कोरोनालाई जितेकी एक नर्सको अनुभव

अजिता सिम्खडा

आजको यो शुभ बिहानी मेरो आफ्नो कोरोनाले छाडेका अनुभवहरु हजुरहरु सामु साट्न चाहन्छु । सुन्दर चरीहरुको मधुर अनि सुन्दर चिरबिर आवाज सुन्दै, पंक्षीहरुको महफिल भन्न चाहन्छु साथै मेरो आफ्नो त्यो अवस्थमा गुज्रेका अनुभवहरु बांड्न मेरा अक्षरहरु आतुर छन्, यो उषामा आज । जीवन जिउंदै जाँदा हरेक उकाली ओराली पार गर्नु सृष्टिको देन हो । मेरो जन्मअघि म कहाँ थिए र मृत्युपश्चात मकहाँ पुग्छु मलाई थाहा छैन । हामी आ-आफ्नै विश्वासमा चलेका छौं । हामीले स्वर्ग र नरकको निर्माण गरेका छौ त्यो हाम्रो विश्वास हो । केही हदसम्म विश्वासले काम गरिरहेको हुन्छ । तर सबैलाई नगर्न सक्छ त्यसैले सिद्धार्थ गौतम “बुद्ध “मा रुपान्तरित हुनुभयो, आफैँले सत्यको खोजी गर्नु भो । एउटा अकाट्य सत्य के हो भने जन्मेको क्षणमा जुन हामीले पहिलो श्वास लिन्छौं त्यसै दिनदेखि अन्तिम श्वासको गिन्ती सुरु भएको हुन्छ । यो साक्षात विधिको विधानलाई सम्झन सक्यौं भने हामी बाँचेर मात्र मर्ने छौं । मर्न अघि नै मर्ने छैनौं, प्रत्येक पल उत्सवको रुपमा लिंदै आनन्दले जीवन जिउने छौं ।

प्रेमको अनुभव, मृत्युको भय

जुन अवस्थाले यो पृथ्वी गुज्रिरहेको छ,  म किन अछुतो हुन्थें र ? विश्वका ठूला भनिने देश, ठूला भनिने हरेक व्यक्ति त्रासमा जिइरहेका छन् । यो अदृश्य शक्ति कोरोना भाइरसले न दरबार छोड्यो, न सडकका पेटीमा कटौरामा आएका सुका-मोहरमा जीवन धानी रहेकालाई छोड्यो । हामी सबैलाई चेतना भयो होला आज कि धन- दौलत, मान- सम्मान घटीबढी होला तर मृत्यु समान हो । हरेक हृदयले अनुभव गर्ने प्रेमको भाव, दुख र सुखको भाव हरेक प्राणीमा उही हो । मानिस हुन् या जंगलका जीवजन्तु इश्वरले प्रेमको अनुभव, मृत्युको भय बराबर दिनु भएको छ । हाम्रो बुझ्ने चेतनाले बुझ्न र अनुभव गर्न नसकेको हो भन्दा सायद दुई मत नहोला ।

म एक नर्स हो, भन्नु पर्दा जन्म र मृत्युको साक्षी, मृत्युको क्षणको पीडा पनि देखेको छु, बच्चा जन्मंदाको हर्षोल्लास पनि देखेको छु । कहिलेकाहीं लाग्छ कि अस्पताल जन्म र मृत्युको जंक्सन हो, जहाँ एन्ट्री र एक्जिट द्वार छ । मलाई कोरोनाको लक्षण देखिंदा म काममै थिएँ । काममा सबै जनामा अन्योल, अनिश्चिय, भय, त्रास थियो नै । तर पनि आफ्नो काम गरिरहेका थियौं । एक जना साथीले आ-आफ्नो ज्वरो नापौं भन्नु भो। कसैको ३५ आयो, कसैको ३६ आयो तर मेरो करिब ३८ थियो, मेरो शरीर दुख्न सुरु भै केको थियो । मैले मलाई त ज्वरो छ, कोरोना हो कि के हो भन्दा सबै जनाले जिस्काए । जिउ धेरै असजिलो भए जस्तो भो, अलि अलि खोकी पनि थियो, अनि सिटामोल खाएँ ।

घर आएँ अनि खाना खाएर सुतें, करिब मध्य राततिर शरीर काँपी रहेको रहेछ । जिउमा असह्य पीडा अनि काम ज्वरो सुरु भयो  । ज्वरो नाप्दा ३९ रहेछ, तुरुन्त ज्वरोको औषधि खाएँ । बिहान करिब ५ बजे १११ मा फोन गरेँ, जवाफ आयो तपाईं तुरुन्त आइसोलेसनमा बस्नोस्, श्वास फेर्न गारो भो भने तुरुन्त हामीलाई फोन गर्नोस् । मैले बुझिहालें यो भाइरसको असर बढ्न नदिने घरेलु उपचार नै हो । छोराछोरीलाई जीरा, अदुवा, बेसार, दालचिनी  पानी पकाउन भनें, अनि अलिकति नुन हालेर तातो तातो पानी दिनको तीनपटक पिउन थालें । हजुरमुमाको खुब याद आयो, उहाँ धेरै अघि स्वर्गवास भै सक्नु भो। सानोमा रुघा -खोकी लाग्दा त्यसरी नै पानी खुवाउनु हुन्थ्यो, तात्तातो खाऊ आत्था-आत्था गर्दै भाग्छ भन्नु हुन्थ्यो, तर के भाग्थ्यो भन्नु हुन्थेन । उहाँको प्रेम अनि उहांलाई सम्झंदै तात्तातो पानी पिउन थाले । मनतातो नुन पानीले मुख कुल्ला गर्न थालें । टूथ ब्रशले जिब्रोको तल भागलाई बिस्तारै कोतरेर सफा गर्थें हरेक बिहान । बेलुका तातो दूध, मह र बेसार पिएर सुत्थें जसले मिठो निन्द्रा दिन्छ र बेसारले एन्टी सेप्टिक को काम गर्छ । मलाई राति गार्हो बनाऊथ्यो, जरो पछि शरीर पूरै पसिनाले भिज्थ्यो ।

मुखमा स्वाद भने पटक्कै थिएन, ज्वरो करिब ७ दिन आयो र हल्का ज्वरो र खोकी १२ दिनसम्म रह्यो। खाना छिन छिन्मा खान्थें, फ्रिजम़ा नराखेको जुस प्रशस्त पिउथें, पानी मन तातो पिउथें । शरीरमा संक्रमण छ त्यसैले पहिलेको भन्दा धेरै खानु पर्छ भन्ने ज्ञान थियो । अर्को के पनि ज्ञान थियो भने शरीरले मलाई बचाउन सक्दो प्रयास गर्नेछ । मैले शरीरलाई प्रेम गर्नु पर्छ र शरीरले मलाई प्रेम गर्छ भन्ने पूर्ण विश्वास थियो । खोकी लागि रहेको थियो । छाती, घाँटी, नाक, कन्चटतिर लगातार सन्चो लगाऊंथें तर त्यति गन्ध आउंथेन। पानीको बाफ लिन्थें । पेटमा गडबडी पनि भयो, उल्टी पनि गरेँ ,पखाला पनि लाग्यो तर एक दिन मात्र । तर पनि खाना खान छाडिनं, मुख सार्है तीतो हुन्थ्यो, तीन हप्ता पूरा भई सक्यो तर पनि स्वाद फर्किसकेको छैन । शरीर यति दुख्योकी १०/१२ जना मान्छेले पिटेर फालिदिएको जस्तो अनुभव हुन्थ्यो, नुहाउंदा पानीको फोहोराले पनि दुखाऊँथ्यो । एउटै घरमा बसे पछि परिवार किन अछुतो हुन्थ्यो र मेरो छोरोलाई पनि संक्रमण भयो । अहिले हामी स-परिवार ठिक छौं ।

जीवनमा रुपान्तरण

मलाई मृत्युको कुनै भय थिएन । जब ओशो सन्यास लिएँ त्यही दिनदेखि उहांको प्रवचन र ध्यानले जीवनमा ठूलो रुपान्तरण भएको थियो, मेरो हृदयमा भय हराएर गयो । प्रत्येक ६ घण्टामा  सिटामोल खान्थें १ ग्राम । सिटामोल खाएपछि हल्का हुन्थ्यो, गुरुको प्रवचन सुन्थें, मन पर्ने गीत सुन्थें र धेरै निदाउथें जसले गर्दा धेरै मनले अनेक शंका उपशंका गर्न पाउंदैन थियो । शरीरमा आरामको जरुरत हुन्छ, जब हामी मिठो निदाउंछौं, शरीरले पूर्ण आराम पाउंछ, अनि प्रत्येक सेलहरुले आरामको महसुस गर्छन् र संक्रमण बिरुद्ध उर्जा पैदा गर्छन् । जब अलि सक्ने भएँ पछि ध्यान गर्न थालें ।

जब हामीलाई मनमा त्रास आउंछ त्यही समय शरीरका सेलहरुमा, कोशीकाहरुमा परिवर्तन आउंछ, हामी शुभ सोच्छौं शरीरमा सकारात्मक उर्जाको निर्माण हुन्छ, अशुभ सोच्छौं त नकारात्मक उर्जाको निर्माण हुन्छ, अनि त्यसबाट शरीरमा हिलिङ्गमा असर गर्न सक्छ । हामीलाई आज बनको बाघले खाओस्, नखाओस् मनको बाघले खाइरहेको छ, त्यसैले नकारात्मक नसोचौं, शुभ सोचौं । जीवन एक युद्धभूमि हो दुख र सुखबीचको, रोग र स्वस्थताबीचको, जन्म र मृत्युबीचको, ज्ञान र अज्ञानबीचको । यो द्वन्द्वात्मक अवस्थाबाट माथि उठ्नु जीवन  विजय हो । न दुखले उसलाई रुवाउंछ, न सुखले उ मातिन्छ, हरेक क्षणमा उ शान्त रहन्छ र आनन्दित रहन्छ ।

म सेल्फ आइसोलेसनमा बस्दा मेरो भाउजु सीता भण्डारीसंग कुरा भयो जो वेम्ब्लीमा बस्नु हुन्छ र नर्थविक पार्क हस्पिटलमा काम गर्नु हुन्छ । उहाँले भन्नु भो उहाँलाई पनि जिउ दुखेर, शरीर जिरिङ्ग भएको छ र हल्का ज्वरो हो कि जस्तो छ ।  उहाँले विश्वास गर्नु भएको थिएन, उहाँले भन्नु भो मेरो काम छ अर्को दिन । उहाँको म्यानेजर राम्रो रहेछ आफैँले टेस्ट गर्ने व्यवस्था गरिदियो र अर्को दिन पोजिटिभ रिजल्ट आयो । बिस्तारै जरो बढ्न थाल्यो, खोकी पनि सुरु भयो अनि रमाइलो पक्ष हाम्रो लक्षण साटासाट गर्दै हाँस्थ्यौं हामी । धेरैको लक्षण फरक थियो तर हाम्रो सबै उस्तै उस्तै थियो । सबै भन्दा तीतो अनुभव शारीरिक अवस्था सार्है कमजोर हुंदो रहेछ, तर मानसिक अवस्था भने पूर्ण आनन्दित थियो  । यो संक्रमण पछि यति धेरै खाना खाने भएको छु, सायद किटाणुले हाम्रो सबै उर्जा लिंदो रहेछ । म ठीक छु अहिले र काममा फर्की सकेकी छु, एक हप्ता भयो, गार्हो छ अस्पतालमा तर हामीले हिम्मत हारेका छैनौं । यो अवधिमा संक्रमणको कारण सेल्फ आइसोलेसनमा बस्ने धेरै हुनुहुन्थ्यो, एक अर्कालाई सान्त्वना दिन्थ्यौं ।

त्यसैले मेरो अनुरोध छ हजुरहरु सबै सावधानी अपनाउनु होला। सरकारको अनुरोधको पालना गर्नुहोला । योग, ध्यान गर्नु होला, राम्रो मुभी हेर्नुहोस्, बुद्ध टेलीसिरियल हेर्नोस्, नाच्नोस्, गाउनोस्, गार्डेनमा काम गर्नोस्, प्रकृतिसंग नजिक हुनुहोस्,  भलो सुन्नोस्, आनन्दित रहनोस् । शुभ समय होस् या अशुभ समय त्यो सकिनेछ, फेरि नयाँ बिहानी, नयाँ उत्साह, नयाँ आशा बोकेर उदाउनेछ । “धीरा भै रहनु, बिपत्ति सहनु जस्तै परोस् तापनि” यो  मलाई हजुरमुमा ले दिनु भएको दिब्य उपदेश थियो । सद्गुरु ओशो भन्नु हुन्छ, “जब भयको अन्त्य हुन्छ अनि सही जीवनको सुरुवात हुन्छ । जीवन नृत्यमय  हुन्छ, संगीतमय हुन्छ, जीवन उत्सव बन्छ । सूर्य उदाएकै छ, चन्द्रमा  झुल्केकै छिन्, फूल फूलिरहेकै छन्, अनन्त आकाश शान्त छन्, पंक्षी संगीतमय छन्, पालुवा पलाउंदै छन् । जीवन सार्है सुन्दर लाग्छ र यो अवसर प्रदान गर्ने परमात्मालाई धन्यवाद दिन चाहन्छु ।

सेल्फ आइसोलेसनमा बस्दा आवश्यक सामान किनेर ल्याइदिनु भई सहयोग गर्नु हुने मंजु श्रेष्ठ दिदी, बागेश्वरी शाक्यजी, आयेल्स्बरीका सम्पूर्ण नेपाली समुदाय, इष्टमित्र ,साथीभाइ, आफन्तजन सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । नेपलिज नर्सिङ्ग असोसिअसन यूके परिवारलाई विशेष धन्यबाद । आदरणीय महामहिम नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीज्यू जसले फोन र मेसेज गरेर स्वास्थ्य लाभको कामना गर्नु भयो उहांलाई अनन्त धन्यवाद दिन चाहन्छु । अन्त्यमा सद्गुरू ओशोलाई सप्रेम धन्यवाद दिन चाहन्छु, जसले प्रदान गर्नु भएको ज्ञान र प्रकाशले जीवन ज्योतिर्मय र उर्जामय भएको छ ।

अन्तमा  यो भन्न चाहन्छु कि सुखमा धन दौलत काम लाग्छ, दुखमा ज्ञान काम लाग्छ, ध्यान काम लाग्छ । हामीलाई न जन्मको अधिकार छ, न मृत्युको । हामीलाई जीवन कसरी जिउने भनेर चुनाव गर्ने अधिकार छ त्यो अशान्तिले तनावले जिउने कि, शान्ति र आनन्दले जिउने ? अवश्य सकारात्मक डोरी समाउनु उत्तम रोजाइ हो । त्यसैले जे आउंछ सर्व स्वीकार गरौँ, घाम लागे तापौं, झरी परे भिजौं, मिलेसम्म छाताको  व्यवस्था गरौं । यो धर्तीमा केही पनि स्थायी छैन, हामी अस्थाई जीवनमा स्थाई जागिर खोज्छौं । हामी यो धर्तिका यात्री हौँ केही समयको भिषा लिएर आएका छौं । यो जीवन केवल लिला हो, कति समयको करारनामामा हस्ताक्षर गरेर आएका छौं, अनभिज्ञ छौं । यो शास्वत सत्यम़ा आत्तिने काम नगरौं । भागवत गीतामा श्री कृष्ण भन्नुहुन्छ, “न शस्त्रले काट्छ यसलाई, न आगोले जलाउंछ, न हुरीले उडाउंछ, न पानीले गलाउंछ “यो अकाट्य छ, अविनासी यो चेतना, यो आत्मालाई बुझ्ने तिर लागौं । यो समय आत्मविचारको समय हो । हामी कहिले शान्तसंग दिनभरी बस्न पाएका थिएनौं, बिदाको दिनमा पनि विभिन्न कार्यक्रम, पार्टी, भोजभतेर, भेटघाटम़ा ब्यस्त हुन्थ्यौं । यो अमूल्य अवसर हो,  आत्म विचारमा आफ्नो उर्जा एकत्रित गरौँ, संयमित हौं, अनि सावधानी अपनाउंदै आफू बांचौं, अरुलाई पनि बचाऔं । हजुरहरु सबैको समय शुभ रहोस्, मेरो परमात्मासंग प्रार्थना छ ।

(लेखक ऐल्सबरीस्थित स्टकम्यान्डभिल अस्पतालमा वरिष्ठ नर्सको रुपमा कार्यरत छिन् ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री