आइतबार, जेठ २५ २०७७ | Sun, June 07, 2020
नेपालको समय: १४:४३ | UK Time: 09:58

‘बेसार, अदुवा, लसुनले कोरोनाबाट बचाउँदैन’- डा. पौड्याल

वीनेपाली
२०७६ चैत १४ गते १९:५५

अहिले कोरोना भाइरसले विश्वलाई त्राहीमाम बनाएको छ । के विकसित के अविकसित विश्वका प्राय: सबै देश यस भाइरससित जुधिरहेका छन् । बेलायत पनि अहिले यो भाइरसको चपेटामा परेको छ । त्यसैले यहाँ बसोबासरत नेपालीहरुलाई सो भाइरसका बारेमा र यसबाट बच्ने उपायहरुमा केन्द्रीत रहेर हामीले युनिभर्सिटी अफ ससेक्समा जनस्वास्थ्य विषयका सिनियर लेक्चरर डा. प्रियम्वदा पौड्यालसित कुराकानी गरेका छौँ । यो कुराकानी नेपाल पत्रकार महासंघ युके शाखाको कोरोना भाइरस सम्बन्धी सचेतना अभियानअन्तर्गत तयार पारिएको हो ।

तपाई लामो समयदेखि जनस्वास्थ्य क्षेत्रमा कार्यरत हुनुहुन्छ । कृपया अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका बारेमा केही भनिदिनु हुन्छ कि ?

म जनस्वास्थ्य क्षेत्रमा काम गरेको करिब १५ वर्ष भयो । सन् २००५ देखि म यस क्षेत्रमा काम गर्दै आएको छु । अहिले युकेको ससेक्स युनिभर्सिटीमा सिनियर लेक्चररको रुपमा कार्यरत छु । कोरोना भाइरसका बारेमा मैले जाने–बुझेको जानकारी दिने कोसिस गर्नेछु ।

कोरोना भाइरस कस्तो किसिमको भाइरस हो ?

यसलाई वैज्ञानिक रुपमा भन्दा ‘सार्सकोभ टु’ भन्छन् । जनमानसले कोरोना भनेर चिन्छन् । कोरोना भाइरसले ‘कोभिड नाइन्टिन’ भन्ने रोग ल्याउँछ । यो नौलो किसिमको रोग हो । यो सबैभन्दा पहिले चाइनाको वुहान भन्ने प्रान्तमा सन् २०१९, डिसेम्बरमा देखिएको थियो । यो रोग कहाँबाट कसरी आयो भन्नेमा निक्कै चर्चा परिचर्चा चलिरहेको छ । कसैले चमेराबाट पनि आएको भनेका छन् । पछिल्लो समय पांगोलियन भन्ने जनावरबाट आएका भन्ने समाचारमा आएको थियो तर यसको अझै पुष्टि हुन बाँकी छ ।

यो रोगको मुख्य लक्षणहरु के के हुन् ?

यसको मुख्य लक्षण भनेको ज्वरो आउने र सुख्खा खोकी हो । पछि रोगले च्याप्दै लैजाँदा फोक्सोमा समस्या आउँछ र श्वास फेर्न गाह्रो हुने गर्दछ । अहिले फ्रान्समा खानाको स्वाद नहुने लक्षण पनि भेटिएको छ भने इटालीमा पनि त्यस्तै कुरा आएको छ । यसलाई पनि अर्को एउटा लक्षणका रुपमा राखिएको छ । अनि असाध्यै जीउ दुख्ने पनि हुन्छ । तर मुख्यरुपमा ज्वरो आएको छ र सुख्खा खोकी छ भने यो भाइरसले समाएको हुनसक्छ ।

यो रोगबाट कस्ता व्यक्तिहरु खतरामा छन् ?

चीनको तथ्यांकअनुसार (अन्य देशको तथ्यांक त्यति उपलब्ध भइसकेको छैन) बच्चादेखि अधबैँसे र बुढाबुढीलाई पनि लाग्छ तर कसलाई बढी सिकिस्त बनाउँछ भन्ने छुट्टै कुरा हो । बच्चाहरुलाई लागे पनि उनीहरुले लक्षण नदेखाउन सक्छन् । अनि ६५ वर्षमाथिका बुढाबुढी र प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) कम भएका विरामीहरु जस्तै क्यान्सर सर्भाइभरहरु, मधुमेह, मुटुको रोग र अन्य रोगले पहिल्यै समाइ सकेकाहरुलाई यो रोगले च्याप्ने बढी सम्भावना हुन्छ । मृत्यु हुने सम्भावना पनि त्यस्ता व्यक्तिहरुमा बढी देखिएको छ ।

त्यसो भए बालबालिकालाई पनि यो रोग लाग्छ ?

तथ्यांकअनुसार बालबालिकालाई पनि यो रोग उत्तिकै लाग्छ । खाली यसले बालबालिकालाई सिकिस्त बनाउँदैन, त्यतिमात्र फरक छ ।

युकेमा वृद्धवृद्धाहरु पनि धेरै नै हुनुहुन्छ । उहाँहरुलाई कसरी यो भाइरसबाट सुरक्षित राख्न सकिएला ?

युकेमा वृद्धवृद्धा भन्दा नेपाली वृद्धवृद्धाको कुरा गर्नुभएको होला । सबैभन्दा राम्रो त अहिले सरकारले जारी गरेको निर्देशन पालना गर्नु राम्रो हुन्छ । सरकारले के भनेको छ भने ७० वर्ष माथिका उच्च जोखिममा पर्छन् । त्यसैले उहाँहरुलाई तीन महिना घरै बस्ने सल्लाह दिएको छ । ७० वर्ष कट्दैमा सबैजना उच्च जोखिममा हुन्छन्, उनीहरुलाई रोग लागिहाल्छ भन्ने पनि होइन । ७० वर्ष कटेकामध्ये पनि जसको शारीरिक अवस्था कमजोर छ, जसलाई पहिल्यैदेखि केही रोग लागेको छ, मधुमेह, मुटुको रोग वा अन्य कुनै रोगले च्यापिराखेको  छ भने उनीहरुलाई अलि बढी यो रोगले समात्छ । वृद्धवृद्धाहरुले सकेसम्म घरबाट बाहिर ननिस्कने, निस्कनै परे दुईजनाभन्दा बढीको समूहमा ननिस्कने, आफ्ना छोरा नाति छन् भने उनीहरुलाई पसल पठाउने । एक्लै बस्नुभएको छ भने आफन्तहरुलाई फोन गर्नुहोला किनमेलको लागि । तपाई आफैँ निस्कनुपर्ने भयो भने अलि भीड कम हुने, सुनसान हुने प्राय: दिउँसोको समयमा निस्कनुहोला । पसलमा पनि अर्को व्यक्तिसित दुई मिटरको दूरी राखेर लाइनमा बस्नुहोला । घर बस्दा पनि गाह्रै हुन्छ । वृद्धवृद्धाहरु तथा अन्यले पनि पत्रपत्रिका, पुस्तक पढ्ने, बगैँचामा काम गर्ने, सरसफाइ गर्ने, योग, ध्यान गर्ने, हल्का कसरत गरेर आफूलाई ब्यस्त बनाउन सक्नु हुन्छ ।

यो रोगबाट बच्न साबुन पानीले हात राम्रोसँग धुने भनेर सरकारले भनेको छ । हात धोएर भाइरसबाट कसरी सुरक्षित हुन सकिन्छ ?

यो रोग मानिसले खोक्दा, हाच्छिउँ गर्दा निस्कने कणबाट सर्छ भनिएको छ । एकपटक मानिसले खोक्दा तीनहजार कणहरु निस्कन्छन् भनिन्छ । हाच्छिउँ गर्दा १० हजार वटा कण निस्कन्छन् भनिन्छ । त्यसैले तपाईले खोक्दा वा हाच्छिउँ गर्दा कोही मानिस अगाडि नै छ भने उसले श्वास फेर्दा यो रोग सर्न सक्छ तर हावाबाट यो रोग फैलन्छ भने अहिलेसम्म प्रमाणित भइसकेको छैन । खोक्दा वा हाच्छिउँ गर्दा सतहमा खसेका कणहरु हातले छुँदा यो रोग सर्न सक्छ । यसरी सतहमा छुँदा हातमा आउन सक्ने भाइरसलाई मार्ने सबैभन्दा राम्रो उपाय चाहिँ साबुनपानीले हात धुने नै हो । खासगरी बाहिर गएर आउँदा वा ट्वाइलेट गइसकेपछि साबुनपानीले हात राम्रोसँग धुनुपर्छ ।

मास्क लगाउनु चाहिँ कत्तिको उपयुक्त हुन्छ ?

हावाबाट नै यो रोग फैलन्छ भन्ने पुष्टि भइसकेको छैन । हस्पिटलको हावामा समेत यो भाइरसको कण देखिएको पाइएको छैन । बिरामीसित सीधा सम्पर्कमा हुने चिकित्सक वा नर्सहरुलाई मास्क लगाउनु आवश्यक भए पनि सर्वसाधारणलाई बाहिर जाँदा, चौरमा घुम्दा, दौड्न जाँदा मास्क लगाउनु जरुरी छैन । नेपालमा पाइने मास्कहरु गुणस्तरीय पनि हुँदैनन् । अनि भारइस आँखाबाट पनि सर्नसक्ने भएकाले मास्क लगाउँदैमा पूर्ण सुरक्षित भइन्छ भन्ने छैन ।

साधारण फ्लु र कोरोनामा के फरक छ ?

फ्लु चाहिँ इन्फ्लुएञ्जा भाइरसले हुन्छ यो चाहिँ कोरोना भाइरसले हुन्छ । भाइरस नै फरक पर्यो । लक्षणहरु उस्तै देखिए पनि मृत्युदरमा ठूलो फरक छ । फ्लुले हजारमा एकजना मान्छे मार्छ भने कोरोनाले हजारमा ३० जना मार्नसक्छ । फ्लुले भन्दा कोरोनाले ३० गुणा बढी मान्छे मार्छ ।

नेपाली समुदायमा बेसार, अदुवा, लसुन खानाले यो भाइरसबाट बच्न सकिन्छ भन्ने पनि छ । यसलाई कसरी हेर्नुहुन्छ ?

यो त अफवाह नै हो । अहिलेसम्म यो भाइरसको औषधि पत्ता लागेको छैन । केही औषधिको परीक्षणहरु हुँदै गरे पनि अहिलेसम्म पत्ता लागेको छैन । हाम्रो मरमसलाको आफ्नै फाइदा, बेफाइदा होलान् । तातोपानी खाएर, लसुन, अदुवा खाएर कोरोना कम हुन्छ भन्नेको पछि नलाग्नुहोला । कोरोनाबाट बच्ने सबैभन्दा राम्रो उपाय साबुनपानीले राम्ररी हात हुने नै हो ।

अलिकति प्रसंग बदलौँ, अहिले बेलायत सरकारले कोरोना भाइरसलाई सामना गर्न लिएको नीति कस्तो लाग्छ ?

बेलायत सरकारले चरणवद्ध रुपमा नीतिहरु ल्याएको छ । शुरुमा चीनमा यो रोग देखिने बित्तिकै युकेले केही गरेन । शुरुमा युके सरकारको नीति करिब ६०/८० प्रतिशत जति मानिसलाई यो भाइरस लाग्न दियो भने प्रतिरोध क्षमता आफै बढ्छ र दीर्घकालिन समाधान हुन्छ भन्ने थियो । त्यसको चौतर्फी आलोचना भएपछि ‘मिटिगेट’ नीति ल्याइयो । त्यो चाहिँ संकेत देखिएको मानिस एक्लो छ भने सात दिन, परिवारमा छ भने १४ दिन घरमै बस्ने नीति हो, तर स्कुलहरु खुल्ला नै राखियो । यातायातहरु सुचारु नै राखियो । यदि त्यसरी नै छोड्ने हो भने करिब साढे दुई लाख मानिस मर्न सक्छन् है भनेर इम्पेरियल कलेज लण्डनका वैज्ञानिकहरुले सरकारलाई सुझाव दिए । त्यसपछि सरकारले रोगलाई दबाउने नीति ल्यायो । तर, अहिले पनि युकेले पूर्णरुपमा ‘लक डाउन’ गरेको छैन । रेल, बस चलेकै छन् । कतिपय कामहरु जस्तै निर्माणसम्बन्धी पनि रोकिएका छैनन् । अरु देशको स्थिति हेर्दा यो अझै पर्याप्त छैन भन्ने देखाउँछ जबकि चीन, दक्षिण कोरियामा पूर्ण रुपमा आवतजावत रोकिएको थियो । हामीकहाँ पनि त्यस्तै चाहिन्छ कि जस्तो देखिन्छ ।

भनेपछि बेलायतको नीति हेर्दा यो भाइरसलाई नियन्त्रणमा ल्याउन अलि कठिन नै होला जस्तो देखिन्छ ?

अहिलेको नीतिले भाइरस छिटो फैलनबाट रोक्न सक्छ, तर पूर्णरुपमा रोक्न गाह्रै पर्छ ।

विकसित मानिएका फ्रान्स, इटलीमा धेरै मानिसहरुको मृत्यु भइसकेको छ । त्यसको कारण के होला ?

खासकारण पूर्व तयारीको अभाव हो । सामान्य भाषामा भन्ने हो भने जतिसुकै विकसित देश र राम्रो स्वास्थ्यसेवा भएको मुलुकले पनि एकैचोटी ठूलो संख्यामा बिरामी भए भने धान्न सक्ने अवस्था हुँदैन । इटली, स्पेन र फ्रान्समा भएको त्यही हो । पहिला चाइनाबाट एक/दुई वटा केसहरु भित्रिँदा त्यति महत्व दिइएन । यो रोग असाध्यै संक्रामक छ र एक /दुई हप्तामै धेरै ठूलो संख्यामा फैलन सक्छ । मान्छेमा लक्षण देखिँदैन, तर समातिसकेको हुन्छ । इटलीको सन्दर्भमा अलि ढिलो मात्र नियन्त्रणमा लिन थालियो । खास स्वास्थ्य सेवा नराम्रो वा मान्छे नै फरक भएर धेरै मानिस मरेका होइनन् । हुनत इटली विश्वको दोस्रो बढी वृद्धवृद्धा भएको देश मानिन्छ, धुम्रपान पनि उच्च छ तर मुख्य कारण प्रयास ढिला भएर नै हो ।

युकेमा पनि सरकारले नियन्त्रणको प्रयासमा ढिलाइ गरेको भनिन्छ । के युकेको अवस्था पनि इटली, स्पेनको जस्तै होला ?

बेलायत सरकारको नीति ‘हेर्दै जाउँ’ भन्ने देखिन्छ । अहिले लिइएको नीतिले के कति फरक पार्छ त्यसअनुसार आवश्यक नीति लिने भन्ने देखिन्छ । यदि स्थिति सुधार भएन भने स्पेन, इटलीमा जस्तै कम्प्लिट लक डाउनको अवस्था पनि आउन सक्छ । अहिलेसम्मको अवस्था हेर्दा त्यस्तो होला जस्तो देखिँदैन । तर यो नौलो किसिमको रोग भएकाले कतातिर जान्छ भन्ने अनुमान गर्न नै गाह्रो छ ।

अहिले त नेपालमा पनि यस महामारीको भय बढेको छ र ‘लक डाउन’ गरिएको छ । अन्य मुलुकको अवस्था हेरेर नेपालले अहिले के गर्नुपर्ला ?

नेपालमा अहिलेसम्म केही केस देखिए ती विदेशबाट आएको पाइएको छ । थोरै केसमै लक डाउनमा जानु सरकारको राम्रो कदम हो । विकासोन्मुख देश भएर पनि कम्प्लिट लक डाउनमा जान सरकारको लागि पनि चुनौतीपूर्ण पनि थियो । म यस कार्यको सराहना गर्छु । लक डाउन कहिलेसम्मको लागि भन्ने नेपालमात्र नभएर संसारभरकै लागि एउटा अहम प्रश्न बनेको छ । चीनले लक डाउन गरेर नियन्त्रणमा लियो तर अब खुल्ला गर्दा के हुन्छ ? भोलिका दिनमा हेर्न नै बाँकी छ । भोलि रोगले कुन रुप लिन्छ त्यसै अनुरुप चल्नुपर्ने हुन्छ । नेपालमा थोरै केस देखिन्छ । टेष्ट नै कम भएर थोरै भएको हो कि भएकै थोरै केस हो अहिले भन्न सकिँदैन । तर अहिलेको समयमा नेपालमा आइसियु बेडहरु असाध्यै कम छन् । वीरमा ११, टिचिंगमा पनि ११ वटा र टेकुमा ३ वटा मात्र छ जस्तो लाग्छ । त्यसैले अहिलेको समयमा आइसियुको बेड बढाउने, अस्थायी अस्पतालहरु बनाउनुपर्छ । पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) हरु मास्क, पञ्जा, गाउनहरुको जोहो गर्नुपर्छ । अनि सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ जनचेतना जगाउनु हो । यो रोग के हो, हात कसरी धुने, कसरी सर्छ भन्ने बारेमा जनचेतना जगाउनु अत्यावश्यक छ ।

भिडियो अन्तर्वार्ता 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक