बिहीबार, साउन २९ २०७७ | Thu, August 13, 2020
नेपालको समय: १६:२१ | UK Time: 11:36

“मेरो आधा शताब्दी” प्रकाशन वर्षगाँठको सन्दर्भमा

सुरेन्द्र श्रेष्ठ
२०७७ साउन ७ गते २१:४५

आफूबारे लेखिएको पुस्तक “मेरो आधा शताब्दी “ विमोचन गरेको एक वर्ष पुगेछ । पचास वर्ष पुगेको अवसरमा प्रकाशित गर्ने उद्देश्य केही कारणले सफल हुन सकेन । कहिलेकाहीं खै किताब नै किन लेख्नु पर्यो र ? मेरो जीवनी पढेर कसलाई के उपलब्धि होला र भन्ने सोच पनि आयो । हुन त प्रायजसो लेखहरु पूरा भैसकेको थियो । कहिले कसरी प्रकाशन गर्ने भन्ने प्रमुख विषय थियो । लण्डनमा नै एक कार्यक्रमसहित पुस्तक विमोचन गर्ने भन्ने नै थियो । मेरो जन्म दिन सेप्टेम्वर १५ का दिन गर्नु पर्छ कि भन्ने सोचियो तर त्यही समयमा एनआरएनको चुनावी माहोल थियो । सकेसम्म त्यसैको वरिपरि गर्ने नभए ठूली छोरीको पढाई पनि सकिने उसैको जन्मदिन डिसेम्बर ३० मा अंग्रेजी नयाँ वर्ष पनि मनाउनु पर्छ कि भन्ने निर्णय नजिक पुगेका थियौं ।

गत वर्ष जुलाई २२ गते हाम्रा पूज्य बुवाको जन्कु (८४ पूजा) तेश्रो पटक( ८७ वर्ष ७ महिना ७ दिन ) गर्ने साइत जुरेको खबर घरबाट केही समय अगाडी मात्रै आयो । यही वर्ष दुईपटक नेपाल, मेक्सिको, पानीजहाजमा होलिडे गर्दा धेरै समय बाहिर नै हुँदा खै कसरी मिलाउने होला भन्दाभन्दै केही समय बित्यो । सानी छोरीको पनि स्कुल छुट्टी भएको हुँदा हामी तीनजना जाने नै  निर्णय भयो । ठूली छोरीको भने ब्यारिस्टर बन्ने अन्तिम तयारीमा भएको हुँदा समय मिलाउन सम्भव भएन ।
नेपाल जाने नै निर्णय भएपछि मलाई आफ्नो पुस्तक बुवाकै हातबाट गर्न पर्छ जस्तो लाग्यो । घर सल्लाह भयो सबै जना सहमत हुनु स्वाभाविक थियो । तयारीको लागि त्यति धेरै समय बाँकी थिएन । अलि धपेडी त भयो तर दृढ इच्छा शक्ति र सबैको सहयोगले निर्धारित समयमा नै सबै तयारी पूरा भयो ।
करिब ५०० जना  आफन्त,नातागोता हामी तीनैजना दाजुभाइको सम्भव भए सम्मका साथीहरु, गुरुहरु, शुभचिन्तकहरु उपस्थित उक्त अवसर हामी सबैको लागि अति महत्वपूर्ण र स्मरण योग्य भयो। धेरै समय पछि यति धेरै आफ्ना मान्छेहरुसँग भेट हुन पायो। करिब २०० जना जतिको सभाहलमा हाम्रो बुवा, मेरो ससुरा बुवा तथा पूर्व प्रधान न्यायाधिश कल्याण श्रेष्ठ लगायत पूर्व मन्त्री माननियहरु अमृत बोहरा, अग्नि सापकोटा, पम्फा भूषाल, लिलामणि पोख्रेल, शशी श्रेष्ठ, कल्पना धमला, दाइहरुबाट सामूहिक रुपमा मेरो पुस्तकको विमोचन भयो।
पहिलोपटक १ हजार प्रति पुस्तक छपाई गरेका थियौं । मैले लण्डनमा २०० प्रति ल्याएँ । नेपालमा बिक्री बितरण गर्न केही ठाउँमा दिएको छु । हालसम्म के कति पुस्तक बिक्री भयो भन्ने विवरण प्राप्त भएको छैन । म आफैंले केही स्थान विशेषमा गएर बिक्रीबितरण मिलाऊ भन्ने भएपनि आफ्नै जीवनीलाई लिएर किन हिँड्नुजस्तो लाग्यो ।
नेपालबाट फर्कने बित्तिकै अगस्त पहिलो सातामा भएको  एनआरएनको यूरोपियन क्षेत्रीय भेलामा केही पुस्तक बोकेर इटाली पुगेको थिएँ । एकप्रति पुस्तक जीवा लामिछानेलाई दिनुबाहेक अरु केही गर्ने जाँगर चलेन । त्यसपछि अगस्त १७ मा बेल्जियमको एनआरएन निर्वाचनमा जाँदा पनि केही प्रति पुस्तक लिएर गएँ तर फर्किने बेलामा प्रकाशजीको पसलमा छोडेर आएँ । सेप्टेम्बर ५ -११  सम्मको अष्ट्रिया, चेक, स्लोभाकिया र हंगेरीको भ्रमणमा धर्मराज खतिवडा र दिपेन्द्र हिमालय कार्कीलाई एक/एक प्रति दिएको थिएँ ।
अक्टोवरमा काठमाण्डौँमा भएको सम्मेलनमा एउटा स्टल जस्तो बनाएर पुस्तक बेच्ने हो कि भन्ने सोच आएको थियो। यसअघिका सम्मेलनमा पनि यसरी पुस्तक बेचिने गरिएको थियो तर आम पुस्तक भएको भए जोश जाँगर आउँथ्यो आफ्नै जीवनी अरुलाई किनेर पढौं भन्न त्यति सहज लागेन ।  त्यहाँ पनि मित्र चन्द्रबहादुर रोकायालाई एकप्रति मात्र दिइयो ।
एनआरएनको भाषा साहित्य सँस्कृति तथा सम्पदा प्रबर्धन  समितिले ले अक्टोवर १२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा डायस्पोरा सम्बन्धी साहित्य कार्यक्रममा केही पुस्तकहरुपनि विमोचन गर्दैछ भन्ने जानकारी प्रमुख गोविन्द गौतमजीले गर्नुभएकोले हतार हतार तीन प्रति किताब लिएर त्यहाँ गएँ। प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको हातबाट अन्य केहीसहित मेरो पुस्तक पनि दोस्रो पटक विमोचन पनि भयो ।
पुस्तक प्रकाशित भएपछि केही मित्रहरुका समीक्षा प्रकाशित भए, कतिले फोनमा पढेपछि लागेका कुराहरु व्यक्त गर्नुभयो । पहिलो समीक्षा मित्र साहित्यकार सन्तोष पराजुलीले नेपालकै दैनिक अनलाइनमा छपाउनुभएछ । उहाँले सुनाउनुभएको एउटा कुरा– विदेशी अनुभवहरु समेटिएका अझ जीवनी नै भनेर छापिएका सीमित पुस्तकहरुमध्ये यो पुस्तक भविष्यमा विद्यार्थीहरुका लागि शोधको महत्वपूर्ण सामाग्री बन्नेछ भन्नुभएको कुराले मलाई हर्षित बनाएको थियो । अर्का भाइ म जन्मेकै गाउँको श्रद्धेय गुरु जगलाल श्रेष्ठका सुपुत्र पत्रकारितामा समेत संलग्न दीपेन्द्र श्रेष्ठले चौताराबाट प्रकाशित हुने जुगल खबरमा ‘समयको चालवाज मेरो आधा शताब्दी’ शीर्षकमा आएको थियो । जसले गर्दा स्थानीयस्तरमा पनि पुस्तक बारेको जानकारी पुगेको थियो । एकदिन एकाबिहानै फेसबुकमा अप्रत्यासित रुपमा लण्डनबाट दीपक गैरेजीले, ‘मेरो आधाशताब्दी सुरेन्द्र नेपाल श्रेष्ठको उतारचढावको जीवन कहानी’ भनेर पोष्ट गर्नुभएको थियो । उहाँले केही विषयमाथि गरेको टिप्पणी मेरो निम्ती मार्गदर्शक बनेको छ ।
नेपालबाट संसारन्युज र बेलायतबाट वीनेपालीले समय समयमा उक्त पुस्तकमा समेटिएका विषयहरु निरन्तर रुपमा पुनः प्रकाशन गरेर धेरैभन्दा धेरै पाठकहरुले आंशिकरुपमा भएपनि जान्ने पढ्ने मौका पाइरहेका छन् । मेरो प्रायः सबै अभियानलाई सहयोग गर्दै आउनुभएका मित्र दिनेश गौतमजीले मेरो पुस्तकबारे बडो रोचक ढंगले करिब ६ मिनेटको अडियो यूट्युबमा सार्वजनिक गर्नुभएको थियो । एवम् प्रकारले पाठकका रुपमा साथीहरुको प्रतिक्रियाले मलाई हौसला प्रदान गरिरहेको हुन्छ ।
बेलायतमा भएका कतिपय कार्यक्रममा साथीहरुलाई पुस्तक दिन्छु भनेर गाडीमा केही प्रति सधैं राख्ने गर्दथें तर कतै पनि पुस्तक निकालेर दिइहालुँ जस्तो लागेन । पुस्तकको बेग्लै कार्यक्रम आयोजना गरेर बोलाउला अनि एकै ठाउँ चर्चा परिचर्चा गरौंला भन्ने लागेर साथीहरुलाई दिने सोच त्यत्तिकै सेलाएर गयो । क्रिसमश, नयाँवर्ष, नेपाली नयाँवर्ष भन्दै जाँदा फेरि कोरोनाले सबै योजना अवरुद्ध पारिदियो । अक्टोबरमा नेपाल जान अगाडि मैले फेसबुकमा केही प्रति पुस्तक आएकोछ मेरो बारे विस्तृत बुझ्न चाहनेहरुले आफ्नो ठेगाना पठाउनु होला भनेको थिएँ । सेप्टेम्बर २८ मा  पहिलो पटक २१ जना साथीहरुलाई पुस्तक पोस्ट गरेको थिएँ । यो क्रम अहिलेसम्म पनि चलिरहेको छ । करीब १३० प्रति पुस्तक पोस्टबाट पठाएको रहेछु । डाँकखर्च २ पाउण्ड सहित इच्छा लागेको रकम पठाउन सक्नुहुनेछ भन्ने गरेको छु । ९३ जना साथीहरुले खातामा पैसा जम्मा गराइसक्नु भएको छ ।
पहिलो पुस्तक मैले छोरीलाई दिएको थिएँ । सायद मैले किताब हुलाकमार्फत साथीहरुलाई बिक्री गरिरहेको छ भनेर थाहा पाएर अन्य कुनै बहानामा मेरो बैंकको खाता नम्बर मागेकी थिइन् । केही दिनपछि ५० पाउण्ड जम्मा गरिदिएको रहेछ ।  त्यसले मलाई अचम्मित र खुशी दुवै दिलायो । त्यो प्रति पछि छोरी कायरो जाँदा महामहिम राजदुत झविन्द्र अर्याललाई दिनु भनेको थिएँ , भेटेर दिएछिन । छोरीलाई  धन्यबाद दिदै दुई प्रति पठाइदिएको थिएँ ।
एकदिन मित्र मिलन भट्टराईसँग कुरा भएको थियो । उहाँले म पुस्तक पढ्नेमा पर्दिनँ तर तपाइँको भएपछि पढौंला भन्नुभयो । मैले पुस्तकको मोल महङ्गो छ भन्दा उहाँले केही प्रति लिएर आउनोस्  न भन्नुभयो । केही दिनपछि लण्डन जाने काम थियो, उहाँलाई पनि सम्झेर मैले दुई प्रति पुस्तक साथमा लिएर गएँ । उहाँले खल्तीबाट पैसा दिदै यति छ राख्नुहोस् भन्नुभयो । घरमा आएर हेर्दा थाहा भयो ५०० पाउण्ड रहेछ । मिनु पनि सँगै थिइन् । हामी निकै खुशी भएका थियौं । अलिकति भावुक पनि भएका थियौं ।  त्यस्तै मित्र घनश्याम पौडेलले थोरै सहयोग गरेको छु भनेर टेक्स पठाउनु भएको थियो । खातामा हेर्दा २०० पाउण्ड रहेछ । मित्रहरु सुनिल खड्का ९९.९९, ध्रुव के.सी १०१, देवेन्द्र श्रेष्ठ १०१, दिनेश गौतम १०२ पाउण्ड खातामा हालीदिनु भएको रहेछ । धेरै साथीहरुले ५०, २५, २० पाउण्ड  दिनुभएको छ । यसरी मैले पुस्तक वापत ५.५५ देखि ५०० पाउण्डसम्म प्राप्त गरेको छु र यो क्रम चलिरहेको छ । मैले साथीहरु संग घरको ठेगाना माग्दा नेपालमा बिक्रि हुने सबै पुस्तक बाट उठ्ने रकम  लक्ष्मी प्रतिष्ठानलाई जाने हुदा प्रकाशन खर्च बापत  हुलाक खर्च दुइ पाउण्ड सहित जति मन लाग्छ सहयोग गर्नु होला भनेको थिय।
नेपालमा चलेका पुस्तकको सरदर मूल्य बेलायतमा ल्याउँदा १० पाउण्डसम्म हुन्छ तर साथीहरुले सत्कार्यमा लागिरहन उत्प्रेरणा दिइहनुभएको छ र मैले उहाँहरुको आफू अनुकुलको सहयोगलाई अमूल्य योगदानका रुपमा सम्झिएको छु । मैले पुस्तक वापत कसले कति दियो भन्नुभन्दा पनि पुस्तक किनिदिएर, पढेर मेरो अनुभव जान्ने कौतुहलताका साथै सद्भाव देखाउनुले मेरो निम्ती अमूल्य प्रेरणा बनेको छ ।
दुई जना साथीहरुले मेरो पनि ठेगाना माग्नु भएको थियो  एक जनाले आफूले प्रकाशन गर्नु भएको पुस्तक पठाई दिनु भयो । खुशी लाग्यो । एक जना मित्रले स्वीजरल्याण्डबाट पुस्तक मगाउनु भयो । मैले पोस्ट गरें । वहाँले पैसा पनि हुलाकबाटै पठाउनु भएछ । लामो समयपछि ठेगाना नमिलेकोले वहाँकैमा पुगेछ । पछि फेरि सही ठेगानामा पठाउनु भयो । अमेरिकाबाट रामकुमार विमलीजीले खै हामीले चाहिँ पढ्न नपाउने भनेर पटक-पटक लेख्नुभयो । संयोगले ससुरा बुवा कान्छी छोरी ज्वाइँ भेट्न लन्डन हुँदै अमेरिका जाँदै हुनुहुन्थ्यो । केही साथीहरुलाई पोस्ट गर्दिनु भनेर केही प्रति पठाएँ। पोस्ट त गरेछ विमलीजीको घर पुग्दा खाम मात्रै पुगेछ । किताब चाही खै कता झरेछ ! फोटो खिचेर पठाउनु भएको थियो ।
पोस्ट गर्ने क्रममा मैले  केही साथीहरुलाई  “मैले आफूलाई सकेसम्म निर्वस्त्र बनाउने प्रयास गरेको छु । कति सफल भए प्रतिक्रियाको आशासहित ” भनी लेखेको थिएँ । प्रतिक्रियाका बारेमा केही सेयर गर्न चाहन्छु ।
ओशो सन्यासी स्वामी म दाइ भन्ने गर्छु, सुभाष श्रेष्ठले भन्नुभयो– ‘स्वामीजी सामान्य मान्छेले १५० वर्षमा गर्न सक्ने (त्यो पनि चाह्यो भने) तपाईले त ५० वर्षमै सक्काउनु भएछ । के अब किताब लेखेर रिटायर्ड हुन लाग्नुभएको हो? ’
एकदिन मोहन गुरुङ दाइले फोन गर्दै भन्नुभयो,– ‘भाइ भर्खर सकाएँ तपाईको किताब । मलाई गर्न नपरे हुन्थ्यो भन्ने काम भनेको फिल्मी हेर्ने र किताब पढ्ने हो । विद्यार्थी कालपछि पहिलोचोटी तपाइँको पुस्तक पढेँ निकै राम्रो लाग्यो । बधाइ छ ।’
माधवलाल श्रेष्ठले– ‘धेरैपछि किताब पढे छोड्नै मन नलाग्नेगरी लेख्नुभएको रहेछ । कतिपय कुराहरु आफूलाई पनि थाहा भएको हुँदा झन मजा आउँदो रहेछ । अब किताब पढ्ने बानी लाग्ला जस्तो छ ।’
ध्रुव के.सी.दाइले, – ‘धत्तेरीका तपाईको किताब पढेर त मैले पनि धेरै पहिलादेखि लेख्दै र्र्याकमा थुपारी राखेको सबै लेखहरु बटुलेर छपाऊने जाँगर पो आयो । मलाई पनि जोश चलाइदिनुभएकोमा धन्यवाद । किताब लेख्नलाई ठूलो साहित्यकार वा सफल व्यक्ति नै हुनै पर्छ भन्ने भ्रम पनि आजबाट हट्यो ।’
केही दिनअघि मित्र सूर्य  गुरुङको फोन आएको थियो । ‘ओहो कति धेरै कुरा सम्झनुभएको ? तपाइसँग लामो परिचय, उठबस भएपनि यति धेरै कुराहरु थाहा थिएन । बेलायत आउनु पहिले पनि धेरै काम गरिसक्नु भएको रहेछ । सरल भाषामा लेखिएको र कतिपय ठाउँमा आफ्नो नाम पनि आउँदा रमाइलो नै लाग्यो र बिर्सिसकेका क्षणहरु ताजा भएर आए । विशेषगरी एनआरएनमा गरिएका सहकार्यहरु पुन एकपटक ताजगी भयो । कलम चलाइरहनुहोला ।’
मलाई नचिनेका एक जना कानुन ब्यवसायी मित्रले पूरा पुस्तक पढेको जानकारी मिल्यो । नचिनेको मात्रै हैन नाम समेत नचिनेको मान्छेको जीवनी पढ्दा कस्तो लाग्यो होला भन्ने अनुभव सुन्ने इच्छा लागेको थियो जुन अहिले सम्म मौका पाएको छैन । त्यो समयको पर्खाइमा अझै छु ।
हुन त यस पुस्तक अघि मेरो लेखहरुको सँगालो ‘नेपाल बेलायतबाट नियाल्दा’ पनि प्रकाशित भएको थियो । पत्रपत्रिकामा छापिइसकेका लेखहरुको संग्रह भएकोले त्यसबारे धेरै चर्चाको आवश्यकता पनि थिएन । कुनै साहित्यकारलाई आफूले प्रकाशित गरेका पुस्तकहरु आफ्ना सन्तान समान हुन्छन । प्रकाशित मिति, समय विवरण जन्मदिन जसरी सम्झने गरिन्छ भन्ने गरेको सुनेको थिएँ । मलाई पनि यो पुस्तक प्रकाशन भएको एकवर्ष अवधि भित्रका विविध क्रिया प्रतिक्रियाले बढी आशक्ति भएजस्तो लागेको छ । र्याकमा जम्मा गरिएका पुस्तकमध्ये आफ्नो पुस्तक पनि देख्दा एउटा बेग्लै अनुभूतिले अठ्याउँने रहेछ । एक वर्षमा तीनपटक फरक-फरक परिवेशमा यस पुस्तकको विमोचन भयो, जुन मेरो लागि खुशीको विषय हो । केही दिन अघिमात्र लण्डनमा भानुजयन्तीको अवसरमा नेपाली साहित्य विकास परिषद्ले आयोजना गरेको विविध कार्यक्रममा विमोचित चार कृतिमध्ये मेरो आधा शताब्दी पनि समावेश भएकोले आयोजकलाई मेरो तर्फबाट धन्यवाद । मेरो पुस्तक प्रकाशनको वर्षगाँठमा सबैप्रकारको सहयोग सद्भावना देखाउने जनहरुलाई हृदयदेखि नमन ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक