शुक्रबार, असार १९ २०७७ | Fri, July 03, 2020
नेपालको समय: ००:४६ | UK Time: 20:01

छेकिएका सार्वभौमहरू

गोविन्द बेल्वासे
२०७६ चैत २३ गते १६:०१

गोविन्द बेल्वासे

विलियम जे बेन्नेटले, आँधीबेहरी (स्टोर्म)- सबै प्रकारका आँधीबेहरीबाट जोगाउने सहारालाई घर भनेका छन् । उनले उल्लेख गरेको सवै प्रकारका आँधीबेहरीअन्तर्गत कोरोनाभाइरस (कोभिड१९) को कहर पनि समेटिन्छ भनेर सहजै बुझिन्छ ।

प्रसङ्ग महाकाली नदी लगायतका सिमानामा रोकिएर घर जान नपाएका नेपालीहरूको हो । उनीहरू सिमानामा रोकिनुको कारण भने कोरोना भाइरसको महामारी हो । त्यसैको चर्चा जताततै छ । यहाँ चर्चा गर्न लागेको विषय उनीहरूलाइ बस्न र खान दिइएको सेल्टरको होइन, उनीहरूको घरको हो । कोही क्वाटर छाडेर, कोही डेरा छाडेर त कोही झोपड-पट्टी एवं गोदाम छाडेर घर जान हिँडेका थिए । चर्चाको विषय उनीहरूलाई सिमाना मै रोकेर ‘अरूको र उनीहरूकै’ ज्यान जोगाउने कि घर भनेर ढोका रूपी सिमानाको संघारमा रोक्नु जायज भन्ने मनन गर्नु रहेको छ ।

एक महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओली ६९ औँ जन्मोत्सव मनाउन जन्मघर पुगे । उनको त्यो जन्मघर अहिले उनको लागि घर होइन एक भवन हो । अझ पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइका भाषामा भन्ने हो भने बुकुरो हो । भवन भने पनि बुकुरो भने पनि त्यो उनको घर भने होइन । उनी त्यो घरमा नसुतेको धेरै दशक वितिसकेको छ । अब उनी त्यहाँ कहिल्यै रात विताउने वा सुत्ने छैनन् भनेर ठोकुवा गर्न सकिन्छ । त्यसैले पाँचथर आठराई गाउँपालिका वडा नं ४ इवाको बुकुरो उनलाई सहारा दिने घर हुनै सक्दैन ।

घरसंग त एउटा भावना जोडिएको हुन्छ । मानिसका धेरै घर हुन सक्छन् । बस्ने घर, ब्यापार घर, जन्मघर, बेसीको घर, डाँडाको घर, पुर्ख्यउली घर, मामाघर इत्यादि । जसका जत्तिवटा घर भए पनि वास्तविक भावना जोडिएको घर एउटै हुन्छ । कुन घरमा धेरै समय बस्यो भनेर पनि घर मानिँदैन । उदाहरणको लागि अहिलेका प्रम खड्ग प्रसाद दशक भन्दा बढि नै जेलमा बसे तर जेल उनको घर हुँदै होइन । त्यहाँ बसुन्जेल पनि उनले त्यसलाई घर मान्दै मानेनन् ।

आफ्नै घर बनाउन मान्छेले जीवनभरिको कमाइले जोडेको पनि हुन सक्छ । गाउँको घर बेचेर सहरमा बिल्डिङ बनाएको पनि हुनसक्छ । विवाह गरेर श्रीमती भित्राउन घर बनाएको पनि हुन सक्छ । सुहागरात मनाएको भनेर वा लभ परेको घर भनेर पनि कुनै अरूको घरलाई आफ्नो बनाउन किनेको पनि हुन सक्छ । विदेशमा रोजगार गरेर घर बनाएर कहिल्यै आफू बस्न नपाएर भाडामा लगाएको भए पनि आफ्नै घर मानेको पनि हुन सक्छ । आफू विदेशमा ब्यापार वा रोजगार गरेर नेपालमा श्रीमती छोराछोरी तथा परिवार बस्ने गरेको घरलाई मात्र उसले आफ्नो घर मानेको पनि हुन सक्छ । जसरी भावना जोडिएको भए पनि हरेक ब्यक्तिले एउटा घरलाई आफ्नो घर मानेको हुन्छ । कसैकसैले त भाडामा बसेकै घरसंग पनि भावना तथा मन जोडिएकोले आफ्नै घर मानेको हुन सक्छ जहाँ, उसका श्रीमती परिवार समेत बसेका हुन्छन् । एक्लै बस्नेले पनि भाडाकै घरलाई पनि आफ्नै मानेको हुन सक्छ ।

घरलाई मानिसले अप्ठेरो पर्दा, गाह्रो साँगुरो हुँदा, संकट पर्दा सहाराको भावनाले मनमा जोडेर राखेको हुन्छ । त्यस्तो घर चाहे ढुङ्गा माटोको होस्, चाहे टीनले छाएको होस्, चाहे त्रिपालले बेरेको होस्, चाहे खरले छाएको होस्, चाहे तीते पातिले बेरेकै किन नहोस् घर त भावनामा जोडिएको एक सहारा हुन्छ । आत्मबल दिने घर पो सधैको घर हुन्छ । जीवनमा बेलाबखत भावना साटिएर आफ्नो भन्ने घर फेरिएको पनि हुन सक्छ । बेलाबखत धेरैले आफ्नो घर फेरेका पनि हुन्छन् । कोही पहाडबाट तराइमा सारेका हुन्छन् । कसैले घर विदेशमा सारेका पनि हुन सक्छन् । जे होस, घर विहिनहरूले कुनै पुल मुनिको छाहारीलाई पनि आफ्नो घर ठानेको हुन सक्छन् ।

अप्ठेरो परेको अवस्थामा, विपत परेको अवस्थामा, सहारा चाहिएको अवस्थामा घरले उसलाई आत्मबल दिन्छ । कोरोना भाइरसको माहामारीले पनि अहिले धेरैलाई आफ्नो घर सम्झाइ दिएको छ । घरले उसलाई रोगसंग लड्ने आत्मबल प्रदान गर्दछ । कोही आफ्नो घर हत्तपत्त पुग्न बाटो लागेका छन् । कोही पुगिसकेका छन् । कोही बाटोमै छन् । कोही महाकाली नदिमा छेकिएका छन् । कोही कामको सिलसिलामा फिल्डमा गएका अवस्थामा उतै छेकिएका छन् ।

देश विदेशमा ख्याति कमाएका डाक्टर उपेन्द्र देवकोटाका थुप्रै घर थिए, भवनहरू थिए । ब्यापारिक भवनहरूको कुरा गरि साध्यै थिएन । तर, पनि उनले आफ्नो मानेको घरबाट पनि अन्तिम दिनहरूमा गरखाको पुर्खौली घर जाने इच्छा गरे, र पुगे पनि । उनले मृत्यूलाई जित्न नसक्ने ठहर गरेपछि अन्तिम इच्छाका रूपमा त्यसरी पुर्ख्योली घर संझे । रोगसंग लड्ने आत्मबललाई गोरखा पुगेर पुकार गरे । त्यहा पुग्ने उनको भावना एक घरसंग जोडिएको थियो ।

कसैले मृत्यूसंग अब जित्न सक्दिन भन्ने लाग्यो भने मृत्यूपछि लास घरमा पुर्याइदिन इच्छा गर्छन् । सम्भव भएसम्म पुर्याइन्छन् पनि ।

तर, अहिले बाँचिरहेका नेपालीहरूलाई सिमानामा रोकेर जिउँदै मारिएको छ । सिमानारूपी घरको संघारमा पस्न रोकेर घरै खोसिएको छ । म नेपालको नागरिक हुँ र घर पुगे त कोरोनालार्इ जित्छु भन्ने आत्मबल पुकारा गर्नेको भावना तोडिएको छ । ती नागरिकहरू सार्वभौम हुन भन्ने संविधानको धारा २ को भावना मेटिएको छ । उनीहरूलाई रैती भन्दा पनि निकृष्ट मानेर उनको र अरूको शरीर बचाउने नाममा उनीहरूको आत्मासंगै संविधानसभाले लेखेको संविधानको भावना नै मेटिएको छ ।

संघारभित्र छिर्न देउ, बरू बन्द गर छेक बन्दी बनाउ, देश भित्रै बनाउ, रेमिट्यान्स पठाएर देशको ज्यान जोगाउनेहरूलाई सिमानामा न छेक । यही नै जनताको पुकार छ ।

शासकहरूले सिमानापारी नै उनीहरूलाई खान बस्ने ब्यवस्था गर्ने तर्क चलिआएको किम्बदन्ती जस्तै छ । जनताले ‘सरकार खान पाइन’ भनेर पुकार गर्दा ‘दुधभात पनि खान पाइनस ?’ भन्ने शासकको कथन दोहोरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक