गलकोट । उमेरले ३९ वर्ष, पोखराको बोर्डिङ स्कूलमा पढाउँदा–पढाउँदै डिभी पर्यो बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराकी तुलसी थापालाई । शुरुमा त उनलाई डिभी पर्यो भनेर पत्यार लागेन तर डिभी परेको सत्य थियो । साथीको लहडमा डिभी भर्नुभएकी थापा डिभी परेको यथार्थ भएपछि खुशी र उत्साहले फुरुङ्ग बन्नुभयो ।
त्यसबखत तुलसीका ६६ वर्षीया आमा हरिकला थापालाई गाउँ, छिमेकी र आफन्तले भनेका थिए, “ओहो ! तिमी र तिम्री छोरी त कति भाग्यमानी रहेछौँ । छोरी अब अमेरिका जाने भइछिन् ।” डाइभर्सिटी भिसा (डिभी) को सबै प्रक्रिया पूरा गरेर २०७५ कात्तिक १५ गते तुलसी अमेरिका उड्नुभयो ।
अमेरिकाको टेक्सास शहरमा आफन्तको सहयोगमा काम पनि मिल्यो । दिन राम्रै चल्दै थियो । तुलसीको व्यक्तिगत र पारिवारिक जीवनमा खुशी नै खुशी झुल्दै थियो । तुलसी अमेरिका पुगेपछि नै हो–बूढेसकाल लागेकी आमाले स्मार्ट फोन देखेको । तुलसीले नै आमासँग भिडियो कल गर्नुपर्छ भनेर स्मार्ट फोन पठाइदिनुभएको छ । अझ घरमा इन्टरनेट जोड्ने पनि भन्नुभएको थियो । सबै खालको प्रयास गर्दा पनि गाउँमा सजिलै इन्टरनेट जोड्न नसकेपछि तुलसीले अमेरिकाबाट दिदीलाई भन्नुभयो, “आमालाई डाटा लिएर भिडियो कल गर्न सिकाइ दिनु ।”
दुई दिदीबहिनी र एक दाजुमध्येकी कान्छी छोरी हुन् तुलसी । अमेरिकाबाट पछिल्लो पटक मङ्सिरमा महिनामा पैसा पठाउँदा तुलसीले दिदीसँग भन्नुभएको थियो, “आमालाई सुनका बाला बनाई दिनु ।” अमेरिका पुगेपछि तुलसीले पटक–पटक दोहोराइ रहनुहुन्थ्यो, “बाबा बितिहाल्नुभयो, आमालाई अमेरिका ल्याएर घुमाउने रहर छ ।”
तुलसीको आमालाई अमेरिका घुमाउने रहर मात्र होइन, जीवनका सारा सपना अमेरिका पुगेको १४ महिनामै टुटेको छ । विसं २०७६ पुस १० गते बिहान बाथरुममा नुहाउँदा नुहाउँदै बेहोस भएकी तुलसीको अस्पताल पुर्याउँदा पुर्याउँदै मृत्यु भयो । तुलसीको मृत्यु भएको आठ महिना बिते पनि आमा हरिकला थापाको आँखा भने अझै ओभाएका छैनन् ।
छोरीले अमेरिकाबाट रु ७०/८० हजार पठाउँदा खुशीले फुरुङ्ग हुने तुलसीका आमा छोरीको नामले राहतस्वरुप रु १० लाख पठाउँदा पनि अनुहारमा कुनै उत्साहको रङ्ग देखिएन । बरु भाव शून्य भएर एकहोरो आँखाबाट अश्रुधारा बगिरह्यो । अमेरिका पुगेको छोटो समयमै सामाजिक अभियानमा पनि सक्रिय थापा नेपाल मगर सङ्घ टेक्सास कमिटीको सदस्य भएर काम गरिरहनुभएको थियो । थापाको निधनपछि अमेरिकामै रहेको नेपाल मगर सङ्घ अमेरिकाले राहत सङ्कलन अभियान चलाएर सङ्कलित रु १० लाख ५८ हजार ७६४ को चेक तुलसीका आमा हरिकलालाई बागलुङ बजारमा एक कार्यक्रमका बीच हस्तान्तरण गरियो ।
हातमा रु १० लाखको चेक पर्दासमेत आमा हरिकलाका आँशु र बहिनीको माया र सम्झनाका सामु रु १० बराबर पनि नभएको तुलसीकी दिदी मनकुमारी बताउनुहुन्छ । “पैसा सबै कुरा होइन रहेछ”, उहाँले भन्नुभयो, “बहिनीको मृत्युपछि हाम्रो दुःख पीडालाई कम गराउन मगर सङ्घ अमेरिकासँगै विभिन्न सङ्घसंस्थाले धेरै सहयोग गर्नुभएको छ, हातमा पैसाका बिटा भए पनि त्यसमाथि बहिनीका आँशुका बाछिटा छन् जस्तो लाग्छ ।”
विदेश गएपछि पैसाका लागि अनवरत काम गर्नुपर्ने विवशता भए पनि आफ्नो जीवन र स्वास्थ्यको पनि विशेष ख्याल गर्न बिर्सन नहुने तुलसीका आफन्त तथा स्थानीय तारा थापाले बताउनुभयो । “पैसा मात्र केही होइन रहेछ, मुख्यतः जीवन नै हो, बाध्यताले जहाँ जहाँ जानु परे पनि स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्दछ भन्ने पाठ यो घटनाले पनि दिएको छ”, थापाले भन्नुभयो, “अहिले विदेशमा भएका सबैजसो व्यस्त छन्, तर आफू र आफ्नो जीवन बिर्सिरहेका छन् । यो हाम्रा लागि निकै महँगो सावित हुनसक्छ, जतिसक्दो ख्याल गरौँ ।”
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा