एनआरएनए युके: कोष बढाउन र राहत वितरणमा व्यस्त

लण्डन ।

घटना: १
‘मलाई र श्रीमतीजीलाई संचो छैन । कोरोनाको आशंका छ । हाम्रा दुई साना छोराछोरी छन् । एनआरएनए यूकेले केही हेल्प गर्न सक्छ ?

घटना: २
‘म विश्वविद्यालयको विद्यार्थी हुँ, अर्को हप्तादेखि खाना पनि छैन, कोठा भाडा कसरी तिर्नु, लकडाउनका कारण काम पनि छैन । केही हेल्प गर्नु सक्नु हुन्छ ?

घटना: ३
म केयर होममा काम गर्छु । परिवारले काम गर्न नजाउ भन्छन । घर बसेर खान पुग्दैन । एउटा कोठा खोज्न सहयोग गरिदिन सक्नु हुन्छ ?

कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न बेलायत सरकार लकडाउनमा गएपछि यी र यस्ता धरै समस्यामा नेपालीहरु परे । नेपाली समुदाय आत्तियो । जीवनमा कहिल्यै नभोगेको समस्या एकैपटक आईपर्दा के गर्ने के नगर्ने ? अलमल हुँदै गर्दा एनआरएनए युकेले कोरोना प्रभावितका लागि एउटा सहयोग समिति बनाउने निर्णय गरयो जसको नाम दिइयो -‘एनआरएनए हेल्प लाइन’।

हेल्प लाइन खडा भएपछि यी माथिका तीन प्रतिनिधि घटनाका समाधानका लागि नीजि फोनका घण्टीहरु लगातार बज्न थाले । ती समस्यालाई सकेसम्म समाधान गर्ने कोशिसमा लाग्यो एनआरएनए युके । करीब १४ हजार पंजिकृत सदस्य र झण्डै एक लाख नेपाली बसोबास गर्ने बेलायतमा तीन जनाले समुदायलाई सहयोग गर्ने जिम्मा लिए । जसमा छन् दक्षिण पूर्वी लण्डन निवासी सचिव जीत रानाभाट र लेस्टर निवासी सचिव कोश्लेस्वर ढकाल तथा अल्डरसट फार्नवरो निवासी सदस्य हेम गुरुङ । तीनै जना बसोवास गर्ने क्षेत्रमा नेपालीहरुको जनसंख्या धेरै छ ।

कोरोना महामारीमा परिवार संगसंगै समुदायलाई पनि सहयोग गर्नु पर्छ भनेर जिम्मेवारी लिएका तीन जना अभियन्तालाई साथ दिन २५ डाक्टरहरु र २४ नर्सहरु तम्तयार थिए । महामारी रोकथामका लागि स्वस्फूर्त नाम लेखाएर स्वयंसेवी बनेको स्वास्थ्यकर्मीको टोलीको साथ पाएपछि सचिवद्धय रानाभाट र ढकाल तथा सदस्य गुरुङ निर्धक्क सहयोग गर्न अघि बढे । विभिन्न समस्यामा परेका नेपालीहरुले माग्ने सहयोगलाई जिम्मेवारीपूर्वक समाधान गर्दै अघि बढिरहेका सचिव रानाभाट भन्छन्, ‘हेल्पलाईन भनेकै समस्या परेपछि फोन गर्न हो । मैले सकेसम्म समस्याको समाधान गर्न कोशिस गरिरहेको छु ।’ रानाभाटले थपे , ‘संस्थाले दिएको जिम्मेवारीलाई मैले अवसरका रुपमा लिएको छु ।’

अर्का सविच ढकाल पनि व्यस्तता उस्तै छ । लण्डनबाट केही टाढा लेस्टरमा वरपर समुदायका समाजसेवीहरुसँग मिलेर उनले काम गरिरहेका छन् ।

खास गरी बृद्धबृद्धालाई सहयोग गर्न रुचाउने हेल्प लाईनका सदस्य गुरुङले जति नै व्यस्त भएपनि मोवाइलमा बज्ने घण्टीलाई मिस नगरी समस्या समाधानमा लागेका छन् । ‘एक जना मुटु रोगी उपचारपछि घरमै आराम गरिरहनु भएको रहेछ । केही औषधि खरीदका लागि अनुरोध गर्नुभयो । मैले सहयोग गरेँ ।’ दुई साताअघिको घटना सम्झँदै गुरुङ भने ।

अग्रपंक्तिमा उभिएका तीन जना मात्र होइन धेरै स्वयंसेवीहरु पनि यो अभियानमा काँधमाकाँध मिलाउन आइपुगेका छन् । स्थानीय संघसंस्थाहरुदेखि व्यक्तिगत रुपमा धेरै व्यक्तिहरु जोडिएकाले हेल्पलाईनले यतिवेला एनआरएनएको एक इँटा थपेको सचिव रानाभाटको अनुभव छ । कोरोना प्रभावितलाई स्वास्थ्य सल्लाहको लागि डाक्टर, नर्स उपलव्ध गराइदिनेदेखि माक्स, स्यानिटाइजर वा दैनिक उपभोग्य सामग्री खरीद गरेर ढोकामा पुर्याउने काममा एनआरएनए युकेको हेल्पलाइन ब्यस्त छ ।

मुख्यगरी, बृद्धबृद्धा, विद्यार्थीहरु र बेलायत भ्रमणमा रहेका डाक्टरसहितका नेपालीलाई नजिकबाट रेखदेख गरेको सचिव रानाभाटले जानकारी दिए । उनलाई बेलायतभरका कोरोना संक्रमणबाट मृत्यु भएकादेखि संक्रमणमा परेका सम्मको तथ्यांक संकलन गर्ने जिम्मेवारी पनि थपिएको छ । ती तथ्यांक केलाएर मृत्यु, संक्रमित संख्या र अस्पताल भर्ना भएपछि निको भएर घर फर्किएको संख्या समेतको दैनिक लेखाजोखा गरी बिहान इमेल गर्ने कामको जिम्मेवारी पनि रानाभाटलाई सुम्पिएको छ ।

इंग्ल्याण्ड राज्य परिषद्को सहयोग
यसैबीच, इंग्ल्याण्ड राज्य परिषद् अध्यक्ष दिपक श्रेष्ठले आर्थिक संकलनको जिम्मा लिएका छन् । उनको नेतृत्वको टिमले बिहीबारसम्म १५ हजार पाउण्ड भन्दा माथि कोरोना राहत कोषमा रकम जम्मा गरिसकेको छ । नेपाली समुदायमा कोरोना प्रभावितका लागि सहयोगको अपिल उनले बारम्बार गरिरहेका छन् । उक्त सहयोगलाई पीडितसम्म पुर्याउने काममा कोषाध्यक्ष तेजेन्द्र रोकामगरले सहयोग गरिहेका छन् । त्यसबाहेक ‘गो फण्ड’ मार्फत पनि एनआरएनए युकेले सहयोग संकलन गरिरहेको छ । सदस्य ज्ञानेन्द्र आलेमगरले यसको संयोजन गरेका छन् । यसैबीच, गत ९ मे मा एनआरएनए युकेले एनआरएनए आईसिसीलाई १ हजार ५ सय पाउण्ड केन्द्रीय राहत कोषका लागि सहयोग गरेको छ ।

nrn uk helpline

प्रतिक्रिया

सम्बन्धित सामाग्री