मेलबोर्नमा कोरोनाभाइरस पुनः देखिएपछि परीक्षण

तस्वीर द टाइम्स

मेलबोर्न।अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा ठूलै संख्यामा कोरोनाभाइरसबाट संक्रमित देखिएको भन्दै शुक्रबार स्वास्थ्यकर्मी व्यापक परिचालन गरेर परीक्षण आरम्भ गरिएको छ ।

गए राति मेलबोर्नमा कोविड–१९ का नयाँ ३० जना संक्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । स्वास्थ्य अधिकारीहरुले अस्ट्रेलियामा कोरोनाभाइरस प्रसारको दोस्रो लहर आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । विगतमा अस्ट्रेलियाले कोविड–१९ को रोकथामका लागि निकै सफल मानिएको थियो ।

मेलबोर्नमा विगत १० दिनदेखि कोरोना संक्रमितको संख्यामा लगातार दुई अंकको वृद्धि देखिएको छ । छिमेकी भिक्टोरिया राज्यमा पनि यही अवस्था छ । तर अस्ट्रेलियाका अरु राज्यमा केही हप्तादेखि कोरोना संक्रमितको संख्या नगण्य मात्र छ ।

सरकारले गएको सप्ताहान्तदेखि मेलबोर्नका अति प्रभावित क्षेत्रमा झण्डै २०० सैनिक परिचालन गरेको छ । उनीहरुले कोरोनाभाइरसको परीक्षणमा स्वास्थ्यकर्मीहरुलाई मद्दत गरिरहेका छन् । स्वास्थ्यकर्मीहरु मानिसका घरघरै गएर स्वास्थ्य परीक्षणमा जुटेका छन् ।

अस्ट्रेलियाली सेनाले परीक्षणमा सघाउन शुरुमा एक हजार सैनिक खटाउने घोषणा गरेको थियो । सैनिकलाई विदेशबाट फर्केहरु दुई साताको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने नियमको पालना भए नभएको रेखदेख गर्ने जिम्मेवारी पनि दिइएको छ । तर राज्य सरकारले सेनाको संख्या कटौती गरी २०० मा झारेको छ ।

भिक्टोरियाका प्रधानमन्त्री डानियल एन्ड्रुजले तोकिएको क्षेत्रमा १० दिनभित्र एक लाख व्यक्तिको परीक्षण गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । राज्यका उपस्वास्थ्य प्रमुख अन्नालिस भान डिमिनका अनुसार २४ घण्टामा यहाँ करिब २० हजारको परीक्षण गरिएको छ ।

मेलबोर्नमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ह्वात्तै बढेपछि अधिकारीहरु तनाबमा परेका छन् । कतिपय राज्यहरुले भिक्टोरियाका नागरिकको सम्पर्कमा नआउन आग्रह गरिरहेका छन् ।

अस्ट्रेलियामा हालसम्म करिब सात हजार ५०० कोरोना संक्रमित भेटिएका र त्यसमध्ये करिब एकसय चार जनाको मृत्यु भएको थियो । करिब २ करोड ५० लाख जनसंख्या रहेको अस्ट्रेलियाका धेरैजसो स्थान अहिले भाइरसमुक्त भइसकेको विश्वास गरिन्छ ।

कोरोना संक्रमण तिब्र भएसँगै अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय सीमा र अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्नुका साथै सामाजिक दूरी समेतका आंशिक लकडाउनका उपायलाई कडाईका साथ कार्यान्वयन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री