कसरी हुँदैछ युकेमा कोरोना संक्रमितको अन्तिम सँस्कार ?

घनवीर थापाको लण्डनमा अन्तिम सँस्कार । तस्वीर प्रेम गाहाबाट

अन्तिम पल्ट तिम्रो मुख हेर्न पाए हुन्थ्यो..
गायक पुस्कल शर्माले यो गीतका पंक्तिहरु लेख्दा शायदै सोचेका होलान् कुनैबेला यो बेलायतका नेपालीहरुको जीवनमा मेल खाला भनेर । विडम्वना अहिले कोराना भाइरसको महामारीमा संक्रमित भई ज्यान गुमाउने नेपालीहरुको परिवारले आफ्ना प्रियजनको अनुहार अन्तिमपटक पनि हेर्नै नपाई विदाइ गरिरहनु परेको छ ।
सामान्यावस्थामा अन्तिम सँस्कार अगाडि परिवार र आफन्तहरुले  फ्यूनेरल डाइरेक्टरको कार्यालयमा, आफ्नै घरमा ल्याएर वा अन्तिम सँस्कार गरिने ठाउँ (क्रिमेटोरियम वा सिमेट्री) मा मृतकको अनुहार हेर्न पाउँथे तर अहिले कोरोनाको महामारीले शव राखिएको बाकस खोलेर हेर्न दिइँदैन । यति मात्र होइन कतिपय अवस्थामा त आफ्नो प्रियजनलाई अन्तिम श्रद्धास्वरुप फूल पनि शव राखिएको बाकसभन्दा टाढै चढाउनु पर्छ ।
पहिले अन्तिम सँस्कार गर्ने परिसरमा शव आइपुगेपछि मृतकका आफन्तले शवलाई बोकेर अन्तिम सँस्कार गर्ने स्थलसम्म लैजान्थे । पहिले आफ्नो रीति अनुसार ध्वजा बोकेर, टिलो फाल्दै, धान, जौ, लावा छर्दै शवलाई बाटो देखाइन्थ्यो । अहिले भने फ्यूनेरल डाइरेक्टर कार्यालयकै कर्मचारीहरुले शव बोकेर अन्तिम सँस्कार गर्ने ठाउँमा लैजान्छन् । सामान्यतः मृतकका परिवार वा आफन्तले शवलाई छुने मौका पाउँदैनन् ।
नेपाली समाजमा भनाइ छ–जिउँदो छँदा जन्ति, मर्दा मलामी कमाउनु । अर्थात शत्रु होइन मित्र बनाउनु । जतिसक्यो राम्रो काम गर्नु अनि मलामी बढ्छ । मलामी जानलाई कसैले बोलाइरहनु पर्दैन । तर महामारीका बेला नेपाली उखानले पनि काम नगर्दो रहेछ । सामान्य अवस्थामा बेलायतमा औसत प्रोफाइलका नेपालीको अन्तिम सँस्कारमा पनि मलामीको संख्या एक सयभन्दा माथि नै हुन्थ्यो । दिवंगतहरुको प्रसिद्धि अनुसार मलामीको संख्या तीन/चार सयसम्म पनि पुग्थ्यो तर अहिले कोरोनाको महामारीले जतिसुकै सत्कर्म गरे पनि अन्तिम सँस्कारमा १०/१२ जनाभन्दा धेरै सामेल हुन पाइँदैन । बेलायतमा बितेका केही सातामा पूर्व रापंस (सांसद), पूर्व गाविस अध्यक्ष, उपाध्यक्ष, प्रधानाध्यापक जस्ता सामाजिक कार्य गरेका व्यक्तित्वहरु बिते । अरु बेला भए उहाँहरुको कति भव्य बिदाइ हुन्थ्योहोला तर समयको खेला मात्र परिवारलाई साक्षी राखेर उहाँहरुको बिदाई भइरहेको छ ।
स्वाभाविक हो अन्तिम सँस्कार भावपूर्ण हुने गर्दछ । तर कोराना संक्रमणपछिको अन्तिम सँस्कार झनै हृदयविदारक छ । गत साता एक अन्त्येष्ठीमा सहभागी ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारु मगर भन्छन्, “हामी १०/१२ जना मुखमा मास्क र हातमा पञ्जा लगाएर २/२ मिटरको फरकमा उभियौँ । जसको हामी मलामी गएका थियौँ उहाँको धर्मपत्नी घ्वाँ घ्वाँ रुन थाल्नुभयो । रुँदा रुँदा ढल्न लाग्नुभयो । सोसल डिस्ट्यान्सिङका कारण न हामी गएर सान्त्वना दिन पायौँ, न सम्हाल्न नै ? आफूले केही गर्न नसक्दा हामी आफैँ उभिएकै ठाउँमा रोयौँ ।”
महामारीले नेपालीहरुले मर्दा पर्दा अपनाउनु पर्ने सनातन परम्परा पनि प्रभावित हुन पुगेको छ । हालैको एक अन्तिम सँस्कारमा सहभागी नेपलिज सेफ्स एसोसिएसन युकेका अध्यक्ष दधि आचार्य भन्छन्, “हामीलाई आफ्नो सँस्कारअनुसार कर्म गर्न १० मिनेटको समय दिइएको थियो । हिन्दू धर्मअनुसार पण्डितले शान्ति पाठ गर्नुपर्ने थियो । यस्तो बेलामा कहाँ पण्डित पाइनु ? एक जना गुरुले मोवाइलबाटै शान्ति पाठ गरिदिनुभयो, हामीले जल चढायौँ र कार्जे सक्यौँ ।”
अन्तिम सँस्कार गर्ने कक्ष स–सानो भएको र दुई/दुई मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यताले थोरै मात्र मलामी लैजान पाइए पनि फ्यूनेरल डाइरेक्टरले अन्तिमसँस्कार घरै बसीबसी हेर्न सकिने ब्यवस्था भने मिलाएका छन् । फ्यूनेरल डाइरेक्टरसित पहिल्यै सम्पर्क गरे उनीहरुले पासवर्ड उपलब्ध गराउने र अन्य देशबाट वा घरबाटै लाइभ अन्तिम सँस्कार हेर्न सकिने सुविधा दिलाउँछन् । लण्डन बरो अफ बार्नेटका उपमेयर लक्ष्यबहादुर गुरुङ भन्छन्, “फ्यूनेरल डाइरेक्टरले २८ दिनसम्म सो भिडियो राख्छन् र सम्बन्धित परिवारले चाहेमा भिडियो डाउनलोड पनि गर्न पाउँछन् ।”

र, माथिको बाध्यता र सुविधा कोरोना संक्रमणबाट मात्र होइन युकेमा अन्य कारणबाट बितेका नेपाली र गैरनेपाली सबैलाई लागू भइरहेको छ ।

ननिटनमा बितेका मेगबहादुर गुरुङको शवभन्दा परै फूल आदि चढाइँदै/ तस्वीर भीम सारुमगर

कसरी हुन्छ अन्तिम सँस्कार ?
बेलायतमा प्रायजसो कोरोना भाइरस संक्रमणबाट मृत्यु अस्पतालमा हुने गरेको छ । अस्पतालको बुरिभमेन्ट अफिसले मृत्युको कारण खुलाएर पत्र जारी गर्दछ र मृतकको सरसामान छ भने परिवारलाई हस्तान्तरण गर्दछ । सो प्रमाणपत्र पाएपछि मृतकको परिवारले निजको मृत्यु भएको स्थानको काउन्सिलको जन्म तथा मृत्यु दर्ता कार्यालयमा मृत्यु दर्ता गराउनु पर्दछ । पहिले सो प्रयोजनका लागि व्यक्ति स्वयं उपस्थित हुनुपर्दथ्यो भने अहिले अपोइन्टमेन्ट बुक गरेर टेलिफोनमार्फत काउन्सिलले मृत्यु दर्ता गरिदिने गरेको छ । काउन्सिलले मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराएपछि परिवारले फ्यूनेरल डाइरेक्टरलाई सम्पर्क गरी उसको सम्पर्क काउन्सिललाई दिनुपर्दछ । काउन्सिल र फ्यूनेरल डाइरेक्टरले कुन दिन अन्तिम सँस्कार गर्ने तय गर्नेछन् ।
फ्यूनेरल नर्मल र डाइरेक्ट गरी दुई खालको हुन्छ । नर्मल फ्यूनेरलमा १०/१२ जनासम्म परिवारका सदस्य र आफन्त लैजान पाइन्छ । यो अलि महंगो हुन्छ भने डाइरेक्ट फ्यूनेरलमा परिवारका सदस्यहरु उपस्थित भइरहनु पर्दैन । सम्बन्धित फ्यूनेरल डाइरेक्टरले नै अन्तिम सँस्कार गर्दिन्छन् र यो अलि सस्तो हुन्छ । दुवै फ्यूनेरलमा मृतकको अस्तु दुई वर्षसम्म फ्यूनेरल डाइरेक्टरको कार्यालयमा राखिन्छ र परिवारले चाहेमा लिन सक्छन् ।
बेलायतमा अहिले धेरै गोरखा भूतपूर्व सैनिकहरुको बसोबास छ । उनीहरुको अन्तिम सँस्कारमा गोरखा वेलफेयर ट्रष्ट र आर्म्ड फोर्सेस च्यारिटी साफाले सहयोग गर्ने गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष तथा भूपू सैनिक विभागका प्रमुख प्रेम गाहामगर भन्छन्, “पेन्सन क्रेडिट लिइरहेकाहरुले डिपार्टमेण्ट अफ वर्क र पेन्सनबाट फ्यूनेरलका लागि सहयोग पाउन सक्छन् । यस्तै, साफाबाट सहायता पाउन सक्छन् । एनआरएनए युकेले आर्थिक अवस्था कमजोर भएका परिवारलाई ३०० देखि ५०० पाउण्डसम्म सहयोग गर्छ ।” यस्ता सुविधा युकेभित्र गरिने अन्तिमसँस्कारका लागि मात्र उपलब्ध हुन्छन् । शव नेपाल लैजाने हो भने यी सहयोग पाइँदैन ।
बेलायतमा अन्तिमसँस्कार पनि महंगो छ । अन्तिम सँस्कार गर्न न्यूनतम २ हजार ५०० जति लाग्ने र अधिकतम आफ्नो छनौटअनुसार हुने उपमेयर लक्ष्य गुरुङको अनुभव छ । उनी भन्छन् -‘ठाउँअनुसार फ्यूनेरलको रेट तलमाथि हुनसक्छ।’ बेलायतमा कोरोना संक्रमणका कारण धेरै मानिसहरुको मृत्यु भएर होला अहिले क्रिमेटोरियमहरुले अन्तिमसँस्कार गर्न दिइने समय पनि छोट्याएका छन् । पहिले ३० मिनेटको स्लट दिने गरिएकोमा अहिले त्यसलाई २० मिनेटमा झारिएको छ ।

मास्क र पंजासहित मलामी /तस्वीर शिव भण्डारी

अन्तिमसँस्कार गरिने हलमा यसरी सोसल डिस्ट्यान्सिङ कायम गरिन्छ । मेगबहादुर गुरुङको फ्युनेरलको तस्वीर । भीम सारुबाट

 

आफन्तको अन्तिम बिदाईका लागि हलबाहिर पर्खाइमा आफन्तहरु । मेगबहादुर गुरुङको फ्युनेरलको तस्वीर । भीम सारुबाट

नरेश खपाङ्गीमगर

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री