पूर्वगोर्खाको लगानी रहेको जीनर्जी बन्द, ग्राहकको जिम्मा अर्कै कम्पनीलाई

लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको लगानीमा स्थापित विद्युत तथा ग्याँस आपूर्ति गर्ने कम्पनी जीनर्जी लिमिटेड बन्द भएको छ ।

तोकिएको समयावधिभित्र आवश्यक कोष जम्मा गर्न कम्पनी असफल भएपछि कारोबारको अनुमतिपत्र खारेजसँगै कम्पनी बन्द भएको हो ।

बेलायतको इनर्जी नियामक निकाय अफजेमले मार्च १८ मा एक विज्ञप्ति जारी गर्दै जीनर्जीलाई कारोबार गर्न रोक लगाएको बताएको थियो ।

जीनर्जीका करिब ९ हजार ग्राहकहरुलाई अफजेमको सेफ्टी नेटअन्तर्गत राखिने भएकाले उनीहरुको घर तथा व्यवसायमा ग्याँस तथा विद्युत आपूर्ति नियमित हुने र जीनर्जीसित लिन–दिन बाँकी कारोबारमा कुनै असर नपर्ने बताइएको छ ।

यसैगरी, अफजेमले २१ मार्चमा अर्को विज्ञप्ति जारी गर्दै जीनर्जीका ग्राहकहरु वल्व नामक इनर्जी प्रदायक कम्पनीलाई हस्तान्तरण गरिएको बताएको छ । अफजेमले प्रतिस्पर्धाका आधारमा वल्वलाई छनौट गरिएको प्रष्टिकरण दिएको छ । अफजेमले ग्राहकहरुलाई नयाँ कम्पनी (वल्व) ले सम्पर्क नगरेसम्म जीनर्जी छोडेर अरु सेवा प्रदायककहाँ नजान पनि सुझाव दिएको छ । यसैगरी, वल्वले सम्पर्क गर्दाको मितिसम्मको विजुली तथा ग्याँस खपतको मिटर रेकर्ड राख्न पनि अफजेमले ग्राहकहरुलाई अनुरोध गरेको छ ।

अफजेमकी निर्देशक फिलिप्पा पिकफोर्डले जीनर्जीका ग्राहकहरुलाई चिन्ता नलिन आग्रह गरेकी छिन् । अफजेमको सेफ्टी नेटअन्तर्गत सबै ग्राहकहरुलाई विजुली तथा ग्याँस आपूर्ति निरन्तर उपलब्ध गराइने र उनीहरुको हरहिसाब सुरक्षित रहने उनले बताएकी छिन् । उनले वल्वसितको कारोबार हस्तान्तरण सकिएपछि ग्राहकहरुले राम्रो सेवा प्रदायक छानेर वल्व छोड्न सक्ने पनि जानकारी दिएकी छिन् ।
सन् २०१३ मा जीनर्जीले लुनेम इनर्जी सप्लाई लिमिटेड खरिद गरी जीनर्जी नामकरण गरेको थियो । जीनर्जीको स्थापना पूर्व गोरखा सैनिकहरुबाट लगानी गरी गरिएको थियो । शुरुवातमा लगानी गर्ने पूर्व गोरखाहरुको संख्या करिब २०० जना रहेको बताइन्छ । उनीहरुले पटकपटक गरी दामासाहीले करिब ५ हजार पाउण्डको दरले लगानी गरेको एक लगानीकर्ताले बताए । यसबाहेक पछिल्लो समयमा गैरगोरखा र युकेका केही व्यवसायीहरुले पनि जीनर्जीमा लगानी गरेका थिए ।

गोरखा भवन फार्नब्रोमा कार्यालय रहेको जीनर्जीमा कार्यरत २२ कर्मचारीको जागिर कम्पनी बन्दसँग सकिएको छ भने लगानीकर्ताहरु वा पैसा लिन बाँकी रहेका ग्राहकहरुले भने जीनर्जीको एडमिनिस्ट्रेटर वा वल्वको निर्णयसम्म प्रतीक्षा गर्नुपर्ने अफजेमले बताएको छ तर लगानीकर्ताहरुले लगानी फिर्ता पाउने सम्भावना भने कम्ती छ ।

यसअघि अफजेमले २९ अक्टोबरमा जीनर्जीलाई ६ लाख ७३ हजार ८७६ पाउण्ड ६२ पेन्स र सोको ब्याज समेत जम्मा गर्न पत्राचार गरेको थियो । समयमीमाभित्र सो रकम बुझाउन जीनर्जी असफल भएपछि सन् २०२० जनवरी ९ मा अफजेमले जीनर्जीको विद्युत तथा ग्याँस आपूर्तिको लाइसेन्स खारेज गर्ने निस्कर्षमा पुगेको थियो ।

जीनर्जीले कम्पनी बचाउन सक्दो कोसिस गरेको देखिन्छ । सन् २०१९ डिसेम्बरमा कम्पनीले जीनर्जीका मास्टर माइण्ड मानिने डा. विश्वम्भर प्रसाद अर्ज्याल र अर्का डाइरेक्टर मेगबहादुर गुरुङलाई हटाई रिचर्ड मालकोम लिण्डले र डेभिड जोन कोलेटलाई नयाँ निर्देशक नियुक्त गरेको थियो । नयाँ लगानीकर्ताबाट लगानी भित्र्याउने कोसिस गरे पनि वैदेशिक लगानी युके ल्याउन धेरै समय लाग्दा अफजेमलाई समयसीमाभित्र पैसा बुझाउन नसकेको बताइएको छ ।

पर्याप्त फण्ड नहुँदा कम्पनी बन्द भयोः प्रबन्ध निर्देशक देवान

जीनर्जीका प्रमुख कार्यकारी मेजर रिटायर्ड टिकेन्द्र दल देवान

जीनर्जी लिमिटेडका प्रबन्ध निर्देशक रिटायर्ड मेजर टिकेन्द्र दल देवानले रिजर्भ फण्ड जम्मा गर्न नसक्दा जीनर्जी बन्द भएको बताए । कठिन कालखण्डमा समेत विभिन्न विघ्नबाधा छल्दै आएको जीनर्जी यसपटक भने त्यस्तो बाधा छल्न असमर्थ भयो । देवान भन्छन्, “८६ वटा इनर्जी कम्पनीहरु बन्द हुँदा समेत हामी बच्दै आएका थियौँ ।”

देवानका अनुसार जीनर्जीमा हालसम्म ३ मिलियन पाउण्ड लगानी भएको थियो । अति सस्तोमा इनर्जी उपलब्ध गराउने कम्पनीहरुमा गनिने जीनर्जीको लगानी अरु कम्पनीको दाँजोमा धेरै कम्ती हो । वार्षिक कारोबार १०-११ मिलियन पाउण्डको गर्ने जीनर्जीको अझै ग्राहकहरुबाट उठाउन करिब २ मिलियन पाउण्ड जति बाँकी छ । “यदि हामीसित २ मिलियन पाउण्ड सञ्चित कोषमा भएको भए आज कम्पनी बन्द हुँदैनथ्यो” देवानले भने ।

नेपाली मूलका गोरखाहरुको लगानी रहेको भए पनि जीनर्जीका धेरै ग्राहकहरु भने गैरनेपाली-गैर गोरखाहरु थिए । नेपाली समुदायलाई विशेष सहुलियत दिए पनि करिब १ हजार मात्र नेपाली ग्राहक थिए भने बाँकी ८ हजार थिए गैरनेपालीहरु । गैरआवासीय नेपाली संघलगायतका नेपाली संघसंस्थालाई ग्राहक बनाई संस्था र कम्पनी दुवैलाई लाभ उठाउन अनुरोध गरेको देवान बताउँछन् । यसैगरी नेपाली व्यवसायीहरुलाई पनि लगानीका लागि अनुरोध गरेको उनले प्रष्ट्याए । ‘कसैलाई दोष दिने कुरा त होइन तर नेपाली समुदायबाट पनि आशा गरेजस्तो सपोर्ट प्राप्त भएन’ उनले भने ।

जीनर्जीलाई जोगाउन हरसम्भव प्रयास गरेको उल्लेख गर्दै उनले डिसेम्बर २०१९ मा नयाँ लगानीकर्ता ल्याए पनि उनीहरुको लगानी विदेशबाट ल्याउनुपर्ने र त्यसका लागि युकेका बैँकहरुको लम्बेतान प्रक्रियाका कारण समयसीमाभित्र लगानी ल्याउन नसकिएको स्पष्ट पारे । ‘नयाँ लगानीकर्ताहरु बडो रुचिका साथ आएका थिए । हामीले पनि धेरै आशा गरेका थियौँ । तर दुर्भाग्य बैँकहरुको ‘ड्यू डिलिजेन्स’का कारण समयमै लगानी ल्याउन सकिएन’ उनले भने ।

जीनर्जीलाई यो अवस्थामा बन्द गर्नुपर्दा बेस्वाद लागेको उनले बताए । व्यवस्थापन र ग्राहकको सेवाको हिसाबले कुनै गुनासो नभएको र अहिले पनि ग्राहकहरुले भावपूर्ण सन्देश लेखिरहेको देवानले उल्लेख गरे । जीनर्जीको पुनर्जीजन हुने सम्भावना कत्तिको छ भन्ने प्रश्नमा देवानले भने – ‘अब जीनर्जीलाई ब्यूँताएर कुनै फाइदा छैन ।’

नरेश खपाङ्गीमगर

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री