कोरोनाले झन् बलियो बनाउँदैछ बेलायती नेपाली समाज

लेखक पुडासैनी
नोबेल कोरोना (कोभिड-१९) संक्रमणले बेलायतमा रहेका नेपालीमात्र नभई यहाँका विभिन्न नेपाली संघसंस्थालाई पनि एकै ठाउँमा ल्याएको छ । प्रवासमा बस्ने नेपाली कहिले राजनीतिक दलका नाममा, कहिले जाति, धर्म र संस्कृतिका नाममा विभिन्न संगठनमा आबद्ध भई अनावश्यक तनावमा रहने गरेको आरोप लाग्नेगरेपनि बेलायतका नेपाली भने आवश्यक परेका बेला एक ठाउँमा उभिने गरेका छौं। कठिन परिस्थितिमा एक भई नेपाली जातिले आफ्नो शीर झनै उँचो बनाएका छन्। जीवनमा विरलै देखिने अतभूतपूर्व एकता अहिले देखिएको छ, नेपाली समाजमा त्यस्तो एकता हामीले निर्माण गर्न सकेका छौं।

ढिलोचाँडो मात्र हो जन्मेपछि मृत्यु निश्चित छ। समयको फरक मात्र हामीलाई थाहा नहुने हो । त्यसकारण, यस्ता संकटका बेला हामीले अहम् होइन संयम् देखाउनुपर्छ । थोरै केही मित्रहरू छन् जो अर्कालाई दुखाउने गरी सामाजिक संजालमा पोष्ट गरिरहेका छन् । सकिन्छ भने त्यो असहिष्णुतालाई त्यागेर सहयोगी बन्नुमा सबैको कल्याण हुनेथियो। किनकि यो समय क्रिया प्रतिक्रिया देखाउने भन्दा पनि कृयाकलाप (एक्सन) को हो।

महामारीबाट भोलि विश्व उठ्यो भने कुण्ठा र आवेग पनि भोलि नै टन्न पोखौंला नि । किनकि कोरोनाको महामारीबाट उत्रँदासम्म हाम्रा मोबाइल र स्मरणबाट कति सम्पर्क नम्बरहरू घट्ने हुन् भन्ने समेत अनुमान गर्न नसकिने अवस्थामा हिलो छ्यापाछ्यापमा उत्रनुको अर्थ छैन् ।  

यस महाविपत्तिका बेला बेलायतका लागी नेपाली राजदूत डा. दुर्गावहादुर सुवेदीको नेतृत्व अहोरात्र काममा ब्यस्त छ। नेपाल सरकारको दह्रो उपस्थितिको प्रतिक भएर बेलायतस्थित नेपाली संघसंस्थाहरूसँग समन्वय र सहकार्य गरी बिशेष गरी नेपालबाट अध्ययन गर्न आएका नयाँ बिद्यार्थीहरू, भूतपूर्व गोर्खा सैनिकहरू र उनीहरूको परिवार तथा क़ानूनी कागजका अभावमा रोजगारी गुमाएका नेपालीहरूको समस्या पहिचान गरी त्यसलाई समाधान गर्न सुवेदीको टिम खटिएको छ। दूताबासका उपनियोग प्रमुख शरदराज आरणसँग काम गर्दाको अनुभव र रास्ट्रसेबक कुटनीतिज्ञहरू सँगको सहकार्यले नेपाल सरकारको आफ्ना नागरिकहरूप्रतिको संवेदनसीलता देखिएको छ। त्यो सुखद पक्ष हो।

बेलायतस्थित गैरआवासीय नेपाली स्वास्थकर्मीहरू, बिभिन्न संस्थामा आबध्द ब्यक्तिहरुका साथै जनस्वास्थ्यका जानकारहरू तथा प्रबुध्द ब्यक्तित्वहरूले कोभिड-१९ बाट प्रभावित नेपालीहरूलाई सहयोग गर्न चालेका हरेक कदममा प्रवासी नेपाली एकता मंचको तर्फबाट दरिलो साथ र ऐक्यबध्दता छ। राजदूत डा. सुवेदी र उपनियोग प्रमुख आरणको संयन्त्र हरपल काममा जुटेको छ। जसका कारण कोरोनाबाट निधन भएका तथा संक्रमितहरूको नामावली संकलनदेखि खान नपाएका नेपालीलाई राहत वितरणका काम सहज भएको छ।

प्रवासी नेपाली एकता मंचका तर्फबाट हामीले स्वयंसेवक समूहहरु बनाएका छौं।त्यस्तै, नेपाली जनसम्पर्क समिति यूकेले पनि यस महामारीमा नेपाली समुदायलाई सहयोग गर्न स्वयंसेवी टोली खटाएको छ । म आफै यहाँको सरकारी अस्पतालमा काम गर्छु। जसका कारण बिज्ञहरू र यस महामारीबिरूद्ध कृयासिल रहेका साथीहरूसँग नियमित सम्पर्कमा रही जनचेतनाको लागी सूचना प्रवाह गर्न तथा व्यक्तिगत रुपमा धेरै साथीहरुलाई सुझाव सल्लाह दिन सहज भएको छ। यता, विभिन्न संघसस्थासँग समन्वय गर्दै दूतावासका कामलाई सफल पार्न एनआरएनए यूकेले खेलेको भूमिका सर्‍हानीय छ ।

त्यसका साथै, नेपाल पत्रकार महासंघ यूकेले व्यवसायिक पत्रकारितासँगै जनचेतना फैलाउने स्वास्थ्य सामग्री र सचेतनाका लागि स्वास्थ्यकर्मी सँगका अन्तरवार्ता लिएर तारिफ योग्य काम गरिरहेको छ। त्यस्तै, मर्जिङ नेप्सक्सले विश्वविद्यालय अध्ययनका लागि आएका भाईवहिनीहरुलाई सहयोगको निम्ति गरेका कामले नेपालीमुलका बेलायती युवाहरूको नेतृत्व बिकास मात्र होइन, यो समाजमा उनीहरूको सम्बन्ध र कार्य सम्पादनमा रहेको कुशलता स्पस्टै देख्न सकिन्छ।

सरकारी सूचना निर्देशन कडाईका साथ पालना

नेपाली समुदायलाई सबैभन्दा चुनौतीको बिषय बेलायत सरकार तथा एनएचएसको निर्देशन पालना गर्नु हो । जे कुराहरुलाई पनि सामान्य रुपमा लिने हाम्रो बानी छ । हामी नेपाली फलामे अनुशासनमा कहिल्यै बसेनौं। तर महामारीका बेला यहाँ निकै कडा अनुशासनमा बस्नुपर्ने अवस्था छ । प्रकोपबाट बच्न सरकारको स्वास्थ्य निर्देशिका पालना गर्नुको विकल्प छैन । हो, कतिपय पूर्वगोर्खाका परिवारहरुलाई भाषाको समस्या हुनसक्छ। यस्तो बेला सँगै बस्ने दोस्रो पुस्ताका छोराछोरी वा नाती नातीनाले आफ्ना अघिल्ला पुस्तालाई नेपाली भाषा वा मातृभाषामा बताएर स्वास्थ्य क्षेत्रका निर्देशन पालना गर्न लगाउनु पर्छ । यो एक जनाको मात्र समस्या होइन। परिवार, समाज वा समुदायका समस्या हो भनेर हाम्रा प्रौढ अभिभावकलाई बुझाइनुपर्छ । घरमा बस्ने, हात धुने, नातागोतासँग भेट्ने र नभेटने, अति आवश्यक खाने कुरा खरीद गर्न जाँदा कसरी जाने र कुन अवस्थामा बाहिर जाने आदिबारे पाका अभिभावकहरूलाई बुझाउनु र अर्थ्याउनु आबश्यक छ। सामाजिक दुरी कायम राख्दै हिडडुल गर्न सरकारले भनिसकेको छ । घरमा बस्दा होस् वा घरबाट बाहिर जाँदा र घर फर्कँदा मज्जाले आधा मिनेट जति सावुन पानी वा ह्याण्ड वासले हात धुनु पर्दछ।

रोगको लक्षणप्रति गम्भीरता

आफूलाई कुनै लक्षण नभए पनि तपाईंको कारणले अरूलाई र अरूको कारणले तपाईंलाई रोग सर्न सक्छ। सबैभन्दा ठूलो कुरा नआत्तिनु हो। साबधानीका साथ एनएसएचका निर्देशनहरु कडाईका साथ पालना गर्ने हो र आफुलाई ज्वरो, श्वास फेर्न समस्या, घाँटीको खस्खस् तथा अन्य कुनै सामान्य अबस्थामा भन्दा बाहेकका लक्षण देखिए नजिकैको स्वास्थ्य चौकी र डाक्टरको सल्लाह लिनुपर्छ। नत्र, नेपाली डाक्टरहरु वा नर्सहरुले पनि अहिले समुदायको सुरक्षा गर्न सल्लाह दिइरहेका छन् । त्यहाँ पनि सम्पर्क गर्न सकिन्छ । मोटो शरीर, क्यान्सर, डायबीटीज़, मुटु, मृगौला, दम भएका तथा रोग प्रतिरोधात्मक शक्ति कमजोर भएका मानिस र त्यसमा पनि बिशेष गरी पुरूषहरू कोभिड-१९ बाट प्रभावित भएको अनुसन्धानहरूले देखाएको तथ्य ख्याल गर्नुपर्छ ।

लाज हटाऔं

नेपाली समुदायमा कोराना रोग लागेको लुकाउने प्रचलन धेरै देखिन्छ । यो रोग जो कसैलाई पनि लाग्न सक्छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना हामीमध्ये जो कसैलाई लाग्नु सामान्य हो । तर धेरै नेपालीले कोरोनाबाट प्रभावित हुँदा हिनताबोध महसुस गरेको देखिन्छ । रोगबाट प्रभावित भएको कुरो मिडिया र चर्चामा नआओस तर, स्वास्थ्यकर्मी र अतिनिकट साथीहरुमार्फत् तत्कालै सल्लाह लिनु आबस्यक छ। त्यसमा लजाएर काम छैन। 

र, अन्तिम सुझाव, हातले अनुहार त्यसमा पनि नाकमुख नछुनोस् । आफ्नो, परिवार र समाजको स्वास्थ्यमा ध्यान दिनुहोस् । बेलायत सरकारको आग्रहलाई स्वीकार गर्दै घरमा बस्नोस् । यो प्रकोपबाट पार पाएपछि त हामी फेरि एकै ठाउँमा झुम्मिएर हाम्रै सालैजो, घाटु, मारूनी र लोकभाकामा कम्मर मर्काई मर्काईं फन्को मारौंला नि !

(लेखक प्रवासी नेपाली एकता मंच यूके अध्यक्ष तथा बेलायतस्थित एक सरकारी अस्पतालमा बरिष्ठ नर्सका रुपमा कार्यरत हुनुहुन्छ )

प्रतिक्रिया

सम्बन्धित सामाग्री