लन्डन — बेलायत सरकारले कोभिड–१९ पछि जारी लकडाउनका कारण विदेशमा फसेका आफ्ना ३० हजारभन्दा बढी नागरिक फिर्ता ल्याएको छ । बेलायत सरकारले १४२ विशेष चार्टर उडानमार्फत नेपालसहित २७ देशमा रोकिएका नागरिक ल्याएको हो ।
कोरोना संक्रमण रोक्न अधिकांश मुलुकले अन्तर्राष्ट्रिय उडान रोकेपछि हजारौं बेलायती विदेशमा अलपत्र थिए । ब्रिटिस परराष्ट्र मन्त्रालय (एफसीओ) ले विज्ञप्तिमा जनाएअनुसार ८ अप्रिलयता भारतबाट १३ हजार ५ सयभन्दा बढी, पाकिस्तानबाट ४ हजार, दक्षिण अफ्रिकाबाट २ हजार, न्युजिल्यान्डबाट १ हजार ५ सय र बंगलादेशबाट १६ सय बेलायती ल्याइएको छ ।
बेलायतले नेपालबाट पनि तीन उडानमा करिब ७ सय नागरिक फिर्ता ल्याएको थियो । नेपालको पहाडी क्षेत्रमा अलपत्र परेका ब्रिटिस नागरिकको उद्धार गर्न गोर्खा सैनिकहरूलाई खटाइएको थियो । ‘हामी संसारभरि सबैभन्दा जोखिमपूर्ण स्थितिमा रहेका ब्रिटिस नागरिकलाई सुरक्षित रुपमा स्वदेश फिर्ता ल्याउन एकदमै केन्द्रित छौं,’ विदेशमन्त्री राबले भने । उनले ३० मार्चमा विश्वभर रहेका नागरिक स्वदेश फिर्ता ल्याउन सरकारले करिब ११ अर्ब रुपैयाँ (७५ मिलियन पाउन्ड) छुट्ट्याएको घोषणा गरेका थिए ।
पहिलो चार्टर उडान चीनको वुहानबाट ३१ जनवरीमा गरिएको थियो । नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, फिजी, दक्षिण अफ्रिका, बोलिभिया, बर्मुडा, न्युजिल्यान्ड, साउदी अरब, कोलम्बिया, अर्जेन्टिना, होन्डुरस आदि देशबाट नागरिक ल्याइएको छ ।
कोभिड–१९ देखिएपछि कमर्सियल रुटबाट करिब १३ लाख नागरिक बेलायत फर्किएको मन्त्रालयको अनुमान छ । सरकारले अझै विदेशमै अड्किएका बेलायतीलाई स्वास्थ्योपचार, भिसा थप आदिका लागि आर्थिक सहयोगको ‘प्याकेज’ ल्याइएको पनि उल्लेख गरेको छ ।
यसैबीच, बेलायतमा रहेका सयौं नेपाली पनि स्वदेश फर्कन व्यग्र प्रतीक्षामा छन् । विश्वविद्यालयमा अध्ययन गर्न आएका विद्यार्थी, परीक्षाका लागि आएका चिकित्सक, तालिम तथा भिजिट भिसामा आएका नेपालीले उद्धारको अपिल गरिरहेका छन् ।
लन्डनस्थित नेपाली दूतावासले तत्काल नेपाल फर्कन खोजेका करिब सय नेपाली आफ्नो सम्पर्कमा रहेको जनाएको छ । ‘हामीले नेपालमा अन्तर्राष्ट्रिय उडान सुचारु नभइन्जेल धैर्य गर्न भनेका छौं’, दूतावासका उपनियोग प्रमुख शरदराज आरनले भने, ‘हो परिस्थिति जटिल छ । यस्तो अवस्थामा संयम अपनाएर सरकारलाई सहयोग गर्न हामी अपिल गर्छौं ।’
गैरआवासीय नेपाली संघ बेलायतले पनि कोभिड–१९ का कारण रोकिन बाध्य नेपालीलाई स्वदेश फर्काउने अभियानस्वरूप तथ्यांक संकलन थालिएको जनाएको छ ।(ईकान्तिपुर)
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?