कोरोनाले खोसिदियो अर्यालको सपना

लन्डन । तीन दिनअघि सामान्य ज्वरो आएपछि घरमै आराम गरिरहेका उनी शनिवार बिहान चार बज्न लाग्दा हिँड्नै नसक्ने गरी ओछ्यानमा थला परे । भर्खर ४० वर्ष पार गरेका उनी उठनै नसक्ने गरी हन्हनी ज्वरोले थलिएपछि आत्तिँदै उनकी श्रीमतीले एम्बुलेन्सलाई फोन गरिन् । सामान्यतया ढिला आईपुग्ने एम्बुलेन्स त्यो दिन चाँडै आयो ।
सामान्य सोधपुछपछि प्रशान्त अर्याल र श्रीमतीलाई लिएर एम्बुलेन्स क्वीन एलिजावेथ अस्पताल उलवीचतिर लाग्यो । सामान्य जाँचपछि इमरजेन्सी वार्डबाट सिधै आइसियूका लागि रिफर गरेपछि अर्यालकी श्रीमतीको मनमा चिसो पस्यो । उनले पनि भित्र जान अनुमति मागिन् । तर, कोरोना भाइरस (कोभिड १९) को शंका गरिसकेका डाक्टरहरुले उनलाई बाहिरै रोके । उल्टो घरमा जान सुझाए ।
अर्यालकी श्रीमती घर जान नखोजेपछि डाक्टरहरुले बेला बेलामा स्वास्थ्यस्थितिका बारेमा फोनमार्फत अपडेट गराउने प्रतिवद्धता व्यक्त गरे । ‘मनले मान्दै नमाने पनि वहाँ गह्रौँ मन लिएर भक्कानिदै घर फर्किनुभयो’- स्वर्गीय अर्यालका ज्वाई पद्म कार्कीले भावुक हुँदै भने, ‘त्यो भेट नै परिवारका लागि अन्तिम बन्यो । सामान्य ज्वरो आएर अस्पताल पुग्नु भएको व्यक्ति कहिल्यै नफर्किने गरि जानुभयो ।’
संसारभर फैलिएको कोरोना भाइरसको लक्षणसँग मिल्ने मध्येको एक ज्वरोलाई डाक्टरहरुले उच्च ज्वरोको मापन गरिसकेपछि कोरोना भाइरसको शंका गरेका रहेछन् ।
नातेदार कार्कीका अनुसार कोरोना भाइरसबाट हुन सक्ने थप संक्रमणको अवस्थामा परिवारलाई टाढा राख्न परिवारलाई घर जान भनेका रहेछन् । प्रारम्भिक अनुसन्धानमै भाइरस पाएपछि अक्सिजनको मात्राका बारेमा डाक्टरहरुको टिमले निरन्तर जानकारी दिइरहेको थियो । जब अन्तिम अवस्था आएर डाक्टरहरुले अब स्वास्थ्यमा सुधार हुन नसक्ने जानकारी दियो-घरमा रुवावासी चल्यो । उनले भने, ”हामीसँगको प्रत्यक्ष भिडियो सम्बादपछि भेन्टिलेटर झिकियो । हामी सबै स्तव्ध भयौँ ।” ”भर्खरै चालिस काटेको मानिस यस्तो चपेटामा पर्नुहोला भनेर हामीले परिकल्पना पनि गरेका थिएनौँ । के गर्नु दैवको लीला ?”- कार्कीले भने ।
सोमबार बिहान बितेका कार्कीको मृत्यु कोरोना भाइरसका कारण भएको जानकारी बुधबार अस्पतालले परिवारलाई गराएको छ ।
प्लमस्टिडस्थित सुपेरियर भन्ने एजेन्सीमा मेनेजर भएर २००९ सालमा लन्डन आउने धेरै विद्यार्थीहरुलाई अर्यालले जागिर दिएका थिए । नेपाली भएकै नाताले धेरै विद्यार्थी र पूर्वगोर्खाका परिवारहरुले एक ‘फ्रुट फ्याक्ट्री’ मा काम गर्न पाएका थिए ।
उमेर अनुसारभन्दा अलि मोटो वयका उनमा व्लड प्रेसर देखिएको थियो । जसलाई सन्तुलनमा राख्न उनी निरन्तर व्यायाम र डायटिङ गरिरहेका थिए ।
”उहाँले अनलाईन अर्डर गरेका सामानहरु आज पनि आइरहेका छन्”, कार्कीले भने । उच्च रक्तचाप बाहेक कार्कीको स्वास्थ्यमा अरु कुनै समस्या नभएको परिवारको दाबी छ । लामो समयदेखि लण्डन बसे पनि अर्यालको आफ्नै घर थिएन । डेन्टल नर्स श्रीमती तथा एक छोरा र एक छोरीका पिता अर्यालको अबको योजना थियो घर खरिद गर्ने ।
विधिको विडम्वना त्यो रहर पूरा गर्न नपाउँदै उनी सबैलाई छोडेर बिदा भए । अर्यालको निधनपछि उनकी श्रीमतीको एक्लो जिम्मामा परेको छ कक्षा ७ मा अध्ययनरत ११ वर्षीया छोरी र ४ कक्षामा अध्ययनरत नौ वर्षीय छोराको पठनपाठन र पालनपोषनको जिम्मेवारी ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री