनहरुबाट आहवान गरिएको थियो तर उनीहरुका माउ पार्टीहरुको निर्देशन र नेतृत्व थियो तर पूर्ण व्यवस्थापन विद्यार्थीहरुले नै गरेका थिए । यो इतर राजनीतिक पार्टीहरुको शक्ति परीक्षण थियो । यसको समर्थनमा बन्द गर्दा स्वयम् व्यवसायी र उद्योगीहरु पनि पुलिस प्रशासनको तारो हुने गर्दथे । काठमाण्डौमा त्यतिखेरको नेकपा (माले) को दह्रो आधार बनिसकेको थियो । विशेषगरी स्थानीय नेवार समुदायबीच ।ललितपुर जस्ता ठाउँहरुमा चौथो महाधिवेशनबाट फाटेका हाँगाहरुको विशेसगरी नेकपा (मसाल)को राम्रो आधार थियो । तुलसीलाल अमात्य, मनमोहन अधिकारी र सिद्धिलाल महर्जनहरुको पकड स्थानीय किसानहरुको बीचमा राम्रो पकड थियो । आन्दोलनमा प्रत्यक्ष वा परोक्ष समर्थन उनीहरुको पनि हुन्थ्यो । म त्यतिखेर पाटनमा बस्थें र अखिल पाँचौंको जिल्ला कमिटीमा राखिएको थिएँ । मैले यसअघि नै भनिसकेको छु, ‘सैद्धान्तिक स्तर’ यसको आधार थियो । मसंग कुनै सांगठानिक अनुभव थिएन त्यसबेलासम्म । त्यतिबेला केदार संजेल (पछिल्लो कालमा सभासद पनि हुनुभयो र अहिले पनि नेकपामा सक्रिय हुनुहुन्छ) संगै डेरा थियो र वहाँकै करबल र प्रेरणाको कारणले त्यो काम थालियो । त्यसैले जिल्ला स्तरमा म पनि नेपाल बन्दको तयारीमा लाग्ने नै गर्थें, एउटा कार्यकर्ताको हिसाबले । नेतृत्वमा पाँचथरका सुरेन्द्र ढकाल थिए । तर स्थानीयहरुमा मधु चालिसे, मिठाराम शर्मा बजगाईं, बिन्दु श्रेष्ठ लगायतका मित्र थिए । काठमाण्डौ जिल्लाको नेतृत्व त्यतिखेर अच्युत गौतमको नेतृत्वमा थियो, उनी त्रिचन्द्र क्याम्पसको युनियनका सभापति पनि थिए ।
केन्द्रमा टंक कार्की, नन्द कन्दंगवा, ठाकुरचन्द्र श्रेष्ठ, गौरी प्रधान, कोमल भटराई, लक्ष्मी मानन्धर, घनश्याम भुसाल आदि थिए । यसैगरी अखिल छैठौंको नेतृत्व प्रखर वक्ता लीलामणि पोखरेल, पम्फा भुसाल आदिको थियो । ललितपुरतिर त्यतिबेला दिपेन्द्र श्रेष्ठ लगायतका स्थानीयहरुकै नेतृत्व थियो ।
केही सैद्धान्तिक पक्षहरू मैले सुक्ष्म विषयमा लेख्न रहर गरेको कारण स्थानीय राजनैतिक संस्कृतिको विषय उजागर गर्न पनि हो । यो बेलाको (Revolutionary romanticism) क्रान्तिकारी प्रणय उल्लेखयोग्य छ । त्यतिबेला माओ ज्याकेट सबैमा प्रिय थियो । हामी प्राय हरियो ज्याकेट (जो बजारमा छ्याप्छ्याप्ती पाइन्थ्यो) लगाउँथ्यौँ । त्यसैले अखिलहरु चिन्न सुराकीलाई पनि सजिलो थियो । केटाहरु प्राय स्थानीय पसलमा सिलाइएका जिन्स पाइण्ट लगाउँथे । अझ खैनी खानेहरुले स्टाइलसंग पछाडिको पकेटमा सुगन्धित खैनीको बट्टा राख्थे ।
हामीहरुलाई महिला विद्यार्थीहरुलाई सम्मान गर्न सिकाइन्थ्यो । प्रेमभावभन्दा पनि क्रान्तिकारी भाव सिकाइन्थ्यो । त्यसैले उनीहरु लामो समयसम्म संगै काम गरे पनि केहीलाई छोडेर प्रेम सम्बन्ध बनाएनन् । पछि पछि उनीहरु धेरैले दु:ख मनाउ गर्थे अखिलले उनीहरुको स्वाभाविक यौवनजन्य व्यवहारलाई दमित गर्यो भनेर। एक अर्थमा उनीहरुको भनाइ स्वाभाविक थियो । उनीहरु नजिक थिए तर अनुशासनको कारणले दमित थिए । एक विद्यार्थी नेता एक महिला विद्यार्थीसंग गहिरो प्रेममा थिए तर पछि छुट्यो । कारण थियो सम्बन्धमा प्रेमभावको प्राधान्यता थियो तर अभिव्यक्ति थिएन ।
त्यतिबेरसम्म प्रख्यात भारतीय वाम लेखिका महास्वेता देवीका उपन्यासहरु काठमाण्डौमा पाइन थालेको थियो । धेरैमा जेलनेलका विषयहरु गौरवको विषय हुन थालेको थियो । जेल परेको भने पछि एक प्रकारले सम्मान आर्जन गर्न थालिएको थियो । मानौँ क्रान्तिको काम रोमान्चक हुन्छ । यस्तै भावका गीत हरु पनि आएका थिए।
धेरै नै टाढा छ हामी पुग्ने ठाउँ
लगातार अघि बढ्दै जाउँ.……
महिलाहरुलाई संगठन ल्याउने सजिलो उपाय भनेको उनीहरुलाई कलाकार हुन प्रेरित गरिन्थ्यो । लोचन भट्टराईको गीत र उनको लोकप्रियताले धेरै स्थानीय महिला विद्यार्थीहरुलाई प्रेरित पनि गरेको थियो ।
अखिल पॉचौं र छैठौंसंग र उनीहरुका माउ पार्टीसंग सम्बन्धित अलग-अलग सांस्कृतिक समूह थिए । संकल्प र साधना परिवार । त्यस्तै साहित्यिक पत्रिकाहरु पनि आ-आफ्नै हुन्थे । तिनीहरु आफ्ना पहिचान बनाउन प्रयत्न गर्थे । उदाहरणको रुपमा संकल्प भन्ने पत्रिकालाई लिन सकिन्छ । एकताका त्यसले सबै ह्रस्वमा मात्रै लेख्थ्यो । तर्क थियो जनताको भाषा बनाउने । किताब पसलहरु पनि आ-आफ्ना थिए । भेट्ने ठाउँहरु पनि आ-आफ्ना थिए । केही सैद्धान्तिक पुस्तकहरु, विदेशी प्रकाशनहरु प्राय सबै पुस्तक पसलमा हुन्थे । तर नेपालका प्रकाशनहरु भने आ-आफ्ना विचार र राजनीति दिने सामग्रीहरु यस्ता पसलहरुमा पाइन्थे । आ-आफ्ना पार्टी र नेताहरुका लेखनहरु खोज्न यस्ता ठाउँमा धाउनु पर्थ्यो । पाटन, भोटाहिटी, ठहिटी आदि ठाउँहरुमा यस्ता पुस्तक पसलहरु हुन्थे । भोटाहिटीको वैद्यको पसल लगभग दुवैको साझा जस्तो थियो । पाटनको पसलमा संजय थापाको ‘खुइते कडरिया’ पाइन्न थियो । त्यस्तै छैठौंसंग सम्बन्धित लेख रचनाहरु ‘लालिमा पुस्तक’ पसलमा पाइन्न थियो । भेला हुने ठाउँ पनि अलग-अलग जस्तै हुन्थे । कांग्रेस वा नेवि संघसंग सम्बन्धितहरु त्यतिबेला पनि न्यूरोड पीपलबोटतिर भेट्ने गर्थे । त्यतै पत्रिका किन्ने र पढ्ने गर्थे । अरुका लागि भने अन्य सुरक्षित ठाउँहरु रोजिन्थ्यो । पढाई पछिको सामाजिक जीवन प्राय राजनीतिक सम्बन्धको आधारमा हुन्थ्यो । थोरै मात्र खेलकुदसंग सम्बन्धित हुन्थे । खेलकुद परिषदमा अझै पनि ‘मण्डले’ हरुकै वर्चस्व थियो र अलि हुने-खानेलाई मात्र त्यहाँ गएर खेल्ने मौका हुन्थ्यो ।
यसरी फरक-फरक स्कुलिङ्ग थियो विद्यार्थीहरुको बीचमा। आफ्नै खाले गीत थिए । आफ्नै खाले साहित्य र साहित्यिक श्रोत थियो । आ-आफ्ना खाले राजनीतिक संस्कार विकसित गरिंदै थियो । क्रान्तिकारी ‘रोमान्टिसिज्म’ पनि सबैमा थियो, आ-आफ्नो प्रकारको । क्याम्पसहरु साना-साना निहुँमा बन्द गरिन्थ्यो । जस्तो आन्दोलन भए पनि समर्थन गर्नुपर्छ भन्ने बुझाइ थियो । किनभने आन्दोलनहरु सबै पंचायतविरुद्ध परिलक्षित छन् भन्ने अर्थ लगाइन्थ्यो ।
चैत्रको नेपाल बन्दको घोषणा भएपछि भित्ताहरु रंगीन थाले, पर्चाहरु छरिन थाले । चाँडो निकाल्नु पर्यो भने लिथो गरेर छरिन्थ्यो । प्रहरीहरु सक्रिय थिए, धरपकड तीव्र बनाइएको थियो । काठमान्डौ र ललितपुरका धेरै विद्यार्थीहरु भित्तेलेखनको क्रममा गिरफ्तार भएका थिए । क्याम्पसबाहेक शहरी क्षेत्रमा भित्ते लेखन राति गरिन्थ्यो । धेरैजसो अवस्थामा दिउँसै तयार पारेको पोस्टर र गम लिएर पोस्टर टाँस्न राति जानु पर्दथ्यो । पुलिसको डर त छँदै थियो, त्योभन्दा ठूलो डर थियो कुकुरको । पाटनका सुनसान सडकहरुमा पोस्टर टाँस्न पुग्दा कुकुर भुकेर हैरान पार्थे । मानिसहरु ब्यूँझिएर टाँस्न दिँदैनथे । त्यसैले अलिक पछि बिस्कुट बोकेर हिंड्ने चलन पनि चलेको थियो । बिस्कुट फ्याँके पछि कुकुरहरु चुइँ चुइँ गर्दै बिस्कुटतिर लाग्थे । तर पाटनको गा;बहालजस्तो सघन बस्तीमा दसौं कुकुर एकैचोटी भुक्थे र कहिले कहिले त पुलिसको ध्यानाकर्षण पनि गराउँथे । तर पनि रमाइलो हुन्थ्यो गमको भाँडो र पोस्टरको रोल बोकेर अँध्यारो गल्लीतिर दौडन्थ्यौँ हामीहरु ।
पोस्टरिङ्गका केही रोमाञ्चक अनुभव मसंग पनि छन् । सातदोबाटो निवासी एक जना साथी मधु चालिसे साह्रै सक्रिय हुनुहुन्थ्यो, हट्टाकट्टा र अग्लो हुनुहुन्थ्यो । अलिक निडर स्वभावको पनि हुनुहुन्थ्यो । म पनि अग्लै थिएँ र सारै फिस्टे थिएँ । हामी दुईजना भएपछि भर्याङ पनि नचाहिने । हामीलाई पोस्टरिङ्ग गर्न गा:बहालमा खटाइयो । अहिलेको नगरपालिका भएको ठाउँदेखि अलिक अगाडी मंगलबजार जाने र गा:बहाल शुरुहुने सडकमै । वहाँले तपाई हलुका मान्छे मेरो काँधमा चढ्नुस् अनि भित्तामा टाँस्नुस भन्नुभयो । वहाँले मलाई बोकेर सडकपट्टि फर्किनु भयो । म भित्तापट्टि फर्केर टाँस्न थालें । म भित्तापट्टि फर्किएकोले सडकतिरको गतिविधि देख्दिनँ थिएँ । तर वहाँले सडकतिर हेरिरहनु भएकोले देख्नु हुन्थ्यो । वहाँले प्रहरी भ्यान नजिकै आइपुगेको देख्नुभएछ । त्यसैले भाग भन्दै दौडिनुभयो गल्लितिर । म गर्ल्याम्म भुइँमा खसेर लडेँ । त्यसपछि उठेर अँध्यारो गल्लितिर छिरेर भागेँ । एक/डेढघण्टा पछि आएर हेर्दा हाम्रा पोस्टर रोलहरु र गम पुलिसले लगिसकेको रहेछ ।
चैत १४ गतेका पोस्टर र भित्ते लेखनमा पनि राजबन्दी रिहा गर्ने, जनवादी शिक्षा लागू गर्ने, महंगी घटाउने, निशुल्क शिक्षाको व्यवस्था गर्नेसहित अमेरिकी, सोभियत र भारतीयहरुको विरोधमा लेखिने वामपन्थी नाराहरुले भरिएका थिए ।
चैत १४ आफैँमा धेरै रोमान्चक थियो । त्यसदिन पुलिसले सक्रिय विद्यार्थीहरु प्राय सबै क्याम्पसबाट लगिसकेको थियो । नेतृत्वलाई सजगतापूर्वक जोगाइएको थियो । त्यसदिन हरियो ज्याकेट लाएर हिँड्ने, त्यस्तो ज्याकेटभित्र पाउरोटी बोकेर हिँड्ने सबैलाई पुलिसले बाटबाटै समात्यो । त्यतिखेर अखिलको काठमाण्डौ जिल्ला कमिटीमा महाराजगंज क्याम्पसमा अध्ययनरत खगेन्द्र दाहाल हुनुहुन्थ्यो । पुलिसबाट वहाँ बच्दै काम गर्दै हुनुहुन्थ्यो तर चैत १४ मा पसल बन्द गर्ने क्रममा वहाँलगायत धेरैजना गिरफ्तारीमा पर्नु भयो । अरुलाई महेन्द्र पुलिस क्लबमा लगियो । तर वहाँलाई हत्कडी पनि लगाइएन र नयाँसडक पीपल बोटको अग्लो ठाउँमा उभ्याइयो । प्रहरी अलिपर बसिरहे तर उनलाई भाग्न नसक्ने गरी पहरा दिइरहे । वहाँलाई धेरै विद्यार्थीहरुले चिन्दथे । त्यहाँ नजिकै आएपछि अखिलकाहरुले ‘हेलो खगेन्द्र जी’ भन्दै हात उठाउँथे । जसले वहाँलाई अभिवादन गर्थे पुलिसले उसैलाई समाएर पुलिस क्लब पठाउँथ्यो । वहाँलाई च्याँखे थापेर पुलिसले करिब १५ जनालाई समात्यो ।
काठमाण्डौबाट सयौँ विद्यार्थी कार्यकर्ता समातिए । धेरैलाई लामो समयसम्म ठाउँ फेरि फेरि बन्दी बनाइयो । फेहरिस्त दिनु पर्यो भने लामो हुन्छ । तर उदाहरणको निम्ति हाल नेपाली कांग्रेस धनकुटाका कार्यकर्ता, एक जमानामा अखिलको केन्द्रिय कमिटीको सदस्य र त्यसबेला त्रिचन्द्र क्याम्पस सह-प्रारम्भिक कमिटी सदस्य चुडामणि धमला । उनलाई डिल्लीबजार लगियो, भद्रगोल लगियो, भैरहवा लगियो, स्याङ्जा लगियो र छोडियो । वहाँले त्यहीबेलामा आरके मैनालीलगायत विभिन्न पार्टीका राजनीतिक पार्टीका नेताहरु भेट्नुभयो । यस्तै मधु चालिसेलगायत पाटनका थुप्रै नेता कार्यकर्ताहरुलाई नख्खु जेल लगियो । वहाँहरु पनि राजबन्दीहरुको प्रत्यक्ष सम्पर्कमा रहनु भयो । त्यहीबेला जेलमै हुँदा चिच्याई चिच्याई ”हामी जित्ने छौं, हामी जित्नेछौं, हामी जित्ने छौं एक दिन.… “ गाइरहनु हुन्थ्यो । यस आन्दोलनले राजबन्दीहरुसंग विद्यार्थीहरुको सीधा सम्पर्क बढायो, त्यसपछि विद्यार्थीहरु राजबन्दीहरु भेट्न नख्खुलगायत विभिन्न जेल जान थाले, मासु र औषधि बोकेर।
चैत १४ जस्तै, चैत २४ पनि राष्ट्रव्यापी बन्द भयो । अखिल छैठौंका धेरै नेता कार्यकर्ता समातिए, कुटिए । यी दुवै बन्दले ‘सुधारिएको पंचायत’ विरुद्ध जनमत दह्रो बनाउन मद्दत गर्यो र दुई धारमा रहेका कम्युनिष्ट समूहहरुले आ-आफ्नो जनाधार दह्रो भएको दावी गर्ने आधार पनि बनाए। रमाइलो कुरा के हो भने प्रत्यक्ष संलग्न नभए पनि परोक्ष रुपले एक अर्कालाई सघाए- विरोध नगरेर ।
क्रमस…….
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण