स्पेनिस ला लिगा जुनको दोस्रो सातादेखि सुचारु हुने

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता जुन दोस्रो सातादेखि सुरु हुने भएको छ । कोरोनाभाइरस महामारीका बीच दुई महिनादेखि स्थगित रहेको प्रतिष्ठित फुटबल प्रतियोगिताहरू सङ्क्रमणको जोखिम कम भएलगत्तै सुरु हुने तयारी गरिएको हो ।

स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले जुन ८ देखि बन्द रङ्गशालामा ला लिगाका खेलहरू सुरु हुनसक्ने बताए । लिगका अध्यक्ष जाभियर टेबासले भने ला लिगा जुन १२ मा सुरु हुनसक्ने अनुमान गरे । ला लिगा खेल्ने खेलाडीहरू भने यसै सातादेखि प्रशिक्षणमा छन् । प्रशिक्षणमा दश खेलाडीभन्दा बढी जम्मा हुन दिइएको छैन् ।

प्रधानमन्त्री साञ्चेजले भने, “स्पेनले गर्नुपर्ने गरिसकेको छ, सबैका लागि नयाँ क्षितिज खुला हुँदैछ ।” उनले दैनिक गतिविधि पूर्वरत सञ्चालनको लागि समय आइसकेको बताए । ला लिगा अन्तर्गत रियल बेटिस र सेभिल्लाबीचको खेल पुनःसञ्चालनको पहिलो खेल हुनेछ ।

स्पेनको शीर्ष दुई श्रेणीका खेलाडीमा कोरोनाभाइरसको परीक्षण गर्दा पाँचजनामा पुष्टि भएको थियो । आइसोलेसनमा बसेर सङ्क्रमणमुक्त भई मे महिनाको सुरुदेखि नै पाँचैजना खेलाडी प्रशिक्षणमा सहभागी भएका छन् । ला लिगाको सबै टोलीले अब ११ वटा खेल खेल्न बाँकी छ । बार्सिलोनालाई दोस्रो स्थानको रियल मड्रिडभन्दा दुई अङ्कको अग्रता छ ।

यूरोपमा कोरोनाभाइरसले सबैभन्दा बढी प्रभावित दुई राष्ट्र स्पेनले ला लिगा फुटबल र इटाली सिरी ए को सुरु गर्ने तयारी गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री