शनिबार, जेठ २४ २०७७ | Sat, June 06, 2020
नेपालको समय: १४:५२ | UK Time: 10:07

युकेमा पहिलो राजनीतिक संस्था निर्माण

सुरेन्द्र नेपाल श्रेष्ठ
२०७६ चैत २६ गते ११:१२

स‌ंस्मरण

नेपालबाहिर सबैभन्दा बढी संघसंस्था स्थापना भएको देश बेलायत नै हो । सन् १९६० को मे महिनामा केही विद्यार्थीहरूले यति नेपाली एसोसिएसन स्थापना गरेका थिए । पशुपति शमशेर जबरा, हेमांग दीक्षित, अंगुरबाबा जोशी, प्रबलशमशेर राणा, सूर्यबहादुर बस्न्यातहरूको सक्रियतामा स्थापित यस संस्थाको तत्कालीन युवाराज वीरेन्द्र संरक्षक थिए । थोरै संख्यामा नेपालीहरू विभिन्न काम गर्ने अनुमतिमा बेलायत आउन थालेको थिए । त्यतिबेला केही डाक्टरहरू पनि आउन थाले । सन् १९८४ मा डाक्टरहरूको पहिलो भेला आयोजना भएको थियो । अर्को बैठक १९८४ मा लण्डनमा बस्यो र आधिकारिक रूपमा १९८६ मा डा. प्रेम हमालको नेतृत्वमा नेपाली डाक्टरहरूले पहिलोपटक पेशागत संस्था स्थापना गर्यो । जुन अहिलेसम्म पनि प्रभावकारी ढंगले सञ्चालन भइरहेको छ । सन् १९८९ मा पहिलोपटक राजनीतिक उद्देश्यका साथ शेरबहादुर देउवाको सक्रियतामा केही विद्यार्थीहरू सक्रिय भएको देखिन्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको समर्थनमा नेपाली दूतावासमा ज्ञापनपत्र प्रस्तुत गरेको थियो । त्यस समूहमा मनमोहन भट्टराई, सविन ढुंगाना, वल्लभ प्रधान, शशि कान्त अर्यालको सहभागिता थियो । नेपालमा प्रजातन्त्र स्थापना भएपछि नेपाल फर्केका देउवा पटकपटक प्रधानमन्त्री बन्नुभयो र हाल नेपाली कांग्रेसका सभापति हुनुहुन्छ । सन् १९८६ तिर मदन थापाको नेतृत्वमा नेपाली संस्कृति कलाको प्रवर्धन प्रचारप्रसार गर्न यतिकै सहयोगी संस्थाको रूपमा कोशेली सांस्कृतिक परिवारको स्थापना गरियो । त्यस्तै, नेपाली साहित्य तथा भाषाको संरक्षण र सम्बर्धन गर्न स्वर्गीय ईश्वर मानन्धर अध्यक्ष र शुरेस जंग शाह महासचिव भएको नेपाली साहित्य विकास परिषद युके सन् १९९५ मा स्थापना भयो । यी दुवै संस्थाले यतिसँग सहकार्य गर्दै नेपाली समाजमा हालसम्म सक्रिय भूमिका निर्वाह गरिरहेको छ । यसैबीच सन् १९९२ सेप्टेम्बर २० मा पुष्प श्रेष्ठको नेतृत्वमा हिमालयन यतिको स्थापना भयो जुन म्यानचेस्टर वरपरिका सहरहरूमा सक्रिय रहँदै आएको छ ।
बेलायतमा नेपाली संस्था बढ्नुका साथै नयाँ स्थापना हुँदै आए । सामाजिक राजनीतिक आर्थिक सांस्कृतिक सबै पक्षलाई प्रतिनिधित्व गर्ने संघसंस्था कार्यरत छन् । सामाजिक अन्तर्गत विभिन्न क्षेत्र, जातजाति, भाषा, धर्म सम्बन्धित संस्थाहरू पनि छन् । पछिल्लो समय केही आर्थिक गतिविधि पनि सामूहिक रूपमा हुन थालेको छ । प्रायः सबै पेशामा हुदा छुट्टै संगठन मात्रै हैन भूतपूर्व सैनिकहरूको हितका लागि मात्रै करिब आधा दर्जन संगठनहरू सक्रिय छन् ।
यती एसोसिएसनले वार्षिक रूपमा नेपाली चाडबाड मनाउने नेपालबाट आएका नेता राजपरिवारका सदस्यहरूसँग भेटघाट गर्ने राजारानीको जन्मदिन मनाउने लगायत धेरै कामहरू मार्फत सबै नेपालीबीच सम्पर्कको भूमिका निर्वाह गर्यो । जुन राजा वीरेन्द्रको वशं हत्यासम्म नै जारी रह्यो । २०६२ र ६३ को आन्दोलन पछि परिवर्तित परिवेशमा यहाँ पनि राजनीतिक पार्टीको भ्रातृ संगठनको रूपमा प्राय सबै पार्टीले आफ्नो संगठन निर्माण गर्यो ।
नेपालमा जनयुद्ध सुरु भएको करिब ९ महिनापछि म सन् १९९६ डिसेम्बर १३ मा लण्डन आएको थिए । यहाँ आएपछि पनि मेरो नेपालमा साथीहरूसँग सम्पर्क रहिरह्यो । यहाँबाट केही सहयोग पठाउने काम पनि भयो । मेरो सम्पर्कमा रहनुहुने मिलन नेपालीजीको गिरफ्तारी र हत्यापछि भने केही समय सम्पर्क हुन सकेन । पार्टीले पहिलो पटक आर्थिक संकलन गर्न देश विदेशमा गरेको अपिलमा बेलायतबाट ५६ हजार नेपाली रूपैयाँ पठाएका थियौँ ।
नेपालमा भएका राजनीतिक घटनाहरूलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक थियो । यसलाई बेलायतमा पनि हामीले सकेसम्म कोशिस गर्यौ । सन् १९९८ को अक्टोबरतिर हामीले वेष्ट ससेक्सको ओर्दिङमा बस्ने गोरखाका सिवी गुरुङ (अशोक घले) रुकुमका कृष्ण बहादुर बुढालगायत केही साथीहरू बीच छलफल गरेर नेपाल सरोकार समाज यूके गठन गर्ने कुराको सुरुवात भयो । सन् १९९९ को अप्रिलमा ब्रुनेल युनिभर्सिटीमा पब्लिक हेल्थ विषयमा एमएसी गरिरहनुभएका पदम सिंखडाको सक्रियतामा त्यही विश्वविद्यालयका प्रोफेसर थियो म्याक डोनलसँग भेट्ने समय मिलायौँ । क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोका स्वास्थ्य सल्लाहकार समेत रहेका थियोले क्यूबामा सामाजिक स्वास्थ्य प्रणाली लागु गराएका थिए र अमेरिकाको नाकाबन्दीका बाबजुद पनि उक्त प्रणाली सफल भएको थियो । उनी वामपन्थी विचारक समेत भएकोले नेपालको वामपन्थी आन्दोलनलाई कसरी अन्तर्राष्ट्रियकरण गराउन सकिन्छ भन्नेबारे छलफल गर्न उक्त भेटको आयोजना गरिएको थियो । उक्त भेटमा पदम सिंखडा, धर्मबहादुर थापा, राजुबाबु श्रेष्ठ, गोपाल पौड्याल, अशोक घले र म थियौं । भेटका क्रममा महत्वपूर्ण छलफल भएको थियो । त्यसपछि हामी चौरमा बसेर अन्य कुराहरू पनि भयो । त्यहीँ क्रममा पदमजीले हामी नेपालीले पनि कुनै कलेज खोल्न पाए राम्रो हुने प्रस्ताव राख्नुभयो । त्यतिबेला अन्य दक्षिण एसियाली देशका नागरिकहरूले नीजि कलेज खोलेर थुप्रै विद्यार्थी भर्ना गराउने होडबाजी चल्दै थियो । हामीले यो राम्रो विचार हो भन्ने ठहर्यायौं । केही दिनपछि गोपालजीले इलिङ्गमा एउटा घर भेटियो, लौ कलेज सुरु गरौं भन्नुभयो । कलेज प्रचार प्रसारको क्रममा प्रोफेसर थियोलाई नेपाल पनि लानुभयो । केही वर्ष त्यो कलेज राम्रोसँग चल्यो । त्यही समावेश भएका केही साथीहरूले अन्यत्र पनि कलेज खोल्नु भयो । तर बेलायतको नयाँ नीतिले गर्दा अहिले नीजि कलेजहरू खासै सञ्चालनमा देखिदैन ।
सन् २००१ को मार्च महिनामा युनिभर्सिटी कलेज लण्डनको छात्रावासमा बसेको बैठकले आधिकारीकरूपमा नेपाल सरोकार समाजको गठन भयो । बहिनी रोशनी र ज्वाइँ गिरीराज कट्टेलको कोठामा भएको उक्त बैठकले मेरो नेतृत्वमा कर्णबहादुर शाही, राजुबाबु श्रेष्ठ, वाशु मिश्र, रोशनी श्रेष्ठ, गिरीराज कट्टेल र गोविन्दप्रसाद दाहाल सहितको एउटा कार्यसमिति गठन भयो । उक्त बैठकमा डा. धर्मबहादुर थापाको पनि उपस्थिति थियो । समाजको पहिलो कार्यक्रम १५ अप्रिल २००१ मा गोपालजीकै बोस्टन कलेज अफ लण्डनमा आयोजना गरियो । समसामयिक राजनीतिक अवस्था र हाम्रो दायित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पहिलोपटक राजनीतिक सचेतताका साथ लण्डनमा यस प्रकारको कार्यक्रम आयोजना भएको थियो । करिब ३० जना उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालमा मानव अधिकार उल्ल‌ंघन भएको र सरकारले आवश्यकताभन्दा बढी शक्ति प्रयोग गरी जनयुद्धलाई नै मलजल गरेको निष्कर्षमा पुगेको थियो । समाजले आफ्नो मुखपत्रको रूपमा २०५८ सालको दशैंमा “सरोकार” पुस्तक पनि प्रकाशित गर्यो । तत्कालिन राजनीतिक अवस्थाको कारण त्यस प्रकारको प्रकाशन गर्नु आफैँमा चुनौतीपूर्ण थियो । टाउकोको मूल्य तोकिएका माओवादी नेता अग्नि सापकोटा, माओवादी लेखक ईश्वरचन्द्र ज्ञवाली, पूर्ण विराम, कृष्णसेन इच्छुक, दिल साहनी लगायतका सिर्जना सहितको उक्त पुस्तक सरकारको आँखामा परेको भए ठूलो संकट आउन सक्थ्यो । केही प्रतिहरू यहीँको ब्रिटिस स्वयंसेवीको हातबाट ल्याउन सफल भयौँ । तर धेरै प्रति भने नेपालमा जलाएर नष्ट गर्नुपर्ने बाध्यता भयो ।
सन् २००४ को जुलाई २६ मा म बाहेकका अन्य साथीहरूको जमघटबाट माओवादी पार्टीको भातृसंस्थाको रूपमा लण्डनमा कर्ण शाही, वाशु मिश्र र रण केसीको नेतृत्वमा नेपाली समाज यूकेको गठन भयो । जुन कुरा मैले केहीसमय पछि राजु श्रेष्ठजीले भन्नु भएर मात्र थाहा पाएँ । केही समयसम्म मेरो संलग्नता रहेन । पछि शान्ति प्रक्रियाको क्रममा पहिलो चोटी एनआरएनले आयोजना गरेको कार्यक्रममा २००६ तिर कृष्णबहादुर महराको उपस्थितिमा मैले पनि नेपाली सामाज यूकेको सदस्यता लिए । अर्को संस्थासँग नाम मिलेकोले प्रगतिशील नेपाली समाज यूके र पछि विदेशस्थित सबै संगठनहरूको एउटै नाम राख्ने निर्णय भएअनुसार नेपाली जनप्रगतिशील मञ्च यूकेका नाममा सक्रिय रह्यो ।
लय प्रसाईँको नेतृत्वमा एमाले समर्थित सदस्यहरु सन १९९८ देखि सगठित रहेको भएपनि विधिवत रूपमा नेपाल लोकतान्त्रिक मञ्च एनडीएफ भने सन् २००४ देखि आङ कल्जङ लामाको नेतृत्वमा गठन भएको देखिन्छ । हाल यसको नाम परिवर्तन भएर प्रवासी नेपाली मञ्च भएको छ ।
नेपाली कांग्रेसको समर्थनमा एनपिसिसी नेपाली जनसम्पर्क समिति पनि सन् २००४ मा नै स्थापना भएको थियो । माओवादी जनयुद्धसम्बन्धी बेलायतमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन नेपालबाट कांग्रेसका तर्फबाट रोमी गौचन र अर्जुन नरसिंह केसी तथा एमालेबाट झलनाथ खनाल र भीम रावल आएको बेला एमालेको सम्पर्क समिति बनिसकेकोले त्यसैलाई औपचारिकता दिएको र कांग्रेसको एनपीसीसी गठन भएको थियो । पहिलो समितिमा पुरुषोत्तम पौडेलले र त्यसपछि विनोद मोक्तानले नेतृत्व गर्नुभयो । पार्टीको आन्तरिक विवादका कारण एनपिसिसी पनि एक भइरहन सकेन । जसको परिणाम बेलाबखत समानान्तर समितिहरू सक्रिय हुँदै आएको देखिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थकहरूले प्रवासी नेपाली एकता समाजको सन् २०१० मा रोशन सापकोटाको नेतृत्वमा स्थापना गरेर पृथ्वी जयन्ती मनाउने लगायतका कार्यक्रमहरू आयोजना गर्दै आएको छ । संघीय समाजवादी फोरम, नयाँ शक्तिलगायत अन्य प्राय सबै राजनीतिक पार्टीहरूको भ्रातृ संगठनहरू गठन गरिसकेको छ । नेपालमा पार्टी निर्माण, फुट र एकता भए संगसंगै यहाँ पनि त्यही अनुसार भातृसंगठनहरु थपघट हुदै गएको देखिन्छ ।

सुरेन्द्र नेपाल श्रेष्ठको ‘मेरो आधा शताब्दी’ बाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक