भारतमा टिकटकमाथि प्रतिबन्ध, चिनियाँ सामान बहिस्कार अभियान

तस्विर : एजेन्सी

नयाँदिल्ली (रासस एएफपी) । चीन र भारतबीच सीमाक्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्याँक चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप अस्वीकार गरेको छ ।

भारतका टिकटक प्रमुख निखिल गान्धीले एक विज्ञप्ति प्रकाशन गरी टिकटकले भारतीय कानुन बमोजिम प्रयोगकर्ताका सबै तथ्याँक विवरणलाई सुरक्षित राखेको बताएका छन । उनले टिकटकका प्रयोगकर्ताका कुनै पनि विवरणलाई चीन सरकार समेतका कुनै विदेशी सरकारलाई नदिइएको स्पष्ट पारे ।
श्री गान्धीले भविष्यमा समेत कुनै सरकारले प्रयोगकर्ताका विवरणका लागि अनुरोध भएमा पनि नदिइने बताउँदै टिकटकले प्रयोगकर्ताको गोपनीयतालाई सर्वाधिक महत्व दिइरहेको दावी गरे । उनले भारत सरकारले आफूलाई गोप्यताका विषयमा छलफल गर्न आमन्त्रण गरेको पनि जानकारी दिए ।

टिकटक चीनको बाइट–डान्स कम्पनीले निर्माण गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको भारत सरकारले सोमबार अबेर ५९ वटा चिनियाँ मोबाइल एप्समाथि एकैसाथ प्रतिबन्ध लगाएको थियो जसमा टिकटक पनि समावेश छ । एक अनुमान अनुसार भारतमा टिकटकका करिब एक करोड २० लाख प्रयोगकर्ता छन् । टिकटकका चीन बाहेक सबैभन्दा बढी ग्राहक भारतमा रहेका छन् ।

भारतीय सूचना प्रविधि मन्त्रालयले चिनियाँ एप्सका कारण भारतको सार्वभौमिकता र अखण्डता, भारतको सुरक्षा, राज्यहरुको सुरक्षा एवं सार्वजनिक जीवनमा चुनौती उत्पन्न भएको जनाएको छ । चीन र भारतीय फौजबीच लद्दाखमा गत जुन १५ मा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुबै देशबीच तनाबको स्थिति छ । यस क्षेत्रमा अहिले अतिरिक्त सुरक्षाफौज, लडाकू बिमान र अन्य उपकरण तैनाथ गर्नेक्रम जारी छ ।

यसैबीच, भारतमा चिनियाँ सामानको बिक्री तथा चीनबाट सामान आयातमा समस्या उत्पन्न हुन थालेको छ । गत साता, नयाँदिल्लीको एउटा प्रमुख होटल संघले आफ्ना सदस्य होटलहरुले चिनियाँ पर्यटकलाई आश्रय नदिने तथा चीन निर्मित सामान पनि प्रयोग नगर्ने घोषणा गरेको थियो ।

भारतमा चिनियाँ इलेक्ट्रोनिक्स वस्तुका उत्पादनहरुको पनि बाक्लो उपस्थिति रहेको छ । चिनियाँ मोबाइलहरु साओमी र ओप्पोले भारतको झण्डै ६५ प्रतिशत हिस्सा ओगटेको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री