विदेशमा अड्किएका नेपालीलाई कहिले स्वदेश फर्काउने ?

सुरेन्द्र श्रेष्ठ

विदेशमा अड्किएका नेपालीहरुलाई आफ्नो देश फर्काउने जिम्मेदारी सरकारको हो । सम्भावित रोग संक्रमणलाई ध्यानमा राखी अपनाउनु पर्ने सबै विधि पूरा गरि छिटो भन्दा छिटो यो प्रक्रिया थालनी गर्नु पर्दछ । अहिले बेलायतमा २५ भन्दा बढी संख्यामा नेपाली डाक्टरहरु एउटा परिक्षामा सरिक हुन आएको बुझिन्छ । अनिश्चित समयको लागि उक्त परिक्षा स्थगित भएको छ । सबैजना नेपालमा काम गरिरहेका डाक्टरहरु नै भएकोले अहिलेको विषम समयमा नेपालको लागि ती डाक्टरहरु झन् बढी आवाश्यक हुन जान्छन् । युकेमा रहेका बिद्यार्थीहरु अहिले यस वर्गमा छन् । काम र पढाइ दुवै नभएको अवस्थामा यही नै बसिरहनु भन्दा नेपाल जान पाए आफ्नो घर आमाबाबासित हुन्थ्यो भन्ने धेरै विद्यार्थीमा छ । आफन्तहरु भेट्न आएका, पर्यटक भिसामा घुम्न आएका, सरकारी काममा आएकाहरु पनि होलान् । यहाँ बस्दा आइपर्ने अन्य स्वास्थ्य समस्यामा पनि सामान्य उपचार गर्न समेत नपाइने अवस्था छ । परिवारसंग टाढिएर बस्न पर्ने समस्या त छँदैछ । अड्कलेर ल्याएको खर्च पनि सकिँदै जाँदैछ । यी र यस्ता समस्याहरुबाट समयमा नै बाहिर आउन सकिएन भने भोलि ठूलो मानसिक क्षति समेत ब्यहोर्न पर्ने हुन सक्छ ।

हामी लामो समयदेखि यहाँ बसोबास गर्दै आएकाहरु समेत सहज परिस्थिति भए नेपाल नै जान पाए वेश बन्ने अवस्थामा पुगिसकेको बेलामा छोटो समयको लागि आएका नेपालीहरु लामो समयसम्म यहाँ बसिरहन सक्ने हुँदैन । यो समस्या त्यति छिट्टै समाधान हुन्छ जस्तो पनि लाग्दैन । तसर्थ यो विषयलाई नेपाल सरकारले छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्दछ ।

नेपालमा रहेका विदेशीहरुलाई क्रमश सबै सरकारले फिर्ता लाने प्रक्रिया शुरु भैसकेको छ । आजै मात्र पनि जर्मनी र फ्रान्सका ३०५ नागरिकहरु विशेष यानबाट नेपाल छाडेका छन् । बेलायत सरकारले पनि छिट्टै त्यसो गर्न आफ्ना नागरिकहरुको लगत संकलन गर्दै गरेको बुझिन्छ । यही अवसरमा हामीले पनि सरकारी स्तरबाट बेलायत सरकारसंग सहकार्य गरी बेलायतमा रहेका नेपालीहरुलाई पनि सकिन्छ भने त्यही जहाजमा लान सकियो भने आर्थिक बोझ पनि कम हुन जाने थियो ।
बेलायत अब युरोपियन युनियनअन्तर्गत नभएको कारण नेपालको जहाज सिधै बेलायत ल्याउन सक्ने सम्भाबना पनि छ । सम्बन्धित निकायमा कुटनीतिक सम्पर्क गरेर नेपाली ध्वजाबाहक जहाज ल्याउन सकियो भने पछि सहज वातावरण भएपछि नियमित उडान गर्न पनि सजिलो हुने थियो । अझ यसलाई प्रभावकारी बनाउन बेलायत सरकारलाई पनि सजिलो हुने गरी नेपालमा भएका बेलायतीहरु बोकेर आउने र यहाँबाट आफ्नो नागरिकहरु लिएर जान सकियो भने सुन माथि सुगन्ध नै हुने थियो ।
यी माथिका दुवै उपाय भएन भने पनि नेपालमा नियमित चल्ने गरेको कुनै कम्पनीलाई विशेष उडानको लागि प्रयोग गर्न सकिन्छ । यो अवस्थामा आइपर्ने आर्थिक भारलाई सम्बन्धित पक्षले पनि ब्यहोर्न तयार हुनुपर्ने छ । सरकार, विभिन्न संस्थाहरु र सम्बन्धित पक्षले खर्च व्यहोर्ने हो भने जहाज चार्टर गर्न पनि त्यति असम्भव हुने छैन । यसबारेमा बुझ्दा १४८ यात्रु बोक्न सक्ने जहाजले प्रति व्यक्ति १७  सय पाउण्ड लिने प्रारम्भिक जानकारी प्राप्त भएको छ । अनिश्चित समयसम्म अनिर्णयको बन्दी भएर मानसिक हानी ब्यहोर्नुको भन्दा आर्थिक भार बोक्नु नै बढी बुद्धिमानी देखिन्छ ।

यीमध्ये कुनै पनि विकल्प प्रयोग गर्न सर्वप्रथम नेपाल सरकारको स्वीकृति प्राप्त गर्न जरुरी छ । अहिले नेपालमा देखा परेका कोरोना संक्रमितहरु बाहिरबाट नै गएको पुष्टि भएको हुँदा अति नै जिम्मेदारीपूर्वक परिक्षण गरेर मात्रै जान सकिने र नेपाल पुगिसकेपछि पनि आवश्यक कडाइका साथ जांच पड्ताल गर्ने वा आइशोलेशनमा नै बस्न पर्ने निर्णय गर्न पनि हिचकिच्याउनु हुँदैन । तर सम्भव भएसम्मका आफ्ना नागरिकहरु जो कम समयको लागि अन्य देशमा पुगेर फर्किन सकिरहेका छैनन्, उनीहरुको हकमा सरकारले उचित कदम चाल्न अति आवश्यक देखिन्छ ।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री