स्पेनमा चार नेपालीमा कोरोना संक्रमण भेटियो


बार्सिलोना । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण भेटिएको छ। क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ। बार्सिलोनाको साग्रादा फ्यामिलियामा बस्दै आएका एक जना नेपालीको सान्पाओ अस्पतालमा उपाचार भईरहेको छ। अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन्। उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन्।

संक्रमित ब्यक्तिहरुको बिबरण भने गोप्य राखिएको छ। स्रोतका अनुसार चारैजना संक्रमित पुरुष हुन्। तीनको अवस्था सामान्य रहेपनि एक जनाको आईसीयूमा राखेर उपचार भईरहेको जनाइएको छ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताइन्। ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुरा गर्दै राजदूत शेर्पाले भनिन्, “बार्सिलोनामा बस्दै आएका केही नेपालीहरुमा कोभिड–१९ संक्रमण भेटिएको सूचना आएको छ । संक्रमितहरुको सम्पूर्ण डिटेल दूतावासबाट खोज्ने प्रयास भइरहेको छ।”

उनले संक्रमित ब्यक्ति र परिवारलाई दूतावासको सम्पर्कमा आउन अनुरोध समेत गरिन्। उपचार लगायत भैपरी आउने प्रक्रियामा दूतावासबाट पूर्ण सहयोग रहने राजदूत शेर्पाले बताइन् ।

तर संक्रमित र उनका परिवारले घटना बाहिर नल्याउन नेपाली समुदायका अगुवाहरुलाई अनुरोध गरेका छन्। स्रोतका अनुसार पहिलो संक्रमितमा एक हप्ता पहिले नै पोजेटिभ पाइएको थियो। अन्य तीन जनाको भने हालै रिपोर्ट आएको हो। तर यो घटना अझै पनि नेपाली समुदायमा गुपचुप छ।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्रप्रसाद शर्माले परिवारहरुको अनुरोधमा नै घटना बाहिर सार्वजनिक नभएको बताए। “भनौं भने पनि किन भनिस् भन्ने वा नभनौं भने पनि किन बाहिर आएन भन्ने अवस्था सृजना भएको छ। तर संक्रमित ब्यक्तिहरु जो-जोसँग सम्पर्क वा नजिक भएका थिए ती साथीभाईहरुलाई खबर गरेर अस्पतालमा चेकजाँच गर्न सुझाव दिएका छौ,” उनले भने।

एनआरएनए आईसीसी सदस्य चिन्तामणी सापकोटाले चार जना संक्रमित क्याटालोनिया क्षेत्रमा नै रहेकाले नेपाली समुदायलाई सजग रहन अनुरोध गरे। आईसीयूमा उपचार गराईरहेका एक नेपालीको प्रत्येक २४ घण्टामा अस्पतालबाट परिवारलाई सूचना प्राप्त भईरहेको उनले जानकारी दिए। उनको स्वास्थ्यमा समेत क्रमिक सुधार हुँदै गएको छ। अन्य संक्रमितहरु भने परिवारको सम्पर्कमा नै छन्।

स्रोतका अनुसार संक्रमितहरु तीन छुट्टाछुट्टै परिवारका हुन्। उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यहरु पनि जांच गर्न अस्पताल पुगेका थिए। तर हालसम्म कसैलाईपनि संक्रमण देखिएको छैन। 

एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ (देउकाजी) ले घटनाबारे सम्पूर्ण जानकारी छिट्टै ल्याउने बताएका छन्। ‘संक्रमित हुँदैमा आत्तिनु पर्ने अवस्था छैन। राजदूतावास, एनआरएनए र संघसंस्थाहरु सहकार्य गरेर नै अहिलेको परिस्थिति सामना गर्नेछौ’-गुरुङले भने।

स्पेनमा झण्डै १० हजार नेपाली छन्। क्याटालोनिया क्षेत्रमा ३ देखि ४ हजारसम्म नेपाली बसोबास रहेको ठानिएको छ। आफूलाई लागेको संक्रमण गोप्य राख्न खोजेको पछिल्लो अवस्थालाई हेर्दा स्पेनमा थप नेपाली पनि संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ।

गत मार्च १४ देखि पुरै देश लकडाउन गरेपनि स्पेनमा कोरोनाको महामारी अझै नियन्त्रण हुन सकेको छैन् । देशभर हालसम्म संक्रमितको संख्या ६० हजार पुगिसकेको छ।

बिहीबारसम्म ४ हजार बढीको मृत्यु भइसकेको छ। देशभरको अवस्था निकै भयावह छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री